© २०२३
तिलोत्तमा नगरपालिकामा रहेको करहिया सामुदायिक वनमा माघ ५ गते हिमाली गिद्धको हुल देखिएको थियो । त्यस ठाउँमा झन्डै ३ दशकपछि ठूलो समुहमा तीन दर्जनको संख्यामा गिद्धहरु देखिएका थिए । वनमा एउटा गाई मरेको थियो, शायद त्यहि खानको लागि आएका हुनुपर्छ । सिनो नजिकका अग्ला सिसौका रुखमा गिद्धहरूले वासस्थान बनाएका थिए । रुख नजिकैबाट विजुलीको हाइटेन्सनका दुईवटा लाइन गएका थिए । ठूला गिद्धहरु यताउति उड्ने क्रममा दुईवटा गिद्धहरु हाइटेन्सन तारमा ठोकिन पुगे । खोजि गर्दै जाँदा एउटा मृत र अर्को घाइते अवस्थामा भेटियो । पंक्तिकारले खबर गरेपछि वन कार्यालयबाट कर्मचारी आएर मुचुल्का उठाएर गिद्ध गाड्ने काम भयो, सिनोलाई टाढा हटाएर गिद्धलाई सुरक्षित राख्न सकिने भएपनि सरोकारवाला निकायहरुले वास्ता गरेनन् । यो घटनाको भोलिपल्ट सडक विस्तारको काम भइरहेको पूर्वपश्चिम महेन्द्र राजमार्गको भरतपुर गोन्द्राङ खण्डस्थित निर्माणाधीन नालामा खसेर माघ ९ गते एउटा भाले गैंडाको मृत्यु भएको दुखद खबर मिडियाहरुमा देख्नु, सुन्नुपर्र्ये ।
हुन त यी नयाँ घटना थिएनन् । केहि समय पहिले तनहँुको व्यास–१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र नजिकबाट लगिएको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइनमा करेन्ट लागेर ६०/७० वटा करिब मरेको तथा बाँके राष्ट्रिय निकुन्जमा आर्थिक वर्ष २०७१/७२ देखि २०७७/०७८ सम्मको अवधिमा सवारी दुर्घटनामा परेर विभिन्न प्रजातिका ३५८ वन्यजन्तु मरेका खबरहरु सार्वजनिक भएका थिए । विद्युत प्रसारण लाइन, नहर, सडक दुर्घटना र अन्य मानवीय संरचनाको कारणले वन्यजन्तुको मृत्यु भएका समाचारहरु पछिल्ला वर्षहरुमा निकै आएको पाइन्छ ।
पछिल्ला दुई दशकमा नेपालमा वन बढेको सरकारी दाबी छ । संरक्षण क्षेत्रहरुको संख्यामा वृद्धि र सामुदायिक वन समुहको रुपमा वनको व्यवस्थापनले गर्दा नेपालमा वनको क्षेत्रफल बढेको देखिएको हो । कागजमा वनजंगल बढेको भएपनि धरातलीय वास्तविकता भने फरक छ । चार दशक अघिसम्म घना वन भएका स्थानहरुमा अहिले घना वस्तीहरु बनिसकेका छन् । कुनै बेलाका चारकोशे झाडिहरु अहिले केहि किलोमिटरको परिधिमा खुम्चिएका छन् । वन क्षेत्रहरु खण्डिकरण भएका छन् । वनको विचविचमा रहेका वस्तिहरुको कारणले जीवजन्तु ओहोरदोहोर गर्ने जैविक मार्गहरु टुक्रिएका छन् । वस्ती विस्तारसंगै विकासे चाहनाहरु बढिरहेका छन् । फलस्वरूप आधुनिक संरचनाहरु थपिने क्रम बढिरहेको छ ।
मानिसलाई सुविधा थप्नका लागि बनाइएका आधुनिक संरचनाहरु भने जीवजन्तु विनाशका कारण बन्दै गएका छन् । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका वार्षिक प्रतिवेदनहरुलाई हेर्ने हो भने संरक्षण क्षेत्रभित्र मात्र आ.ब. २०७०/७१ मा १६ वटा वन्यजन्तुहरु विकासे संरचनाको कारणले मरेका थिए । आ.व. २०७४ मा विभिन्न संरक्षित क्षेत्रमा कूल ३२६ वटा वन्यजन्तुको मृत्यु भएको थियो जसमध्ये सडक दुर्घटनाबाट ४१% र सिंचाइको नहरमा डुबेर २.१४% वन्यजन्तुको मृत्यु भएको थियो । आ.व. २०७४/७५ मा ३९१ वटा वन्यजन्तुको मृत्यु भएको थियो, जसमध्ये सडक दुर्घटनाको कारणले ३४%, करेन्ट लागेर १.२८ प्रतिशत नहरमा डुबेर १.५३ % संरक्षित वन्यजन्तु मरेका थिए । आ.ब. २०७६/७७ सडक दुर्घटनाको कारणले मात्र संरक्षण क्षेत्र भित्र १०८ वटा संरक्षित वन्यजन्तुको मृत्यु भएको देखिन्छ । यो तथ्यांकले नेपालमा संरक्षित वन्यजन्तुहरु समेत विकासका संरचनाको कारणले कति असुरक्षित भैरहेका छन् भन्ने प्रष्ट हुन्छ ।
