© २०२३
१.विषय प्रवेश :
नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन र फोहोर मैला व्यवस्थापनको ऐनले फोहोरमैलाको व्यवस्थापन गर्ने मुख्य दायित्व स्थानीय तहको रहेको उल्लेख गरेको छ । संविधानले स्थानीय तहहरुलाई सरकारको हैसियत प्रदान गरेको हुँदा फोहोरको चुस्त व्यवस्थापन गरी नागरिकलाई सरकारको अनुभूति प्रदान गराउनु पर्दछ । तर स्थानीय तहहरुले फोहोरलाई चिन्न नसक्दा फोहोर विकराल समस्याको रुपमा चित्रित गरिएको छ । यदि फोहोर उत्पादनको स्रोतमा पुगी वर्गीकरण गर्दा ७५ प्रतिशत समस्या समाधान हुने हुँदा सो कामका लागि स्थानीय तहले अग्रसरता लिनु पर्दछ ।
२.फोहोर वर्गीकरण अभियानको कार्यक्रमको उद्देश्य :
फोहोरमैलालाई स्रोतमा नै न्यूनीकरण गर्ने, वर्गीकरण गर्ने, पुनः प्रयोग गर्ने, प्रशोधन गरी व्यवस्थित तथा प्रभावकारी रुपमा विसर्जन गर्ने, फोहोरमैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ्य वातावरण कायम गरी नगरको समग्र प्रतिष्ठा उच्च बनाउने । फोहोर व्यवस्थापन सबै नगरबासीको साझा दायित्व होर नगरबासीले जथाभावी फोहोर फाल्ने अनि नगरपालिकालाई प्रश्न गर्ने प्रवृतिको अन्त्य गर्ने र स्रोतबाट नै फोहोर वर्गीकरण गर्ने अभियान सुरु गर्न । कानूनले स्थानीय तहलाई सुम्पिएको जिम्मेवारीलाई वोध गरी उत्तरदायित्व बहन गर्नको लागि यो अभियान सुरु गरिएको हो । केही पनि नगरी हात खुम्चाएर पनि बस्न सकिने थियो । तर त्यसो गर्न हुँदैन दायित्व र जवाफदेहिता निर्वाहको लागि यो अभियानको सुरुवात गरिएको हो ।
३.फोहोरमैला व्यवस्थापनको वर्तमान अवस्थाः
क्षेत्रफलः १३६.९५ वर्ग किमि, स्थापना मितिः २०७१।०१।२५, वडा संख्याः १२, घरधुरी संख्या १५६२४ । फोहोर मैला व्यवस्थापनमा कार्यरत कर्मचारीः चालक २, सरसफाईकर्मी ४, जम्मा ६ जना । सवारी साधनः ट्याक्टर २, जेसिबी १ । मासिक खर्चः तलब मासिक ः १,३२,०००।–, इन्धन ः ५०,०००।–, मर्मत ः अनुमानित २०,०००। जम्मा ः मासिक २ लाख २ हजार । सवारी साधनको ह्रासकट्टी समावेश छैन । फोहोरमैलाको तथ्यांकीय अवस्था ःजैविक– वार्षिक १२१९ टन, प्लाष्टिकजन्य फोहोर – वार्षिक ५८४ टन, कागजजन्य फोहोर – वार्षिक ३१८ टन, अन्य फोहोर – ४४९ टन । फोहोर संकलनका लागि सवारी साधन नपठाईएका क्षेत्रहरु ः वडा नं ६ को दाउन्ने, सरनटाँडी र केउली, वडा नं १० को लडियाबास, दलदले, मुडाबास, आसाम टोल पूर्व, वडा नं ११ शंकरपुर देखि सौदनिया बजार, जयपुर, गुम्बीदेखि बाहेकका क्षेत्र, वडा नं १२ को प्रगति नगर ढोलवजवा, धन्सा बाहेकका क्षेत्रहरुमा फोहोर उठाउन सवारी साधन पुगेको छैन । आम्दानी र जरिवानः शुन्य
४.फोहोर व्यवस्थापनका वर्तमान मोडालिटीः
