© २०२३
एक दशक अघिसम्म भैंसी आहाल खेल्ने र केटाकेटीले माछा मार्ने पूर्वी पाल्पाको पोखरी अहिले आन्तरिक पर्यटकलाई आकर्षणको केन्द्र बनेको छ । बर्खायाममा पानी जम्ने ठाउँ हुँदा स्थानीयले रामपुर नगरपालिकाको वडा नम्बर–६ मा रहेको सो स्थानलाई पोखरो नाम दिएका बुढापाकाहरू बताउँछन् । अहिले त्यो ठाउँ तालपोखराको रूपमा विकसित र परिचित भएको छ । पूर्वी पाल्पामा घुमफिर गर्ने ठाउँको अभाव महसुस भएको बेला यस स्थानलाई सम्भावनाका रूपमा लिइएको छ । वि.सं.२०६८ सालमा स्थानीय बासिन्दाहरूको सक्रियतामा बेकामे अवस्थाको पोखरी संरक्षण र सौन्दर्यीकरण गर्ने काम भएको थियो । त्यसको वरपरको क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उद्देश्यले तालपोखरा संरक्षण समिति स्थापना समेत भएको हो । भंैसी बस्ने पोखरीलाई संरक्षण गरि तालको रूप दिन सफल भएको समितिका अध्यक्ष भरतराज देवकोटाले बताए । समितिको सक्रियतामा महायज्ञ संचालन गरेर श्रोत जुटाउने काम समेत भएको छ । तालपोखराको विकास गर्ने लक्ष्यसहित आयोजना गरिएको महायज्ञबाट एक करोड मूल्य बराबरको जग्गा र नगद ७७ लाख संकलन भएको उनले बताए । सोहि रकमबाट ताल वरिपरी पर्खाल लगाउने र पार्क निर्माण गर्ने काम भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटा बताउँछ । तालको ब्यवस्थापन र पार्क निर्माण भएसँगै दैनिक औषत ३ सय आन्तरिक पर्यटकहरू तालपोखरा घुम्न आउने गरेको उनले बताए । तालपोखरालाई पूर्वी पाल्पाकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउनको लागि रामपुर नगरपालिकाले पनि उच्च प्राथमिकतामा राखेर गतवर्ष २८ लाख र चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताए । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा २८ लाख रुपियाँ उपलब्ध गराएको र त्यसबाट तालको नजिकै पार्क र मन्दिर निर्माण गरि पर्खाल लगाइएको उनले बताए । गर्मीको समयमा तालमा पानीको मात्रा कम हुने भएकोले अहिले कालीगण्डकी नदीबाट मोटर लगाएर पानी तानेर ताल भर्ने गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको रकमले थ्री फेस लाइन जडान गरि थप मोटरबाट पानी तानेर ल्याउने र तालमा पानीको दिगो उपलब्धता सुनिश्चित हुने विश्वास गरिएको छ । पैसठ्ठी रोपनीमा फैलिएको तालपोखरामा अहिले तालको सुन्दरीकरण र पिकनिक स्पट सहितको पार्क निर्माण गरिएको छ । गत सालको शिवरात्रीदेखि तालमा बोटिङ्गको व्यवस्था पनि गरिएको छ । काठको डुंगा शयर गर्न चाहनेले प्रतिव्यक्ति ५० रूपैयाँ तिर्नुपर्ने र आफैले पैदल बोट लिएर ताल घुम्न चाहनेले आधा घन्टाको ३ सय रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । बोटिङ्ग र पार्कबाट ८ महिनाको अवधिमा ९ लाख रूपैयाँ आम्दानि समेत भएको छ । घुम्न आउनेलाई माछा अवलोकन र फिसिङ्गको मनोरञ्जन उपलब्ध गराउनको लागि तालमा १५ हजार माछाका भुराहरू छोडिएको छ । बोटिंग, माछा अवलोकन र पार्कको शुल्कबाट अबका वर्षहरूमा पर्यटकहरूको संख्या बढ्ने तथा थप आम्दानीबाट ताल क्षेत्रमा व्यवस्थापनका कार्यहरू सम्पन्न गर्न सकिने स्थानीयबासिन्दा लक्ष्मी ढकाल बताउँछिन् । स्थानीय बासिन्दाहरूलाई समेत पोखरीका कारण फाईदा मिलेको उनले बताइन् ।à