© २०२३
पाल्पा, १९ भदौ ।
वगनासकाली गाउँपालिका खानीगाउँकी कल्पना सारु उमेरका हिसावले १७ वर्ष पूरा गरिन् । सारु कक्षा ७ को पढाई पुरा नगर्दै छिमेकी गाउँको पिपलडाँडाका खुमन दर्लामीसंग जीवनको बन्धनमा बाँधिएको एक वर्षमा पहिलो सन्तानका रुपमा छोरोलाई जन्म दिइन् । अहिले उनको पेटमा पाँच महिनाको बच्चा छ ।
सानो उमेरमा पढ्दा पढ्दै सानो उमेरमा विवाह गरेर बच्चा जन्माउने कल्पना मात्र होइन । उनीसंगै अध्ययन गर्दागर्दै मोवाइलबाट फेसबुकको माध्यमबाट माया बसेर स्याङ्जा जिल्लाको गल्याङ नगरको ग्रामीण बस्तीमा आफ्नो उमेरको साथीसँग वैवाहिक जीवनमा बाँधिएको माया घर्तीलाई सानै उमेरमा विवाह गरेमा आफैलाई पश्चातापले रुवाइरहेको छ ।
सानै उमेरमा विवाह गरी घरजम गर्ने किशोरीको सख्या पछिल्लो समयमा बाहुन क्षेत्री भन्दा जनजाती तथा दलित वर्गमा धेरै देखिन्छन् । सात वर्ष अगाडि कक्षा १० मा अध्ययन गर्दागर्दै पुर्वी नवलपरासीको अरुणखोलाका युवकसंग उज्जवल भविष्य देखेर आफ्नो भविष्यसँगै जीवन नै अर्पण गरेकी निस्दी गाउँपालिका मित्यालकी खुमिसरा सुनारी सानो उमेरमा विवाह गर्दा पढाई पूरा हुन नपाएको र वैवाहिक जीवनले पनि सार्थकता नपाएको बताउँछिन् ।
विवाह गरेको एक वर्ष नहुँदै श्रीमानले अर्की श्रीमती ल्याएपछि आफ्नो जीवन अन्धकारतर्फ धकेलिएको बल्ल महसुस भएको छ । “सानो उमेरमा विवाह गर्नु भनेको जीवनको बर्वादी गर्नु रहेछ”–उनी भन्छिन् । पछिल्लो समयमा सुचना र प्रविधिको विकाससँगै समाजमा विकृती पनि आएको छ । “सूचना र प्रविधिको गलत तरिकाले उपयोग भर्ने अभ्यासका कारण बाल विवाहले जारा गाडेको हो”– उनले भनिन् । मित्यालका जलदेवी प्राथमिक विद्यालयका लाल बहादुर सोती भन्छन्, “सानो उमेरमा विवाह गर्ने प्रचलन पुनः पछिल्लो समयमा फेरि बढ्दो अवस्थामा रहेको छ ।” पहिलेको तुलनामा अहिले जनचेतना बढ्दो अवस्थामा छ । अहिले पाठ्यक्रममा पनि बाल विवाह सम्बन्धी ज्ञानहरु समावेश भएको पनि छ । वाल विवाह गर्नु हँुदैन भन्ने पाठ्यपुस्तकमा समावेश हुँदाहुँदै पनि सामाजिक सञ्जालका कारण बाल विवाह बढ्दो अवस्थामा रहेको सोती बताउँछन् ।
सानो उमेरमा विवाह गर्ने अनि सानो उमेरमै आमा बन्ने क्रम बढेको छ । सानो उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा हँुदो रहेछ । सानै उमेरमा विवाह गरी बच्चालाई जन्म दिन नसक्दा आफु अप्ठेरोमा परेको निस्दी गाउँपालिका ज्यामिरेकी १५ वर्षीया सुनिता घर्ती बताउँछिन् । बाल विवाह सबैभन्दा जनजाति समुदायमा विद्यमान रुपमा रहेको छ ।
वाल विवाह रोकथामको लागि नेपाल सरकारले समेत वैवाहिक ऐन नबनाएको होइन । बाल विवाहको सवालमा स्थानीय सरकारले पनि उमेर नपुगी विवाह भएको घरमा विहे भोजका लागि स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, स्थानीय सरकारका कर्मचारीले बहिष्कार गर्न गाउँपालिकाको नीति नै बनाएको निस्दी गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु बताउँछन् ।
