© २०२३
पाल्पा, १२ भदौ ।
रम्भा गाउँपालिका पिपलडाँडाकी बिष्णुमाया राना बिहान बेलुकाको कामले मात्र सीमित छैनन् । बिहानी मिर्मिरेसँगै निद्रा बाट बिउजिएकी उनी राति १० बजे सम्म काम धन्धामा व्यस्त हुन्छिन् । बिहान उठेर गोठमा भएको भैसीलाई दाना पानी, गोवर सोत्तर गर्दा ७ बजिसकेको हुन्छ । खाना बनायो, अनि बारीमा घाँस काट्न गयो, २ भारी घाँस ल्यायो, खाना खायो । अनि दिउँसो मेला पातमा व्यस्त भयो । बेलुका घर फर्किदा अँध्यारो हुन्छ । “खाना खाएर बिस्तारामा पुग्दा १० बज्छ”– उनी भन्छिन् । बिष्णुमाया जस्तै ठूलो संख्याका महिलाहरु घरयासी काम धन्धामा ब्यस्त हुने गर्दछन् ।
ग्रामीण बस्तीमा बसोबास गर्ने केही महिलाहरु घरयासी काम धन्धामा ब्यस्त हुने गर्दछन् । उनीहरु गोठमा भैसी, गाई बाख्रा, कुखुरा जस्ता जनावर वा पंक्षीहरु पाल्ने गर्दछन् । पुरुषहरु प्रायजसो वैदेशिक रोजगारीका लागि विदेशीएका छन् । छोराछोरीहरु पठनपाठनमा व्यस्त भएका कारण घरमा काम सघाउने अर्को कोही नहँुदा महिलाहरु घरयासी कामले नराम्रो गरी थलिएको माथागढी गाउँपालिका बहादुरपुरकी गिता दर्लामी बताउँछिन् ।
बिहान कुखुराको भाले बास्नु भन्दा पहिले उठेर घर भित्रको काम भ्याउने हो, अनि टोल छिमेकका दिदी बहिनी भएर वनमा घाँसका लागि जानु पर्दछ । खाना खाएपछि खेतबारीमा मौसम अनुसारको काम गर्दा फेरि घाम अस्ताउँछन् । “ग्रामीण क्षेत्रका महिलाहरुका लागि आराम भन्ने नै हँुदैन”– दर्लामी भनिछन् ।
“प्रसव व्यथा सुरु भएको थियो, तैपनि बारीमा घाँस काट्नका लागि गएँ । घाँस काट्दा काट्दै दोस्रो बच्चा जन्मिएको हो”–खुमकला नेपाली स्मरण गर्छिन् । घाँसको भारीसँगै काखमा बच्चा लिएर घर पुगेको हो । प्रसव पिडाले च्याप्दा सम्म काममा व्यस्त हुनु पर्ने बाध्यता हो ।
घर भित्रको काममा व्यस्त भएर पनि बाहिरको काममा व्यस्त हुनु पर्दछ । कुनै रोग तथा बिरामी थला नै नपर्दा सम्म आराम भन्ने नै हँुदैन । सुख्खा मौसमको समयमा एक गाग्रो पानीका लागि एक घण्टा बिताउनु पर्दछ । घरभित्रको काम गरिदिने अरु कोही भए बाहिरको काम गर्नु पर्दछ । “बिहानको समयमा पानीपछि घाँसको लागि जंगल जानु पर्दछ । त्यसैगरी दाउराको जोहो पनि महिलाले नै गर्नु पर्दछ । आराम भन्ने नै हँुदैन”–निस्दी गाउँपालिका मित्यालकी देव कुमारी सोती भन्छिन् । गाउँका महिलाहरुलाई कामले नराम्रोसंग च्यापेको छ । आराम गर्न त बिरामी वा सुत्केरी हुनु पर्दछ । न्वारनको भोलि पल्टबाट काममा जोतिनु पर्दछ । हुने खानेहरु बजारतिर लाग्ने, हँुदा खाने मात्र गाउँ कुरेर बसेका छन् । खेतबारी भए पछि खेति गर्नु प¥यो । खेति गरेपछि अन्न वालीका लागि गोठमा वस्तु राख्नु प¥यो त्यसैले गर्दा पुरुषको तुलनामा महिलालाई कामको बोझ बढी हुने तिनाउ गाउँपालिका कोलडाँडाकी वसन्ती राना बताउँछिन् ।
स्वास्थ्यमा गम्भ्ीार समस्या
कामको चापले थलिएका महिलाको स्वास्थ्य अवस्था गम्भीर र जटिल बन्दै गएको छ । अझ बढी ग्रामीण क्षेत्रका जनजाति समूहका महिलाको सानो उमेर र विवाह बन्धनमा बाँधिएर आमा बन्ने, पछि कामको चापले थलिदा पाठेघरको समस्या बल्झिदै गएको छ । बच्चा जन्माएपछिको समय आराम गर्नु पर्ने हो तर काममा जोतिदा आङ खस्ने समस्याले आफु पिडित भएको तिनाउ गाउँपालिका मस्यामकी सिता दर्लामी बताउँछिन् ।
सानो उमेरमा विवाह अनि बच्चा पायो, घरको काम गर्दा आराम भन्ने नै हँुदैन अनि समस्या देखा पर्न लाग्यो, कहाँ उपचार गर्ने हो, पाठेघर खस्यो भनेर कसलाई भन्ने थाहा हुँदैन । त्यसले गर्दा पनि महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको माथागढी गाउँपालिका कसेनीकी महिला दुर्गा राना बताउँछिन् ।
परिवार नियोजनका शाखा प्रमुख शोभाकान्त भन्छन्, “ग्रामीण क्षेत्रका महिलाहरु कामले च्यापिदा र आराम नहुँदा यस्ता समस्या देखा परेको हो । संघले आयोजना गरेका शिविरहरुमा सबै भन्दा बढी पाठेघर खस्ने समस्या लिएर आउने गर्छन् । पहिले त आवश्यक चेतनाको उज्यालो गाउँघर सम्म पुगेको छैन । कुन समयमा के कस्ता कामहरु गर्नु पर्दछ भन्ने ज्ञान नै छैन । शरीर कमजोर भएका समयमा ठुला ठुला भारीहरु बोक्दा वा उचाल्दा यस्ता समस्याहरु आउने गरेको उनले बताए ।
पाल्पा अस्पतालका प्रमुख विवेक भण्डारी पनि कामको चापका कारण महिलाहरुको स्वास्थ्य अवस्था कमजोर हुँदै जाने बताउँछन् ।