पछिल्ला वर्षहरुमा अप्राकृतिक र अजैविक कारणले वन्यजन्तुहरुको मृत्यु हुने कारणहरुमध्ये सडक दुर्घटना मुख्य कारण बनिरहेको छ । महेन्द्र राजमार्ग निर्माण गर्दा घना वनलाई नै चिरेर बनाईएको थियो । अहिलेपनि घना वन यहि राजमार्गकै छेउछाउमा रहेको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जलाई चिरेर महेन्द्र राजमार्ग फैलिएको छ । लुम्बिनी प्रदेशका सालझण्डी ढोरपाटन राजमार्ग, तौलिहवा–गोरुसिंगे– सन्धिखर्क सडक, रत्न राजमार्ग, गुलरिया–राजापुर सडक, रुद्रपुर–सालझण्डी, कोइलाबास– गढवा, लमही– घोराही, भालुवांग–प्युठान सडक वनभित्र नै रहेका छन् । यी सडक रहेका क्षेत्रहरु वन्यजन्तुहरु बसोबास गर्ने क्षेत्र हुन् । सिमित ठाउँमा रहेका वनक्षेत्रमा रहेका सडक वारपार आफ्नो दैनिक गतिविधि गर्नु वन्यजन्तुको बाध्यता हो । जीवजन्तु वारपार गर्ने र चहलपहल हुने क्षेत्रमा जीवजन्तुको लागि आकाशे पुल र भूमिगत पुलहरु छैनन्, जिवजन्तुलाई झुक्किएर सडकमा पुग्न नदिने कुनै छेकवार पनि छैनन् । राष्ट्रिय निकुन्ज भित्र सवारी चलाउदा गति नियन्त्रणमा ध्यान दिने भएपनि अन्यत्रको वनक्षेत्रमा लापरवाह ढंगले सवारी साधनहरु हुइँकिने गरेको देखिन्छ । गाडीको आवाजले तर्सेर भाग्दा, नियमित रुपमा वनको एक भागदेखि अर्को भागमा जाँदा सवारी साधनसंग ठोक्किएर वा किचिएर वन्यजन्तुहरु मर्ने गरेकामात्र छैनन्, सवारी दुर्घटना भएर मानिसको मृत्यु समेत हुने गरेको छ । देशमा सवारी साधनको चाप बढिरहेको छ, सडक अनुशासन कमजोर बनिरहेको छ र सडकहरु वन्यजन्तुमैत्री बन्न सकेका छैनन्, यसले आउँदा दिनहरुमा अझ बढी मानिस तथा वन्यजन्तुले क्षति भोग्नुपर्ने निश्चित छ ।
नेपालमा विद्युत प्रशारण लाइनको विस्तार तीव्र दरमा भैरहेको छ । ठूला शहर र आर्थिक केन्द्रहरुलाई विद्युत गृह र सब–स्टेशनसगं जोड्ने गरि उच्च भारवाहन क्षमतायुक्त हाइटेन्सन लाइन बनिरहेका छन् र वस्तीहरुमा र विद्युत लाइनको जालो नै बनेका छन् । वस्तीबाट हाइटेन्सन लाइन लैजाँदा स्थानीय वासिन्दाको विरोध हुने, उच्च मुआब्जा दिनुपर्ने भएकोले अधिकांश हाइटेन्सन लाइनहरु वनभित्र वा वनको किनारा हुँदै निर्माण गरिएका छन् । यस्ता विद्युत लाइन चरा र बाँदरको लागि धराप बन्दै गएका छन् । चराहरु ओहोरदोहोर गर्दा वा झुक्किएर पोल, तारमा बस्न पुग्दा विद्युत सर्ट भएर मरेको पाइन्छ । वनजंगल हुँदै लागिएको विद्युत सर्ट भएर वन क्षेत्र, रुखमा करेन्ट फैलिदा त्यहाँ रहेका जीवजन्तुहरु करेन्ट लागेर मरिरहेका छन् । शहरी क्षेत्रमा चराहरुको वासस्थान मासिएको छ र विजुलीका टावरलाई चराहरुले अस्थायी वासस्थान बनाउने गरेका छन् । यसले गर्दा शहरका कुनै न कुनै स्थानमा चराहरु मरिरहेका हुन्छन् । वन क्षेत्रमा भूमिगत विद्युतीकरण र इन्सुलेटरयुक्त तारको प्रयोग गर्ने कुराहरु धेरै उठेपनि अहिलेसम्म त्यो कुरा कार्यान्वयनमा आउन सकेको छैन ।
