© २०२३
बेरोजगार समस्याले धेरै युवाहरूलाई सताएको छ । क्षमता हुँदाहँुदै पनि रोजगारी नपाउनुको पीडा साँच्चै नै दुःखदायी छ । नेपाली परिवेशमा अहिले धेरै युवाहरू रोजगार नपाएका कारण विदेशी भूमिमा जान बाध्य छन् । दैनिक सयौं युवाहरू आफ्नो परिवारको भविष्यलाई सुरक्षित पार्नका लागि विदेश रहेका छन् ।अध्ययनमा डिग्री हासिल गरे पनि धेरै युवा देशमा बेरोजगार बस्नु परेको अवस्था छ । अध्ययन अनुसारको जागिर र आम्दानी नहुनुले पनि युवा वर्गलाई विदेश पलायन गराउन मद्दत पुगेको देखिन्छ । सरकारले युवालाई श्रम र सीपसँग जोड्न सकेको छैन । यहाँ बसेर जेनतेन केही जागिर पाए पनि दैनिक गुजारा चलाउन मुस्किल छ । त्यसैले पनि अहिले विदेशका भाषा सिकेर विदेश जाने युवाको संख्या बढ्दो छ ।
हाम्रो समाजको यस्तै यर्थाथतालाई टिपेर पत्रकार गिरिजा अधिकारीले लेखेको ‘ए सरकार हामी भयौं बेरोजगार, कहिले हुने हाम्रो घरबार’ को गीत बजारमा ल्याएका छन् । साँच्चै नै गीतले लाखौं नेपाली युवाहरूको मनको कुरालाई दर्साएको छ । यूवा बेरोजगारको अवस्थालाई देखाएको छ । यूवा, बेरोजगार र दैनिकीको बिषयमा मन छुने शब्दहरू समावेश गरिएको छ । ‘पसिना देशमै बगाउने मन छ हिमाल कै काखमा निदाउने मन छ । दुनिया चन्द्र मंगल पुगिसके हाम्रा हात मुखैमा’ । साँच्चै नै अरू देशका युवाहरूले देश विकासका लागि योजना बुन्दै गरिरहेको बेलामा हाम्रो देशका युवाहरू भने पारिवारिक समस्या समाधानका लागि अन्य मुलुकमा पसिना बगाउन बाध्य भएको छन् । गीतको यो यर्थाथले धेरै युवा वर्गको प्रतिनिधित्व गरेको छ । यस्तै वास्तविक जीवनसँग मेल खाने शब्दले यो गीतलाई साँच्चै उत्कृष्ट बनाएको छ । गीतले हाम्रो देशका नेताहरूको रूपलाई गीत मार्फत देखाएको छ भने नेपाली युवाहरूको समस्यालाई उजागर गरेको छ । सक्षम भएर पनि जागिर नपाउनु जागिर खानलाई नि पैसा दिनु पर्ने समस्या छ ।
नेताहरू आफ्नो स्वार्थ पुरा नहुँदा सम्म जसरी भाषण गरेर जनतालाई आशा देखाउँछन् तर वास्तवमा त्यो सत्यतामा कहिल्यै पनि परिणत हुन नसकेकामा दुःख व्यतm गरिएको छ ।
पछिल्लो केही समय यता माथिल्लो तहमा पुगेका नेता तथा स्थानीय तहका नेताहरूले कल्पना भन्दा बाहिरको कुरामा जनतालाई आशा देखाए पनि केही काम नगरेको भन्दै गीत मार्फत रिस पोखेका छन् । गीतले यो सम्पुर्ण नेपालीहरूको भावनालाई समेटेको देखिन्छ । पछिल्लो तथ्यांङ्क अनुसार हाम्रो देशको कुला जनसंख्याको ७ दशमलव २५ प्रतिशत युवाहरू विदेश जान वाध्य रहेका छन् । उनीहरूलाई हाम्रो देशको विकासमा लगाउन सके देश विकास गर्न उनीहरूको योगदान महत्वपुर्ण रहने थियो । हाम्रो देशमा कृषि, पर्यटन, जलश्रोत, उद्योग, कलकारखाना जस्ता क्षेत्रहरूमा युवा शक्तिलाई परिचालन सकिएकोे छैन । युवावर्गका लागि राज्यसँग नीति तथा ठोस कार्यक्रम नहुँदा देश झन पछाडी धकेलिएको छ ।
नेपालको सन्दर्भमा १६ वर्षदेखि ४० वर्षसम्मका ब्यक्तिहरूलाई युवा मानिएको छ तर राज्यले युवाहरूको लागि ठोस नीति तथा कार्य योजना बनाउन सकेको छैन । देशमा पुरातनवादी सामान्ती सोच, अवैज्ञानिक शिक्षा प्राणालीका कारण नेपाली युवा वर्गहरू आफ्नो इच्छा शक्ति भए अनुसारको अवसर र सीप अनुसारको पारिश्रमीक नपाउँदा उनीहरूको बेरोजगार बनिरहेका छन । राज्यले उत्पादशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन । बेरोजगारीले गर्दा देशमा दिनदाहाडै युवा वर्गहरू चोरी, डकैती, कुटपिट, हत्या, हिंसा र बलात्कार जस्ता अराजक, उछृङ्खल गतिविधिहरूमा लाग्ने गरेका छन् । गीतले आम नेपाली युवाहरू क्षमता हुँदाहुँदै पनि अवसरबाट बञ्चित हुनु परेको तितो यर्थाथलाई जीवन्त ढंगले देखाउन खोजिएको छ । कुनै पनि युवा आफनो रहरले वा विदेश घुम्न भनेर जाने अवस्था जहिले सम्म सृजना हुन सक्दैन । युवाका समस्या पनि समाधान हुन सक्दैनन् ।
यो गीतले सक्षम युवाहरू देशभित्र अवसर नपाएर कसरी खाडी मुलुक जान बाध्य छन् भन्ने कुरा देखाएको छ । यसले पक्कै पनि नेताहरूको आँखा खोल्ने आशा गर्न सकिन्छ । हुन त पहिले पहिले पनि यस्तै वास्तविक कुरालाई जोडेर कलाकारले आफ्नो सुजना नगरेका त होइन तर पनि यो गीतका शब्द र भावले पक्कै पनि विदेशी भूमिमा जान बाध्य युवा युवतीको कथालाई चित्रण गर्न सफल भएको छ । गायक पुष्पन प्रधानको स्वर रहेको गीतमा संगीत भने विकास पाण्डेले दिएका छन् । गीतलाई रिकेश गुरुङले संगीत एरेन्ज गरेका हुन् । निर्मल लामाको निर्देशनमा तयार पारिएको भिडियोमा पवन सुसलिङको छायांकन रहेको छ । ‘भिमफेदी गाइज’ समूहको सामूहिक प्रस्तुतिमा यो म्यूजिक भिडियो तयार पारिएको छ ।
गीतको सन्देशलाई राम्ररी अध्ययन गर्दा हाम्रो देशका युवाको समस्यालाई जस्ताको तस्तै देखाईएको छ । त्यसै गरी हाम्रो देशका नेताको चरित्रलाई पनि प्रष्टसँग देखिएको छ ।