© २०२३
हरेक वर्ष जस्तै यो वर्षको दशैपनि घुमिफिरी नेपालीको घर आँगनमा आएको छ र हरेक बर्ष यसैगरी आउँछ । दशैमा सबैतिर चहलपहल बढ्छ । परदेश गएकाहरु पनि दशै मान्न घर आउँछन् । टाढाका परदेश गएकाहरु सायद सम्भव नभएर हो कि अथवा मान्यता नदिएर हो घर आउँदैनन् । हामी सानो छँदा औला भाँचीभाँची भन्ने गथ्र्यौ अनि कितावमा पनि पढ्थ्यौं– “दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत्पापी म त छुट्टै बसँुला” भनेर हातको बुढीऔला छुट्टिएर बसेको रे भनेर । यसको अर्को पाटो विचार गर्दा एउटाले दशै आयो भनेर सूचना दियो, अर्कोले दशै आए खानपिन गरौला भन्यो, तेश्रोले कहाँ पाउँला खान भन्यो र आफ्नो गरिवी दर्शायो ,चौथोले नभए चोरेर भएपनि खाउँला भन्यो, पाँचौले धत् पापी म त छुट्टै बसुँला भनेर चोर्ने कुराको बिरोध गरायो र चोर्ने नगर, तिमीहरुको कुरासंग म सहमत छैन भन्यो । भन्नुको मतलव आफ्नो औकात अनुसार गक्ष अनुसार चाडपर्व मनाउनु पर्छ भन्ने हो । नेपालीमा उखानै छ “घाँटी हेरी हाड निल्नु” यो उखान पनि त्यसै बनेको होईन । सकिनसकी ठूलो हाड निल्न खोज्दा घाँटीमा अड्केर ज्यानै जान्छ । भन्न खोजेको अर्थ हो– जुनसुकै कुरामा पनि आफ्नो आम्दानी हेरेर खर्च गर्नुपर्छ । आम्दानी आठआनी खर्च रुपैयाँ गर्न थाल्यो भने ऋणमा डुबिन्छ र घरबासबिहीन हुनुपर्छ भन्न खोजिएको हो । त्यसैले चाडपर्व मान्दा आफ्नो हैसियतमा मान्नुपर्छ ।
दशैं असत्यमाथि सत्यको विजय भएको दिनको खुसियालीमा मनाउन थालिएको पर्व हो भनेर जानकारहरु भन्छन् । दानवहरुलाई देवीले नौ दिनसम्म लडेर दानवहरुको नास गरेर देवताहरुको रक्षा गरेको र दशौं दिनका दिन दानवमाथि बिजय पाएको दिनको खुसियालीमा रगत कै रातो टीका लगाएर उत्सव मनाएको र त्यही उत्सव नै दशै हो पनि भनिन्छ । यो हाम्रो साँस्कृतिक चाड बन्यो । आपसमा भेटघाट गर्ने, टिका, लगाउने, आशिस लिने र सानोलाई दिने, खानपान र रमाईलो गर्ने चाड बन्यो । दशै त आउँछ हरेक वर्ष कसैलाई खुसी लिएर आउँछ भने कसैलाई दुःख, दशा, पिडा र आँशु लिएर आउँछ । यो पटकको दशैमा पनि नेपालीका केही घरमा दशा आयो । नेपाली विद्यार्थीहरु जो अध्ययनका लागि ईजरायल पुगेका थिए । विना कसुर मारिए भने केही बेपत्ता पनि भए । देश देशको आपसी द्वन्द्वले ईजरायल ध्वस्तप्रायः भयो । कोही नेपालभित्रै खराव बाटाघाटा र ड्राईभरको गल्ती कमी कमजोरीले पनि बाटाघाटामै ज्यान गुमाउन बाध्य हुन्छन् । कोही घाईते भएर महिनौ अस्पताल बस्नुपर्ने नौवत आउँछ भने कोही सामान्य उपचारपछि घर जान्छन् । यसरी घर जानेहरुले ठूलै युद्ध जितेर घर पुगेको महसुस गर्छन् । कतै भूकम्पले ज्यान लिएको हुन्छ त कतै बाढी पहिरोले । यसरी ज्यान गुमाउनेका परिवारमा चाडको रौनकभन्दा शोकको अवस्था हुन्छ । लामो विरामीपछि मृत्यु हुनेको घरमा पनि दुखित त हुन्छन् नै तर त्यो अलिक फरक पाटो हो । दुःख सुखकाबीच पनि हरेकवर्ष चाडपर्व आउँछन् । आफनो