© २०२३
अहिले नेपालमा वायु प्रदुषणले निकै चर्चा पाईरहेको छ । वायु प्रदुषणले गर्दा विश्वका सहरमध्ये प्रदुषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको भन्दै धेरैले चिन्ता व्यक्त गरे । स्वास्थ्य मन्त्रालय र विज्ञहरूले नागरिकलाई सकेसम्म घर वाहिर ननिस्कन, साँझ र विहान घुमफिर नगर्न आग्रह गरिरहेका छन् । काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी भएकोले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै स्वास्थ्यकर्मी र वातावरणविदहरूले चिन्ता गरीरहेका छन् । लुम्बिनी प्रदेशको दक्षिणमा रहेको भारतिय भूमिमा वायु प्रदुषणको अवस्था चिन्ताजनक रहेको र प्रदेश भित्रकै आन्तरिक कारणले पनि यहाँको वायु प्रदुषित भैरहेकोले लुम्बिनीवासीलाई चिन्तित बनाएको छ ।
डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । नेपाल सरकारले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर र पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने वायु प्रदुषणमा टीएसपीको मापदण्ड २३० कायम गरेको छ । धेरैजसो विकसित राष्ट्रहरूले टोटल सस्पेंडेड पार्टिकल्स (टिएसपी) लाई नियमन नगरिकन पीएम १० लाई मात्र नियमन गरेका छन् । नेपालमा स्थलगत अध्ययनबाट वायुमा टिपिएस को मात्रा धेरै देखिएकोले यसलाई वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डमा समावेश गरेको छ । १० माइक्रोन वा सो भन्दा कम व्यास भएका कणहरूलाई पीएम १० भनिन्छ । यी कणहरू स्वाशप्रस्वाश नलीको तल्लो भागसम्म पुग्न सक्छन्, जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । धेरै सूक्ष्म कणहरू जसको व्यास २.५ माइक्रोन वा सो भन्दा कम छ, त्यस्ता कणहरूलाई पीएम २.५ अन्तर्गत राखिन्छ । यी कणहरू स्वाशप्रस्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छन् । जाडोको समयमा हावामा यस्ता कणहरू वायु मण्डलको तल्लो सतहमा लामो समयसम्म अडिएर रहने भएकोले यो समयमा वायुमा तीनवटै कणहरूको मात्रा बढी हुने गरेको छ ।
लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, नेपालगंज बढी मात्रामा औद्योगिकरण र यातायातका साधनहरू संचालन भएका क्षेत्र हुन् । पश्चिम नवलपरासीको परासी क्षेत्र, भैरहवा– बेथरी क्षेत्र, बुटवल वरपरको क्षेत्र, कपिलवस्तुको कृष्णनगर क्षेत्र, दाङ्गको घोराही, बाँकेको नेपालगंजमा पछिल्लो समयमा औद्योगिकरण तिब्र भएको छ । यी क्षेत्रमा संचालित सिमेन्ट उद्योग, इट्टा कारखाना, ग्यारेज र शहरी फोहरमैलाले वायु दुषित हुदै आएको छ । कहिलेकाही लुम्बिनी नजिकका कलकारखानाले गर्दा लुम्बिनी क्षेत्रको वायुको गुणस्तर खस्किएका आवाजहरू सुन्ने गरिएको छ । वायु प्रदुषणको कारणले लुम्बिनीमा पर्यटकहरूलाई असर पुगेको कुरा सुनिने भएपनि अन्य शहरी क्षेत्रको वायु प्रदुषणको चर्चा कमै हुने गरेको छ ।
लुम्बिनी प्रदेशका प्रस्तावित महानगर नेपालगंज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवलको चौराहा–चिडियाखोला खण्डमा पछिल्ला वर्षहरूमा सडक निर्माण कार्यले तिब्रता पाएको छ । यहाँका सडकहरू विस्तार गर्ने कामले आवश्यक भन्दा लामो समय लने गरेको पाइन्छ । सडकहरू बनाउने र विस्तार गर्ने नाममा भत्काएर छोड्ने, लामो समयसम्म नबनाउने, सडक निर्माण गर्दा धुवाँ धुलो नियन्त्रणका उपयुक्त उपायहरू नअपनाउने गरिकेकोले प्रदेशका मुख्य नगर क्षेत्रमा प्रायजसो