© २०२३
प्राचिन मानवको खोजी गर्ने क्रममा डा. ज.ेएच हटचिसनको नेतृत्वको नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त अन्वेषण दलले १९८० को डिसेम्बर महिनामा तिनाउ खोलाको किनारमा बुटवलभन्दा केही पर तिनाउ जलविद्युत आयोजनाको बाँधनजिक पहरामा टाँसिएको रामापिथेकसको माथिल्लोपट्टिको बंगाराको दाँत प्राप्त गरेपछि १ करोड ४० लाख वर्षअगाडि रहने÷बस्ने रामापिथेकस नै मानव वंशको शृंखलाको पहिलो कडी भएको पुष्टि पुष्टि भयो । चुरे र शिवालिक क्षेत्रमा मानव जातिको पुर्खाको पाइला खोज्ने काम त्यो भन्दा शताब्दि अघि नै शुरु भएको थियो र अहिले पनि चलिरहेको छ । रामापिथेकसको बंगारा भेटिनुले जिवाशेष अन्वेषकहरुलाई मात्र चुरेतपÞर्m आकर्षित गरेको छैन, बुटवल– दोभान क्षेत्रलाई नै प्रागऐतिहासिक मानव बसोबास स्थलको रुपमा पहिचान समेत दिलाएको छ । दोभानमा सानै भएपनि रामापिथेकस पार्क बनेको छ भने बुटवलमा पनि व्यवस्थित पार्क निर्माण भैरहेको छ । गुल्मीका विभिन्न स्थानहरुमा रहेका गुफाहरु, अर्घाखाँचीको रक गार्डेन, प्युठानको शिबलिंग जस्तो देखिने अनौठो भूदृश्य आदिले पर्यटकहरुलाई विस्तारै आकर्षित गरिरहेका छन् । यसले लुम्बिनी प्रदेशमा भौगर्भिक पर्यटनको सम्भावनाहरु देखाएको छ ।
पृथ्वीमा आएका अनेकौँ परिवर्तनले भुस्वरुपमा मात्र परिवर्तन गरेको छैन, लाखौँ प्रजातिका जीवहरु उत्पत्ति हुने र नासिने क्रम पनि चलिरहेको छ । जीव र वनस्पतिका अनेकौँ अवशेषहरू हाम्रै सेरोफेरोका भूभागहरूमा रहेका छन् । खासगरी तिब्बती पठार र गंगाको मैदानी भूगोलको संगमस्थलको रुपमा रहेको नेपालको चुरेदेखि हिमालसम्मको भूभागमा थुप्रै स्थलीय जीव र वनस्पति मात्र नभएर सामुद्रिक जीवका अवशेषहरु पनि वैज्ञानिकहरुले पहिचान गरिसकेका छन् । र, यो क्षेत्रले अहिले पनि खोजकर्तालाई आकर्षित गरिरहेको छ । यसैगरी भुसतहमा आएका परिवर्तनले गर्दा आकर्षक र कौतुकमय खोँच र खोल्साहरू, भुस्खलित क्षेत्रहरु, गुफा र अन्य अनुपम भू दृश्यहरु निर्माण भएका छन् । बेलाबेलामा हुने नदि कटान र पहिरोले पनि पृथ्वीको भित्रि सतहमा भएका अनेकौँ कुराहरु बाहिर ल्याएको पाइन्छ । यी सबै कुराहरुले मानिसलाई आकर्षित गर्ने, कौतुहल बनाउने र कौतुहलता मेट्ने काम गरेको पाइन्छ ।
यसैमा आधारित रहेर गरिने पर्यटन नै भौगर्भिक पर्यटन हो । भौगर्भिक पर्यटन भूगर्भ र भुसतही दृश्यमा आधारित दिगो पर्यटनको एउटा फरक स्वरूप हो । कुनै ठाउँको भौगर्भिक अवस्थाको अध्ययन गर्न, भूबनोट अध्ययन गर्न, भौगर्भिक परिवर्तन र त्यसका असरहरु अध्ययन गर्नुको साथै भौगर्भिक विविधताको संरक्षण गर्न सघाउने गतिविधिहरुलाई भौगर्भिक पर्यटन भित्र राख्ने गरिन्छ । पर्यापर्यटनमा प्राकृतिक कुराहरुलाई मात्र आधार बनाइएको हुन्छ भने भौगर्भिक पर्यटनमा पृथ्वी भित्र रहेका कुराहरुका साथै मानिसले पृथ्वीको सतहमा ल्याएका परिवर्तनहरु समेत समेटिएका हुन्छन् ।
