© २०२३
नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान विष्णु बहादुर महतरा पोहोरसाल भदौमा घरपरिवार भेट्न घर गए । झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानमा उनको घर थियो । महतरा जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत थिए ।परिवारलाई भेटेर खुसीका साथ कर्मथलोतर्फ उनी फर्कदै थिए । तर, घरबाट निस्केको पन्ध्र मिटेनटमै उनको खुसी लुटियो । झिमरुक खोलाले बगाएर उनको मृत्यु भयो । उनीजस्तै धेरै सर्वसाधरणको खोलाले बगाएर मृत्यु भइसकेको छ ।यस क्षेत्रमा पर्ने दर्जनौ बढी गाउँका सर्वसाधरणको परिवारमा ढाँडस्थित झिमरुक खोलाले विचल्ली बनाइदिएको छ । विद्यार्थी, किसान र व्यापारीलाई खोलाले बगाएर अकालमै ज्यान लिएको छ । खोलाले वर्षेनी सर्वसाधरणलाई बगाउने गरेको स्थानीयको गुनासो छ । हालसम्म ढाँडस्थित झिमरुक खोलाले बगाएर आठ जनाको मृत्यु भइसकेको छ ।
झिमरुक गाउँपालिका–८ लिवाङ टिमुरचौरकी निर्मला गिरी, दारीमचौरका रेकम खत्री, सोही ठाउँका भक्त बहादुर खत्री, तुषारा गोव्दीका मोहनसिँह बस्नेत, ओखरकोटका मिन बहादुर जिसी, ओखरकोट ढाँडका अनिल खड्का र एकजना पहिचान नखुलेका लिवाङका यूवाको खोलाले बगाएर ज्यान गएको छ । सधैँको बर्खामा सर्वसाधरणलाई बगाउन थालेपछि स्थानीयले खोलामा पक्कीपुल बनाउन निरन्तर माग गरिरहे । तर, अहिल्यसम्म पुल बन्न सकेको छैन् । तीनवर्ष अघि पुल निर्माणको काम थालेपनि प्रयास सफल हुन सकेको छैन् । यस क्षेत्रका नागरीकलाई प्रकृतीले समेत साथ दिएको छैन् ।
‘पुल बन्न थालेपछि धेरै खुसी थियौँ’,ओखरकोट दारीमचौरका स्थानीय हुकुम बहादुर खड्काले भने,‘ठेकेदारले पुल बनाउन नसक्ने भनेपछि निराश बनेका छौँ ।’ पुल बनाउने वर्षौदेखिको स्थानीयको आशा सपनाजस्तै बनेको उनले दुःखेसो गरे । ठेकेदारले पुल निर्माणस्थलमा दलदल सहितको माटो भेटिएपछि निर्माण कार्य अगाडी बढाउन नसकिने बताएका छन् ।
प्राविधिक समस्या देखिएपछि निर्माण कार्य रोकिएको निर्माण व्यवसायी बालाजु श्रेष्ठले जानकारी दिए । निलगिरी÷आँसु जेभी निर्माण सेवाले भ्याट सहित चार करोड दुईलाख रुपैयाँ लागतमा पक्कीपुल निर्माणको जिम्मा पाएको थियो । साविकको जिल्ला प्राविधिक कार्यालय प्यूठानले दिएको जानकारी अनुसार निर्माण कम्पनीले तीस प्रतिशत भूक्तानी लिइसकेको छ । निर्माणस्थलमा हाल पारीपारी दुइवटा पिलर उठाइसकिएको व्यवसायी श्रेष्ठले बताए । ‘बीचको पिलर उठाउन बाँकी थियो’,उनले भने,‘दलदल सहितको माटो भेटिएपछि काम रोकेका छौँ ।’ अव डिजाइन नै बदल्नुपर्ने उनले बताए ।
पटकपटक डिजाइन स्टिमेट फेल भएपछि निर्माणको काम प्रभावित भएको जिल्ला प्राविधिक कार्यालय प्यूठानका निमित्त प्रमुख जिल्ला इञ्जिनियर चन्द्र बहादुर शाहले बताए । उनका अनुसार यस स्थानमा तीन पटकसम्म माटो परिक्षण गरिएको छ । आउँदो असोजसम्म निर्माण सक्नेगरी सम्झौता भएपनि यसवर्ष पुल निर्माण हुन नसक्ने उनले जनाए ।
पुल नहुँदा झिमरुक, गौमुखी र नौवहिनी गाउँपालिकामा पर्ने दर्जन बढी दुर्गमका नागरीक प्रत्यक्ष प्रभावित भएका छन् । लिवाङ, तुषारा, लुङ, पुँजा, खुङ, नारीकोट, रजवारा, अर्खा, बांगेमरोट, खवाङ, स्याउलीवाङ र ओखरकोट सहित सिमानामा जोडिएका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र बाग्लुङका नागरिकहरु जोखिम मोलेर खोला वारपार गर्दै आएका छन् ।
बर्खाभरी खोला बढेपछि सर्वसाधरण स्थानीय छिपछिपे सामुदायिक बनको अप्ठ्यारो बाटोहुँदै बजार गर्न जाने गरेको गौमुखी क्याम्पस मच्छिका प्रमुख शेर बहादुर जिसीले जानकारी गराए । ‘भिरको बाटोमा पनि पहिरो गएर अवरुद्ध हुन्छ’,उनले भने,‘खोलापारीका नागरिक ढाँड, मच्छि बजार गर्न घण्टौँ समय लगाएर आउनुपर्ने बाध्यता छ ।’ पुल बनेपछि पाँच मिनेटमै ढाँड आउन सकिने बताउँदै उनले हाल छिपछिपे, पिडाल्ने, मच्छि हुँदै आउँदा करिव एक घण्टा समय लाग्ने गरेको जानकारी गराए । ‘जेठदेखि असोजसम्म यस्तै पीडा हुन्छ’,उनी भन्छन्,‘सयौँ विद्यार्थीको पढाई प्रभावित हुने गरेको छ ।’ बालशिक्षा मावी, गौमुखी क्याम्पस, नेश्नल÷गौमुखी इंग्लिङ बोर्डिङ स्कुलमा गरी झण्डै पाँच सय विद्यार्थी खोला तरेर पढ्न आउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।