© २०२३
सम्पूर्ण प्रकृति जगत् निरन्तर कर्ममा लागिरहेको छ । मानिसहरुका लागि पनि कर्म गर्नु अनिवार्य छ । कर्म बिना शरीरको निर्वाह सम्भव छैन । मानिस कर्म नगरिकन एक क्षण पनि रहन सक्दैन र कर्म गर्नबाट मानिस कहिल्यै पनि बच्न सक्दैन । दैनिक जीविकोपार्जका लागि हामी केही न केही कर्म गरिरहेकै हुन्छौँ र कर्म गर्नुपर्ने हाम्रो वाध्यता पनि हो । कर्ममा व्यस्त हुनुपर्ने कारणले गर्दा छुट्टै समय निकालेर योग साधना गर्न समय नहुन सक्छ । यस्तो अवस्थामा कर्मलाई नै योग साधनाको माध्यम बनाएर आत्माज्ञानमा उपलब्ध हुन सकिन्छ र परमात्मा वा ईश्वरको अनुभूति गर्न सकिन्छ । यस्तो साधनाको नाम हो कर्मयोग । कर्मयोगले हामीलाई दैनिक जीविकोपार्जनको कर्म गर्दागर्दै ईश्वर प्राप्तितिर लैजान्छ ।
’समत्व योग उच्चते ।’ अर्थात् सफलता विफलता सबैमा समभाव राखेर कर्म गर्नु कर्मयोग हो । जो व्यक्ति सुख–दुःख, लाभ–हानी, जित–हार, यश–अपयश, भूत–भविष्यको चिन्ता नगरिकन कर्ममा लीन रहेर कुशलतपूर्वक कर्म गर्दछ त्यो नै कर्मयोगी हो । फेरि भनिएको छ, योगः कर्मसु कौशलम् । अर्थात् कर्ममा कुशलता नै योग हो । निष्काम भावनामा अनप्रेरित भएर, अहंकार र आशक्तिरहित कुशलतापूर्वक कर्तब्य निभाउनु नै कर्मयोग हो । आत्मस्मरणमा रहेर कर्म गर्नु कर्मयोग हो ।
अधिष्ठानं तथा कर्ता करणं च पृथक् विधम् ।
विविधाश्च पृथक् चेष्टा दैवं चैवात्र पञ्चमम् ।।
–श्रीमद्भगवद्गीता १८.१४अर्थात् अधिष्ठान (स्थान) कर्ता करण (साधन) चेष्टा (प्रयत्न) र दैव । काम गर्न चाहिने मानिसको भौतिक उपस्थिति, काम गर्न सक्ने क्षमता तथा कामको बारेमा राम्रो ज्ञान र काम गर्ने मानिसको शारीरिक मानसिक अवस्था, काम सम्बन्धी आवश्यक सूचना र साधनको सहज उपलब्धता, काम गर्ने क्रममा विभिन्न चरणमा गर्नुपर्ने प्रयासका क्रियाकलापहरु जसले काम गर्ने मानिसलाई समयानुसार सुसुचित गर्दछ । यी पाँचमध्ये चारवटा कारण व्यक्तिगत प्रयत्नको सेरोफेरोमा हुन्छन् भने पाँचौं कारण मानिसको नियन्त्रण भन्दा बाहिर हुन्छ जसलाई दैवी कारण भनिन्छ
कर्म योगमा धर्म, दर्शन, आध्यात्मिकता, नैतिकता, जीवन र समाजको सम्बन्ध रहेको छ । कर्म योग भनेको कर्ममार्फत ईश्वर प्राप्ति गर्ने एक योग विधि हो। यसमा साधकले आफ्नो कर्तव्य निष्काम भावले गर्दछन् र फलको आशा राख्दैनन् । यसले साधकलाई आत्मज्ञान, समता, भक्ति र मुक्ति दिन्छ ।
