© २०२३
काठमाडौं,२६ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।
पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको हो।
आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको आज ५६ दिन पुग्नेछ। ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ। भदौ ३० गतेभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए।
विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा गत साउन २ गते सिनामंगलबाट ठूलो मात्रामा अवैध सुन बरामद भएको थियो।
यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन्। सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको छ। सुन प्रकरणमा पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन्।
तस्करीको सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व,भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो।
विद्युतीय चुरोट भेपमा भित्रिएको ९ केजी सुन प्रकरणको मुद्दा भने छुट्टै जाने सीआईबीले जनाएको छ। भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। उनी पनि सीआईबीकै हिरासतमा छन्। भेपमा सुन ल्याउने गिरोहका नाइके दावाजिन वाङसहितका तस्कर भने फरार छन्।
सन् २०२१ देखि ०२३ जुलाईसम्म गिरोहले करिब १ अर्ब रुपैयाँ क्रिप्टोमार्फत कारोबार गरेको पनि खुलेको छ। सुन तस्करी, भन्सार छली, हुन्डी र अरू अपराधबाट आर्जित सम्पत्ति गिरोहले क्रिप्टो भुक्तानी यूएसडीटीमार्फत गर्ने गरेको सीआईबी स्रोतको भनाइ छ।