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राख्ने गरिएको । वडा नं १० को चरङ्गे, वडा नं ३ को टटेरा, वडा नं ११ को जयपुर, सौदनीय बजार लगायत टाढाटाढा देखिको फोहोर पनि बडो दुखको साथसकिनसकि वडा नं ५ को वुद्व सामुदायिक वन क्षेत्रको लैजाने गरिएको ।
५.फोहोरमैला व्यवस्थापनमा अन्य स्थानीय तहले अपनाएको मोडालिटीः
(क) स्थानीय बजार व्यवस्थापन समितिमार्फत फोहोर व्यवस्थापनः बर्दघाट बजार विकास समिति तहाँको फोहोरमैला उठाउने गरेको छ । (ख)सहकारी संस्था मार्फत फोहोर व्यवस्थापन ः तिनपाका वडा न५, ७, ८, ९,१०र ११। (ग) निजी क्षेत्रलाई जिम्मा दिएकाः बुटवल उपमहानगरपालिका, तिनपाका वडा नं १, २, ३, ४ र ५ वडाहरु, सैनामैना नपा, भरतपुर मनपा, (घ) नगरपालिका आफैले उठाउने ः देवदह नगरपालिका, सिद्वार्थ नगरपालिका । सबैभन्दा राम्रो निजी क्षेत्रलाई जिम्मा दिंदा प्रभावकारी लागत र समयका हिसाबे प्रभावरी देखिएको छ ।
६.कानूनी प्रवन्ध
क) फोहरमैलाको उत्पादन कम गर्नेः कुनै व्यक्ति, संस्था वा निकायले कुनै काम कारोबार गर्दा उत्पन्न हुने फोहोरमैला यथाशक्य कम गर्नु पर्नेछ । आफ्नो क्षेत्रभित्र विसर्जन हुन सक्ने फोहरमैलाको विसर्जन वा पुनः प्रयोगको व्यवस्था मिलाई बाँकी फोहरमैला मात्र निष्काशन गरी फोहरमैलाको परिमाणलाई घटाउनु प्रत्येक व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ । “आफ्नोक्षेत्र” भन्नाले निजी घर कम्पाउण्ड, औद्योगिक क्षेत्रको परिसर, अस्पताल वा स्वास्थ्य संस्थाको परिसर, औद्योगिक प्रतिष्ठानको परिसर लगायत फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको परिसरलाई सम्झनु पर्छ ।
ख) फोहरमैलाको पृथकीकरणः स्थानीय तहले फोहरमैलालाई कम्तीमा जैविक र अजैविक लगायत विभिन्न प्रकारमा विभाजन गरी स्रोतमै छुट्याउने गरी तोक्नु पर्नेछ । स्थानीय तहले तोकिदिए बमोजिम फोहरमैलालाई स्रोतमै छुट्याई सङ्कलन केन्द्रसम्म पुर्याउने दायित्व त्यस्तो फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायको हुनेछ र यसको लागि स्थानीय तहले आवश्यक प्रविधि, मालसामान, उपकरण, कण्टेनर आदि उपलब्ध गराउन सक्नेछ ।
ग) फोहरमैलाको निष्काशनः फोहरमैला निष्काशनको समय, स्थान र तरिका स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ । हानीकारक फोहरमैला वा रासायनिक फोहोरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले त्यस्तो फोहरमैला तोकिए बमोजिम व्यवस्थापन गर्नु पर्नेछ । हानीकारक फोहरमैला वा रासायनिक फोहोरमैला सड्ढलन केन्द्र वा स्थानान्तरण केन्द्रमा निष्काशन गर्न पाइने छैन । फोहरमैला ढुवानी गर्दा स्थानीय तहले स्रोतमा छुट्याई निष्काशन तथा सड्ढलन गरिएको फोहरमैलाको अलग अलग ढुवानी गर्नु पर्नेछ ।
