© २०२३
खालीठाउँमा रुखविरुवा रोप्नु वृक्षारोपण हो । नेपालमा जेठको अन्तिम सातादेखि फाल्गुनसम्म कतै न कतै वृक्षारोपण चलिरहेकै हुन्छ । कुनै दिवस, उत्सव वा विशेष अवसर पारेर सामाजिक सस्थाहरुले विरुवा रोप्ने गर्छन् भने अचेल व्यक्तिगत उल्लासका अवसरमा पनि विरुवा रोप्ने चलन छ । नेपालमा वि.स. २००२ सालदेखि कार्यक्रमको रुपमा वृक्षारोपण गरेको पाइन्छ । दोश्रो पंचवर्षीय योजनादेखि नेपालका हरेक आवधिक योजना, वार्षिक योजना र वन मन्त्रालयका कार्य योजनाहरुमा वृक्षारोपणले स्थान पाएको देखिन्छ । सरकारी तथ्यांकलाई हेर्दा आ.ब. २०६६/६७ देखि २०७५/७६ सालको अवधिमा सरकारी निकायबाटमात्र १४ करोड ४५ लाख १९ हजार विरुवा उत्पादन भएको देखिन्छ ।
उत्पादित बिरुवाको सरदर मृत्युदर २० प्रतिशत कट्टा गर्दा उक्त बिरुवाबाट ७२ हजार हेक्टरमा वृक्षारोपण हुने देखिन्छ (प्रतिहेक्टर १६०० विरुवाको दरले) । तर वन मन्त्रालयले उक्त अवधिमा मुलुकभर ५ हजार ६ सय ६१ हेक्टर सरकारी र ९७ हेक्टर निजी जमिनमा ११ करोड ७४ लाख ११ हजारवटा बिरुवा रोपेको छ र यस कार्यमा सरकारले १ अर्ब ६५ करोड १५ लाख ९ हजार खर्च गरेको छ । पछिल्ला ५ आर्थिक वर्षमा सरकारी निकायले वृक्षारोपण प्रयोजनकालागि वार्षिक २ करोडभन्दा बढी विरुवा उत्पादन खरिद र वितरण गरेको पाइन्छ । सामुदायिक वन र निजि नर्सरीहरुले त्यसको आधा परिमाणमा विरुवा उत्पादन गरेको मान्ने हो भने नेपालमा वार्षिक ३ करोडभन्दा बढी विरुवाहरु वृक्षारोपण प्रयोजनकालागि उत्पादन हुने गरेको अनुमान गर्न सकिन्छ । यी विरुवाले वार्षिक १५ हजार हेक्टरभन्दा बढी जमिनमा वृक्षारोपण भएको हुनुपर्छ । तर नेपालमा वार्षिक कति क्षेत्रमा वृक्षारोपण भयो कति विरुवा हुर्किए रोपेका विरुवाहरुको अवस्था के छ भन्ने बारेमा कुनै निकायसंग पनि वास्तविक तथ्यांकहरु छैनन् ।
सामान्य दृष्टिले वृक्षारोपणलाई विरुवा रोप्ने कामको रुपमा हेरिएपनि यो पारिस्थितिक प्रणालीको निर्माण गर्ने र सामाजिक आवस्यकताहरुको परिपूर्ति गर्ने काम हो । विग्रदै गएको पारिस्थितिक प्रणालीको पुनर्भरण यसको प्राथमिकतामा पार्नुपर्छ । त्यसैले वृक्षारोपण गर्दा निकटतम पारिस्थितिक प्रणाली भित्र रहेका सांस्कृतिक र जैविक विविधतासंगको तादाम्यतालाई ख्याल गर्दै त्यसैअनुसारका विरुवाहरु रोप्नुपर्छ । कहाँ विरुवा रोप्ने कस्ता विरुवा रोप्ने विरुवा किन रोप्ने र कसले रोप्ने तथा हुर्काउनेजस्ता कुराहरुलाई निश्चित दर्शनले डो¥याउने गर्छ । यो नै वृक्षारोपणको दर्शन हो । यस लेखमा यहि दर्शनको विवेचना गर्ने प्रयास गरिएको छ ।
