© २०२३
तिहारको कुरा गर्दा यो शास्त्रीय विधान अनुसार आरम्भ भएको मानिन्छ । यमराजले आफ्नी बहिनी यमुनाको घरमा पुगेर बहिनीका हातबाट टीका ग्रहण गरेको प्रसङ्गलाई यो पर्वमा जोड्ने गरिन्छ । यसको साथमा यस पर्वमा दाजु भाईको सम्झना र सम्मानमात्र नभएर पशु तथा पंक्षीको समेत पूजा तथा सम्मान गर्ने प्रचलन रहिआएको पाइन्छ । वर्ष दिनसम्म भेट हुन नसकेका दाजुभाई दिदीबहिनीहरू यो पर्वमा भेट हुने र टीका आदान प्रदान तथा आफ्नो इच्छा अनुसार दिदी बहिनीले दाजु भाइलाई भाई मसला दिने र दाजु भाईले आफ्नो गच्छे अनुसार दक्षिणा दिने चलन रहिआएको छ । बडादशैमा आफू भन्दा ठूला बडा (मान्यजन) बाट टीका थाप्ने र आशीर्वाद लिने गरिन्छ भने तिहारमा दशै भन्दा फरक मान्यता रहन्छ । यस पर्वमा उमेरले जेठो कान्छोसंग सरोकार हुँदैन । यसमा नाताको महत्व रहन्छ । दशैमा नाता नपर्ने वा अलिक टाढाको नाता भएपनि टीका ग्रहण गर्ने गरिन्छ तर तिहारमा दिदीहरू भएपनि दाजुहरू भएपनि वा वहिनीहरू भएपनि वा भाइहरू भएपनि टीका आदानप्रदान गर्ने गरेको पाइन्छ । यसैले यस पर्वमा उमेरले जेठो कान्छो भन्दापनि नाताको सम्वन्ध बढी प्रगाढ रहेको हुन्छ । तिहार पर्व वास्तवमा हाम्रो लागि अलिक अनौठो खालको पर्व पनि हो । अरू पर्वहरूमा प्रायः गरेर एक वस्तु वा एक देवताको पूजा आजा गर्ने गरिन्छ । जस्तो गौरा पर्वमा दाम्पत्य प्रेमको रूपमा पूजाको आराधना गरिन्छ । जनै पूर्णीमाको दिन ऋषिहरूलाई तर्पण दिने गरिन्छ । कृष्णाष्टमीमा कृष्णको मात्रपूजा हुन्छ । शिवरात्रीमा शिवको मात्र पूजा हुन्छ । तर तिहारमा हामीले देवदेवीको आराधनामात्र नभएर पशु तथा पंक्षीको समेत पूजाआजा गरेर मनाउने चलन चलेको पाउँछौं । यो पर्व खासगरेर पाँचदिनसम्म मनाउने गरिन्छ । पाँच दिनसम्म मनाउने हुनाले यस पर्वलाई यमपञ्चक समेत भन्ने गरिन्छ । यसको आरम्भको दिनमा कागको पूजा गर्ने गरिन्छ । दोश्रो दिनमा कुकुरको पूजा गर्ने गरिन्छ । तेश्रो दिन गाईको पूजा हुन्छ भने चौथो दिनमा गोरुको पूजा गर्ने गरिन्छ । पाँचौ दिन भाईको पूजा हुन्छ । भाईको मतलव दाजुभाई नै हो । दाजु तिहार र भाइतिहार नभनेर यसलाई तिहार मात्र भन्ने गरिन्छ । तर टीकाको कुरा गर्दा भाईटीका भनिन्छ । यस पर्वमा आफ्नै सहोदर दाजु भाई नहुने र सहोदर दिदी वहिनी नहुनेहरूले नजिकको नाता पर्ने दाजुभाईलाई पनि टीका प्रदान गर्ने गर्दछन् । त्यतिमात्र होइन कसै कसैले त दाजुभाई दिदीबहिनी नाता जोडेर पनि टीका लगाउने गर्दछन् । यसले तिहारको महत्वलाई अझ बढाएको छ भन्ने लाग्दछ । एकातर्फ हामी पंक्षीको प्रतिकको रूपमा कागको पूजा गर्ने गर्दछौं । हुन त कागलाई यमराजको दूतको रूपमा मानिन्छ । कागको पूजा गर्नु भनेको पंक्षीको सम्मान हो । हामी नेपालीहरू पंक्षीप्रेमी हौं भन्ने कुरा यसले पुष्टि गर्दछ । यसैगरी दोश्रो दिन गरिने पुजा कुकुर पूजा हो । कुकुर पूजाको मतलव जनावरको पुजा हो । शास्त्र अनुसार यसलाई पनि यमराजको दूतको रूपमा मान्ने गरिन्छ । यसले नेपालीहरू परापूर्वकालदेखि पशुहरूको सम्मान गर्न जान्दछन भन्ने नै हो । पशुपंक्षीमात्र नभएर हामी नेपालीहरू वनस्पतिका पूजक पनि हौं । हामी आँगनमा तुलसी रोप्छौं भने सार्वजनिक स्थानमा बर, पीपल जस्ता बिरुवा रोप्ने र वनस्पतिको सम्मानको रूपमा नियमित पूजा आजा समेत गर्दछौं । यसले विरुवा रोपेर मात्र हुँदैन यसको संरक्षण पनि आवश्यक छ भन्ने कुरा सहजै जान्न सकिन्छ । वनस्पति रोपण, संरक्षण र पूजा गर्ने कुरा वातावरणसंग जोडिएर आउने