घ) कसूरः कसैले देहायको कुनै काम गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछःस्थानीय तहले तोकिदिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गर्ने । कण्टेनर वा फोहरमैला सङ्कलन केन्द्रमा राखिएको फोहरमैला अनधिकृत तवरले प्रयोग गर्ने । फोहरमैला सड्ढलन केन्द्रमा राखिएको कण्टेनर तोडफोड गर्ने, क्षति पुर्याउने, राखिएको स्थानबाट हटाउने वा सङ्कलन केन्द्रमा कुनै नोक्सानी पुर्याउने । अनुमति नलिई फोहरमैला व्यवस्थापनको कार्य गर्ने । फोहरमैला व्यवस्थापनको लागि प्रदान गरिएको अनुमतिपत्रमा उल्लिखित शर्तहरु उल्लङ्घन गर्ने । फोहरमैला सङ्कलन केन्द्र, कण्टेनर वा फोहरमैला थुपार्ने ठाउँमा कुनै पनि किसिमको हानीकारक पदार्थ फाल्ने, राख्ने वा थुपार्ने । घर, कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने । फोहरबाट निस्केको दूषित पानी वा ढल चुहाई अन्य व्यक्तिको घर वा जग्गा प्रदूषित गराउने । सडक वा अन्य सार्वजनिक स्थानमा सरसफाई तथा फोहरमैला सङ्कलन गर्न स्थानीय तहले तोकेको समय वा सफाई गर्दाको समयमा त्यस्तो ठाउँमा कुनै पनि किसिमको सवारी साधन बिसाउने वा बिसाइराखेको सवारी साधन हटाउन इन्कार गर्ने । स्थानीय तहले तोकेको ठाउँमा बाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानीकारक फोहरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्काशन गर्ने । रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउने, औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्कने हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउने । फोहरमैला सङ्कलन, ढुवानी तथा फोहरमैला व्यवस्थापनमा बाधा अवरोध सिर्जना गर्ने । फोहरमैला सङ्कलन, ढुवानी तथा अन्तिम निष्काशन स्थलमा अवरोध, बन्द, घेराउ गर्ने वा फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यमा हडताल गर्ने । रासायनिक विषादीको आयात गर्ने वा म्याद नाघेको औषधि नष्ट गर्ने जिम्मेवारी पूरा नगर्ने । स्रोत मै फोहरमैलाको पृथकीकरण नगरी फोहरमैला मिसाएर निष्काशन गर्ने । मरेको वा मारेको पशुपक्षी र सोको लादी, प्वाँख, हड्डी तथा माछाको कत्ला आदि सार्वजनिक स्थल, सडक, गल्ली, चोकमा राख्ने, फाल्ने वा थुपार्ने । पाँचसय देखि पचास हजार सम्म जरिवानाका कैद सजाय लगायतका प्रावधान रहेको पाइन्छ ।
ङ) सेवा सुविधा रोक्का गर्न सकिनेः तोकिएको सेवा शुल्क नबुझाउने वा बुझाउन अटेर गर्ने व्यक्तिको स्थानीय तहले उपलब्ध गराउने कुनै सेवा सुविधाको अतिरिक्त विद्युत तथा टेलिफोन सेवा रोक्का गरिदिन तथा निजको नामको घर जग्गा बिक्री रोक्का गर्नको लागि स्थानीय तहले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ । तर यसरी लेखी पठाउनु अघि सम्बन्धित व्यक्तिलाई सो सम्बन्धमा लिखित रुपमा जानकारी दिनु पर्नेछ ।
च) फोहरमैला व्यवस्थापनको अनुगमनः स्थानीय तहले फोहरमैला व्यवस्थापन तथा निष्काशन कार्यको नियमित अनुगमन गर्नु वा गराउनु पर्नेछ ।
७. फोहोर व्यवस्थापन चुनौती कि अज्ञानता :
