© २०२३
विश्वमा अहिलेसम्म कति मानिस बेपत्ता भएका छन् त्यसको यकीन तथ्यांक छैन । राजनीतिक द्वन्द्वका कारणबाट, विभिन्न राष्ट्रमा उत्पन्न भएका आन्तरिक द्वन्द्वका कारणबाट, एक देशबाट ज्यान जोगाउन अर्को देशमा शरणार्थी भएर गएको अवस्थाबाट, दुर्घटनाबाट, घरेलु हिंसा हत्याबाट, रोजगारीमा गएको अबस्था आदिबाट मानिसहरू बेपत्ता भइरहेका हुन्छन् । उनीहरूको संख्या कति छ, कुन कारणबाट बेपत्ता भएका हुन्, उनका परिवारजनमा कस्तो समस्या उत्पन्न भएको छ, यस्ता कुराहरू खोजीनीति गर्ने ध्येयले संयुक्त राष्ट्रसंघको तत्वाबधानमा अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस आयोजना गरिएको छ । आज सोही दिवस हो । अहिले विश्वमा कहिँ न कतै हिंसा चलिरहेको देखिन्छ । कहिँ जातीय हिंसा, कहिँ सत्ता छिनाझट्पीका कारणबाट उठेका हिंसा, कतै भूमिको कारणलाई लिएर उठेका हिंसाले सर्वसाधारण मानिस चेपुवामा परिरहेका छन् । मृत्यु कसको लाागि कहालिलाग्दो हुँदैन र ? जब हतियारधारीहरू गाउँमा पसेर बन्दुक, वम गोला पड्काउन थाल्छन् त्यतिबेला कलिला सन्तानलाई काखमा च्याँपेर मानिसहरू सुरक्षित ठाउँ खोज्न भागाभाग गर्छन् । यो क्रममा कैयौँ मानिस त खान नपाएरै मर्छन् । कुपोषणको शिकार हुन्छन् । जंगली जनावरको शिकार हुन्छन् । उनीहरूको तथ्यांक कसले राख्ने ?
नेपालकै सन्दर्भमा कुरा गर्दा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोह कालमा सर्बसाधारण मानिसहरू दोहोरो संकटमा परे । सरकारले सर्बसाधारणलाई निकै सतायो । माओवादीलाई लुकाउने तिमीहरू हौ भन्दै यातान दिइयो । माओवादी मारेको भन्दै मृतकको संख्या बढाउने र भत्ता खाने नाममा जनतालाई सोत्तर बनाइयो । सो क्रममा कैयौँ मानिसलाई जमीनमुनी जिउँदै गाडियो । बेपत्ता बनाइयो । यता माओवादीले पनि सर्बसाधारणलाई नै आफ्नो निशाना बनाए । गास, बास र सुरक्षा दिनुपर्छ भन्दै आर्थिक रूपमा विक्षिप्त तुल्याइयो । कतिलाई सरकारी गुप्तचर भनेर हत्या गरियो । बेपत्ता पारियो । यो क्रममा आफ्नो घरमा बस्न सक्ने अवस्था नहुँदा कैयौँ मानिस भागेर विदेशिए । उनीहरू पनि बेपत्ता भएका पंक्तिमा पर्न जान्छन् । शान्ति यात्रामा आएपछि आन्दोलनकारी शक्तिहरूले नै सत्ता सञ्चालन गरिरहेका छन् । तर, कसैले पनि वेपत्ताहरूलाई खोजी गर्ने काम गर्न सकेनन् । वेपत्ताका परिवारले हारगुहार गर्न अहिले पनि छाडेका छैनन् । तर, सरकारमा बस्नेहरू कानमा तेल हालेर राज्यको ढुकुटी रित्ताउन निमग्न छन् । नेपालमामात्र हैन, विश्वका थुप्रै मुलुकको यस्तै अवस्था छ ।
पहिलेको अवस्थालाई फर्केर हेर्दा जब राज्यको उत्पत्ति भयो त्यसले बर्णाश्रम ब्यवस्थालाई जन्म दियो । शासकको रूपमा राजा, मुखियाको ब्यवस्था ग¥यो । बर्णाश्रमले धर्म र जातपातमा मानिसलाई विभाजन ग¥यो । जातीय द्वन्द्व निम्तियो । राज्यको विभाजनले दुई राज्यबीचमा युद्ध भित्रायो । हतियारको भरमार लाग्यो । सत्तामा पुग्नको लागि टाठाबाठाले शक्तिको प्रयोग गर्ने क्रममा आन्तरिक द्वन्द्वहरू बढ्दै गए । सर्बसाधारण मानिसहरू चेपिँदै गए । बाँच्नको लागि भाग्नु वा मर्नुभन्दा अर्को उपाय रहेन । यसको कारणबाट मानिसहरू बेपत्ता हुँदै जान थाले । वेपत्ता विरुद्धको दिवस मनाइरहँदा वास्तवमा यसको कारण र समाधान पनि खोजी गरिनु आवश्यक हुन्छ । मानिसले मानिसलाई दमन, देशले देशलाई दमन, धर्मले धर्मलाई दमन गर्ने सामाजिक संरचना रहेसम्म यसको सतही समाधान हुन सक्तैन । अहिले विश्व ग्लोवलाइजेशनमार्फत ठूला, उद्योगी, धनी मुलुकको जाँतोमुनी साना देशहरू पिसिन पुग्दैछन् । विश्वलाई एउटा खुम्चिएको बजारमा परिणत गरिँदै छ । साना आय ब्यवस्था भएका मुलुकका जनता दिनहुँ लोप हुँदै गइरहेका छन् । यसलाई पनि बेपत्ताको सुचीमा नै राख्नुपर्ने हुन्छ । त्यसैले बेपत्ता हुने क्रमलाई रोक्न राजनैतिक रूपमा समाधान खोजिनु आवश्यक छ ।