प्राकृतिक श्रोतको रसास्वादन गरि पर्यटकीय गतिविधिहरु संचालन गर्ने कार्य निकै पहिलेदेखि नै भैरहेको भए पनि भौगर्भिक पर्यटनलाई छुट्टै पर्यटकीय विषयवस्तुको रुपमा अभ्यासमा ल्याइएको करिव ४ दशक मात्र भएको छ । यो अवधिमा प्रमुख पर्यटकीय गन्तब्य रहेका देशहरुले भौगर्भिक पर्यटनलाई फरक रुपमा पस्कदै लाभ लिइरहेका छन् । विभिन्न देशहरु फरक भौगर्भिक विशेषता भएका क्षेत्रहरुलाई समेटेर भौगर्भीक पार्क (जियो पार्क) बनाएर पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । जियो पार्क बनाउनेमा छिमेकी देश चिन अग्रपंतिमा छ । त्यहाँ ४१ वटा जियो पार्कहरु छन् । भारतको मरुभूमि पर्यटन, अस्ट्रेलियाको गुफा पर्यटन, आयरल्याण्डको ज्वालामुखी पर्यटन, श्रीलंकाको कोरल पर्यटन भौगर्भिक पर्यटनका नमुना हुन् ।
नेपालमा पनि माथिल्लो मुस्तांगमा बनेका अनौँठा गुफाहरु, महेन्द्र नगरको लिंगामा देखिने प्राकृतिक शिवलिंग जस्ता आकृति, सेतिवेनीको शालिग्राम शिला, दैलेखको शिरस्थान र नाभिस्थानमा निरन्तर बलिरहने ज्वाला हेर्न धेरै मानिसहरु जाने गरेका छन् । यसलाई भौगर्भिक पर्यटनको शुरुवाती स्वरूप मान्न सकिन्छ ।
लुम्बिनी प्रदेशको २८ प्रतिशत भूभाग तराई मैदानले ओगटेको छ भने बाँकी क्षेत्र चुरे, शिवालिक, महाभारत र हिमालले ओगटेका छन् । कालीगण्डकी, तिनाउ, राप्ति, बबई र कर्णाली नदि प्रणालीले यहाँको भुस्वरुपलाई शदियौँ देखि केहि न केहि परिवर्तन गर्दै आएका छन् । पूर्वी एशियालाई पाकिस्तानसम्म जोड्ने जैविक मार्ग पनि यहि प्रदेश हुँदै जाने भएकोले यहाँ प्रागऐतिहासिक कालदेखि नै प्रसस्त मात्रमा जीवहरु रहेको अनुमान गर्न सकिन्छ । यिनै कारणले गर्दा लुम्बिनी प्रदेश भौगर्भिक पर्यटनको सम्भावित थलो बनेको छ । अहिलेसम्म त्रिवेणी धामदेखि दांगको राजापुर क्षेत्र र घोराही छेउँछाउँ सिमित जिवाशेषको अध्ययन भइरहेको छ । नवलपरासीको चावेनी–सातपाटी क्षेत्र, दाङ्गको बबई खोला– बालीम खोला क्षेत्र, तुई खोला– शितलपुर क्षेत्र, कोइलाबास क्षेत्र, दाङ्ग– कपिलवस्तुको सिमानामा पर्ने सुराही नाका, दोबाटा, धान खोला, पाल्पाको दोभान क्षेत्र प्रागऐतिहासिक क्षेत्रहरु हुन् । यहाँ मध्य– प्लेस्तोसिनकालिन चौपाया प्रजाति लगायत अन्य जिवहरुको अवशेषका साथै प्रागऐतिहासिककालका मानिसहरुले प्रयोग गरेका औजारहरु समेत भेटिएका छन् । पाल्पाको माथागढ़ी, रम्भा, बगनासकाली, रिब्दिकोट, रैनादेवी, अर्घाखाँचीको पाणिनी, शितगंगा, राप्ति र बबईको छेउँछाउँ, बर्दियाको राजापुर, ठाकुरद्वारा क्षेत्रमा पराजैविक अध्ययन गर्ने हो भने थप प्रागऐतिहासिक र भौगर्भिक रहस्यहरुका साथै महत्वपूर्ण क्षेत्रहरु पहिचान गर्न सकिने छ ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा भएका गुफाहरु भौगर्भिक आकर्षणका क्षेत्रहरु हुन् । अर्खाखाँचीको पाणिनी, प्युठानको गौमुखी र नौबहिनी, दाङ्गको चमेरे गुफा, रोल्पाको सिद्ध गुफा, रुकुम पूर्वको पुथा र काँक्रिमा रहेको गुफाहरु प्रचारप्रसार गरेर पर्यटकहरुलाई लैजान सकिन्छ । अर्घाखाची, प्युठान र पाल्पामा वनस्पति विहिन चट्टानी क्षेत्रहरु, पहिरो जाँदा बनेका फरक भू आकृतिहरु, पहाडी जिल्लामा रहेका झरना र उचाईका तालहरु पनि भौगर्भिक अध्ययनमा रुची राख्नेहरुका राम्रा गन्तब्य बन्न सक्छन् । तराईमा लुम्बिनी, रामग्राम, तौलिहवा, देउखुरी र दांग उपत्यका, बाँकेको बालापुर क्षेत्र प्रागऐतिहासिक अध्ययनका सम्भाव्य क्षेत्रहरु हुन् । अहिलेसम्म लुम्बिनी प्रदेशमा सिमित भौगर्भिक र पुराजैविक खोज भएकोले भविस्वमा खोजि गर्दै जाँदा नयाँ नयाँ क्षेत्रहरु पक्कै पनि पहिचान हुने छन् ।
भूदृश्यमा आधारित पर्यटन विश्वमै बामे सरिरहेको छ । यसलाई स्थानीय तहहरुले पर्या–पर्यटनको रुपमा अघि बढाई रहेका छन् । पर्यापर्यटनका गतिविधिहरु अघि बढाउँदा भौगर्भिक सम्भावनाहरु तर्फ ध्यान दिइएको छैन, जसले गर्दा भुस्वरुपमा परिवर्तन आउने, प्रागऐतिहासिक र भौगर्भिक सम्पदा र सामाग्रीहरु मासिने सम्भावनाहरु बढेका छन् । विकास र पर्यटनमा भू–सतहीका साथै भौगर्भिक सम्पदाहरु महत्वपूर्ण मानिन्छन् । त्यसैले यस्ता सम्पदाहरुको खोजि, तालिकिकरण र संरक्षण गर्नु आवस्यक छ । प्रदेशको कुनै भौगर्भिक महत्वको क्षेत्रलाई जियो पार्कको रुपमा व्यवस्थापन गर्न सकेमा गुणस्तरीय पर्यटन र खोजकर्ताहरुलाई आकर्षित गर्न सकिने छ । भौगर्भिक पर्यटन मास टुरिज्मजस्तो नहुने भएकोले यसबाट तत्कालै ठूलै प्रतिफल प्राप्त नभए पनि यसबाट संरक्षण र पर्यटन दुवै हासिल हुने भएकोले दीर्घकालिन पर्यटकीय लाभ लिन सकिने छ ।
चुरे संरक्षणको जिम्मा पाएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले यस आर्थिक वर्षमा आदि मानव रामपिथेकसको दाँतका अवशेष भेटिएको तिनाउ खोलाको तल्लो जलाधार क्षेत्र, तराई र चुरे पहाड तथा चुरे पहाड र महाभारत पर्वत श्रृंखलालाई छुट्टाउने भौगर्भिक अपभ्रंशहरु रहेका स्थानहरु, भगवान गौतम बुद्ध जन्मे, हुर्के र राजकाज चलाएको कपिलबस्तु राज्यका लुम्बिनी लगायतका पुरातात्विक महत्वका क्षेत्र लगायत विभिन्न प्राकृतिक र संस्कृतिक सम्पदाहरुको संरक्षणका लागि आसपासका अन्य क्षेत्रलाई समेत समेटेर जियो पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागेको छ । पर्यटन र भौगर्भिक अध्ययनको क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी विज्ञहरुहरु सहभागी गराएर वेविनार गरेर सुझाव संकलनको कार्य समेत चुरे बोर्डले गरिरहेको छ । आशा गराँै– बोर्डको सक्रियता सार्थक हुनेछ र लुम्बिनी प्रदेशले पर्यटनमा सहयोग पु¥याउने जियो पार्क पाउने छ ।