कागज जति एउटा बोरामा राख्नुस बिक्री हुन्छ अण्डाको क्रेट उद्योगले लिन्छ । प्लास्टिक जति एउटा बोरामा राख्नुहोस त्यो पनि बिक्री हुन्छ प्लास्टिक उद्योगले लिन्छ । फलाम जति एउटा बोरामा राख्नुहोस बिक्री हुन्छ । फलाम उद्योगले लिन्छ ।काठका टुक्रा एउटा बोरामा राख्नुस बिक्री हुन्छ इट्टा उद्योगले लिन्छ । पुराना कपडाहरु धोएर एउटा बोरामा राख्नुस बिक्री हुन्छ – फिटेर कुसन, डसना बनाउन सक्नुहुन्छ । सकभर खाना खेर फाल्ने गरी नबनाउनुस घर खर्च बचत हुन्छ । तरकारी काट्दा निस्कने टुक्रा कम्पोस्ट पिटमा राख्नु कौसी खेतीलाई मल हुन्छ ।
८. आगामी कार्यदिशा वर्गीकरण र व्यवस्थापन हो :
म सँग पैसा छ भनेर मैले खाना किनेर फाल्ने अधिकार मसँग हुँदैन । फोहोर व्यवस्थापनमा पनि नागरिकले कुनै प्रयास नै नगरी मसँग पैसा छ । मैले पैसा तिर्छु । फोहोर नगरपालिकाले व्यवस्थापन गर्नु पर्छ भन्ने कुरा पनि त्यति सान्दर्भिक हुँदैन । हो नगरपालिकाले शुल्क लिएर फोहोर व्यवस्थापन गर्दछ । तर, नागरिकले आफ्नो पनि दायित्व निर्वाह गर्नुपर्दछ । फोहोर व्यवस्थापनमा पनि हुनेले शुल्क तिर्नु पर्दछ । नहुनेको लागि नगरपालिकाले नै व्यवस्थापन गर्दछ । तर, व्यक्तिको प्रयास, तत्परता र इमान्दारिता अनिवार्य मानिन्छ । हामीले नयाँ र नौलो कामको थालनी नगरी हामीले गरी आएको काम केही फरक तरिकाले सम्पादन गरौ, हाम्रो घरबाट निस्केको फोहोरलाई कुहिने, नकुहिने र सिसाजन्य गरी विभाजन गरी विसर्जन गरौ भन्ने हो । यसको लागि ठूलो खर्च र प्रविधि पनि चाहिदैन । ठूलो परिणामको फोहोर व्यवस्थापन गर्दा प्रविधि पनि चाहिन सक्ला तर हामीले सानो प्रयास,थोरै लागत, शुन्य लागत र समयमा फोहोरको व्यवस्थापन गर्न सकिन्छ भन्नका लागि यो अभियान चलाउन खोजिएको हो । हामीलाई के विश्वास छ भने नागरिकको इच्छाशक्ति, साथ र सहयोग भएमा फोहोरको स्रोतमा नै वर्गीकरण गरी व्यवस्थापन गर्न सकिन्छ ।
९. कुहिने फोहोरलाई कसरी व्यवस्थापन गर्ने :
ल्याण्डफिल्ड साईटमा फोहोरको पहाड नै बनेको छ । जुन स्थानीय सर सरकारकै टाउको दुखाइरहेको बेला कुहिने सबै फोहोर ल्याण्डफिल्ड साइट नलगिनै कसरी व्यवस्थापन गर्ने त ? यसको सहज जवाफ छ, ‘नकुहिने फोहोरलाई पनि वर्गिकरण गर्ने । पहिला पशुचौपायलाई खाना हुने खालको छुट्याउने । पशुचौपायको खाना नहुने वस्तुलाई छुट्याएर कम्पोष्ट मल र आगो बाल्ने ब्रिगेट बनाउने । नागरिकहरुले सकेसम्म कम फोहोर उत्पादन गर्ने । कुहिने, नकुहिने र सिसाजन्य गरी अलग अलग छुट्टाई घरमा फोहोर घरमा नै व्यवस्थापन गर्ने । थोरै जग्गा हुनेले पनि खाल्डो खनेर व्यवस्थापन गर्ने । समुदायस्तरमा कुहिने फोहोरलाई खेतबारीमा मलको रुपमा प्रयोग हुने प्रवन्ध मिलाउने । सक्नेले बायो ग्याँस उत्पादन गर्ने । सामान्य प्राविधिक जानकारी लिएमा