पारिस्थितिक पद्धतिको पुनर्भरण
वृक्षारोपणको यो दर्शन अहिले विस्वब्यापी बनेको छ । रुख बिरुवा नासिएको वन क्षेत्र, रुख अन्य क्षेत्रमा विरुवा हुर्काएर हराभरा बनाउने, पारिस्थितिक प्रणालिको संरक्षण गर्ने, पानीका श्रोत तथा जमिनको संरक्षण गर्ने उद्धेस्यले राज्यले वृक्षारोपणलाई आफ्ना कार्यक्रममा पार्ने गरेको छ । सामुदायिक वन समुहहरुले पनि यहि दर्शनले वृक्षारोपण गरेका हुन्छन् ।
क्षति न्यूनीकरणको दर्शन
रामशाहको चौधांै थितिले भन्छ “पध्यारामा वन पालन रूष न भया देषि जैले षोज्यो तैले पनि रहदैन सुकी जान्छ वन ढेरै फाडिया पैरो पनी जान्छ ढेरै पैरो गया उपधाहा चल्छ उपधाहले षेत पनि लैजान्छ वन न भया गृहस्तिको कौनै काम पनि चल्दैन“ यसले रुख हुर्काउनुको दर्शन स्पष्ट पार्छ । प्राकृतिक प्रकोप रोक्न बोटबिरुवाले मुख्य भूमिका खेल्छन् । बाढी पहिरो नियन्त्रण गर्न, वन डढेलोलाई नियन्त्रण गर्न, रुख रोप्ने पुरानै चलन हो । रुख विरुवा नभए प्रकोप बढ्छ भन्ने चेत हाम्रा पुर्खामा भएकोले खानेपानीका श्रोतको नजिक, नदि किनार, वस्ती छेउछाउ विभिन्न किसिमका रुखहरु रोप्ने गर्दथे । अहिले वन्यजन्तुलाई वस्तीमा पस्न नदिन जैविक छेकवारको रुपमा बाँस रोप्ने, वन्यजन्तुलाई वनमा नै अड्याउन वन्य फलफूल रोप्ने गरेकोसमेत पाइन्छ ।
आवस्यकताको सिद्धान्त
जबसम्म घना वन थियो, वनमा आवस्यकताअनुसारका रुखहरु थिए, तबसम्म वनमा वृक्षारोपणको अभ्यास भएकै थिएन । वन हराउँदैजाँदा मानिसका वन पैदावारसम्बन्धि आवस्यकताहरु पुरा गर्न कठिन भएपछि मानिसहरुले आवस्यकताअनुसार खाली जग्गामा वृक्षारोपण गरि रुख हुर्काउने कार्य शुरु गरेका छन् । निजि वन, नदिउकास जग्गाका वन, कृषि वन यस दर्शनअनुसार अघि बढेका छन्
सौन्दर्यचेत
मानव सभ्यताको विकासक्रमसंगै सौन्दर्यचेत पनि विकसित भएको हो । आफ्नो वासस्थान वरिपरी, आफ्नो नगर भित्र थरिथरिका रुख विरुवाहरु लगाएर आफ्नो थलोलाई सुन्दर बनाउने गरेको इतिहास र पुरातत्व अध्ययन गर्दा भेटिन्छ । शासक र सम्भ्रान्त वर्गले विभिन्न ठाउँबाट बोट विरुवा ल्याएर दरबार र नगर सुन्दर बनाउने गर्दथे । यो परम्परा अहिलेपनि चलेको छ । नेपालमा भिमसेन थापा र जंगबहादुरले विदेशबाट विरुवा ल्याएर नेपालमा रोपेको पाइन्छ । राणा शासकहरुले काठमाण्डौका सडक किनारमा विदेशी विरुवा रोपेका थिए । अहिले शहर सौन्दर्यिकरणको नाममा सडक किनारमा आयातित विरुवाहरु रोप्ने प्रचलन बढेको छ । यसले हरियालिको स्थानीय मौलिकता गुम्दै गएकोमात्र छैन, रुखप्रतिको स्थानीय आत्मियता पनि गुम्दै गएको छ । आयातित विरुवाहरु विस्तार हुदै जाँदा रैथाने विरुवाहरु नासिने क्रम बढेको छ ।
