© २०२३
हाम्रो सञ्चार परम्पराको इतिहास निकै पुरानू छ । समाचार ताजा र द्रुत हुनुपर्छ भन्ने मान्यता सञ्चार तथा सङ्गीत विधाका प्रणेता नारदको व्यवहार तथा क्रियाकलापबाट जान्न सकिन्छ । एक मुहूर्त अर्थात् अठचालीस मिनेटभन्दा बढी समय एकै ठाउँमा नबस्ने व्रत थियो नारदको । एक व्यस्त पत्रकारको जीवन ! उनैका अनुगामी हुन् गन्धर्व जाति । गान र समाचार सँगै ।
बाबाले सोध्लान् खै छोरोे भन्लान्… । (लडाइँको समाचार कर्खा ।)
धन्य प्रतापी प्रताप शम्शेर तिम्रै गुण गाउँदछन् सारा । पानी नपाइने यो पल्पाको ठाउँमा बनाई बस्यौ कलधारा ।…
(तानसेनलाई पाल्पा भनिन्थ्यो र जनबोलीले पल्पा भन्थ्यो, त्यही तानसेनमा पानी ल्याएको सन्दर्भको समाचार कर्खा ।)
प्राचीन कालमा मान्छे तथा विभिन्न पशुपक्षीका सहायताले खबर आदानप्रदान गरिन्थ्यो भन्ने सुन्न पढ्न पाइन्छ । पक्षीमा परेवा, बाज, कौवा आदि प्रयोग गरेको पाइन्छ । यसैलाई आधार मानी तीज गीत यसरी कथिएको छ—
चेली— आँगनुको डिल बसी काली कौवा काऽऽ काऽऽऽ, केकेमा समिचार ल्यायौ बरिलै ।
कौवा— एकुमा समिचार कागतुको चिर्कटो, दोसरी समिचार तिम्ला लिन हो ।।
यसै गरी यमराजकी बहिनी यमुनाले आफ्ना दाजुलाई कौवा, कुकुर, गाई, गोरुसमेतलाई दूतको रूपमा वरण गरेर लिन पठाएको सन्दर्भ छ । सर्वसाधारणले पाको भरपर्दो व्यक्ति खटाएर आफ्नो आफन्त वा सम्बन्धीलाई आफ्नो खबर पठाउने र उताको खबर ल्याउने गर्थे । कुनै दुई देशबीचको खबर आदानप्रदान गर्न सरकारका दूतहरू खटाउने, हाते पत्रबाट प्रामाणिक सूचना लिनेदिने हुने गरेको विभिन्न पौराणिक इतिहासबाट थाहा लाग्छ । हुलाकको संस्थागत विकास नहोउन्जेल यसरी नै सञ्चारको व्यवस्था गरिएको थियो ।
हुलाकको व्यवस्था भएपछि सरकारको सञ्चार साधन निकै सरल र भरपर्दो भयो । हुलाकको इतिहास खोज्ने हो भने सन् १५१६ मा संयुक्त अधिराज्यको शाही हुलाक कम्पनी “रोयल मेल कम्पनी” बाट सुरु भएको भन्ने देखिन्छ । नेपालको हुलाकको आधिकारिक इतिहास खोज्दा पृथ्वीनारायण शाहको राज्य विस्तार भनौँ वा एकीकरणको सिलसिलामा राज्यका सामग्री, आदेश, लालमोहर आदि ओसारपसार गर्न वि.सं. १८२४÷२५ तिर हुलाकको व्यवस्था गरेको पाइन्छ । हुलाक बोक्ने कर्मचारीलाई निजहरूकै पायकमा ठाउँठाउँमा खान्गी जग्गाको व्यवस्था गरी हुलाक सञ्चालन व्यवस्था गरिएको थियो ।
त्यस बखत हुलाकलाई जिन्सी सामान बोक्ने र कागजपत्र बोक्ने गरी दुई प्रकृतिमा विभाजन गरिएको थियो । सामान बोक्ने हुलाकलाई थाप्ले हुलाक “पोस्ट बर्डन” भनिन्थ्यो भने चिठी पत्र आदि बोक्ने हुलाकलाई कागते हुलाक “पेपर पोस्ट” भनिन्थ्यो । कागते हुलाक बोक्नेको भन्दा थाप्ले हुलाक बोक्नेको खान्गी ज्यादा हुन्थ्यो । थाप्ले हुलाकमा भारी बोक्ने शारीरिक श्रम ज्यादा हुने हुनाले यो हुलाक जो कोहीले बोक्ने हिम्मत पनि गर्दैनथे । हुलाक बोके वापत सरकारद्वारा दिइएको खान्गी जग्गाको नाम नै हुलाके जग्गा हुन्थ्यो । त्यही कारणले अहिले पनि कतिपय ठाउँको नाम हुलाके भन्ने रहेको पाइन्छ ।
त्यो जमानामा हुलाक कुनै पनि समयमा रोकिनु हुन्न भन्ने मान्यता थियो । हुलाक बाक्नेले राति दिन, सर्दी गर्मी, झरी बादल, हिउँ तुषारो, बाढी पैरो आदि केही भन्न पाइन्नथ्यो । हुलाकीहरू स्थानीय रूपमा नियुक्ति भएका हुन्थे । तिनीहरूका आआफ्ना हुलाक सम्पर्क विन्दु तोकिएका हुन्थे । आफ्नो सम्पर्क विन्दुमा हुलाक आएको खबर पाएपछि त्यस विन्दुबाट सो हुलाक अगाडि बढाउने व्यक्तिले खाना खाँदैरहेछ भने पनि सो खाना तत्कालै छोडेर हुलाक बोक्न सामेल हुनुपथ्र्यो भनिन्छ ।
सम्पर्क विन्दु जानकारीका लागि सहज होओस् भनेर ठूलो ढुङ्गालाई ठाडो पारेर गाडिएको हुन्थ्यो । पुराना जमानामा बाटोको लम्बाइ नाप्ने एकाइ कोस हुन्थ्यो (एक कोसको नाप ३५२० गज) । कोस पूरा हुने विन्दुमा गाडिने यी ढुङ्गालाई कोशेढुङ्गा भनिन्थ्यो । जुन पश्चिमा मुलुकमा माइलको एकाइमा बाटोको नाप नापिने हुनाले उनीहरू माइल स्टोन भन्ने गर्छन् (आधा कोसको १ माइल) । अहिले यी शब्दावलीहरू कुनै पनि कुराको प्रामाणिक आधार स्थापना भएको अर्थमा बढी प्रयोग हुने गर्छन् ।
कागते हुलाकमार्फत् चिठीपत्र, सनद, रुक्का आदि पठाइने गरिन्थ्यो । थाप्ले हुलाकीले भने कहिले रकमका तोडा (सिक्का रुपैयाँ राखेका छालाका थैला) बोकेर सैनिकको पहरामा हिड्नुपथ्र्यो । कहिलेकाहीँ त साइँधुवा (राज्यद्रोही अपराधी) पनि बोकेर हिँड्नुपथ्र्यो । साइँधुवालाई प्राण झुन्डिने गरी सामान्य खाना र दिसा पिसाब गर्न सक्ने व्यवस्था गरी डोका, कोर्कामा कुर्मु¥याएर जेल पठाउँदा यसरी बोक्नुपर्ने अवस्था आउँथ्यो ।
पृथ्वीनारायण शाहले सुरु गरेको हुलाक सञ्चार व्यवस्थाको एक शताब्दीपछि मात्र सर्वसाधारणका लागि हुलाकको सुविधा प्रयोग गर्न पाइने भयो । वि.सं.१९३५ देखि नेपाली जनताले हुलाकको प्रयोग गर्न पाएका हुन् । त्यसबेला हुलाकको सम्बन्ध बाटो अर्थात् सडकसँग स्थापित भयो । हुलाकी सडकको सञ्जाल पूर्वपश्चिम उत्तरदक्षिण विस्तार भयो । हुलाकी सडकको मर्मतसंभार स्थानीय प्रशासनिक एकाइको पहिलो प्राथमिकतामा पथ्र्यो ।
