© २०२३
घुम्दै फिर्दै २०७८ सालको हरितालिका तीज हाम्रोसामु आइपुगेको छ । तीज पर्बमा बिशेष गरि महिला दिदी बहिनीहरु निकै रमाउने गर्छन् । हुन त मनमा शान्ति भएर सबै कुरा राम्रो भए संधैको तीज रमाइलो हुने गर्छ । होइन भने तीज आउने र जानेसंग कुनै सरोकार रहँदैन । हुन पनि कोही यसै बर्ष आफन्तजन गुमाएर पिडामा छन् भने उनीहरुको लागि के को तीजको रमाइलो हुन सक्छ र ? जे होस यतीखेर धेरैको घरमा तीज पर्वको रौनकता छाएको छ ।
पहिले पहिले दुई चार दिन मात्र मनाइने तीज केही बर्षदेखि भने लामै समय मनाउन थालिएको छ । हिँजोका दिनमा संघ सँस्थाहरु खासै थिएनन्, अहिले बिभिन्न संस्थाहरुले महिलाको यो पर्ब बिशेष रुपमा मनाइदिने भएकाले पनि तीज लामो हुन पुगेको छ । यो भनीरहँदा गत बर्ष कोभिडका कारण तीजमा खासै रौनकता छाएन । यो बर्ष पनि त्यती धेरै तडकभडक नभए पनि गतबर्ष भन्दा केही रौनकता दिइरहेको छ । तीजको रमझम संगै गाउँ शहरमा चहलपहल छाएको छ । चेलीबेटी लिन जाँदा र माइती घरमा भान्जाभान्जी सहित चेलीबेटी जम्मा हुंदा यो पर्वले समाजमा रमाइलो बातावरण बनाएको देखिएको छ ।
हामी साना छँदा हाम्रा आमा हजुरआमाहरुले बिरहका गीत गाउंथे । बर्षदिनको तीजमा बाबा लिन आएनन्, धुरुधुरु रोएर बसें बरीलै । मेरो माया हुंदो हो त लिन मलाई आउँदा हुन्, माया मारे सबैले किन बरिलै । उहिले टाढाको माइती घर, बाटो राम्रो थिएन, गोरेटो बाटो हिँडनु पथ्र्यो, जङ्गलको बाटो एक्लै हिंड्न सम्भव थिएन, तसर्थ माइतीले चेलीबेटी लिन जाने चलन थियो । अहिलेजस्तो फोन गरेर बोलाउने र सरर गाडीमा लिएर आउने अवस्था थिएन । कसैका साना लालाबाला हुँदा झोला बोकेर एक्लै चेलीबेटी माइत जान सजिलो थिएन । अर्काे कुरा घरकाले पनि सजिलै पठाउँदैनथे । यी सबै कुराले गर्दा माइती लिन नआए चेलीले माइती सम्झँदै रोएर बस्नु बाहेक बिकल्प थिएन । त्यसैले माइती लिन नआउँदा रोएर गीतमार्फत मनका बह पोख्ने गर्थे ।
बिहे गरेर टाढा टाढा पठाउने चलन, घाँस काटेको खरान, गाई भैंसीलाई चरन, घोंडीलाई चरन चौर बरीलै, म एउटी छोरीलाई दशै डांडा कटायौ हाम्रा बाबा के दयालु छौ र बरीलै जस्ता गीतहरु गाएर आमा बाबुलाई चेलीले धरधरी रुवाउंथे । बाटो छैन, यातायातको सुविधा हुने कुरै भएन, टाढा बिहे गरेर दिएपछि माइती आउन र घर जान कति कठिन, बिचारै नगरी टाढा बिहे गरेर दियौ भनि गीत मार्फत लय हालेर गुनासो सुनाउंथे । अहिले त जमाना फेरिएको छ । चेलीलाई त्यति धेरै रुनु पर्दैन । धेरैजसो आफुले मन पराएको केटोसँग बिहे गर्ने चलन बढेको छ । अहिले चेलीले गाउने पीडाका गीत कलाकारमार्फत युटुबमा आउने गरेका छन् । त्यतिमात्रै होइन, कलाकारका गीतमार्फत टिकटक बनाउने चेली धेरै भैसकेका छन् । प्रविधिको विकाससंगै आएका मोबाइल फोनले चेलीहरुलाई साना साना दुख पीडाहरु पनि सेयर गर्न सजिलो पारेको छ । आँगनको डिल बसी काली कौवै करायो, केकोमा समाचार ल्यायो बरिलै । पहिलो समाचार सन्चो बिसन्चो सोध्ने, दोसरी समाचार तिम्लाई लिन हो । मेरो माया हुंदो हो त बाबा लिन आउँदा हुन् कागतुको चिरकटाले जान्न बरिलै ।
तीज मनाउने परापूर्व कालको चलनलाई हेर्दा लाग्छ महिलाहरु कती पिडा खेप्दै आएका रहेछन् । काग एउटा पंक्षी भएर पनि त्यो जमानामा हुलाकीको काम गर्दोरहेछ । ठुँडले पत्र आदान प्रदान गर्ने ती चराहरु पनि अहिले त ओझेलमा परेका छन् । घरमा कुटो कोदालो, जाँतो पिसाइ, ढिकी कुटाइ आदि कती दुख र सास्तीमा बुहारी भएर घर गरेका चेली दुई चार दिन माइती गई आराम गरौँला भन्ने आशा पनि निराशामा परिणत भैदिंदा निकै पिडामा परेर भावनामा बगेर तीज गीत रचना गर्थे र गाउँथे । अब त हिंजोको जमानामा सास्ती खेपेका आमाहरु परलोक हुने क्रम चलीराखेको छ । जुन माथिका कुरा अर्को पिँढीसम्म आइपुग्दा कथा बनेर रहने देखिएको छ ।