संस्कृति मान्नुपर्छ र संस्कार निभाउनुपर्छ । यही नै सामाजिक परम्परा हो र मानिसको जीवन पनि हो । सधै दुःखमा डुबिरहे जीवन निरस बन्छ । घर ब्यवहार देशको ब्यवस्था अगाडी बढ्दैन । घर ब्यवहार र मानिसको मन चलाएमान बनाउन पनि चाडपर्व मान्नु र खुुुसी साटासाट गर्नु नै पर्छ । बेलाबेलामा आउने चाडपर्वले, खानपानले, आपसी भेटघाटले मानिसलाई खुसीयाली दिन्छ र खुसीले मानिसको जीवनमा उर्जा पैदा गर्छ । त्यसैले चाडपर्व मनाउनु पर्छ ।
महँगीको कुरा गर्दा महँगी पनि सधै बढेकै हुन्छ । महँगी बढ्यो भनेर रेडियो, टिभी, पत्रपत्रिका सबैले भनिरहेकै हुन्छन् तर महँगी घट्यो सस्तो भयो भन्ने कहिल्यै सुनिएको छैन । देशकाल परिस्थति, आर्थिक मन्दी, देशमा पटकपटक आउने रोगब्याधी, काम गर्ने श्रमशक्तिको कमी, उत्पादनमा कमी आदी इत्यादीका कारण पनि महँगी बढ्दो रहेछ । यो मेरो सानो अनुभव हो । जस्तो मैले होस सम्हाल्दा ५ रुपैयाँ मानो घीउ पाईन्थ्यो । दुई रुप्पेमानो तेल पाईन्छ भनेको सुनेँ । १० रुप्पे धार्नी खसीको मासु यस्तै यस्तै हुन्थ्यो । १२ रुपैयाँ किलो मासु त म आफैले पनि किनेर खाएकी हुँ । त्यतिबेला पनि सामान महँगो भयो । खानै नसकिने भयो, चाडपर्व कसरी मान्ने भनेको सुनिन्थ्यो । अहिले एककिलो मासुलाई १२ सयदेखि १५ सय हाल्नुपर्छ । एककिलो घीउलाई १४ सय भन्छन् । अहिलेपनि महँगो भन्न छाडिएको छैन । सहँगो भयो भनेको कहिल्यै सुनिएको छैन । हुन पनि अहिले कुखुरा हाँस किन्ने पैसाले काँक्रो पनि पाउन मुस्किल छ । खसीको मासु किन्ने पैसाले सिङ्गो फर्सी आउँदैन । उहिले तीन रुप्पेमा तेल आउँथ्यो भने अहिले एउटा सेल खानुपरे १५ देखि २५ रुपैयाँ हाल्नुपर्छ । चिनी त्यस्तै छ । चामल त्यस्तै लत्ताकपडा, नुनतेल, मरमसाला, चिनी, चियापत्ति सबैको त बढेको छ भाउ । मरमसालादेखि सुखाफल नेपालमा उत्पादन हुँदैन र उत्पादनको प्रयास पनि गरिएको छैन । सबै बाहिरबाटै मगाउने हो । यहाँ पनि ति मरमसाला हिमालदेखि तराईसम्मका कुनै न कुनै ठाउँमा उत्पादन हुन्थे होला तर प्रयास पनि गरिएको छैन । आफ्नामा उत्पादन नहुने चिज उताबाट आयात गर्दा र यहाँ किन्दा पक्कै महङ्गो पर्छ । समय अनुसार सामानको भाउ बढिरहेकै छ । सामान बढ्ने घट्ने कुरा एक त सरकारको नीति नियम, ब्यापारीहरुको बदमासीले पनि तय गर्दोरहेछ जस्तोलाग्छ । अर्को अन्तराष्ट्रिय मुद्राले फरक पर्छ भनेको पनि सुनिन्छ । सामान्यतया उत्पादन बढ्दा बस्तुको भाउ घटने र उत्पादन घट्दा बस्तुको भाउ बढ्ने हुन्छ । अर्थशास्त्रीहरुलाई थाहा होला । एउटा भैसी किन्दा डेढ दुई लाख पर्न थालिसक्यो । के छ र सस्तो ? सामानको भाउ महँगो भयो भन्दै जाने, कृषिमा कामगर्ने युवालाई बिदेश पलायन गराउने,, अनि कसले उत्पादन गर्छ र खाद्यान्न सहँगो हुन्छ ? खानेकुरा सहँगो हुन उत्पादन धेरै हुनुपर्छ । अघिपछि चुप लागेर बस्ने जव जव चाडपर्व आउँछ महँगीकै गीत गाउने चलन पहिलेदेखि नै चलिआएको छ । गीतगाएर मात्र के गर्नु ? समाधानको बाटो खोई ? बाँच्नकालागि खानै प¥यो सास धान्नै प¥यो । सस्तो महँङ्गो आफ्ना स्तर अनुसारको किनेर खान्छन् नै । जागिरे ब्यापारी र जमिनदारलाई बढ्नु घट्नुले खासै फरक नपर्ला तर भूइँ मान्छेलाई फरक पर्छ ? खोई त सरकारले भूइँ मान्छेका लागि मात्र भनेर सस्तो बजारको ब्यवस्था गरिदिएको ? चाडपर्व त उनीहरुले पनि मनाउनु पर्छ ।