धुलो उडिरहेको देखिन्छ । बुटवल–भैरहवा, कोहलपुर–नेपालगंजको सडक करिब करिब पुरा भएपनि बुटवल– गैंडाकोट सडक समयमै पूरा हुन नसक्दा यी शहरहरूमा प्रायजसो धुलो उडिरहेको देखिन्छ । बुटवलभित्र आन्तरिक सडकहरू निर्माण भैरहेका छन्, सडक निर्माणमा सिघ्रता र सावधानी नअपनाउदा स्थानीयहरू धुले वस्तीमा वस्न बाध्य छन् । तम्घास–पाल्पा सडक अहिले धुलोमार्गमा परिणत भएको छ । यहि सडकको धुलो बुटवलको वायु मण्डलमा फैलिदा बुटवलको वायुमा धुलो प्रसस्त बढेको छ । महेन्द्र राजमार्ग विस्तारको काममा भैरहेको ढिलासुस्तीले गर्दा बर्दघाट, सुनवल र खैरेनी जस्ता साना सहरहरू धुलोको कुहिरो भित्र गुम्सिएका छन् ।
लुम्बिनी प्रदेशका कूल क्षेत्रफल १९ लाख १९ हजार ४१७ हेक्टर मध्ये १० लाख ४९ हजार ४०८ हेक्टर भूभाग वनले ओगटेको पछिल्लो अध्ययनले देखाएको छ, जुन क्षेत्रफल प्रदेशको कून क्षेत्रफलको ५४.७ प्रतिशत हो । लुम्बिनीमा वन बुट्यान क्षेत्रको क्षेत्रफल २.३ प्रतिशत (४५०६९ हे.) छ । पछिल्लो २ दशकमा कृषि भुमि खुम्चिएर ७ लाख ३३ हजार ८०१ हेक्टरबाट ६ लाख १४ हजार ५२१ हेक्टरमा आएको छ । पैदेहमा वनको अवस्था राम्रो देखिएपनि यहि प्रदेशमा २० पालिका वनरहित छन् । वन नीतिले हरेक स्थानीय तहमा कम्तिमा १० प्रतिशत वन क्षेत्र हुनुपर्ने ब्यवस्था गरेको भएपनि लुम्बिनी प्रदेशको बाँकेमा ३, कपिलवस्तुमा ५, नवलपरासीमा ३ र रूपन्देहीमा ९ पालिका वनरहित भएको पाईन्छ । सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिकासहित मर्चवारी, रोहिणी, मायादेवी, कोटहीमाई, सियारीलगायत गाउँपालिकामा वनक्षेत्र शुन्य छ ।. बुटवल उपमहानगरपालिकामा भने ४९ प्रतिशत वन क्षेत्र छ । विस्तार हुदै गएका र ठूला शहरी क्षेत्रमा वन खुम्चिदै गएको छ । शहरीकरणसंगै पुराना कुलोहरू, खोल्सा, खोलाहरूका डिल अतिक्रमण गरि संरचनाहरू निर्माण गर्ने क्रम बढेको र सडक निर्माण गर्दा किनाराका रुखहरू मासिएकाले शहरी क्षेत्रमा हरियाली निरन्तर घटिरहेको छ । यस्ता गतिविधिले गर्दा प्रदेशमा वायु प्रदुषण वृद्धिमा सघाउ पुगिरहेको छ ।
लुम्बिनी प्रदेशमा वायु प्रदुषण समस्या बढाउनमा यहाँका कतिपय परम्परागत व्यवहार पनि जिम्मेवार छन् । तराई क्षेत्रमा बाली स्याहारेपछि खेतबारीमा नै पराल, भुस, छ्वालिमा आगो लगाउने प्रचलन छ । प्रसिद्ध लुम्बिनी क्षेत्रमा वायु प्रदुषण बढ्नुमा यसलाई प्रमुख कारण मध्येको एक मानिन्छ । तराईमा व्यवसायिक खेति गर्ने क्रम बढेको छ र खेतीपातीमा रासायनिक विषादीको प्रयोग बढ्दो छ । प्रदेशको तराईसंग जोडिएका भारतीय भूभागमा त् झन् विषादी अत्यधिक प्रयोग हुने गरेको छ । भारतमै वायु प्रदुषण उच्च भएका क्षेत्रहरू मध्येमा पर्ने लखनौ र गोरखपुर जस्ता शहरहरू प्रदेशको नजिक रहेका छन् । पश्चिमी वायुको प्रभाव यो प्रदेशमा बढी हुने र यो वायुसंगे भारतीय भूमिको प्रदुषण पनि प्रदेशमै आउने गरेको छ । २०७८ को जनगणना अनुसार यस प्रदेशका ५३.६८ प्रतिशत परिवारले खाना पकाउनको लागि दाउरा र २ प्रतिशतले गँुइठाको प्रयोग गर्छन । घरहरू साँघुरा हुने र यस्ता परम्पागत उर्जाको प्रयोग बढी हुने भएकोले लुम्बिनी प्रदेशमा घरभित्रको प्रदुषण उच्च रहेको सहज अनुमान गर्न सकिन्छ ।
