© २०२३
ज्यानमारा खोलाको रूपमा चिनिँदै आएको ढाँडस्थित झिमरुक खोलाले यसवर्ष पनि स्थानीयको ज्यान लिएको छ । झिमरुक गाउँपालिका–७ तुषारा काप्रेखोला प्यूठानका ५५ वर्षिय बाटुले सामतलाई बगाएपछि हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको हो । ढाँड–स्याउलीघारी पक्कीपुल नबन्दा यस क्षेत्रका स्थानीयको वर्षेनी मृत्यु हुने गरेको छ । बजार गरेर घरतर्फ जाँदै गर्दा सामतलाई खोलाले बगाएको हो । घरमुलीकै मृत्य भएपछि परिवार बिचल्लीमा छन् । सामतका तीन छोरा, तीन छोरी, बुहारी र श्रीमती छन् । एउटै स्थानबाट वर्षेनी नागरीकलाई खोलाले बगाउँदा यस क्षेत्रका स्थानीय चिन्तित बन्दै गएका छन् । वर्खा शुरुहुँदा वित्तिकै स्थानीयको मनमा त्रास हुनेगर्छ ।
गतवर्ष नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान विष्णु बहादुर महतराको समेत यही स्थानमा खोलाले बगाएर ज्यान गयो । झिमरुक गाउँपालिका–७ तुषारा निवासी ऊनी रोल्पा कार्यरत थिए । परिवारसँग खुसी मनाएर कार्यथलोतर्फ फर्कदै गर्दा महतरालाई खोलाले बगाएको थियो । ओखरकोट दारीमचौरका रेकम खत्री, सोही ठाउँका भक्त बहादुर खत्री, तुषारा गोव्दीका मोहनसिँह बस्नेत, लिवाङ टिमुरचौरकी निर्मला गिरी, ढाँडका अनिल खत्रीको खोलाले बगाएर मृत्यु भइसकेको छ । खोलातर्न नसकेपछि भिरको अप्ठयारो बाटो हिँड्दा ओखरकोटकै मिन बहादुर जिसीको लडेर मृत्यु भएको दारीमचौरका स्थानीय नागरीक समाजका अगुवा हुकुम बहादुर खड्काले जानकारी दिए । पढ्न आउँदै गरेका विद्यार्थी, मेलापात गर्न झरेका किसान, बजार गर्न आएका व्यापारीलाई खोलाले सताउने गरेको उनले सुनाए । ‘पुल बन्ने आशामा वर्षौ वित्यो’,उनले भने,‘पुल बन्ने कुरा आकाशको फल, आँखातरी मर जस्तै भयो ।’ यसवर्ष पुल बन्ने आशामा रहेका स्थानीयको सपना पुरा नहुँदा चिन्तित हुनुपरेको उनले सुनाए ।
पुल नहुँदा झिमरुक, गौमुखी र नौवहिनी गाउँपालिकामा पर्ने दर्जन बढी दुर्गमका सर्वसाधरण प्रत्यक्ष प्रभावित भएका छन् । लिवाङ, तुषारा, लुङ, पुँजा, खुङ, नारीकोट, रजवारा, अर्खा, बांगेमरोट, खवाङ, स्याउलीवाङ र ओखरकोट सहित सिमानामा जोडिएका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र बाग्लुङका नागरिकहरू जोखिम मोलेर खोला वारपार गर्दै आएका छन् । बर्खाभरी खोला बढेपछि यस क्षेत्रका सर्वसाधरण स्थानीय छिपछिपे सामुदायिक बनको अप्ठ्यारो बाटोहुँदै बजार गर्न जानुपर्ने बाध्यता छ । गौमुखी क्याम्पस मच्छिका प्रमुख शेर बहादुर जिसी अनुसार सयौँ विद्यार्थी दैनिक प्रभावित हुने गरेका छन् । ‘भिरको बाटोमा पनि पहिरो गएर अवरुद्ध हुन्छ’,उनले भने,‘खोलापारीका नागरिक ढाँड, मच्छि बजार गर्न घण्टौँ समय लगाएर आउनुपर्ने बाध्यता छ ।’ बालशिक्षा मावी, गौमुखी क्याम्पस, नेश्नल÷गौमुखी इंग्लिङ बोर्डिङ स्कुलमा गरी झण्डै पाँच सय बढी विद्यार्थी खोला तरेर पढ्न आउनुपर्ने बाध्यता रहेको उनले जानकारी गराए ।
तीनवर्ष अघि ‘स्याउलीघारी–ढाँड पक्कीपुल’ निर्माणको काम थालिएको थियो । प्राविधिक समस्या देखिएपछि निर्माण रोकियो । पटकपटक डिजाइन स्टिमेट फेल भएपछि निर्माणको काम प्रभावित भएको छ । निलगिरी÷आँसु जेभी निर्माण सेवाले भ्याट सहित चार करोड दुईलाख रूपैयाँ लागतमा पक्कीपुल निर्माणको जिम्मा पाएको थियो । प्राविधिक कार्यालय प्यूठानका अनुसार निर्माण कम्पनीले तीस प्रतिशत रकम भूक्तानी बुझिसकेको छ । निर्माणस्थलमा हाल पारीपारी दुई वटा पिलर उठाइसकिएको निर्माण व्यवसायी बालाजु श्रेष्ठले जानकारी दिए । ‘बीचको पिलर उठाउन बाँकी छ’,श्रेष्ठले भने,‘दलदल सहितको माटो भेटिएपछि काम रोकेका छौँ ।’ पुल बनाउनका लागि डिजाइन नै परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।
पुल निर्माणका विषयमा प्यूठानका प्रतिनिधीसभा सदस्य दुर्गा पौडेल सहित झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसी लगाएतको टोली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर डेलिगेशन बुझाएको छ । स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलीडार) मा समेत ध्यानाकर्षण गराइएको अध्यक्ष तिलक जिसीले जानकारी दिए । ‘पूनः डिजाइन स्टिमेटका लागि माग गरेका छौँ’,उनले भने,‘यसै महिनाको दोस्रो सातासम्म प्राविधिक टोली आउने आश्वासन पाएका छौँ ।’ पुल निर्माणका लागि निरन्तर दवाव दिएर भएपनि निर्माणको कामलाई पूर्णता दिएरै छाड्ने उनले प्रतिवद्धता जनाए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी