© २०२३
‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति
जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’ –बालकृष्ण सम ।
मानव सभ्यता सँगसगै भाषाको विकास भएको हुनसक्ने ठहर धेरै विद्वानहरूको रहेको छ । यस आधारमा विचार तथा अभिव्यक्तिको सशक्त माध्यम भाषा हो भन्न सकिन्छ । “सम्” उपसर्ग ‘कृ’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘संस्कृत’ शब्दको अर्थ सभ्य वा सुसंस्कृत मानवजीवनको परिष्कृत स्वरूप हो । संस्कृत भाषाका प्रत्येक आयाममा जीवनको परिष्कृत रूप देखापर्छ । भाषा मानव जीवनको अभिन्न अङ्ग हो । भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ । संसारमा भाषाका विभिन्न स्वरूप रहेका छन् । त्यसैमध्येमा संस्कृत भाषा विश्वकै सबैभन्दा प्राचीन भाषा हो । संस्कृत भाषाका वैदिक र लौकिक गरि दुई भेद रहेका छन् । संस्कृत भाषाबाट नै विश्वका धेरै भाषाहरू प्रभावित छन् भने कतिपय भाषाहरू संस्कृतबाट नै तत्सम तद्भव शब्दको रूपमा विकसित भएका छन् । संस्कृत भाषामा नै वेद, उपनिषद, रामायण, पुराण, धर्मशास्त्र र महाभारत आदि जस्ता विश्वमा नै चर्चित र महत्वपूर्ण ग्रन्थहरू प्रकाशित छन् । अथाह ज्ञान, विज्ञान, चेतना, बुद्धि, प्रबिधि र विवेकको स्रोत बोकेको संस्कृत आर्यजातिले सर्वप्रथम प्रयोग गरेको हुँदा यसलाई आर्य भाषा पनि भनिएको हो । संस्कृत बाङ्मयहरूमा पनि यसका वक्ताहरूलाई आर्य भनेर सम्बोधन गरिएको पाइन्छ । संस्कृत भाषामा पाइने अथाह ज्ञान अन्य भाषामा पाइँदैन् । यस्तो महत्व र गरिमा बोकेको भाषा अहिले आएर हाम्रोजस्तो देशले चिन्न नसक्नु दुर्भाग्य नै हो भन्दा अत्युक्ति नहोला ।
पछिल्लो समय अङ्ग्रेजी भाषाप्रतिको मोह र सूचना, सञ्चार र प्रबिधिमा पनि अग्रेजी भाषाको विश्वव्यापी प्रभाव परेको हुँदा यो भाषाप्रतिको दृष्टिकोणमा सकारात्मक सोच हुन सकेको छैन । संस्कृत भाषायुक्त ग्रन्थहरूमा सामाजिक, आर्थिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, व्यवहारिक, राजनीतिक, नैतिक, चारित्रिक, वैज्ञानिक, प्राविधिक, शैक्षिक आदि सबै कुराको विषयगत ज्ञान प्राप्त हुन्छ । संस्कृत भाषाको महत्व बुझेर संसारका विकसित मुलुकका विश्व विद्यालयहरूमा संस्कृत विषयलाई पनि पठनपाठनको रूपमा समावेश गरेको पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा संस्कृत भाषाको महत्व नबुझ्ने व्यक्तिहरू अङ्ग्रेजी भाषाको प्रभावमा परेर संस्कृत भाषाप्रति अनास्था जगाएका छन् । संस्कृतलाई ज्ञानको स्रोतको भाषाका रूपमा नलिएर कर्मकाण्डीय भाषाका रूपमा व्याख्या गर्ने मानिसको संख्या पनि कम छैन । वास्तवमा कर्मकाण्डीय भाषा मात्र नभएर अथाह ज्ञान, विज्ञान, प्रविधिको विशिष्ट भाषा हो ।
संस्कृत भाषाकै अनुकरण गरेर वा प्रभावमा परेर धेरै कवि÷साहित्यकारहरूले सिद्धान्त वा दर्शनको प्रतिपादन गरेका छन् । साहित्यिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, राजनीतिको, आर्थिक, आदि विषय सम्वद्ध कृतिहरूको रचना गरे । जुली सभ्यताबाट मानवीय सभ्यतामा परिवर्तन गर्न संस्कृत भाषाको ठूलो महत्व रहेको छ । नेपाली, हिन्दी, आदि जस्ता धेरै भाषाहरूमा संस्कृत भाषाकै शब्दहरूको वर्चस्व रहेको पाइन्छ । आधुनिक भाषाहरूको विकास नहुँदासम्म संस्कृत भाषा नै मानवीय वोलचालको भाषा पनि थियो । मानवीय जीवन दर्शनको अभियानका रूपमा रहेको यो भाषा विश्वका चर्चित भाषाहरूमध्ये महत्वपूर्ण भाषाका रूपमा देखापर्छ । शिक्षित व्यक्तिहरूको अभिव्यक्तिमा पनि संस्कृत भाषाकै प्राधान्यता रहेको हुन्छ । संस्कृत साहित्यमा नभएको विषय नै कहीँ छैन । मानवीय व्यवहारमा सकारात्मक सोच ल्याउनु चारित्रिक र नैतिक अवस्था सिर्जना गर्न संस्कृत वाङ्मयको ठूलो भूमिका रहेको हुन्छ । त्यतिमात्र होइन भाषाको मिठास पनि जति संस्कृत भाषामा छ, त्यति अन्य भाषामा पाइदैन् ।
संस्कृत भाषा विशेषगरी नेपाल, भारतमा बोलिने अधिकांश आधुनिक भाषाहरूको जननी हो । पश्चिमी साहित्यका सन्दर्भमा ग्रीक र ल्याटिन भाषाभन्दा पनि पुरानो भाषा संस्कृत हो । संस्कृत भाषाबाट नै प्राकृत, अपभ्रंश हुँदै नेपाल र भारतका अधिकांश आधुनिक भाषाहरूको विकास हुँदै आएको छ । संस्कृत भाषाविहीन नेपाली भाषाको कल्पनासमेत गर्न सकिदैन । संस्कृत भाषाको अध्ययनबाटै पश्चिमा मुलुकहरूले नयाँ–नयाँ कुराहरूको वैज्ञानिक आविष्कार गरेका छन् । कतिपय देशहरूमा त संस्कृत भाषालाई विश्वविद्यालयको पाठ्यक्रममा समेत राखेर अध्ययन अध्यापनसमेत गराइने गरेको उदाहरण प्रशस्तै सुन्न र देख्न पाइन्छ । संस्कृत भाषाको गरिमा र महत्व विश्वव्यापक रूपमा भएपनि वर्तमान परिप्रेक्ष्यमा राजनीतिक, सिद्धान्त र दर्शनले गर्दा यो भाषाको महत्व र गरिमालाई नेपालजस्तो मुलुकले बुझ्न सकिरहेको छैन ।
मानव जीवनका हरेक आयाममा व्यापक बनेको संस्कृत भाषाको अस्तित्व र राष्ट्रिय राजनीति, शिक्षा, समाज, अर्थ, संस्कृति, धर्म, अध्यात्म, दर्शन, संस्कार, व्यवहार, नीति, चरित्र, साहित्य, ज्ञान, विज्ञान प्रविधि, आदि क्षेत्रमा रहे पनि यस भाषाले पु¥याएको योगदानलाई बुभ्mने काम भएन । अन्तरदेशीय धर्म, संस्कार, दर्शन, सिद्धान्त ल्याएर यो भाषालाई बलात्कार गर्ने काम भएको छ । संस्कृत भाषालाई बलात्कार गर्नेहरू क्रान्तिकारी, परिवर्तनशील, महान दार्शनिक तथा राष्ट्रवादी बनेका छन् । दूध पिएर विष बमन गर्ने नेपाली विद्वानहरू नेपालमा प्रशस्तै छन् । संस्कृत भाषाप्रतिको उदासीनताले गर्दा आज राष्ट्र, राष्ट्रियता र जनताको अस्तित्व, स्वाभिमान, मान, प्रतिष्ठा दिनानुदिन क्षयीकरण हुँदै गएको छ ।
