© २०२३
पाल्पा, ३ माघ । कुनै समयमा नगदेबाली तथा आयआर्जनको मुख्य श्रोत भएको कफी खेति यतिखेर हराउँदै गएको छ । ग्रामिण क्षेत्रमा कृषकको मुख्य आम्दानीको श्रोत बनेको कफी खेतीको प्रवद्र्धनको लागि सहयोग गर्दै आएको दातृ निकायले पछिल्लो दशकमा हात झिकेपछि खेती समेत हराउन पुगेको हो ।
कफी खेतीको सुरुवात भएको गुल्मीको तुलनामा पाल्पा निकै अगाडि भएपनि दातृ निकायले हात झिक्नु, कफी खेतीको दक्ष विशेषज्ञ तथा दक्ष प्राविधिक नहुँदा बोट मै सेतो गवारोको प्रकोप नियन्त्रण हुन नसक्दा कफीको विकल्पमा अन्य वालीतर्फ आकर्षित भएका हुन ।
घरायसी प्रयोजनका लागि मात्र कृषकले २/४ वोट लगाउँदै आएको यस जिल्लामा २०३८ साल देखिको समयमा तिनाउ जलाधारा परियोजनाले समुद्री सतहबाट करिब ८ सय मिटर भन्दा माथिको ओसिलो जमिनमा व्यवसायिक खेतीका लागि प्ररित गरेको पुराना कृषकहरूको भनाइ रहेको छ ।
तानसेन नगरको वतुुङका अगुवा तथा पुराना कृषक रेवन्तबहादुुर विष्ट कफी खेतीका लागि दक्ष कृषक ठानिन्छन तर पछिल्लो समयमा यो खेतीलाई जसोतसो निरन्तता दिएको बताउँछन । कफी खेतिको लागि सरकारी तर्फबाटै असहयोग भएका कारण अपेक्षा अनुरूप हुन सकेन उनले भने । दुई दशक अगाडिसम्म कफी सबै ठाउँमा हुन्थ्यो कृषकको सुबिधाका लागि कफी संकलन केन्द्र टोल टोलमा स्थापना भएका थिए । कफीलाई पल्पिङ गर्ने मेसिनसम्म वितरण भएका थिए । पुराना पुस्ताले जसोतसो कफी खेती धानेका थिए तर नयाँ पुस्ताले यसलाई चटक्कै छाडेर आजको अवस्थामा आयो विष्ट बताउँछन ।
कफी खेती तानसेन, यम्घा, चापपानी, बरादी, भैरवस्थान, कुसुमखोला, देउराली सत्यवती जस्ता ५० भन्दा बढि गाउँमा पाखो जमिनमा मात्र नभई सामुदायिक जमिनमा समेत यसको खेती गरियो । यसका सेतो गवाँरोको समस्या देखापरेपछि हालसम्म पनि यसको निदान हुन नसक्दा कृषकले कफी खेतीको विकल्पमा सुन्तला, कागती लगाउन लागेको रिब्दीकोट गाउँपालिकाको मुझुङका अगुवा कृषक नारायण बहादुर कार्की बताउँछन ।
विकल्प नहँुदा यसलाई नगदे बालीका रूपमा परिभाषित भयो । यतिखेर यातायातको समेत सहज पहुँच थिएन । आज त कफीको विकल्पमा सुन्तला कागती जस्ता फलफूल भए । घर घरमा यातायातको पहुँच पुगेको छ । फेरी कफीको तुलनामा सुन्तला कागतीबाट धेरै आम्दानी हुन लागेपछि कफीलाई छोडेर सुन्तला, कागती तर्फ लागेको कृषक कार्की बताउँछन । एक वोटमा कफी ज्यादा फल्यो भने ५ देखि ७ के.जी मात्र हो । त्यसको मुल्य बढिमा ५ सय हो । त्यही ठाउँमा कागती वा सुन्तला लगाउँदा सत प्रतिशत आम्दानी बढि आउने भएका कारण कफी खेतितर्फ आकर्षण घट्दै गएको पुराना कृषकहरूको भनाइ रहेको छ ।
२०४७ सालको राजनैतिक परिवर्तनसंगै कफी खेतिको बिस्तार पनि त्यही गतिमा भएको थियो । कफी खेति कृषकलाई संगठित र संस्थागत गर्दै कफी व्यवसायी संघको स्थापना भयो । यहाँबाट सुरु भएको संघको देशव्यापी रूपमा संगठन पनि भयो । त्यही संघको पहलमा यहाँ उत्पादीत कफी जापान, अमेरिका, कोरिया जस्ता देशमा निर्यात गर्ने कार्य पनि भयो । कृषकलाई तालिम, कफी खेति एकीकृत, सत्रु जिव व्यवस्थापन (कृषि पाठशाला पनि संचालन भएको पुराना कृषक इमान सिह कुँवर बताउँछन ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कफी खेति घट्दो अवस्थाबाट ओरालो लाग्दै शून्यमा लागेको छ । पछिल्लो दशकमा व्यवसायीक कफी भन्ने नै नभएको एक प्राविधिकले बताए । यसको विषयमा कृषक नै इच्छुक नभएपछि केही लाग्दैन । कफी खेतीमा मेहनत अनुसार पारिश्रमिक नभएपछि कृषकले पनि विकल्प रोजेको उनको भनाइ छ ।
कफी व्यावसायी संघका कार्यक्रम संयोजक कमल खनाल भने यसको खेति शुन्यमा नपुगेको दावी गर्दै अहिले पनि गाउँमा यसको खेति गर्ने कृषकहरू छन । सघंले स्थापना गरेका केही संकलन केन्द्रहरू बन्द भए । केही संचालनमा छन । गत वर्ष जिल्लामा १६ टन मार्च मेन्ट र ३ टन सुख्खा चेरी उत्पादन भएको दावी गर्दछन उनी । विगतमा जस्तो व्यवसायीक खेति भने घटदै गएको खनाल स्विकार गर्दछन ।
कफी खेतीलाई विदेशी मुद्रा आर्जन गर्ने गतिलो मध्यम बनाउन सकिन्छ तर सरकारले कफी खेतिमा लगानी अत्यन्तै न्युन मात्रामा गरेको छ । राम्रो लगानी गरेको खण्डमा यसको प्रतिफल पनि राम्रो हुने उनको भनाई रहेको छ । विगतमा कफीको सुपर जोन कार्यक्रम पनि लागू भयो यो कार्यक्रमले कफीलाई प्रवद्र्धन गर्न भने सकेन । सफल नभए पनि क्रमिक रूपमा कफीको विकल्प खोज्न थाले । पछिल्लो समयमा गाउँ बस्तीमा बिकासका लहर पुगेपनि उजाडीदै गए । यसले गर्दा पनि कफी खेतिमा आर्कषण कम हुँदै गएको पुराना कृषकहरूको भनाई रहेको छ ।