© २०२३
उपभोक्ताको स्वास्थ्यमाथि कतिसम्म लापरवाही र खेलवाड हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण बुटवलको नेपालगञ्ज रोडमा रहेको हैदराबादी मट्का दम बिरयानी एण्ड मटका लस्सी बनेको छ । हैदराबादी मटका दम बिरयानीले कुहिएको मासुबाट विरयानी बनाउने गरेको अनुगमनका क्रममा खुलेको छ । यो उपभोक्तामाथिको चरम लापरवाही हो । लापरवाहीको पनि सिमा हुन्छ । हैदराबादी मटका दम बिरयानीले हदैसम्मको लापरवाही गरेको छ । बुटवल उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च बुटवलले अनुगमन गर्दा कुहिएको मासु र छाला भेटिनु भनेको लापरवाहीको अन्तिम पराकाष्ठा हो । यद्यपि बुटवलमा यो पहिलोपटकको घटनामात्र होइन । बुटवलमा यसअघि पनि धेरैपटक होटल तथा रेष्टुरेण्ट, मिठाई पसल, मासु पसल लगायतमा अनुगमन गर्दा धेरैपटक कुहिएको मासु भेटिनुका साथै म्याद नाघेका बस्तु फेला पर्दै आएको छ । बुटवल उपमहानगरले ती पसललाई कारवाही पनि गर्दै आएको छ तर अवस्थामा सुधार आएको छैन । उपभोक्तामाथि लापरवाही गर्ने जो कोही भएपनि उनीहरूलाई कडा कारवाहीको दायरामा ल्याउनैपर्दछ । ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गर्दा ५६ केजी मासु र कुखुराको छाला नष्ट गरिएको छ । खाद्य ऐन २०२० ले खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित र स्वस्थ खाद्य पदार्थ बिक्री गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । तर, हैदरावाद दम बिरयानीले यो कानुनी मापदण्डको पालना नगरेकोमात्र होइन, उपभोक्ताको स्वास्थ्यमाथि हदैसम्मको लापरवाही गरेको छ ।
अनुगमनका क्रममा भाडा माझ्ने ठाउँ फोहोर र दुर्गन्धित तथा भाडा सफा नगरेर खुवाएको गुनासो उपभोक्ताले गरेका छन । हैदरावादी दम बिरयानीले लोकप्रियता कमाउने नाममा गरिरहेको प्रचारबाजी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नकै लागि भएको अहिले आएर प्रमाणित भएको छ । त्यसै त नेपालीका चाडपर्व नजिक आउँदै गर्दा हरेक बर्ष यस प्रकारका लापरवाहीका घटना सार्बजनिक हुने गरेका छन् । चाडपर्वको पूर्व सन्ध्यामा अहिले फेरी हैदराबादी दम बिरयानीबाट यो बर्ष लापरवाहीको घटना सार्बजनिक भएको छ । दशैं तिहार आउँदै गर्दा सरकारले बजार अनुगमनलाई प्रभावकारी वनाउने हरेक बर्ष निर्णय गर्छ । सरकारी निकायबाट निरन्तर अनुगमनको औपचारिकता पनि आउँछ तर चाडपर्व सकिएपछि अनुगमनको औपचारिकता हराउँछ । अहिले उद्योगी व्यवसायी समेत अनुगमनलाई निरन्तरता दिनुपर्ने अडानमा छन । सही काम गर्ने उद्योगी व्यवसायीलाई अनुगमनले फरक पर्दैन । जसले गलत गर्छ उसलाई अनुगमन विष बन्ने गरेको छ । अतः अनुगमनलाई प्रभावकारी वनाउनेतर्फ आम चासो ब्यक्त हुनु जरुरी छ । विरयानीमा भएको अनुगमनले अरू पसललाई पनि सुधारिने मौका मिलेको छ ।
नेपालीहरूको घर आँगनमा दशैं आईपुगेको छ । ठिक यही बेला स्थानीय निकायहरूले समेत अनुगमनको चासो देखाएका छन । यसलाई नराम्रो भन्न मिल्दैन तर सुस्तरूपमा हुने अनुगमन आफैमा प्रश्न बोकेर आउँछन् । निश्चित रूपमा अनुगमनबाट नाम चलेका र ख्याती कमाएका उद्योग र तिनका उत्पादनहरूको गुणस्तरको बारेमा यथार्थ जानकारी उपभोक्ताले पाउँदै आएका छन् । त्यो राम्रो कदम हो । सरकारले सक्छ भने अनुगमनलाई बाह्रै महिना निरन्तरता दिनुपर्दछ भन्ने हो । अनिमात्र जनताले राहतको महसुस गर्नेछन् । अव अनुगमनको नाममा हाजिर जनाउने सरकारी कृयाकलापको विरोध गर्नैपर्दछ । सशक्त अनुगमनको प्रकृयालाई प्रभावकारी बनाउने हो भने त्यसले उपभोक्तालाई राहत दिनेछ । औपचारिकता वन्द गरिनुपर्दछ । यस विषयमा सम्वन्धित सरकार, स्थानीय पालिका र बाणिज्य विभागको ध्यानाकर्षण हुनु जरुरी छ । अनुगमनका क्रममा दोषी प्रमाणित भएकाहरूलाई कारबाही गर्ने हो भने कालोबजारीमा कमी आउने आम नेपाली उपभोक्ताको आशा र अपेक्षा छ । राज्यले नै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्छ । अव बजार अनुगमनलाई औपचारिकतामा मात्रै सीमित गरिनुहुँदैन । अबको दिनमा हुने अनुगमन प्रभावकारी बनोस् । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई पनि छैन् । तसर्थ दशैं तिहार नजिक आउँदै गर्दा अनुगमनलाई औपचारिकतामै सीमित नगरियोस् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी