© २०२३
गर्दछु माया म मेरो नेपालको
यो देशलाई छोडेर कहाँ गयो नेपाली
सधै सुनो भयो उकाली
कुनै बेला अर्थात वि.स. २०२५/०३० को दशकमा लुम्बिनी अञ्चलको गुल्मी, अर्घाखाँची, पाल्लाका रनबनमा लोकलयमा आधारित यो गीत निकै गुञ्जायमान हुन्थ्यो । साँझ विहान घाँस दाउराको लागि डोको नाम्लो लिएर खरबारी या वन पाखातिर उकालो ओरालो गर्दै रहेका गाम्य युवा युवती हुन् या दिनमा गाई बाख्रा लिएर चरिचरनतिर जान लागेका गोठालाहरू अथवा बर्खायामको बारीमा कोदो रोप्ने र मकैका पात लख्पाउने महिलाहरू सबैको निम्ति यो गीत अत्यन्त प्रिय थियो । यसो त कविले लेखनाथ ज्ञवालीका कुनैपनि गीतहरू यस्ता छैनन् जसले पाठक श्रोताको मनमस्तिष्कमा जागरणको आलोक छरेर उनलाई देश र जनता निम्ति केही गर्नुपर्छ भने चेतना प्रस्फुरण गर्न नसकोस् । ज्ञवालीका हरेक गीतहरूले गरीबी अवस्थाबाट नेपाली समाजको मुक्तिको सवाल उठाएका छन् । हामी नेपाली धेरै गरिव छौं । हाम्रो स्थिति विश्वमा आफ्नो अस्तित्व जोगाउन सक्ने सामथ्र्य भन्दा पनि निकै तल्लोस्तरमा छ । त्यसैले यस किसिमको स्थितिबाट मुक्त हुन जरुरी छ र त्यसको निम्ति संगठित प्रयास अवशयक छ । उनका गीतहरूको सार हो– टेक्न पुगे यै जुनमा हामीले कडा टेकौंला, पुर्वमा घुम्ने ताराको ज्योति, उज्यालो देखौंला । भोलिको विश्व हेर्नलाई आजै बोल नेपाली जिन्दावाद, जिन्दावाद…..।
उनले आफ्ना कालजयी गीतहरूमा हाम्रो छरछिमेकमा रहेका र विश्वका केही देशहरूको नयाँ नयाँ खोज, अन्वेषण र नविनतम उपलब्धिका बिषयमा चर्चा परिचर्चा गरेका छन । विश्वमा नयाँ नयाँ खोज गरेर बैज्ञानिक चन्द्र धरातलमा ओर्लिसके र अन्य ग्रहहरूको बारेमा पनि नित्य जानकारी प्राप्त गर्न अभ्यासहरू गरिरहेका छन् । तर, हामी नेपालीहरूको स्थिति भने कुनै किसिमको सन्तोषजनक प्रगति गर्न नसकेको अवस्था छ । त्यसैले हामी नेपालीहरूले यो पछाडि परिरहेको अवस्थाबाट पार पाउने बाटो पहिल्याउनु पर्छ । हिड्न पर्छ र यात्राको क्रममा अवरोध खडा गर्ने काँडाहरू पन्छाउदै र कुल्चदै लगातार गतिशील यात्राको अथक यात्री नियात्री बन्नुपर्छ भनेर यसतर्फ जनताको ध्यान आकर्षित गर्ने गीतहरू बनाएर र शिक्षक, विद्यार्थी, किसान, हली, गोठालो खेताला सबलाई कानुन सिकाए । उनका धेरै गीत मैले पनि गाएको छु । मैले पनि प्रेरणा लिएको छु । ज्ञवालीका गीतहरूबाट ।
गाय हे गरिबका हुलबञ्चरे ।
आजकर्मी दाइ केही गीत भन्छ रे
यो घर कस्को ? टालेको
खैत गोठ कालेको ? सोध भन्छ रे
खै गरिबको पसिना खोज भन्छ रे