बारीभरी अमला पाके टिपी टिपी खाउंला बरिलै, तीजको दर, राती राती, खाम्ला बरिलै । हाम्रा भाइ लिन आए ढल्की ढल्की जाउंला बरिलै । राती राती तीजको दर नाच्दै नाच्दै खाम्ला बरिलै । पञ्चमीको अर्को दिन रुंदै रुंदै घरमा जाम्ला बरिलै जस्ता तीज गीतले पुरानो झल्को दिने गर्छ । दर खाने दिन भन्दा दुई तीन दिन पहिले माइत जाने चलन थियो । दर खाने रातभरी नाच्ने र अर्को दिन व्रत बस्ने अनि तीजको दिन डाँडा वा चौरमा गई धेरै बर्षपछि भेट भएका साथीहरुसँग नाचेर गीत गाएर रमाइलो गर्ने गरिन्थ्यो । अर्को दिन पञ्चमी पुजा गरी तीजको समाप्ती भएको ठानेर आआफ्ना घरमा फर्किने चलन थियो । अहिले चेलीलाई फुर्सद छैन । चेलीहरु आधुनिकतातिर ढल्किएका छन् । माइती घरमा थकाइ मार्न जरुरी छैन । आआफ्ना घरमै महिला सहअस्तित्वमा बस्न पाएका छन् । यो भनीरहंदा सबैमा त्यो सुविधा नहोला र पनि बहुसंख्यक चेली बिलाशी र स्वतन्त्र नै छन् । हिँजोका दिनजस्तो दासत्व खेप्नु परेको छैन ।
अहिले समयले कोल्टे फेरेको छ । गाउँ गाउँ कुना कुनामा यातायातका साधन पुगेका छन् । हातहातमा मोबाइल फोन छन् । कहीं पुग्न र खबर गर्न सहज भएको छ । रहरलेबाहेक हिँजोका दिनमाजस्तो जांतो पिसाइ ढिकी कुटाइ आदि गर्नुपर्दैन । अहिले कैयौं घर ढलाइ गरेका छन् हिंजो जस्तो लिप्नु पोत्नु पर्दैन । चाडबाड नजिकिँदै गर्दा कती चेली भिरबाट खसेका खबर आउँथे । अहिले एकाध घटना भए पनि हिंजोका दिनजस्तो छैन । पहिले महिलाहरु घरमै सिमित थिए, घर खर्चको लागि पुरुषसँग हात थाप्नुपथ्र्यो । अहिले त्यस्तो छैन, समुहगत होस वा अन्य रुपले महिलाहरु आय आर्जनमा लागेका छन् । टिका, पोते साडी आदि किन्न पुरुषसंग हात थाप्नु पर्दैन ।
अहिले महिलाहरुले हिँजोका दिनजस्तो बिरहका गीत गाउनुपर्ने अवस्था छैन । सबैखाले गीतहरु कलाकारमार्फत नै अडियो भिडियोमा सुन्न र हेर्न पाइने भएको छ । तीज आयो भनेर चेली लिन जान र दुख गर्नु पनि पर्दैन । फोनमार्फत सबै काम हुने गरेको छ । हिँजोका दिनमा जस्तो पिडा खेपेर चेली बसेका पनि छैनन् । धेरै बिरहका गीतको जरुरी पनि छैन । देश बिदेश जहाँकहीँ महिला पुगेका छन् । कामकाजी महिलाहरु आफ्नो अनुकुल मिलाएर माइती जाने गरेका छन् । जे भए पनि हरितालीका तीज बिशेष महिलाको चाडका रुपमा हेरिन्छ । केही बर्षदेखि गाउँमाभन्दा शहरका होटल तथा पार्टी प्यालेसमा तीजको दर खानेको घुइँचो देखिन्छ । रुपन्देहीको हकमा कुरा गर्दा जिल्ला प्रशासन कार्यालयले होटल तथा पार्टी प्यालेसमा तीज मान्न रोक लगाएको सुचना निकाल्यो । तर त्यसले खासै फरक पारेन ।
नेपालीमा उखान छ खाने मुखलाई जुङ्गाले छेक्दैन भनेजस्तो अन्तक्रियाका नाममा होस् या जे गरेर भए पनि महिलाले केही दिन पहिले देखि दर खाएरै छोड्छन् । गत बर्षहरुमाजस्तो महंगोमा टिकट बिक्री भएको छैन । जहाँसम्म कोभिडकाकारण पनि धेरै कन्ट्रोलमा तीज पर्व मनाएको देखिएको छ । बाटोमै सुनिने गरी होटल छेउँछाउँका घर बस्तीहरुमा असहज वा पिडा हुने गरी कार्यक्रम गर्ने चालचलनमा पनि कमी आएको छ । जिल्ला प्रशासनको सुचनाले केही काम गरेको महशुस धेरैले गरेको अनुमान छ । तर, तीज मनाउने नाममा तडकभडक होइन सभ्य हुन जरुरी छ । केहीले रमझम र अत्याधिके खर्चिलो गरी पर्व मनाइरहँदा नसक्ने र ऋण खोज्नु पर्नेहरुको मनमा हिनताबोध नआओस् ।