सस्कृतिको आधार
विस्वका हरेक संस्कृतिहरुको आधार जल र जंगल हुन् । अहिलेपनि मानिसका सांस्कृतिक कार्य गर्नकालागि विभिन्न किसिमका रुखहरु नभई हुदैन । जन्मदेखि मृत्युसम्मका गतिविधिहरु गर्नको लागि चाहिने रुखहरु सामुदायिक वृक्षारोपणका प्राथमिकतामा पर्ने गर्छन् । हिन्दु समुदाय भएका स्थलमा जताततै बर, पिपल, समी, निम, बेलका रुखहरु भेटिनु, बौद्धमार्गिहरुको थलोमा पिपल चेपांग वस्तीमा चिउरी, थकाली वस्तीमा धुपिसल्लो भेटिनु यसैका उदाहरण हुन् ।
धार्मिक कारण
ऋग्वेदमा भनिएको छ “यदि तिमि हजारौंैं वर्ष जीवनको फलहरु र खुशीको आनन्द लिन चाहन्छौ भने रुख रोप ।” ऋग्वेदको धेरै ठाउँमा नदिकिनाराको संरक्षण र वृक्षारोपणको आवस्यकता उल्लेख गर्दै रुख र नदिकिनारा विनाश गर्दा मानिसहरुले अकल्पनीय क्षति बेहोर्नुपर्ने उल्लेख गरेको पाइन्छ । जसले जीवनमा एकएकवटा बर पिपल र नीम, दुई दुईवटा अनार र सुन्तला, पाँचवटा आँप र दशवटा फूलका विरुवाहरु रोपेमा कहिल्यै नर्क जानु नपर्ने कुरा बराह पुराणमा छन् । हिन्दुहरुले पिपललाई भगवानको रुपमा पुजा गर्ने भएकोले हिन्दु समाजमा बर पिपल र समिका चौतारीहरु जताततै पाइन्छन् । बुद्धका अधिकांश महत्वपूर्ण समय रुखमुनी र वनमा नै वितेकोले बौद्ध समाजमा रुखको उच्च स्थान रहेको पाइन्छ । रुख विरुवा हुर्कने समयमा वन प्रवेश गर्न नहुने (वर्षावासको नियम), रुख रोप्दा स्वर्गको बाटो खुल्ने (वनारोपा सुत्त) जस्ता कुराहरु बौद्ध दर्शनमा छन् । यिनैकारण बौद्धमार्गिहरुले वृक्षारोपण र संरक्षणलाई धार्मिक कार्यको रुपमा अवलम्बन गर्दै आएका छन् ।
सामाजिक लहर
पछिल्लो समयमा सामाजिक संस्थाका कार्यक्रममा वृक्षारोपण नछुट्ने कार्यक्रम बनेको छ । कुनै दिवस, उत्सव पारेर कुनै ठाउँमा विरुवा रोप्ने, फोटो खिचाउने, समाचार बनाउन लगाउने र रोपेका विरुवाको संरक्षणको बारेमा चासो नदिने प्रवृत्ति बढ्दो छ । यहि कारणले गर्दा एउटै क्षेत्रमा हरेक वर्ष विभिन्न संस्थाहरुले वृक्षारोपण गर्न पाएको लज्जास्पद दृश्य हेर्ने अवसर मिलिरहेको छ । यस्ता गतिविधिले गर्दा वृक्षारोपण कार्यक्रम मनोरन्जनको विषय बनेको छ । अपवाद बाहेक सामाजिक सेवाको नाममा गरिने यस्ता वृक्षारोपणले जैविक विविधताको पुनःस्थापनामा योगदान दिएको देखिदैन । अचेल जन्मदिन र त्यस्तै अन्य अवसरमा विरुवा रोपेर फोटो खिचाउने चलन छ । यसले राम्रै संस्कृति निर्माण गर्ने भएपनि विरुवाको सुरक्षाको ध्यान नदिदा यो काम पनि प्रचारमा सिमित हुने डर बढेको छ ।
