© २०२३
उमेरले ६८ वर्षमा हिँडदै गरेका चुरामणी बश्याललाई वास्तविक नामले थोरै मात्र चिन्छन् । खिरको नाम जोडेपछि भने उनलाई बर्दघाट सेरोफेरोमा नचिन्ने कमै छन् । त्यसैले उनको परिचय नै ‘खिर पकाउने बसेल बा’ बनेको छ ।बर्दघाट बजारमा २०४५ सालमा सामान्य चिया पसलबाट ब्यवशाय सुरु गरेका उनले चिया पसलको ब्यवशायलाई ठूलो त बनाएनन् तर खिरको लागि ब्राण्ड बनेको छन । बर्दघाटको नामलाई खिरसँग जोडेर चिनाएका छन् । स्थानीय मात्र होइन पूर्व पश्चिम यात्रा गर्नेहरु समेत उनीकहाँ खिरको स्वाद लिन बर्दघाटमा रोकिने गर्दछन् । करिव ३० वर्षदेखी निरन्तर खिर पकाएर खुवाउँदै आएका उनले पछिल्लो समय खिरका पारखी भने घटेको बताए । सुरुवाती दिनमा १०—१५ लिटर दुधमा पाक्ने गरेको खिर अहिले भने ६—७ लिटरमा खुम्चिएको छ । करिव ३० वर्ष अघि ६ रुपैया लिटरमा दुध किनेर ५ रुपैया प्लेट बेच्ने गरेको खिर अहिले भने १ सय रुपैया प्लेट पुगेको छ ।
पहिले धेरै दुधको खिर पाक्थ्यो अहिले किन घट्यो त भन्ने जिज्ञासामा उनले ठट्यौली पारामा भने ‘उ बेलामा मान्छेहरु माछा मासु भन्दा गोरस (दुध, दहि र दुधका परिकार) मा बल गर्थे अहिले माछामासु र सोमरसमा बल गरेर होला ।’ उनले अगाडि भने ‘नियमित ग्राहकहरु मध्येका कतिपय पछिल्लो समय मधुमेह (सुगर) का विरामी समेत हुँदै गएकोले पनि कमी आएको हो । केहिले त विनाचिनीको खिर खाने ग्राहक समेत आउने गरेका छन बस्यालले थपे ।
उमेर ढल्कँदै गएपनि उनले खिर पकाउन भने छाडेका छैनन । अहिले पनि विहानको खाजामा खिर खानेहरु नियमित रुपमा आउने गरेको उनले बताए । नियमित खाजाको रुपमा खिर खाने ५७ वर्षका बर्दघाटका स्थानिय गोविन्द बहादुर कुँवर विगत १८—२० वर्षदेखी दैनिकजसो खाजाको रुपमा खिर खाँदै आएको बताए । यहाँ पाइने खिर अन्यत्रको भन्दा फरक स्वादको भएको उनले बताए ।
धर्मशास्त्र अनुसार साउन महिनालाई एक पटक भएपनि खिर खानु पर्ने महिनाको रुपमा लिइए पनि पछिल्लो समय परम्परा हटदै जाँदा बसेल बा ले भने बाह्रै महिना खिर पकाएर निरन्तरता दिएका छन । साकाहारी भोजन (खाजा) को रुपमा खिर खाने मानिस घटदै जाँदा कतै खिरको अस्थित्व नै मेटिने पो हो की भन्छन उनी । अहिले पनि उनको पसलमा यसअघि खिर खाएका पोखरा, धादिङ्ग, हेटौँडा, काठमाण्डौ लगायत स्थानका बर्दघाट हुँदै यात्रा गरेका मानिसहरु खिर खानकै लागि आफ्नो पसलमा आउने गरेको उनले बताए ।
किन तपाइको पसलमा एकपटक खिर खाएकाहरु निरन्तर आउँछन भन्ने जिज्ञासामा उनले भने ‘सुरुवाती दिनदेखी नै मैले खिरको गुणस्तरमा कमी गरीन, लागत मुल्य बढे खिरको मुल्य बढाउने तर गुणस्तर कायमै राखेकोले एक पटक खाएकाहरु पटक पटक आफ्नो पसलमा आउँछन ।’ खिरका नियमित ग्राहक बम बहादुर खत्रीले यहाँ पाइने खिरको जस्तो स्वाद अन्यत्र नपाइने र स्वास्थ्यका लागि पनि खिर राम्रो हुने भएकोले लामो समयदेखी निरन्तर आफूले यहाँको खिर खाँदै आएको बताए ।
बश्याल चिसा पसलमा अहिले विशेषगरी विहानमा चिया, डुनट र खिर खानेहरुकै भिड लाग्ने गर्दछ । उनका छोरा प्रकाश बश्यालले बाबुको ब्यवशायमा साथ दिएका छन । खिर पाइने होटलको रुपमा परिचित बश्याल चिया पसललाई निरन्तरता दिइनै रहने उनले बताए ।