कर्म योगको विस्तृत वर्णन गीतामा गरिएको छ । कुनै पनि कर्म गर्दा फलको सुनिश्चितता आफ्नो अधीनमा छैन भनेर कर्म नगर्ने भन्ने चाहिँ हुँदैन । कर्म गर्दै गरिएन भने प्रायः सबै सम्भावना स्वतः निस्क्रिय भइदिन्छन् ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
–श्रीमद्भगवद्गीता २.४७
अर्थात् हाम्रो अधिकार केवल कर्म गर्नुमा छ । न कि फलमा । कर्मको फलको हेतु पनि नबन । र काम नगर्न खोज्नुमा पनि तिम्रो आसक्ति नहोस् । कर्मको फल पाउनै पर्छ भन्ने आशक्तिबाट जब काम थालिन्छ तब मानिस त्यो फल प्राप्तिको साधन वा हेतु बन्न पुग्दछ । कामको हेतु वा साधन बन्न खोजियो भने मानिस अरुबाट सञ्चालित उपकरण जस्तो बन्न पुग्दछ ।
कर्मयोगी त्यो हो जसले समान विचार, भावना र बुद्धिका साथमा कर्महरु सम्पादन गर्ने काम गर्दछ । त्यस्तो कर्मयोगी कुनै पनि कर्मका राम्रा नराम्रा, धेरै थोरै, आदि इत्यादि फलका विषयलाई लिएर हर्ष र द्वेष गर्ने काम गर्दैन । चाहे काम गर्दै जाँदा अपेक्षा गरिएअनुसार प्राप्ति होस्, चाहे अपेक्षा गरिएअनुसार थोरै प्राप्त होस्, कुनै पनि अवस्थामा आफ्ना दृष्टिलाई समान राख्ने व्यक्तिलाई कर्मयोगी भनेर गीताले बताएको छ ।
यसै प्रसङ्गमा जब अर्जुनले कर्मसन्न्यास र कर्मयोगको श्रेष्ठताका बारेमा प्रश्न गरे, जवाफमा श्रीकृष्णले भन्नुभयो, ‘कर्मसन्न्यास र कर्मयोग यी दुवै उत्तिकै महत्त्वपूर्ण र परम कल्याणकारी छन् । तापनि, कर्मसन्न्यास अलि गाह्रो हुन्छ । सहज, सरल र स्वाभाविक हुने हुनाले गृहस्थहरुका लागि कर्मयोग साधनादिका दृष्टिले पनि श्रेष्ठ छ ।’ यसको अर्थ अर्जुन सांसारिक थिए, गृहस्थ थिए । उनले कर्मसन्न्यासीहरुले जस्तै कर्मलाई त्याग गर्न सक्दैनथे । त्यसैले, भगवान् श्रीकृष्णले कर्मयोग गृहस्थहरुका लागि श्रेष्ठ हुने कुरा बताएका छन् ।
हामी जस्तो कर्म गर्छौं त्यस्तै फल प्राप्त पाउँछौं । राम्रो कर्मको राम्रो फल र नराम्रो कर्मको नराम्रो फल प्राप्त हुन्छ । मानिसलाई ईश्वरले विवेक र बुद्धि दिएर कर्म गर्ने पूर्ण स्वतन्त्रता दिएका छन् । मानिसले चाहेमा सत्कर्म गरेर खुशी, शान्ति, सफल र आनन्दको मार्गमा अगाडि बढ्न पनि सक्छ र दुष्कर्म गरेर महादुःखमा पनि जानसक्छ । कर्म गरेपछि कर्मफल स्वतः आउने भएकोले कर्म गर्दा कर्ममा राम्रोसँग ध्यान लगाएर होसपूर्वक कुशलतम् तरिकाले कर्म गर्नु हाम्रो हातमा छ र त्यसबाट प्राप्त हुने फललाई अहोभावका साथ स्वीकार्नु पर्छ । राम्रो कर्म गर्नु हाम्रो हातमा छ र कर्म गर्न हामी स्वतन्त्र छौँ तर कर्म गरिसकेपछि प्राप्त हुने फलमा हाम्रो हात हुँदैन र कर्मफलमा हामी स्वतन्त्र हुँदैनौ । त्यसकारणले कर्मबाट प्राप्त हुने फलमा आसक्त नभइकन कर्ममा ध्यान दिएर कुशलतापूर्वक कर्म गर्नुपर्छ, यो नै हाम्रा लागि कर्मयोग हो ।