संसारका भाषाविद्हरूले विश्वका भाषाको तुलनात्मक, वर्णात्मक र व्याकरणात्मक, ध्वन्यात्मकताको समानता र असमानताका आधारमा मुख्यतः १० भाषा परिवारमा वर्गीकरण गरे । जसमध्ये संस्कृत भाषाको उत्पत्ति र विकास भारोपेली भाषा परिवारको प्रमुख उप–शाखा आर्य इरानेली भाषा परिवारबाट भएको हो भन्ने भाषाविद्हरूको भनाइ छ । भारोपेली परिवारको एउटा शाखा संस्कृत भाषाको मूल प्रयोक्ता भारतीय आर्य जाति थिए । संस्कृत भाषाको प्रागैतिहासिक स्वरूपको अध्ययन गर्दा भारोपेली परिवारका भाषाको मूल प्रयोक्ता किर्गिजिकिस्तानको मध्य पहाडी क्षेत्रमा बस्ने “विरोस” जाति थिए भनिन्छ । तिनै समयान्तरालका क्रममा वंश विस्तार हुँदै जाँदा यो भाषाले व्यापक रूप लियो । उनीहरूले प्रयोग गरेको पहिलो भाषा नै आर्य वा संस्कृत भाषा हो । भारोपेली परिवारको एउटा उपशाखा संस्कृत भाषाको पहिलो भाषिक रूप वैदिक संस्कृत भाषा हो र यस भाषामा वेदको रचनामा यसको व्याख्याका रूपमा उपनिषद, ब्राहृमण, आरण्यक जस्ता ग्रन्थहरूको विकास भयो ।
वैदिक भाषाको उत्पत्ति इश्वरीय श्वास–प्रश्वासबाट भएको पाइन्छ भने यसलाई लिपिवद्ध गर्ने काम अपौरुषेय दिव्यदृष्टि प्राप्त गरेका ऋषिमुनिहरूबाट भयो । यसपछि वैदिक भाषाको जटिलताले भाषा परिवर्तनका क्रममा लौकिक संस्कृत भाषाको विकास भयो । लौकिक संस्कृत भाषाको पहिलो स्वरूप वाल्मिकी रामायण र त्यसपछि महाभारत, पुराण, धर्मशास्त्र र अन्य संस्कृत साहित्यका ग्रन्थहरूमा देखापर्छ । संस्कृत भाषामा लेखिएको “महाभारत” विश्वको सबैभन्दा विशाल ग्रन्थ हो । प्राचीनकालदेखि नै विशाल इतिहास बोकेको संस्कृत भाषा सुरक्षित हुनुपर्नेमा वर्तमान परिप्रेक्ष्यमा यो भाषाप्रति आक्रामक व्यवहार दिन प्रतिदिन बढेको छ । संस्कृत भाषा र यसबाट तत्सम तद्भवका रूपमा भएका धेरै आधुनिक भाषाहरूलाई सूर्यको किरण वादलले छेकेझैं अङ्ग्रेजी भाषा र त्यसका वक्ताहरूले छेक्ने दुष्प्रयास गरिरहेका छन् ।
पछिल्लो समय अङ्ग्रेजी भाषाप्रति शिक्षित व्यक्तित्वहरूको आकर्षण बढ्दै जाँदा ज्ञान, विज्ञान, प्रविधिको विकासमा अङ्ग्रेजी भाषा अपरिहार्य बन्दै गएको छ । संस्कृत भाषाको अध्ययन र अध्यापन गराउने विश्वविद्यालय, महाविद्यालय, विद्यालयहरूमा विद्यार्थीको संख्या ज्यादै कम रहेको देखिन्छ । संस्कृत भाषाप्रतिको विकर्षणले ज्ञान, विज्ञान, प्रविधिको अथाह भण्डार हुँदाहुँदै पनि यो भाषा पछि परेको छ । संस्कृत भाषालाई विश्वव्यापीकरण बनाउनु पर्नेमा संस्कृतकै अध्येताले यस भाषाप्रति अनेकौं नकारात्मक टिका टिप्पणी गरिरहेका छन् । यस प्रकारको अवस्था आउनु नेपालजस्तो देशका लागि पक्कै पनि शुभ संकेत होइन् । संस्कृत भाषाको अध्ययनले हरेक भाषाको अध्ययनमा सहयोग पु¥याउँछ । नीति, आदर्श, अनुशासन, सदाचार जस्ता समाजका सकारात्मक पक्षलाई यदि जीवन्त राख्ने हो भने प्रत्येक विद्यालयहरूमा संस्कृत शिक्षालाई पाठ्यक्रममै अनिवार्य विषयका रूपमा प्रयोग गरिनुपर्दछ ।