© २०२३
नेपालीमा एउटा भनाइ छः रक्षक नै भक्षक । रक्षा गर्ने जिम्मेवारी लिएको मानिसलाई रक्षक भनिन्छ । रक्षा गर्ने जिम्मेवारी लिएबापत सरकारले उनीहरूलाई तलब दिन्छ । लत्ता कपडा दिन्छ । बाह्र महिना काम गरेबापत तेह्र महिनाको तलब पाउँछ । बिदा सुविधा पाएको हुन्छ । उसको सुरक्षा वापत जीवन बिमा, दुर्घटना बिमा, औषधोपचार, सञ्चयकोष र सेवानिबृत्त भएपछि परिवारको समेत भरणपोषण हुने गरी पेन्सनको ब्यवस्था गरिएको हुन्छ । यो सबै जनताले कर तिरेको पैसाबाट सरकारले दिने हो । तर, त्यहि रक्षक नै भक्षक भएर चोरी गर्छ, घुस खान्छ भने त्यसलाई के ठान्ने ? नवलपरासीमा यस्तै देखियो । नवलपरासीको सुनवलबाट चोरी भएको एउटा स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला प¥यो । बा १५ च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं.२६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला प¥यो । अब त्यस्तो मानिसलाई कुन आडमा रक्षक मान्ने ? गाडी चोरीको आरोपमा चौधरीसहित रूपन्देही सैनामैना नगरपालिका–३ का दिलिप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराल पनि पक्राउ परेका छन् । गाडी चोरी भएपछि सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छ भन्दै पठाएको अवस्थामा उनले सो गाडी फेला पारेका थिए । अहिले तीनैजनालाई हिरासतमा राखिएको छ ।
एक हप्तासम्म गाडी बिक्री नभएपछि चोरीका मुख्य नाइके चौधरीले गाडीको नम्बर निकालेर भारतीय नक्कली बिलबुकसमेत बनाउन भ्याए । बिआर २२ एन ०९८८ नं को नक्कली स्कारपियोको भारतीय बिलबुक बनाएका उनीहरूले एक दुई दिनमा भारत लगेर बिक्री गर्ने तयारी गरेको समेत अनुसन्धानमा खुलेको छ । संलग्न तीनैलाई चोरी मुद्दामा कारबाही अघि बढाइएकोे छ । चोरी गर्नेहरू त पक्रिए । तर, प्रबृत्ति जस्ताको तस्तै छ । हिँजो कसैले यस्ता काम गर्थे । आज उनीहरूले गरे । भोलि त्यसरी नै अर्को कुनै निस्कन्छ । यो सिलसिला दोहोरिइरहन्छ । किनभने यस्तो चोरी प्रबृत्तिलाई पुलिस संगठनले संरक्षण गरेको छ । सेनाले पनि संरक्षण गरेकै छ । यहाँको राजनीतिले संरक्षण गरेको छ । प्रशासन यन्त्रले संरक्षण गरेको छ । समष्टीमा भन्नुपर्दा सिष्टमले संरक्षण गरेको छ । प्रहरीको काम, कर्तब्य, अधिकार सबै कुरा उनीहरूको आचारसंहितामा लेखिएको हुन्छ । भर्तीहुँदा सपथ ग्रहण गर्नुपर्छ कर्तब्य पालना गर्नेछु भनेर । खोई कहाँ गयो त्यो सपथ ? तिनै सपथ खाएकाहरूबाट कसैका गाडी चोरेर नम्बर प्लेट बदलेर बेच्ने हिम्मत कसको आडमा हुन पुग्यो ?
पौराणिक कालमा कसैले चोरी गरेको प्रमाणित भयो भने हात काटिदिने चलन थियो । ताकि तिनी हातले भोलिका दिनमा कसैको कुनै बस्तु चोरी नगरोस् । झूटो बोलेमा जिब्रो थुतिदिने गरिन्थ्यो । ताकि त्यो मुखले कुरा झुठो नबोलोस् । बलात्कारीको जनेन्द्रिय काटिदिने चलन थियो । ताकि भोलिका दिनमा उसबाट कोही बलात्कृत हुनु नपरोस् । समाजमा सुधार ल्याउनको लागि त्यसले राम्रो भूमिका निभाएको थियो । मलाई यस्तो दण्ड हुन सक्छ भनेर मानिसले दण्डसँग डराएर आफूलाई सुधार्थे । तर, अहिले ती कानुन छैनन् । जो चोर छ त्यसैको गलामा धेरै किलो फूलबाट उनीएको हार पर्छ । बलात्कारीलाई कारबाही गर्नेभन्दा जोगाउनेहरूको ठूलो ताँती लाग्छ । कारबाही गर्नेहरू फिका पर्छन् । यहाँ चोरसँग ठूला नेता, कर्मचारीहरूको नजिकको साइनो गाँसिएको हुन्छ । किनभने चोरेकोे पैसाबाट हिस्सा दिन्छ । चौधरी, बोहोरा र बराल पनि भोलि निस्कलंकित बनाइन सक्छन् । कुन पार्टीका कुन नेताका कार्यकर्ता हुन् उनीहरूले सुन पानी छरेर चोखाइदिन्छन् । त्यसैले यो प्रबृत्ति मौलाउँदै गएको छ । चोरहरू निडर बन्दै जानुको पछाडि संगठनकै कमजोरी हो । सिष्टममा भएको खोट हो । यसलाई कसले सुधार्ने ? प्रश्न यो हो ।