कर्मलाई तीन तरिकाबाट सम्पादन गर्न सकिन्छ । कर्मलाई कर्तव्य सम्झेर फलको कुनै पनि आसक्ति नगरेर गर्ने कर्मलाई सत्व गुण भनिन्छ । कर्मबाट कसैलाई प्रभावित गर्नको लागि वा कर्म गरेबापत कुनै इच्छा वा उद्देश्य पूरा हुन्छ भने अर्थात् लोकको मनोकामनाका साथ कर्म गरिन्छ भने त्यो रजोगुण प्रवृत्ति हो । त्यस्तै कर्मलाई राम्ररी नबुझी वा लापरवाही तरिकाले गर्नु तामसिक कर्म हो ।
जसरी कुनै पनि सफलता स–सानो समयको सदुपयोगबाट मात्रै हुन्छ । त्यसैगरी जीवनको सफलता पनि हरेक क्षण–क्षणको सदुपयोगबाट मात्रै सम्भव छ । समय खेर फाल्नु भनेको आफ्नो जीवनको अमूल्य अंश खेर फाल्नु जस्तै हो । किनभने त्यो समय पुनः फर्केर आउँदैन । मानिसमा प्रकृतिजनित सत्व, रज र तमोगुण जन्मजात रुपमा नै आएका हुन्छन् । अर्थात् कुनै व्यक्तिले काम नगरी बस्नै सक्दैन र स्वतन्त्र रुपमा काम गर्दा जन्मदेखिको प्राकृतिक गुणका आधारमा गर्दछ । अतः त्यस्तो कामको फल कस्तो हुने भन्ने निर्णय सो काम गर्ने मानिसको सत्व रज तमो आदि गुणमा निर्भर रहन्छ ।
जुनसुकै कर्मलाई जबसम्म नैष्क्रम्य भावबाट गर्न सकिँदैन, त्यो कर्म बोझ बनिरहन्छ । बोझले अगाडि हिँड्नुपर्ने मानिसलाई उल्टो दिशामा धकेल्न थाल्दछअर्थात् लक्ष्य प्राप्तिमा वाधा उत्पन्न गराउँछ । यस्तो अवस्थामा अगाडि तान्ने र पछाडि धकेल्ने विपरीत बलको मारमा मानिस पिल्सिन थाल्दछ, फलस्वरूप त्यो दुःख, पीडा मानसिक वा शारीरिक रोगका रूपमा देखा पर्न थाल्दछ अर्थात् नैष्क्रम्य भाव बिना गरिने कामले उल्टो फल दिन्छ । कामलाई कुशल तरिकाले अथवा नैष्क्रम्य भावबाट किन गर्ने भन्ने द्विविधा पनि हुन सक्दछ । यसको प्रमुख कारण हो काम र जीवनमा सन्तुलन ल्याउनु । यसका लागि नैष्क्रम्य भाव एक उत्कृष्ट साधन हो । किनभने एउटा सन्तुलित मानिसले मात्र जीवनको सार्थकता वा उद्देश्यको बाटो पहिल्याउन सक्दछ । जीवनको उद्देश्य अथवा पुरुषार्थलाई धर्म अर्थ काम र मोक्षको क्रममा लिइन्छ ।
हाम्रो जीवनका धेरै कर्महरु आफै भइरहेका छन्, हामी त्यसका निमित्त मात्र हौ । हामीद्वारा कर्म हुन्छ तर हामीले गरेको होइन । यो कुराको बोध हुनु नै अकर्मको स्थितिमा हुनु हो र कर्मयोगमा हुनु हो । हामी सबै कुरा थाहा पाउने साक्षी र द्रष्टा मात्र हौँ, हामी कर्ता होइनौँ भन्ने बोधबाट नै वास्तविक आनन्दानुभूति प्राप्त हुनेमा विश्वस्त बन्न सकौं ।