नेपाल सरकारको वैवाहिक ऐन अनुसार २० वर्ष नपुगी विवाह दर्ता नहुने भएपछि बाल विवाह पहिलेको तुलनामा कम भएको छ । “न्युनीकरणका लागि सामाजिक बहिष्कार नै गर्नु पर्दो रहेछ”–अध्यक्ष सारु भन्छन् । सानै उमेरमा विवाह गर्दा आफ्ना जीवनका सपनाहरु सबै हावामा उडेको माथागढी गाउँपालिका बहादुरपुरकी १८ वर्षीय खुमा सुर्यवंशी बताउँछिन् । “फेसबुकको माध्यमबाट माया बस्यो प्रेमलाई सार्थकता बनाउँदा भविष्यमा नर्स बन्ने सपना प्रवेशिका परीक्षा दिन नपाउँदै भताभुङ्ग भयो”–उनी भन्छिन् । “विवाहपछिको समयलाई पढाईमा निरन्तता दिनु भनेको त कल्पना भन्दा बाहिर नै हुँदो रहेछ । छोरी हँुदा र बुहारी हुँदा धेरै फरक पर्दो रहेछ, सानो उमेरमा विवाह भएपछि पढ्ने भन्ने त त्यस्तै हो । घरकै काम धन्धामा व्यस्त हँुदाहँुदै जीवन बितेको थाहा नै हँुदो रहेन छ”–स्थानीय बाल कुमारी ढेंगा भन्छिन् ।
“सानो उमेरमा विवाह गर्दा धेरै समस्या हुँदो रहेछ । गर्भ बसेपछि नियमित रुपमा स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि जानु पर्छ । त्यतिबेला लाज लाग्दो रहेछ । कलिलो अवस्थामा बच्चा जन्माउँदा स्वास्थ्यमा गम्भीर असर उत्पन्न हँुदो रहेछ । सानै उमेरमा घर, बुढेशकालले नराम्रो संग छोप्दो रहेछ । त्यसैगरी शरिर पनि सदाका लागि रोगी नै हुँदो रहेछ”–ढेगाको अनुभव छ ।
कक्षा ६ मा अध्ययन गर्दागर्दै अफ्नो सहपाठी साथीसंग आफ्नै गाउँमा विवाह बन्धनमा बाँधिएकी १५ वर्षीया लक्ष्मी घर्तीले एक वर्षपछि छोरीको आमा बन्दा आफ्नै ज्यान जोखिममा परेको अनुभव सुनाउँछिन् । “सानो उमेरमा विवाह गर्न हुँदो रहेनछ भन्ने होस् बल्ल खुल्यो”–उनी भन्छिन् ।
आमा र बच्चा दुवै जोखिममा
सानो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने स्वास्थ्य प्राविधिकहरु बताउँछन् । किशोरी आमाहरुको प्रजननका अंगहरु पूर्णरुपले विकास भइसकेका हँुदैनन् । त्यस समयमा बच्चा जन्माउनु उच्च जोखिमयुक्त हुने गर्दछ । यौन तथा प्रजननका क्षेत्रमा कार्यरत संस्था परिवार नियोजन संघका प्रमुख शोभाकान्त न्यौपाने भन्छन्–“२० वर्ष यता किशोरीहरुको प्रजननको अंगहरु पूुर्णरुपले विकास भएको हँुदैन । त्यसैले योग्य ठानिदैन । बच्चा जन्मिएपछि स्वस्थ हुँदैन । बाल विवाह न्युनीकरणका लागि जनचेतनासँगै किशोर किशोरीहरुलाई यसबाट पर्न गएका असरहरुको ज्ञान दिलाउनु पर्छ ।
ग्रामीण बस्तीहरुमा ४० प्रतिशत किशोरीहरु सानो उमेरमा आमा बन्ने गरेको स्वास्थ्य प्राविधिकहरु बताउँछन् । समस्या शहरी क्षेत्रको तुलनामा भन्दा ग्रामीण क्षेत्रमा रहेको छ । पछिल्लो समयमा सुचना र प्रविधिको विकासका कारण सामाजिक संजालका कारण ग्रामीण बस्तीमा बाल विवाहको संख्या बढेको रामपुर नगर सरकारका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे बताउँछन् ।