© २०२३
बर्षा शुरु भयो भने नेपालका अधिकांश पहाडी तथा हिमाली बस्तीहरु पहिरोको चपेटमा पर्छन् भने तराईका भूभागमा बाढीको प्रकोपले कतिखेर कहाँ डुबानमा पर्छ भन्ने सन्त्रास फैलने गरेको हुन्छ । केही दिन देखि लगातार परेको बर्षाले दाङको ग्वारखोलामा बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । घोराही, तुलसीपुर, लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । यसरी नै अविरल वर्षाकाकारण नेपालगञ्ज डुबानमा परेको छ । स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ । पानीको निकासको राम्रो प्रवन्ध नहुँदा हरेक पटक नेपालगञ्ज डुबानमा पर्दै आएको छ । राजधानी र तराई जोड्ने मुख्य सडकको रुपमा रहेको मुग्लिन नारायणगढ सडक खण्ड पनि बर्षाले गर्दा फेरि अवरुद्ध बन्न पुगेको छ । माथिबाट लगातार पहिरो खस्दा यातायात अबरुद्ध भएको हो । बर्षाको कहर यी सडकहरुमा मात्र छैन, विभिन्न साना ठूला नदीहरुमा आउने बाढीले कैयौँ बस्ती जोखिममा परेका छन् । नदी किनाराका बस्तीमा बस्दै आएका मानिसहरु झरीमा भिज्दै सुरक्षित स्थान खोज्दैछन् । पहाडका विभिन्न बस्तीमा पहिरोको जोखिम उस्तैछ । बर्षालाई रोक्न नै कसले सक्छ र ? यसको जोखिमबाट बच्नको लागि मानिसले समयमै आफ्नो सुरक्षा गर्नुबाहेक बिकल्प छैन ।
मुख्य समस्या के हो भने जोखिम छ भन्दैमा जरक्क उठेर जान नमिल्दो रहेछ । मानिसलाई जाने ठाउँ पनि हुनुपर्छ । या त सरकारले गास, बास, कपासको बन्दोबस्त गर्नुपर्छ । होइन भने बर्षामा भिज्दै झिटीगुण्टा लिएर बालबच्चालाई खेदेर कहाँ जानु ? बर्षाले अनाजपात भिजेको छ । दाउरा चिसो भएर आगो बालेर खाना पकाउन मिल्दैन । चीसोले बालबच्चा, बुढाबुढी बिरामी भएका हुन्छन् । घर, परिबार यस्तो एकप्रकारको सिष्टममा चलिरहेको हुन्छ । यो विश्वकै आम मानिसको आवश्कता र अवस्था हो । यसमा ब्यवधान कहाँबाट उत्पत्ति भयो खोजीको विषय यहाँनिर छ । मानिसलाई भिर, पहरामा बस्नुपर्ने वाध्यता किन आयो ? किन नदीका जोखिमपूर्ण किनारामा मानिसहरु बस्न वाध्य भए ? राष्ट्रियस्तरका नदीहरुमा किन पुल बन्दैनन् ? किन नगरका बस्तीहरु डुबानमा पर्छन् ? यहाँनिर सामाजिक संरचना, सरकारमा बस्नेहरुले खेल्ने भूमिकाले काम गरेको हुन्छ । सत्तामा बस्ने धनाढ्यहरुले अशक्तहरुका जमीनमाथि कब्जा जमाउँदै भूमिहीन बनाउँदै विकट क्षेत्रमा लखेटिरहेका छन् । जोखिमपूर्ण बस्तीमा बस्न वाध्य तुल्याएका छन् ।
सत्तामा बस्नेहरुले बजेटको लुछाचुँडी गर्छन् । भोटको राजनीति गर्छन् । जसले गर्दा पुलहरु निर्माण गर्नको लागि यथेष्ठ बजेटको अभाव हुन्छ । त्यो अभाव सर्बसाधारण नागरिकले झेल्नु परिरहेको छ । भोट तान्नको लागि परेवालाई कनिका छरे झैँ थोरै बजेटबाट सडक बनाएजस्तो गर्ने, नाली नबनाउने गर्दा शहरहरु हिलाम्मे भएका छन् । पुलको अभाव, समयमा काम गर्न नसक्नुले मानिसको आवागमन अबरुद्ध भएको छ । हुनत यसलाई प्राकृतिक समस्यामा जोडेर हेर्ने गरिन्छ । प्राकृतिक विपत्ति हो भनेर भन्न सजिलो पनि छ । तर, वास्तवमा सबै सोलोडोलो प्राकृतिक विपत्ति हैन । बाढी, पहिरो नियन्त्रण गर्ने काम सरकारले गर्न सक्छ । नदी किनारामा तटबन्ध उठाइयो भने जोखिम कम हुन्छ । पहिरो जाने सम्भावना भएका बस्तीलाई दीर्घकालीन रुपबाटै सुरक्षित स्थानमा सार्न सकिन्छ । समयमै पुल बनाइएको हुन्थ्यो भने दाङको ग्वारखोलाको बाढीमा बस बग्ने थिएन । यात्रा सुरक्षित हुन्थ्यो । त्यसैले विकास निर्माणका काम गर्दा नेताहरुले बजेट खल्तीमा पार्नको लागि लुछाचुँडी गर्ने होइन कि, ब्यवस्थित बिकास गर्नु आवश्यक छ ।