© २०२३
चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) को संक्रमणबाट २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका १०२ जनाको परीक्षण नमूनामा २८ जनामा स्वाइन फ्लुको किटाणु देखिएको र तीमध्ये आठजना बिरामीलाई आइसीयुमा राखेर उपचार गरिएको छ । यो रोगमा रुघा, खोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले यसलाई जटीलतातर्फ गएको मान्न थालेका छन् । यसलाई तत्कालै नियन्त्रणमा लिन सकिएन भने निमोनिया हँुदै ‘मल्टि अर्गान फेलर’ अर्थात् शरीरका अङ्गले काम नगर्ने र मर्नेसम्मको अवस्था आउन सक्छ । तर अहिलेसम्म कसैको मृत्यु भएको छ वा छैन भन्ने कुरा यकीन भएको छैन । यो सरुवा रोग भएकाले पनि छिट्टै नियन्त्रणमा लिनु आवश्यक छ । हरेकजसो बर्षायाममा यो रोग फैलने गर्दछ । कतिपय बेला त यसले महामारी नै फैलाएको हुन्छ । चितवन जिल्ला नेपालकै केन्द्र भाग र मानिसको अत्याधिक चहलपहल हुने स्थान भएकाले यसका जीबाणुहरू अन्यत्रका शहरमा पनि नपुग्लान् भन्न सकिँदैन । बुटवल, काठमाडौँ, पोखरा, हेटौँडा, विराटनगर, विरगञ्जलगायतका ठूला शहरहरूसँग प्रत्यक्ष आवागमन जोडिएकोले पनि सरकारले यो रोग नियन्त्रण गर्न विशेष भूमिका खेल्नु जरुरी छ
त्यसो त बर्षामा इन्फ्लुन्जा ए (एच वान एन वान) को संक्रमणमात्र नभएर अन्य सरुवा रोगहरूले पनि मानिसलाई आक्रान्त तुल्याउँछ । सुरक्षित खानेपानी उपलब्ध नहुनु, पाइखानाको उचित प्रबन्ध नहुनु, खाना खानुअघि राम्रोसँग हात धुने, खाद्यबस्तुको सरसफाइ गर्ने ज्ञानको कमी हुनुले विभिन्न सरुवा रोगको शिकार समय समयमा बन्नु परेको अवस्था छ । झाडापखाला, हैजा, इन्फलुञ्जा, लामखुट्टेले टोकेर लाग्ने विभिन्न रोगहरू पनि समय समयमा देखिएकै छन् । कतिपय स्थानमा डेँगू रोग फैलिएका खबरहरू आइरहेकै छन् । अहिलेको अवस्थामा पनि मानिसलाई यसरी विभिन्न संक्रमणका रोगहरू लाग्नु भनेको मानवीय सभ्यता र देशकै लागि नराम्रो सन्देश हो । देशको सरसफाइ कति तिब्रस्तरमा भएको छ भन्ने यो सन्देशले बताउँछ । सुनिन्छ केन्द्रिय राजधानीका खानेपानीमा ढलको फोहर मिसिएर कोलिफमको मात्रा बढेको छ । खानको लागि अशुद्ध भइसकेको छ । तर, पनि मानिसलाई त्यहि पानी खान वाध्यता छ । तराईका विभिन्न जिल्लामा जमीन मुनीबाट निकालिएको पानीमा पनि फोहर भेटिन थालेको छ । बढ्दो प्रदुषण जमीनमुनी पनि पुगिसकेको छ । आर्सेनिकको मात्रा बढ्दै छ । अब खानेपानीको सम्बन्धमा शुद्धता कसरी दिने भनेर सरकार, पानी विशेषज्ञहरूले नयाँ ढंगबाट सोँच्नुपर्ने भएको छ ।
खानेपानीमा त यहाँसम्म देखिएको छ कि बुटवल उपमहानगरपालिका बर्षेनी नेपालकै उत्कृष्ट नगरपालिका ठहरिन्छ । तर, नगरबासीलाई तिनाउको धमिलो पानी खानुपर्ने बाध्यता छ । बर्षायाममा उपभोक्ताका धारामा धमिलो पानी आइरहेको छ । यत्ति ठूलो उपमहानगरपालिकामा प्रशोधित पानी वितरण हुन सकिरहेको छैन । यत्रतत्र सडकहरू खनिएका छन् । पानीका पाइपहरू सडकमा लत्रिएका छन् । तिनै पाइपहरू पानीको मुख्य पाइपमा जोडिएको छ । त्यसरी सानो पाइपको माध्यमबाट मुख्य पाइपमा प्रदूषण पसिरहेको छ । यो पनि प्रायः असारको झरी लाग्ने महिनामा यस्ता कामहरू गरिएका हुन्छ् । मानिसको स्वास्थ्यमा खेलबाड गरेका यस्ता तमाम उदाहरणहरू छन् । यो समस्या बुटवलको मात्र नभएर देशकै विभिन्न शहर, शहरउन्मुख गाउँहरूमा देखिन्छ । समाधानका काम गर्ने मुख्य जिम्मेवारी सरकारको हो । स्थानीय निकायको हो । तर, जनताका समस्यासँग परिचित रहेर र आफ्ना आबासमा पनि त्यहि समस्या रहँदारहँदै वास्ता नगर्नु, अचम्म लाग्दो कुरा हो । शहरी क्षेत्रमा त यस्तो अवस्था छ भने दूर दराजका बस्तीका जनताले कस्तो जीवन गुजारेका होलान् अनुमान गर्न गाह्रो छैन । सिंहदरबार देखि प्रदेश तह र स्थानीय तहमा रहेर कुस्त तलव भत्ता बुझ्नेहरूले त मिनरल वाटरले घरमा खाना पकाएका होलान् । त्यहि पानीले नुहाउने गरेका होलान् । तर, जनतालाई भने अशुद्ध पानी पिउनु परेको छ । विभिन्न संक्रामक रोगको शिकार हुनुपरेको छ । पानीजस्तो अति आधारभूत पेयपदार्थमा यस्तो सरकारी लापर्वाही कहिलेसम्म ? यो प्रश्न उठिरहेको छ । प्रश्नमै सीमित रहेको छ ।