© २०२३
(सम्पादकीय)वन दिवस मनाउँदा सोंच्नैपर्ने कुरा
आज वन दिवस हो । बैज्ञानिकहरूका अनुसार मानिसको जीवन वनबाट विकसित भएको हो । बुटवलमा पाइएको रामापिथेकसको दन्तले पनि यो कुरा प्रमाणित गरेको छ । रामापिथेकस कुनै शहर बजारमा नभएर वनमा पाइनु नै वनसँग जोडिएको एउटा ज्वलन्त प्रमाण हो । वानरबाट नर बन्ने क्रममा जब मानिसले दुई खुट्टाले टेकेर हिँड्न थाल्यो र वनमा भोजनको खोजीमा आउने क्रममा बुटवलको जंगलमा आइपुग्यो त्यो रामापिथेकसको अवस्था हो । यो नाम बैज्ञानिकहरूले राखेका हुन् । यसले पनि भन्न सकिन्छ कि मानिस सभ्यताको सिँढीमा पाइला टेक्ने क्रममा वनको भूमिका निकै महŒवपूर्ण छ । मानिसको विकास क्रम वा उत्पत्ति पानीबाट भएको बैज्ञानिकहरूले प्रमाणित गरेका छन् । मानिस बहुकोषीय प्राणी हो । पानीमा उत्पत्ति भएको एक कोषीय जीबबाट बहुकोषीय जीबहुँदै पानी र जमीनमा बस्न सक्ने जीब बन्यो । जमीनमा बाँच्नको लागि श्वास प्रश्वास लिने त्यहि किसिमका अंगहरू विकसित भए । आहारको लागि जमीनमा हिँड्ने क्रममा लाखौँ बर्षमा बानरमा विकसित भयो । वानर बनेपछि वनमा रहन थाल्यो । एकल जीवनबाट संयुक्त रूपमा बस्यो । ओडार, गुफाजस्ता सुरक्षित ठाउँ खोज्यो । वनका फलफूल, कन्दमूल खान थाल्यो । त्यहि वानरको एउटा प्रजाति एप बालुवाले भरिएको मरुभूमिमा हिँड्ने क्रममा लाखौँ बर्षको यात्रामा उसका पाइतला विकसित भए । पुच्छरको आवश्यकता नहुँदा त्यो लोप भयो । ठाडो भएर हिँड्न थाल्यो । त्यो विकसित अवस्थालाई बैज्ञानिकहरूले नर भनेर नामाकरण गरेका छन् । रामापिथेकस त्यहि अवस्थाको एउटा पुस्ता हो ।
वनसँग मानिसको सम्बन्ध अहिले पनि घनिष्ठतम रूपमा जोडिएको छ । भन्ने गरिन्छ वनबाटै जीवन नामाकरण भएको हो । वनले मानिसलाई निकै धेरै खजाना लुटाएको छ । त्यसमा आवास निर्माणको लागि काठ, इन्धनको लागि दाउरा, मासुको लागि जंगली जनाबर, घरपालुवा जनाबरका लागि घाँस, घर छाउनका लागि खर, दाम्ला, नाम्ला, बाट्नका लागि पटुवा, डोका बुन्नका लागि चोयाँ, तरकारीको लागि तामा, च्याउ, निहुरो, वन्य फलफूललगायतका अनेक प्रजातिका खजाना मानिसलाई दिने गरेको छ । तर, मानिसले जंगललाई के दियो यो खोजीको विषय बनेको छ । वनले मानिसलाई शुद्ध अक्सिजन दिन्छ । जुन अक्सिजन मानिसको लागि प्राण बायु हो । मानिसको लागिमात्र नभएर सबै प्राणीको लागि प्राण बायु हो । वनले मानिसलाईमात्र हैन, करोडौँ प्रजातिका जीबजन्तु, किट पतंगको लागि आश्रय दिएको छ । अनकेन प्रजातिका सुन्दर फूलहरू वनमा पाइन्छन् । वनमा फूल्यो फूलै फूल मनमा चल्यो बासना वनको एउटा गीती महिमा हो । अनेक प्रजातिका कन्दमुलहरू पाइन्छन् । अनेक प्रकारका औषधीय जडिबुटीहरू वनले मानिसलाई दिएको छ । र, पनि फेरि प्रश्नै गर्नुपर्ने हुन्छ मानिसले वनलाई के दिएको छ ?
वनलाई जोगाउनु पर्छ, यसको हरियाली यथावत राख्नुपर्छ भनेर भाषणहरूमा निकै शब्दहरू खर्च गरिन्छ । देशको वन हेर्नको लागि संघीय, प्रदेश सरकार निर्माण भएको छ । त्यहि किसिमले तलसम्म विभिन्न निकायहरू बनाइएको छ । त्यसमा कार्यरत कर्मचारी, पदाधिकारीहरूले महिनामा लाख हैन, करोड रूपैयाँ तलव, भत्ता, गाडी, इन्धनमा उडाएका छन् । तर, जंगलमा उनीहरूले पाइला टेकेका छन् कि छैनन् ? यो पनि एउटा सोध्नुपर्ने प्रश्न बनेका छ । उनीहरूबाट जंगल त जोगिएको छैन नै, बरु वन माफियाहरू पाल्ने, पोस्ने र पोसिने काम भएको छ । रूप पक्षको सानो योजना जनतालाई देखाउने र सार पक्षमाथि लुटान् गरिएको छ । वनसँग जोडिएका पदाधिकारीले आलो रुखमा आगो लगाएर सुकेको रुख भन्दै कटानी गरी बेच्दै आएका छन् । यस्ता काममा वन मन्त्रालयले सघाएको छ । वनमन्त्री हुनुलाई फाइदावाला मन्त्रालयको रूपमा लिने गरिन्छ । आँकडा हेर्दा पनि यो कुरा प्रमाणित हुन्छ । जुन वनले मानिसको सभ्यता विकास गरेको हो, त्यहि वनलाई आजका धुन्धुकारीहरूले सखाप पार्दै लगेका छन् । यो प्रकृतिमाथि गरिएको ठाडो बलात्कार हो । यसलाई रोक्ने जिम्मा जनताको हो । वन दिवस मनाइरहँदा यो कुरा सबैले मनन गर्नु आवश्यक छ ।