© २०२३
अहिले बर्षातको मौसम छ । यो बेला झाडापखाला, भाइरल ज्वरो जस्ता रोगले मानिसलाई सताउने गर्दछ । त्यति मात्रै नभएर केही बर्षदेखि डेङ्गु नामको ज्वरोले हैरानै पार्ने गरेको छ । यतिखेर पूर्वका केही जिल्लामा डेंगु ज्वरोका कारण केही मानिसको ज्यान गैसकेको छ । अन्य क्षेत्र रूपन्देही, चितवन, नेपालगंज, कपिलवस्तु, नवलपरासी, नवलपुर जस्ता बिशेषगरी तराईका ठाउँंहरूमा डेंगुको सुरुवात भैसकेको छ । एक प्रकारको मच्छडको टोकाइबाट मानिसमा सर्ने भाइरसको संक्रमणबाट फैलने यो रोग डेंगुले हाल बिशेषगरि नेपालको पूर्वी भागमा तहल्का पिटेको छ । मुख्यगरी यो रोगको बढ्दो विरामीको कारण झापाको दमकमा डेंगु भाइरल भएको छ । डेंगुु रोगका कारण अहिले धेरै मानिस अत्तालिएका छन । कैयौं अस्पताल भर्ना भएका छन । केही बालबालिका र बयस्क मानिसको मृत्यु भैसकेको छ ।
विश्वमा मच्छडको टोकाइबाट अति नै शीघ्ररूपमा फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग डेंगुपनि भएको पुस्टी भएको छ । विश्वभर नै यो रोगको फैलावट भएपनि एसिया खासगरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग ब्यापक भएर एक समस्याको जड बनेको छ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टे ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा धेरै पाइन्छ । स–साना पानीको पोखरीमा यस्ले फूल पार्छ । यहाँसम्मकि अण्डाको आधा भाग बोक्रामा जम्मा भएको पानीमासम्म यस्ले फूल पार्न सक्दछ । खासगरी बर्षाको पानी जम्ने टिनका डब्बाहरू, रङका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फूलदानी, गमला, पानीका ट्यांकी आदिमा जम्मा भएको पानीमा यस्ले फूल पार्ने गर्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी हुने गर्छ ।
डेंगु एडिस एजिप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तिव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३, डेंगु ४ गरी चार प्रकारका हुन्छन । एडिस लामखुट्टे कालो रङको हुन्छ जस्मा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसोमा टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामखुट्टे फोहर पानीमा पाइने भएपनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फूल पार्छ । यसैले यो लामखुट्टेलाई भीआइपी लामखुट्टे पनि भन्ने गरिन्छ । डेंगु रोग क्लासिक डेंगु हेमोरेजिक र साक सिन्ड्रोम गरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैं पनि निको हुन्छ र मृत्युको सम्भावना कम हुन्छ ।
तर यदि कुनै व्यक्तिलाई डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ । ज्वरो घटाउन सिटामोल मात्र खान सकिन्छ । मुख्यत प्रशस्त झोल पदार्थ खानु आवश्यक छ । नजानिकन ज्वरो घटाउने भनेर एस्पिरीन तथा आईबुप्रोफेन जस्ता कुनैपनि दवाइहरू खानु हुंदैन जुन घातक हुन्छन । डेंगु ज्वरो विरुद्धको खोप तथा कुनै पनि औषधीहरूको आविष्कार भइनसकेको हुँदा चिकित्सकको परामर्श बिना कुनैपनि दवाई प्रयोग गर्नु घातक हुन जान्छ । केही नगरी चुपचाप बसेर आराम गर्नुपर्छ । आराम गर्ने, झुल भित्र मात्र बस्ने, धेरै टाउको दुखेमा सिटामल मात्र खाने, झोल पदार्थ टन्न खाने गरेमा मात्र डेंगु कम हुंदैजान्छ । मुख्यतः यस रोगको बिशेष उपचार नभएको हुँदा लामखुट्टेको टोकाइबाट जोगिनु नै यस रोगको बाटो छेक्नु मुख्य उपाय हो । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो १०५ डिग्री सम्म आउन सक्छ र ५ देखि ७ दिनसम्म यो ज्वरो रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखापर्दछ । असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, शरीर ललाकलुलुक हुने र गल्ने, एक दुई सिंढी चढ्दा पनि स्याँस्याँ हुने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्ष्यणहरू पनि देखापर्न सक्छ ।
बच्ने उपायः
डेंगु ज्वरोबाट बच्न बिशेषगरी लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनुहुंदैन । पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुइ चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ । फुलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने गर्नुपर्छ । लामखुट्टेले दिउँसो टोक्ने हुंदा दिउसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनु पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्दछ ।
एक दशक भन्दा लामो समयदेखि डेंगुले नेपालका धेरैजसो तराई र पहाडी भेगमा बिरामी पार्ने र कतिपयको ज्यान समेत लिने गरेको छ । नेपालमा डेंगुको आगमनसंगै केही बर्ष तराईमा मात्र सिमीत रहेको डेंगु केही बर्षदेखि पहाडी भेगका साथै हिमाली क्षेत्रमा समेत फैलिंदै गएको छ । गत बर्ष काठमाण्डौ जो नेपालको राजधानी हो त्यहाँ पनि डेंगुले तहल्का नै पिटेको थियो । अहिलेपनि डेंगुको सुरुवात भएको छ जसले गर्दा काठमाण्डौका अस्पतालहरूमा बिरामी भरिन थालेका छन् । यहाँसम्मकि बर्षायाम आउनासाथ धेरैको मानसपटलमा अव के हुने हो, डेंगुले थला पारेर मरिने त होइन भन्ने चिन्ताले सताइरहेको हुन्छ । डेंगुबाट बच्न घरआंगन वरिपरी सबै ठाउँ सफा राख्नुपर्छ । डेंगुुको ज्वरो सार्ने लामखुट्टेले ५ सय मिटर टाढासम्म पुगेर टोक्ने हुंदा हामीले ५ सय मिटरको सेरोफेरोसम्म सफाईमा ध्यान दिनुपर्ने हुन्छ । यसैले मेरो घर आंगन सफा छ भनेर ढुक्क नभै वरीपरी वा टोल पनि सफा भए नभएको ख्याल गर्नुपर्ने हुन्छ ।
बजार क्षेत्रमा रहेका कबाड दुकानका कारण अरू डेंगु ल्याउने लामखुट्टे बढ्ने गरेको छ । कबाड दुकानका खाली बोत्तल जस्मा ढक्कन लगाइएको हुंदैन । त्यस्ता बोत्तलमा बर्षाको आकासको पानी भरिन जान्छ र त्यसैमा लामखुट्टेले अण्डा पार्छ अनि ५ दिनमै लार्भा उड्न थाल्छन । जसका कारण अरू डेंगुको ज्वरोको महामारी बढ्ने गरेको छ । नगरपालिकाहरूले कबाड दुकान मानव बस्तीवीचमा बस्न नदिई निश्चित ठाउँको ब्यवस्था गर्दिन जरुरी छ । होइन भने खोज र नष्ट गर भन्ने अभियान एक दिन चलाउंदैमा डेंगु मत्थर हुनेवाला छैन । जनचेतना जगाउने कार्य सहित हामी सबै सचेत भै निरन्तर सफाइमा लागीरहनु पनि आवश्यक छ ।