जे जसो भएपनि चाडपर्व मान्नुपर्छ । यो हाम्रो परापूर्व देखि चलिआएको परम्परागत चलन होे । हाम्रा चाड मनाउने र चाडमा खाने परिकार पनि एक किसिमले तोकिएका जस्तै छन् । जस्तो असार पन्द्रमा दही च्युरा खाने, साउने संक्रान्तीमा या साउनमा खीर खाने, तीजमा तामा सेमी बोडीको तरकारी, अचार, हरियो सागपात, पिँडालुको सुईरा, खवा, खीर र खाजा खाने, दशैमा मासु च्युरा र काँक्राको अचार खाने, तिहारमा सेल, फिनी, ओखरघाँजी, तील खाने हाम्रा चाडपर्वका बिशेषता छन् । यि बिशेषताभित्र रहेर खानेकुरा तयार पार्दा खासै धेरै खर्च नलाग्न पनि सक्छ । आजकल त चाड मान्ने निहुँमा तीजमा महिनादिन पाटी चल्छ, तीजमा पनि मासु नै चाहिन्छ । दशैमा मासु खाने पर्व नै भयो त्यसमा पनि भई नभई खर्च गर्नुपर्ने, कपडा पनि चाडै पिच्छे किन्नुपर्दैन । दशैमा नयाँ लुगा लगाउने चलन भएकोले अरु चाडको साटो दशैमा किन्दा हुन्छ । दानदक्षिणा पनि गक्ष अनुसार गर्नु उपयुक्त हुन्छ । चाडको खर्च जति बढायो त्यति बढ्दै जान्छ । ठिक्क गरेमा सधै एकनास भईन्छ ।
अर्को कुरा हामी नेपालीलाई बिगारी रहेको छ देखासिखी र आयातित चलनले पनि । कुरा गरौ दशैं चाडकै । नौ दिनसम्म दुर्गा भवानीको बिभिन्न नामले पूजा गरिन्छ । पूजागर्ने दुर्गाको स्थायी मन्दिर हुन्छ । हरेक चैतेदशै र वर्षे दशैमा दुर्गा मन्दिरमा देबी भगवतीको पूजा आराधना गरिन्छ । ठूलो दशैमा अलि बढी बिशेष हुन्छ । दशमीको दिन मान्यजनको हातबाट टीका ग्रहण गरिन्छ । आशिक मागिन्छ । तर अस्थायी मूर्ति बनाएर चौराहामा पन्डाल टाँगेर मूर्ति स्थापना गरेर पूजा गर्ने, माईक फुकेर वातावरण प्रदुषण बनाउने चलन हाम्रो होईन तर भारतको देखासिकी त्यतैबाट नेपाल छिरेकाहरुले गरेको देखेर यहाँ पनि त्यस्तै गर्न थालिएको छ । दशमीको दिन त्यो अस्थायी मूर्ति बिसर्जन गर्न नदी वा खोलाहरुमा लगिन्छ र बगाईन्छ । त्यही देखासिखी अहिले पहाडी समुदायमा पनि देखिन थालेको छ । एकातिर मूर्ति बनाउँदाको हरेक वर्षको खर्च अर्कोतिर नदी खोलामा प्रदुषण । त्यति मात्र नभएर मूर्ति सेलाउन लैजादा हुने आपसी झडपले निम्त्याउने समस्या । के स्थायी मन्दिरमा दुर्गाको पूजा गरेर देवी खुसी हुन्नन र ? बन्द गरौ हाम्रा संंस्कार संस्कतिमाथिको अतिक्रमण र देखासिखी गर्न । भड्किलो नबनाउँ चाड । सौहाद्रपूर्ण बाताबरणमा स्थाई मन्दिरहरुमा देवीको पूजा आराधना गरौ र मान्यजनसंग टीका र जमरा लगाई दशै मनाउँ । परम्परागत संस्कारलाई बचाउँ । बिजया दशमीको सबैमा मंगलमय शुभकामना ।