© २०२३
पाल्पा, १७ भदौ ।
हिन्दु महिलाहरुको लागि महान पर्व ठानिने तिज नजिकिदै गएको छ । पछिल्ला दशकमा गाउँ, बस्ती, टोल छिमेकमा बेलुका महिलाहरु जम्मा भएर गित गाउने प्रचलनहरु हराई सकेको छ । रिब्दीकोट गाउँपालिका ख्याहाकी ६७ वर्षीय हुमकला गैरेलाई तीज पर्व आउनु भन्दा नआएको नै ठिक लाग्छ ।
समयसँगै बढ्दो आधुनिकताका कारण तिज पर्वको मौलिकता हराएका कारण आउनु भन्दा नआएकै राम्रो ठान्ने गैरे भन्छिन्, “पूराना गित गाउन जान्ने अब केही छैन । यस्ता पर्वहरुमा विवाहित वा अविवाहित महिलाले पालना गर्नुपर्ने संंिहताका बारेमा जान्ने कोही छैनन् । तीजलाई धार्मिक दृष्टिकोण भन्दा बढी आजभोलि महोत्सव तथा फेसनको रुपमा लिने गरिएको छ । तीज पर्वलाई एक धार्मिक उत्सवका रुपमा लिइने र विवाहित आफ्ना चेली र माइतीबिचको प्रगाढ सम्वन्धको रुपमा लिने र तिजको पहिलो दिनदेखि नै शुद्ध खाना खाएर आर्केा दिन भगवान शिव पार्वतीको उपासना गर्ने पर्व भएको पुराना पुस्ताहरुको अनुभव रहेको छ ।
रिब्दीकोट गाउँपालिका कै मैनादीकी कमला कँुवर उमेरका हिसावले सात दशक भइन होला । उनलाई बुढेशकालले छोपे पनि मन भनी बुढो नभएकाले तिजको गित गाउँदा भगवान शिव र पार्वतीका गितसंगै र तत्कालीन समयमा भएका राजनैतिक परिवर्तन, दुर्घटना जस्ता समय सापेक्षका शब्दहरुलाई तिजको भाका मिलाएर गाएको बताउँछिन् । पहिले पहिले जस्तो तिजमा चेलीका घरमा लिन जान पनि नपर्ने र लर्को लागेर चेलीहरु पनि माइत आउँदैनन् । आएका चेलीहरुलाई पनि तिजको महत्व नै हँुदैन, फोनमै व्यस्त हुन्छन् । समय फेरिएको हो की हाम्रो संस्कृति फेरिएको हो आफै दङ्ग पर्नुपर्ने बताउँछिन् ।
पहिले पहिले तिजलाई सांस्कृतिक पर्वका रुपमा लिने गरिन्थ्यो । त्यही अवसरमा वर्षमा एक पटक आउने पर्व ठानेर माइत जाने, बाल्यकालका साथीसंग भेटघाट पनि हुन्थ्यो तर आजभोलि त सूचनाको माध्यमबाट साथीभाई आमाबुबा दिन दिनै भेट हुन्छ । खान लगाउन काम गरेपछि कसैलाई दु.ख छैन । बस्ती बस्तीमा विभिन्न सघं संस्थाहरु खुलेका छन् । तिनै सघंसंस्थाबाट साउन लागेपछि दिनहुँ जस्तो तिजको दर खुवाउने चलन पनि चलेको छ । बजारका पार्टी प्यालेसहरुमा १०, २० जना सुकिला मुकिला महिला जम्मा भयो । दर खुवाउने भन्दै दुध र दहीको सट्टामा मासु र पेय पदार्थको भतेर लगायो । यसले विकृती निम्त्याएको तानसेन नगर दमकडाका पुराना गायक नारायण भण्डारी बताउछन् ।
२०४६ सालपछिका गितहरुमा महिलाका खान लगाउन नपाएका र घरेलु हिंसाबाट पीडित भएका गितको सट्टामा अधिकार आर्थिक अधिकार तथा राजनैतिक अधिकार प्राप्तीका गित गाउन लागे । पहिला पहिला अधिकार माग्ने महिलाहरुले यतिखेर नीति निर्माण संग बजेट विनीयोजन गर्न सक्ने तह सम्म पुगेका छन् ।
समय जति अगाडि गयो त्यति संस्कृतिको नाममा विकृति आएको रैनादेवी गाउँपालिकाको सत्यवतीकी कमला कार्की बताउँछिन् । यस्ता यस्ता विकृतीका कारण परम्परा हरायो । पुराना गितहरु गाउन जान्ने अब गाउँमा केही छैनन् । “गाउँमा गित गाएपनि विवाहको समयमा बेहुलाको घरमा गाइने रत्यौली भन्दा पनि अझ सुन्नै नसकिने तिजको गितहरु गाउँछन्”–उनले भनिन् ।
संस्कृतिको नाममा विकृति भित्रिएको माथागढी गाउँपालिकाको पुर्व जन प्रतिनिधि निर्मला भट्टराई बताउँछिन् ।
गितमा मात्र होइन । पर्व मान्ने तरिकाहरु पनि फेरियो । पहिले पहिले दुध , दही घिउ समय अनुसारका तरकारीहरु थिए भने आज भोलि त मासुको भतेरै लाग्छ । त्यसमाथि मदिरा, कोक, फेन्टा स्प्राइट जस्ता पदार्थहरु पनि अनिवार्य भएको छ । त्यसैले अब तीज संस्कृति नभएर फेसनै भएको उनले बताइन् ।