भान्सामा अथवा सुत्ने कोठामै भाँडो राखेर मल बनाउन सकिने र गड्यौँला पालन लगायतका काम गरेर कुहिने फोहोर व्यवस्थापन गर्न सकिने देखिन्छ । मल बनाउँदा दुर्गन्ध आउँछ भन्ने चिन्ता धेरैलाई हुन्छ । तर मल कुहिएर नभइ पाकेर बन्ने र केही पनि कुरा पाक्दा दुर्गन्ध आउँदैन । कुहिनबाट जोगाउन केही घण्टाको तालिम प्रयाप्त हुने देखिन्छ । यसरी घरघरमै कुहिने फोहोरको शत प्रतिशत व्यवस्थापन गर्न सकिने र जसको कारण ल्याण्डफिल्ड साईट चाँडो भरिने तथा त्यहाँ दुर्गन्ध फैलने समस्या सजिलै हल हुने । ९० प्रतिशत फोहोर ल्याण्डफिल साईटमा लानु नै पर्दैन। केवल १० प्रतिशत फोहोर मात्र ल्याण्डफिल साइटमा लैजानु पर्ने देखिन्छ । अहिले १०० प्रतिशत नै हामीले ल्याण्डफिल साइटमा लैजादा ठूलो खर्च देखिएको छ । कुहिने फोहोर त शत प्रतिशत नै घरमा व्यवस्थापन गर्न सकिन्छ ।
१०.नकुहिने फोहोर कसरी व्यवस्थापन गर्ने :
श्रोतबाटै कुहिने र नकुहिने छुट्याएर ल्याएको फोहोरमध्ये नकुहिने फोहोरमा कवाडीका रुपमा बिक्री हुने धेरै वस्तु हुन्छन् । प्लाष्टिक, सिसा, फलाम लगायतका धातु, कागज, काठ लगायतका सामान कवाडीमा बिक्री हुन्छन् । कम ग्रेडका प्लाष्टिक, रंगीचङ्गी सिसा, चाउचाउ तथा लेज, कुरकुरेलगायतका खोल, जुसका प्याकेट तथा डब्बालगायत केही सामाग्री कवाडीमा बिक्री हुँदैनन् । ती सामग्री मात्रै ल्याण्डफिल्ड साइटमा पठाउनुपर्ने हुन्छ । त्यसैगरी बाबा, आमा र बच्चाले प्रयोग गरेका तर नकुहिने लगायतका सामाग्रीहरु जुन कुल फोहोरको १० प्रतिशत भन्दा कम हुन्छन् विसर्जनस्थल पुर्याउने ।
११.फोहोरको स्रोतमा नै वर्गीकरणका तत्काल गर्नपर्ने कामहरु :
(क) सरसफाईकर्मीलाई प्रोत्साहित गर्न अभिमुखीकरण गर्ने : फोहोरमा काम गर्ने सरसफाईकर्मीहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्ने । पुरस्कृत गर्ने । स्वास्थ्य बीमा गरिदिने । सेफ्टिका सामग्रीहरु उपलब्ध गराउने । उनीहरुको कामलाई इन्सेन्टिपसँग जोड्ने । सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारका बारेमा प्रशिक्षित गर्ने । रियाक्टिभ हुने बानीमा सुधार ल्याई फोहोरवर्गिकरणको अभियन्ताको रुपमा विकास गर्ने । (ख) नगरपालिकाको परिवार जनप्रतिनिधि एवं राष्ट्रसेवक कर्मचारीहरुले अनिवार्य रुपमा फोहोरको स्रोतमा नै वर्गिकरण गरी व्यवस्थापन गर्ने (ग) फोहोरमैला व्यवस्थापनको लागि सूचना प्रकाशन गरी निजी क्षेत्रलाई जिम्मा दिने । अन्य काम संलग्न कार्ययोजना अनुसार सम्पादन गर्ने ।
१२. सरोकारवालाहरुको भूमिका :
क) नगरपालिकाको भूमिका : नगरपालिकाको स्थापना नै सरसफाई अड्डाको रुपमा विकास भएको हो । त्यसकारण नगरपालिका आफू पनि हर क्षेत्रमा सफा रहने र अरुलाई पनि सफा रहन प्ररित गर्ने । अभियान संचालन गर्ने । “पोलुटर्स पे“ प्रिन्सिपल लागू गर्ने ।नगरपालिका परिवारले फोहोर व्यवस्थापनमा नमूना बनेर देखाउने । कार्यालय परिसर स्वास्थ्य चौकी अस्पताल सबै ठाउँमा अलग अलग व्यवस्थापन गर्ने ।