प्रचारमुखी
आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने र त्यो वर्ष ५ करोड विरुवा रोपिने नेपाल सरकारले घोषणा गरेको थियो । प्रधानमन्त्रीले त्यसको भब्य उद्घाटनसमेत गरेका थिए । तर त्यो वर्ष सरकारी निकायले २ करोड ३४ लाख विरुवा उत्पादन, खरिद र वितरण गरेको सरकारी तथ्यांकले देखाउछ । वृक्षारोपण वर्षमा देशभर १२ हजार ४४० हेक्टर जमिनमा वनजन्य, जडिबुटी र फलफूल गरि ३ करोड ३३ लाख २३ हजार ४८१ विरुवा रोपिएको तथ्यांक भएपनि ती विरुवा कहाँ रोपिए र विरुवाको अवस्था कस्तो छ भन्ने कुरामा सरकार स्वयम् जानकार छैन । वन दशक २०७१–८० को शुरुवाती दिनहरुमा यस्तै भब्य वृक्षारोपण कार्यक्रम हुने गरेका थिए. स्थानीय, प्रदेश र संघीय सत्तामा बसेका व्यक्तिले लावालस्करसहित यस्ता कार्यक्रम आयोजना गर्ने र वन कर्मचारीले पनि उनीहरुलाई खुशी बनाएर बजेट सक्ने कुरामा ध्यान दिनेहँुदा यस्ता भब्य कार्यक्रमले वृक्षारोपण कार्यक्रमको धज्जी उडाएका छन् ।
व्यक्तिगत स्वार्थ
वृक्षारोपण गर्ने निकायका जिम्मेवार व्यक्तिकालागि वृक्षारोपणले लाभसमेत दिने गरेको छ । विरुवा खरिद, ढुवानी र वृक्षारोपण कार्यक्रमको व्यवस्थापनमा आर्थिक चलखेल हुने र नक्कली बिल भौचर तयार गरि लाभ लिने प्रवृत्ति रहेको भनि अख्तियारका पछिल्ला प्रतिवेदनमा किटान नै गरिएको छ । वन विभाग मातहतका कार्यालयहरुले स्थानीय विरुवाहरु उत्पादन गर्न सक्ने क्षमता हुदाहुदैपनि निजि नर्सरी र विदेशबाट महंगोमा विरुवाहरु ल्याएर वितरण गर्ने गरेको देखिन्छ । पछिल्लो दशकमा सरकारले वार्षिक रु.१७ करोडसम्म विरुवा खरिदमा र त्यसको एक तिहाईसम्म विरुवा रोप्न खर्च गरेको देखिन्छ । स्थानीय सरकार, उद्यानहरुले विदेशी विरुवा किन्नमै रुचि देखाउने गरेका छन् । यस्ता धेरै व्यक्ति र निकायकालागि वृक्षारोपण अतिरिक्त आम्दानि गर्ने बाटो बनेको छ ।
कानूनी व्यवस्थाहरु
केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले गर्दा वृक्षारोपणको बाध्यात्मक अवस्था पनि छ । कतिपय स्थानीय तहहरुले सडक निर्माण गर्दा विरुवा रोप्नुपर्ने नीतिगत व्यवस्था गरेका छन् । सडक निर्माण गरेपछि सडक किनारमा वृक्षारोपण गर्नुपर्ने, हरित विद्यालय निर्देशिका अनुसार विद्यालय परिसरमा वृक्षारोपण गर्नुपर्ने, विकास आयोजनाले वन क्षेत्र प्रयोग गरि एउटा रुख मासे बापत ५ देखि २५ विरुवा रोप्नुपर्ने व्यवस्थाले वृक्षारोपणको परिमाणात्मक वृद्धिमा सघाउ पुगेको छ । तर कानूनी बाध्यताले गरिएका वृक्षारोपणले प्रतिफल दिन भने सकेका छैनन् ।