गर्दछ । हामीले हाम्रो सम्पदाको संरक्षण गर्न सकेनौं वा जानेनौ भने हाम्रो वातावरणमा प्रतिकूल असर पर्न जान्छ । वातावरण सुरक्षित हुन नसक्नाका कारणले मानव शरीरमा विभिन्न खालका रोगले असर गर्दछन् । जहाँको वातावरण प्रदूषित हुन्छ, त्यहाँको वनस्पतिका साथै मानव जीवनपनि प्रदुषित हुने गर्दछ । यसकारण हामी स्वस्थरूपले वाँच्नकालागि हाम्रो वातावरण स्वच्छ हुन आवश्यक छ । वातावरण स्वच्छ हुनकालागि प्रसस्त मात्रामा वोटविरुवा रोप्ने गर्नुपर्दछ र तिनको संरक्षण गर्नुपर्दछ । हाम्रो हावा सुरक्षित हुनकालागि पनि वनस्पतिको खाँचो पर्दछ । यसकालागि प्रकृतिमा सन्तुलन हुन आवश्यक छ ।
हाम्रा हरेक चाडहरूले हरेक स्थानमा जल जमिन जंगलका साथै वनस्पतिको संरक्षणको सन्देश दिएका छन् । हुन त परापूर्व कालदेखि मानव जीवजन्तु र वनस्पतिको आपसी सम्वन्ध रहेको छ । जवकी हाम्रो जीवन वनस्पती जीव जनावरमा जोडिएको छ । चाहे हामीले खानाको कुरा गरौं वा हामीले लगाउने कपडाका कुरा गरौं, सबै कुरा वनस्पति र जीव जनावरसंग जोडिएको छ । यसकारण पनि हामीले चाडहरू मनाउने क्रममा हाम्रा पशुपंक्षी र वनस्पतिको मान तथा सम्मान गर्न किमार्थ छोडनु हुँदैन । हामीले हाम्रो चाडलाई लगेर वनस्पति संरक्षण र पशुपंक्षीको संरक्षणसंग जोड्नु पनि आवश्यक छ । केही सयम पहिले हामीलाई कोरोना भाईरसले आक्रान्त बनायो । हामीले यो समयमा खुलेर चाडपर्वहरू मनाउन पाएनौ । अहिले कोरानो भाइरसको प्रकोप सुन्नुपरेको छैन । त्यस समयभन्दा यस वर्षका हरेक पर्वहरू भिन्न र खुलेर मनाउन पाउने भएका छौं तर यस वर्ष महंगीले नेपालीको ढाड सेकेको छ । यसले हामीलाई कति खुलेर मनाउने बनाउन सक्छ भन्न गाह्रो छ ।
जेसुकै र जस्तोसुकै अवस्थामा भएपनि हामी यो तिहारमा जोडिने छौं । हामी यम पञ्चकको पाँचदिन विधिपूर्वक चाड मनाउने छौं । अझ तिहारमा देउसी तथा भैलो खेलेर मनाउने हुनाले यो वेग्लै रमाइलो प्रसंग मानिन्छ । हरेक घरमा विभिन्न प्रकारका बाजासहित भैलो खेल्नुको मज्जा शब्दबाट ब्यक्त हुँदैन । खेल्नेहरूले नै यसबाट आनन्द लिने गर्दछन् । यसमा अरू भन्दा बालबालिकाहरू अझ रमाएका देखिन्छन् । हुन त आजभोली द्यौसी भैलोमा पनि विभिन्न किसिमका विकृतिहरू देखापरेका छन् । यसकोविरुद्ध पनि खरो उत्रनु जरुरी छ । पर्व मनाउनुको नाममा भोलीका दिनमा विकृतिहरू पन्पिदै गए भने यो सही नसक्नुको अवस्थामा पुग्ने छ । हामीले मौलिक बाजा बजाउन र गलो मिलाएर भट्टाउन छोडिसकेका छौं । हाम्रो तिहारको गीत संगीतमा हामी नाच्न छोडिसकेका छौं । यो कसैकालागि र कदापि राम्रो होइन । यसको बढात्तरी भयो भने हाम्रो संस्कृतिमा प्रहार गर्न चाहने तत्वहरू रमाउने भन्दा अरू केही हुने छैन् । आधुनिकताको नाममा यस्ता खालका विकृति बढ्दै गए भने हाम्रा खास पर्वका खास मर्महरू लोप भएर जाने सम्भावना बढी रहन्छ । परम्परादेखि चलिआएका पर्वहरूलाई समय सान्दिर्भिक नविनता थप्दै जाने र हाम्रा चाडहरू रसमय बनाउन ध्यान दिनुपर्दछ । यो ध्यान हामीले नै दिने हो । २०८० सालको तिहार यही कात्तिक २५ गते त्रयोदशी तिथिदेखि २९ गते द्वितीयातिथिसम्म रहने छ । कात्तिक २५ गतेका दिन फाल्गुनन्द जयन्ती समेत परेको छ भने २८ गतेका दिन म्हपूजा अर्थात नेपाल सम्वत् ११४४ आरम्भ हुने दिनका रूपमा रहेको छ । फाल्गुनन्द जयन्ती, म्हपूजा, नेपाल सम्वत र तिहार अर्थात उज्यालो पर्व मनाउने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा मंगलमय शुभकामना व्यक्त गर्नु सान्दर्भिक हुनेछ ।