सत्तामा रहेका र उनको आसपासका व्यक्तिहरू एवं अन्य शोषक सामन्ति साहु महाजन ठूला ठालुहरूको आर्थिक स्थितिमा दिनानुदिन असाधारण परिवर्तन हुनेक्रम बढेको छ तर आम जनताले भने झन झन गरिबीको हालतमा जीवन बिताउनु पर्ने बाध्यता कायम रहनु न्याय संगत हुन सक्दैन भन्दै न्यायपूर्ण र जनताप्रति जवाफदेही राज्य व्यवस्था प्राप्त गर्न गरीब जनतालाई उठजाग भने । शोषितपीडित, भोका नागरिक, बेघरवार, सुकुम्बासीहरूलाई गरिवीको कारण पत्ता लगाउन आहवान गरे ।
उनले भने–
बाँच्नका निम्ति सम्झना गर्छु
आज वितेका कालको गर्दछु
मायाँ म मेरै नेपालको ………..।
राष्ट्र हामी सबैको सर्वोच्च संस्था हो । हाम्रो राष्ट्रको इतिहास गौरव गर्न लायक छ । आफ्नो देशको परिस्थिति, इतिहास, संस्कार र संस्कृति सबै सम्झना गर्न लायक छन् । नेपाल आमाका सन्तान हामी नेपालीहरू एउटै घरका जहान हौं । मिलेर बस्छौं । देशको रक्षा र आफ्नो स्वाभिमान एवं अधिकारको निम्ति हरक्षण हरपल सजग रहन्छौं । उनको गीतले गरिवको जीवन बोल्छ– अहिलेपनि आईपुग्यो घुमीफिरी तिहार गरिबको छैन अधिकार, तपाई पनि किसान हामी पनि किसान, आयौं आजै दुःख बिसाउन….।
त्यसबेला हामी भूमिगत नेपाल कम्युनिष्ट पार्टीको पुष्पलाल समूहमा काम गथ्र्यौ । पार्टी संचालन गर्न पार्टीको आर्थिक श्रोत भनेको पार्टीका कार्यकर्ताहरूको मासिक लेभी र देउसी भैलो एवं मेलाहरूमा चिया नास्ता पसल तथा सांस्कृतिक कार्यक्रममा प्राप्त हुने पुरस्कार तथा स्वेच्छिक चन्दाहरू थियो । हार्मोनियम बनाउन अत्यन्त सिपालु हुनुहुन्थ्यो लेखनाथ ज्ञवाली । हामीले नाँचेर र गाएर साथ दिन्थ्यौं । हामी जनतामा जान्थ्यौं । जनता हामीलाई माया गर्थे । समयको गणना गर्दा अहिले पाँच दश शताब्दी वितिसके छ । क्रान्ति भयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो अनि कम्युनिष्टहरूको सरकार पनि आयो । तर खै के आयो के आयो । हामीले नचिताएको अकल्पना आयो । प्रशासन सञ्चालनमा गैर राजनैतिक संस्कारका व्यक्तिहरूको प्रवेश आयो । जनताप्रति जवाफदेही हुनुपर्ने शासन प्रणालीको सट्टा सत्तासीनहरू सदैब आफूलाई जनतामाथि रहेको ठानी जनभावनाको निरन्तर उपेक्षा गर्दै केवल आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने राजनीतिक र आर्थिक कृयाकलापमा मात्र लागिरहेको देख्दादेख्दै र जान्दाजान्दै टुलुटुलु हेरेर र सहेर बस्नुपर्ने अवस्था आयो । सत्तासीनहरूको स्वार्थी प्रबृतिका कारण जनता भ्रष्टाचार, महंगी अन्याय, अत्याचार, अभाव, दूराचार, डकैती, फिरौती, जवर्जस्ती चन्दा असुली, सुनचााँदी तस्करी, मानव तस्करी, राष्ट्रघात, हत्या सबैलाई राजनीतिको आवरणमा बैधता दिदै दण्डविहीनताको