अन्तर्राष्ट्रिय स्वार्थ
पछिल्ला वर्षहरुमा वृक्षारोपणमा अन्तर्राष्ट्रिय स्वार्थ बढ्दै गएको छ । खासगरी हरितगृह ग्यासहरू उत्सर्जन गरेर बदनामी कमाइरहेका विकसित देशहरुले कार्बन व्यापारको लोभ देखाएर नेपालजस्ता गरिब देशहरुमा वृक्षारोपणमा सघाइरहेका छन् । क्योटो प्रोटोकलजस्ता जलवायु परिवर्तन सम्बन्धि अभिसन्धिले धनि देशहरुलाई गरिब देशको वृक्षारोपणमा लगानी गर्नैपर्ने बाध्यता छन् । त्यसैगरी सिमा क्षेत्रमा रहेका संरक्षण क्षेत्रहरुलाई जोगाउनको लागि अर्को देशमा वृक्षारोपण गर्ने, वन हुर्काउने कामलाई सहयोग गरेको पाइन्छ । यसको राम्रो उदाहरण नेपाल भारत सिमा वारपारका संरक्षण क्षेत्र र जैविक करिडोरलाई लिन सकिन्छ ।
कुटनैतिक अभ्यास
अन्तर्राष्ट्रिय भ्रमणमा गएकाले भ्रमणको सम्झनालाई दिगो बनाउन विरुवा लगेर रोप्ने पुरानो कुटनैतिक प्रचलन रहेको छ । पाकिस्तानले विदेशी कुटनीतिक पाहुनाहरुले रोपेका विरुवाहरुको सुन्दर बगैचा नै बनाएको छ । नेपालको लुम्बिनी र त्रिभुवन पार्कमा यस्ता अभ्यासहरू भएको पाइन्छ । त्यसैगरी आपसी सम्बन्ध राम्रो बनाउनकालागि उपहारस्वरूप एउटा देशले अर्को देशलाई विरुवाहरु उपहार दिने चलन पनि छ । यस्तो चलनले विदेशी विरुवाहरुको विस्तारमा सघाउ पुगेको देखिन्छ ।
र अन्तमा,
नेपालमा हरेक वर्ष सरकारी निकाय र संघसंस्थाहरुले करोडौं खर्चेर २/३ करोड विरुवा रोपिरहेका छन् । पछिल्ला ३ दशकमामात्र वनक्षेत्र, सार्वजनिक जमिन, निजि जमिन र सडक किनारमा गरिएका यस्ता वृक्षारोपणमा रोपिएका रुखहरु जोगिएको भए अहिलेसम्म नेपालको घना वनक्षेत्र बाहिर त्योभन्दा ठूलो वन तयार भैसक्नुपथ्र्याे । तर अहिलेपनि वन क्षेत्रमा रुख विरुवाको संख्या घट्दै गएको, वस्तीहरुमा हरियाली घटिरहेको अनि नेपालका रैथाने वनस्पतिहरु हराउँदै गएकोजस्ता दृष्यहरु बढिरहेका छन् । हाम्रो वृक्षारोपणको दर्शन स्पष्ट नहँुदा वृक्षारोपण कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । केका लागि, कहाँ, कस्तो किसिमको वृक्षारोपण गर्ने ? त्यसबाट कसले कसरि लाभ प्राप्त गर्ने भन्ने स्पष्ट नगरी रमाइलोकालागि अनि काम देखाउनकालागि गरिने वृक्षारोपणले समय र पैसाको दुरुपयोग मात्र हँुदैन, पारिस्थितिक प्रणाली र सामाजिक जीवनमासमेत नकारात्मक असर परिरहने छ ।