ख) सामाजिक क्षेत्रको भूमिका : सामाजिक संघ संस्थाका प्रमुख र त्यसमा सहभागी सबैंले फोहोरको वर्गीकरण गरी स्वयम नमूना बन्ने । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई पनि फोहोर वर्गीकरणका सवालमा सूचित गर्ने । विद्यालयहरुले सबै भन्दा आफ्नो विद्यालयको व्यवहारमा उतार्ने र सबै विद्यार्थीहरुलाई घरमा नै वर्गीकरणको लागि आव्हान गर्न र गर्न लगाउने । सामुदायिक एवं निजी विद्यालयहरुले सामाजिक विषय अन्तर्गत वृक्षा रोपण, कर सहभागिता फोहोर वर्गीकरण लगायतका समसामयिक ईश्यू (मामिलाहरुमा) प्रार्थनाको समयमा नै स्मरण गराउने । संचार र माध्यमहरुले सामाजिक दायित्वको रुपमा यसलाई बुझ्ने । आफूहरुले प्रयोगमा ल्याउने । वर्गीकरण र व्यवस्थापनका लागि आव्हान गर्ने ।
ग) निजी क्षेत्रको भूमिका :
आफू मातहत संगठित भएका व्यवसायीहरुलाई आफ्नो व्यवसायबाट निस्केको फोहोरको स्रोतमा नै वर्गीकरण गरी व्यवस्थापन गर्न अनुरोध गर्ने । आवश्यता अनुसार सहजिकरण गर्ने । फोहोर मैला व्यस्थापन ऐन २०६८ को पालना गर्ने तथा गर्न लगाउने ।
१३. फोहोरमैलासँग सम्बन्धित केहि भनाईहरु :
फोहोरलाई अर्थोउपार्जन र समृद्विसँग जोडौ ।विदेश जाँदा फोहर पनि झोलामा, यहाँ चाँही खोलामा ? फोहोरको वर्गीकरण नगर्ने घर धनीलाई दण्डित गरिने ।शुन्य फोहर, मेरो फोहर मेरो दायित्व । अरुलाई सल्लाह दिनुभन्दा पहिले आफैले गरौं ।
१४. अभियान कहिले सुरु गर्ने :
कार्तिक महिना भरी प्रचार प्रसार गर्ने र मंसिर १ गतेबाट कडाईका साथ कार्यान्वयनमा लैजाने । यो कार्यक्रममा No Lapses No Compromise को नीति लागू गरिने ।
१५. निष्कर्ष :
एक ठाउँको फोहोर अर्को ठाउँमा लगेर थुपारेर वा फालेर दिगो समाधान हुँदैन । फोहोर व्यवस्थापनका कानुन बनाएर मात्र हुँदैन, यसलाई कार्यान्वयन गर्न सक्ने आँट र दृढता जरूरी छ । अबको बाटो भनेको फोहोरलाई हटाउने वा विसर्जन गर्ने भन्ने पुरानो सोचलाई परिवर्तन गरी शून्य फोहोरको वैज्ञानिक अवधारणालाई अगाडि बढाउनु जरूरी छ । सामान्यतः सेवाग्राही नागरिक फोहोरमैलाको व्यवस्थापन गर्ने उत्तरदायित्व नगरपालिकाको हो भन्दछन् । तर, यसको मात्र एकल प्रयासले यो समस्याको समाधान सम्भव हुँदैन । फोहोर व्यवस्थापनका लागि मूलरूपमा “सात प” लाई कार्यान्वयनमा ल्याउन सकेमा केही हदसम्म कम गर्न सकिन्छ । जस्तै प्रवृत्तिमा सुधार, प्रणालीमा सुधार, प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण, प्रचार–प्रसारात्मक अभियान र परिचालन (समुदाय, टोल, नागरिक समाज, व्यावसायिक संस्था लगायत) र परिपालना (कानूनको) लाई कार्यान्वयनमा ल्याउन सकेमा फोहोर व्यवस्थापनमा सघाउन पुग्ने देखिन्छ ।