स्थिति आयो । कति उकुशमुकुश, कति नैराश्य र कति अनिश्चितताको स्थिति आयो । मनको आक्रोस तथा असन्तोषलाई मुटुभित्रै थिचिराखेर वाहिर ङिच्च हाँसेका दाँत देखाएर वस्नुपर्ने विवस वाध्यताको अवस्था आयो । जनआवाजप्रति कुनै ध्यान नदिने कम्युनिष्ट नामधारी सरकार आयो । भाग्यको कागतालीले सत्तामा पुगेका माओइष्टको सरकार आयो । जनतालाई सरकारमा विश्वास छैन । सरकारलाई जनतामा विश्वास छैन । यस किसिमको स्थिति देशको भविष्यका लागि र देशवासीका भविष्यका सन्ततिका लागि पनि सुखदायी हुन कदापि सक्दैन । यो आश्चर्यजनक हो । भएर के गर्नु जनता कुरा बुइदैनन् । नेता कुरा सुन्दैनन् । केही अघि अमेरिकी विदेश मन्त्री आए गए ।
पैसा र डलरलाई सर्वोपरि महत्व दिने आफ्ना कारिन्दाहरूलाई के के अराएर गए । त्यो थाहा पाइएन । विदेशी कुटनीतिक नियोगका व्यक्तिको भ्रमणको उद्देश्यवारे देशलाई जानकारी दिने आवश्यक ठानिएन । दुवै पक्षबाट प्रेश विज्ञप्ती नआएपछि गोप्य भेटघाट र गोप्य छलफल अनि गुप्त योजनाहरू थाहा पाउने कुरै भएन । अनुमानले मात्र के थाहा पाइयो भने यो रहस्यमय भ्रमण पछि निकट भविष्यमा देश भयानक ठूलो चक्रब्यूहमा तानिदै छ । स्वार्थको प्रभावमा परेका नेताहरू सही बाटो अपनाइरहेका छैनन् । यो तथ्य घाम जत्तिकै छर्लङ्ग छ । मनले बुझेको छु ।
मनले बुझेजति कुरा मुखले व्यक्त गर्न मिल्दैन । जे जे कुरा गर्दा नेताहरूलाई फाइदा हुन्छ त्यति मात्र बोल्ने छुट छ । नेताको व्यक्तिगत स्वार्थमा धक्का लाग्ने अभिव्यक्ति प्रकट गरे पार्टी विरोधी, लोकतन्त्र विरोधी, प्रतिगामी पुनरुत्थानबादी र प्रतिकृयावादी तथा गणतन्त्र विरोधी के के हो के के बिल्ला भिर्नुपर्छ र आइसोलेसनमा परिन्छ । विनास्वाद परे परियोस् । आइसोलेसनमा बिल्ला भिर्नु परे परोस । प्रतिगामी, प्रतिगमनकारी पुनरुत्थानवादी, गणतन्त्र विरोधी नेताहरू हो– तिमीले ठीक बाटो अपनाएनौ । पाटी नेतृत्वमा व्यक्तिवाद हावी हुने व्यक्तिवादी मनोवृत्तिले प्रोत्साहन पाउने बाटो अपनायौ । सम्पूर्ण समाजको र राष्ट्रको सुदूर भविष्यको हितमाथि विचार गर्नुको सट्टा केवल आफ्नै पाटी आफ्नै गुट र आफ्नो मात्र चिन्ता गर्ने जुन प्रवृत्ति बलियो हुँदै गएको छ र व्यापकता पाउदै छ, यो घातक प्रवृत्तिले कसैको भलो हुँदैन । चेतना भया । नेता प्रधान हैन नीति प्रधान हुनुपर्छ । आफ्नो गुट र पार्टी ठूलो हैन देश ठूलो हो । स्वर्गीय कवि लेखनाथ ज्ञवालीका शब्दहरूको मर्मलाई बुझौं र भनौं सबैले गर्दछ मायाँ म मेरै नेपालको हो । गर्दछु माया म मेरै नेपालको । श्रद्धाञ्जली स्व. जनकवि लेखनाथ ज्ञवाली प्रति ।