हिउँदपछी निकै कम पानी पर्ने यो प्रदेशमा धेरै डढेलो लाग्ने गरेका तथ्यांकहरूले देखाउँछन । वन तथा भूसंरक्षण विभाग र ईसिमोडले २०१९ मा गरेको एक अध्ययन अनुसार डढेलोका हिसाबले नेपालका १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील देखिएका छन् । अति संवेदनशील जिल्लामा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, अर्घाखाँची र पाल्पा छन् भने संवेदनशील जिल्लामा दाङ, प्युठान र नवलपरासी (पश्चिम) रहेका छन् । विगतमा तराईमा बढी डढेलो लाग्ने गरेकोमा पछिल्ला वर्षहरूमा चुरे र महाभारत क्षेत्रमा बढी डढेलो लाग्ने गरेको देखिएको छ । लुम्बिनी प्रदेशका घना मानव वस्तीहरू चुरेको नजिकमा छन् । चुरेमा डढेलो लाग्दा वस्तीमा धुवाँ र खरानी सहजै फैलिएर दिउँसै बादल लागेको जस्तो हुने, सास फेर्न कठिन हुने, तापक्रम वृद्धि हुने जस्ता समस्याहरू बर्दघाट, सुनवल, देवदह, तिलोत्तमा, बुटवल, सैनामैना, बांगंगा, बुद्धभूमि, शिवराज, राप्ति, लमही, गढवा, घोराही, तुलसीपुर, कोहलपुरका वासिन्दाहरूले वर्षेनी बेहोर्दै आएका छन ।
लुम्बिनी प्रदेशमा फोहरमैलाको बारेमा अचेल प्रसस्तै चर्चा हुने गरेको छ । टिपर चल्ने बाटो र खानी छेउछाउ, क्रेसर उद्योग र सिमेन्ट उद्योग छेउछाउका बासिन्दाहरूले धुलोको विरुद्ध कहिलेकाही आवाज उठाउने गरेपनि समग्र वायु प्रदुषणको बारेमा प्रदेशमा धेरै चासो लिएको देखिदैन । प्रदेशमा वायुको गुणस्तर मापन गर्नको लागि नेपालगंज, घोराही, लुम्बिनी र बुटवलमा रियल टाईम एअर मनिटर मसिन राखिएको थियो । बुटवलमा राखिएको मनिटरले २०७५ चैत्रदेखि काम गर्न छोडेको छ । लुम्बिनीको मेसिनले पनि २०७७ बैशाखदेखि काम गरेको छैन । घोराही र नेपालगन्जको मेसिनले भने काम गरिरहेका छन् । विभिन्न शहरहरूमा जडित मसिन र स्याटेलाईट तथ्यांकहरूलाई विश्लेषण गर्दा प्रदेशका दक्षिणी क्षेत्रमा वायु प्रदुषणको अवस्था चिन्ताजनक देखिन्छ । तुलनात्मक रूपले फराकिलो र कम शहरीकरण र औद्योगिकरण भएको दाङ उपत्यकाको हावामा प्रदुषक कणहरूको मात्रा स्वीकृत सीमाभन्दा ३ गुणा भन्दा बढी हुनुले यो उपत्यका भविष्यमा काठमाडौं उपत्यका जस्तै प्रदुषित र अस्वस्थकर बन्ने चिन्ता बढेको छ ।
लुम्बिनी प्रदेशमा घना शहरी क्षेत्र नयाँ औद्योगिक क्षेत्र र सडक संजालहरू विस्तारित हुदैछन् । यी सबै कामहरू हुँदा वातावरणीय मापदण्डलाई पालना नगरिएकोले प्रदेशमा वायु प्रदुषणको समस्या बढिरहेको छ । अहिले प्रदेशमा वायुको गुणस्तर सम्बन्धि निकै कम सुचनाहरू प्राप्त छन्, यसैको आधारमा हेर्दा पनि प्रदेशको वायु अस्वस्थकर भएको देखिएको छ । प्रदेशका सबै मुख्य शहरमा एअर मनिटर मेसिन राखेर जाँच्ने हो भने यो भन्दा फरक नतिजा आउनेछैन । विश्व शान्तिको मुहान लुम्बिनी, स्थलमार्गबाट धेरै पर्यटक नेपाल आउने नाका भैरहवा, पश्चिममा धेरै पर्यटक प्रवेश गर्ने बिन्दु नेपालगंज र प्रदेशको राजधानी तोकिएको दाङमा वायुको गुणस्तर अस्वस्थकर भैरहदा प्रदेशका नागरिकको स्वास्थ्य त जोखिममा परिरहको छ नै प्रदेशको पर्यटनमा समेत नकारात्मक प्रभाव परेको छ । प्रत्येक नागरिकलाई आफुले स्वास फेर्ने वायु कति स्वस्थ र सुरक्षित छ भन्ने जान्ने अधिकार छ । सरकारले उचित प्रणाली जडान गरेर नागरिकलाई उनीहरूको वायुको वारेमा जानकारी दिने, प्रदुषण बढी भएको ठाँउमा प्रदुषणको श्रोतमा नियन्त्रण गर्ने, स्वच्छ उत्पादन प्रविधि र हरियाली प्रवर्द्धनमा जोड दिने जस्ता कामहरू गर्न सकिएन भने लुम्बिनी प्रदेशका तराई र उपत्यकाका धेरै शहरहरू काठमाण्डौ उपत्यका जस्तै दुषित शहरको परिचय पाउन बेर लाग्नेछैन ।