वन क्षेत्र हुँदै धेरै पक्कि नहर र कुलोहरु बनिरहेका छन् । पानीको खोजीमा वन्यजन्तुहरु तिनै कुलो र नहरमा पुग्ने गरेका छन् । धेरैजसो अवस्थामा जीवजन्तुहरु आपसमा लड्दा, आपसमा खेल्दा र ओहोरदोहोर गर्दा नगरमा खस्ने गरेका छन् । पक्कि नहर र कुलोहरु जीवजन्तु पस्न र निस्कन सक्नेगरी बनाइएका छैनन् । पानी पिउन गएका, झुक्किएर खसेका वा घाइते भएर खसेका वन्यजन्तुहरु नहरबाट निस्कन नसक्दा र नहरको ढोकामा अड्किएर नहर भित्र मरिरहेको वन्यजन्तु विभागका तथ्यांकहरुले देखाएका छन् । जलचर संरक्षण ऐन २०१७ को दफा ५ (ख) मा विद्युत, खानेपानी, सिंचाइ वा अन्य कुनै प्रयोजनकालागि बाँध निर्माण गर्ने निकायले जलचरको आवागमनमा बाधा पर्न नदिनकालागि सम्भव भएसम्म फीस ल्याडर निर्माण गर्नुपर्ने कुरा उल्लेख छ । तर नेपालमा बनाइएका नहरका बाँधहरु जलचर आवतजावत गर्न मिल्ने गरि बनाईएका छैनन् । जसले गर्दा बग्दै तल्लो क्षेत्रमा गएका जलचरहरु फर्केर माथिल्लो क्षेत्रमा आउँन सकिरहेका हुदैनन् । नगर र कुलोहरु निर्माण गर्ने क्रममा सिमसार मासिएका वा टुक्रिएका छन्, जसले गर्दा सिमसारमा आश्रित जीवजन्तुहरुको दैनिकीमा नै प्रतिकुल असर परिरहेको छ ।
नेपालमा समयमै विकास निर्माणका कामहरु पुरा नगर्ने प्रवृत्ति जताततै देख्न पाइन्छ । सडक, पुल, नाली, भवन निर्माण शुरु गरेर लामो समयसम्म छोड्ने, निर्माण कार्य गर्दा सुरक्षात्मक उपायहरु अवलम्बन नगर्ने प्रवृत्तिले गर्दा निर्माणस्थलहरु जीवजन्तुकालागि धराप बनिरहेका छन् । चितवनमा निर्माणाधीन नालीमा परेर गैंडा मर्नु त्यसको ज्वलन्त उदाहरण हो । उद्योगहरुले आफुले उत्सर्जन गरेको रसायन र फोहरयुक्त पानी प्रशोधन नगरी खुला ठाउँ र पानीका श्रोतमा मिसाउने गरेका छन् । यस्ता कार्यले जलचर त मासिँदै गएका छन् नै, पानीको खोजीमा हिँड्ने जीवजन्तुहरु समेत मरिरहेका छन् । यी बाहेक पर्यापर्यटनको नाममा वनमा निर्माण गरिएका संरचना र हुने गरेका गतिविधिहरु, साहसिक पर्यटनको नाममा जथाभावी भैरहेका प्यारा ग्लाइडिंग, बन्जीजम्पिंग, हिमाली वन क्षेत्रमा भैरहेका अनियन्त्रित हेलिकोप्टर उडान र अवतरण जस्ता कारणले पनि वन्यजन्तुको दैनिकी, विकास र विस्तारमा नकारात्मक असर परिरहेको देखिन्छ ।
वन विनाश, जलवायु परिवर्तन र चोरी शिकारीको कारणले वन्यजन्तुको संख्या निरन्तर घटिरहेको छ । सिमित क्षेत्रमामात्र वन खुम्चँदा वन्यजन्तुको आहारविहारमा प्रतिकुल असर परिरहेको छ । सिमित क्षेत्रफलमा रहेको वनमा जिवजन्तुलाई जोगाउन विशेष पहल गर्नुपर्नेमा विकास संरचना निर्माणको काममा वनभित्र र वन नजिक जीवजन्तुको लागि धराप थाप्ने कामहरु भैरहेका छन् । संरक्षण क्षेत्रको विस्तार र सामुदायिक वनको कारणले वन्यजन्तुहरूको संख्या र चहलपहल बढिरहेको छ, तर त्यसलाई दिगो बनाउन र जीवजन्तुको वासस्थान, जैविक मात्र सुरक्षित बनाउन पहल हुन् सकेको छैन । वनभित्र र वनको नजिक विकासे संरचनाहरु निर्माण गर्दा जीवजन्तुलाई हानी नपुग्ने किसिमले बनाउन ढिला गरियो भने अहिले देखिएका धेरै वन्यजन्तुहरु पनि हराएर जानेछन् । सडक, नगर, विद्युत लाईन, पुलपुलेसा, भवन बनाउदा “जीवजन्तु रहे,जीवन रहन्छ“ भन्ने कुरालाई मूल मन्त्र बनाउन सकियो भनेमात्र मानिससंगै सबै प्रकृति बाँचिरहन सक्नेछ । संरक्षणकर्मीहहरुलेमात्र नभई सबै तहका सरकारहरु, योजनाकार, विकासका उपभोक्ता र निर्माण ब्यवसायीहरुले यसतर्फ तत्कालै ध्यान दिनु जरुरी छ ।