हुलाकीलाई एउटा टुप्पामा भाला र तीनवटा घँुघुरा जोडिएको सरकारी निशानछाप भएको लौरो दिइन्थ्यो । सो लौरो टेक्दै छिन्द्रिङ् छिन्द्रिङ् घँुघुरा बजाउँदै हुलाकी हिँड्थे । हुलाकी लठ्ठीको घुँगुराको आवाज सुनेपछि जस्तोसुकै अवस्थामा पनि सर्वसाधारणहरू बाटो किनारा लाग्नुपथ्र्यो । कोही कसैले अटेरी गरी हुलाक रोक्न खोजे भाला प्रहार गरी घाइते वा प्राण लिएर पनि खतबात लाग्दैनथ्यो भनिन्थ्यो । सो भाला घुँघुरा जडित सरकारी लठ्ठीको आवाज सुनेपछि बाघ, सिंह बाटोमा रहेछन् भने पनि बाटो छोडी तर्किन्छन् । भूत, पे्रत वनझाँक्री त सात कोश पर भाग्थे भनिन्थ्यो । यस्तायस्तै उच्च मानसिकता बोकेर ती न्यून वेतनजीवी हुलाकीहरू कस्तै विषम परिस्थितमा पनि डट्ने गर्थे ।
समय सूचक यन्त्र घडी, रेडियो नहुँदाको समयमा हुलाकी सडकका छेउँछाउँका बासिन्दाहरूले हुलाकीलाई समयसूचकको रूपमा हेर्ने गर्थे । हुलाकी आउने बेला भयो, हुलाकी आउने बेलामा फलानो÷फलानीको जन्म भएको हो भन्नेजस्ता कुरालाई प्रामाणिक मान्ने चलन थियो ।
घरायसी व्यवहारमा कोही कसैले बाटो छोड् भन्दै निकै आकश्मिक घटना घटेजस्तो ग¥यो भने “के हुलाक बोकेजस्तो गरेको हो” भनी गाउँघरका बूढापाकाले अझै पनि भन्छन् । गाउँघरमा घर थाराको ताले छाप्दा (पुर्दा) गिलो, माटाका गोलालाई लहरै मान्छे बसी ओसार्ने वा सार्ने कामलाई हुलाक लगाउने भन्ने चलन अझै पनि छ । ढलान गर्ने काममा कराहीमा मसला ओसार्ने तरिका पनि त्यही हुलाक लगाउने तरिका नै हो ।
हुलाक नियमित भएन भन्ने गुनासो आएपछि श्री ३ जङ्गबहादुर राणाले निकै रणनीतिक जुक्ति अपनाएको पाइन्छ । त्यसबेला हुलाक नियमित गर्न गाह्रो पर्ने ठानिएको जुम्ला—काठमाडौँ हुलाकमार्फत् दैनिक एक माना चामल काठमाडौँ आउनुपर्ने र सोही खर्च(अन्न) दैनिक श्री ३ ले खाने भन्ने उर्दी गरेका थिए रे जङ्गबहादुरले । यस किसिमको रणनीतिले हुलाक नियमित गर्न सघाएको थियो भन्ने भनाइ छ ।
हुलाकप्रतिको विश्वास तथा आस्था विचित्रैको छ । २०५० वि.सं. को दशकसम्म एसएलसी परीक्षाका उत्तरपुस्तिका हुलाकमार्फत् नै ओसारपसार गरिन्थ्यो । स्थानीय हुलाकको भौतिक संरचना गएगुजे्रको हुन्थ्यो । अगाडिपछाडि प्रहरी लगाएर उच्च सुरक्षाकासाथ ल्याएको एसएलसी परीक्षाका उत्तरपुस्तिकाका पोका हुलाकभित्र दर्ता गरी राखेपछि सुरक्षित ठानिन्थ्यो र हुन्थ्यो पनि । अर्को दिन सो पोको हुलाकीले हुलाकको बोरामा राखेर एक्लै हिँड्दा पनि असुरक्षाको आशंङ्का हुँदैनथ्यो । एक उच्च आस्था तथा विश्वासको उदाहरण !
हुलाकले ल्याउने चिठ्ठी पढ्न साक्षर व्यक्ति चाहिने भएकोले पठन संस्कारकालागि उत्प्रेरणा दिन्थ्यो हुलाकको चिठीपत्रले । आजभन्दा भन्डै ८४ वर्ष पहिलेको हाम्रो गाउँठाउँको साक्षरताको स्थितिको बारेमा आफैले भोगेको कुरा मसँगको कुराकानीमा वि.सं. २०७२ सालमा यसरी बताउनुहुन्छ सन्धिखर्क नगरपालिका अर्घाहिलेका ज्येष्ठ नागरिक डिलाराम भुसाल (१९७७—२०७८) ।
उहाँ भन्नुहुन्छ— म दश एघार वर्षको हुँदा अर्थात् वि.सं. १९८८ तिरको कुरा, म चिठी पढ्ने भएको थिएँ । एक दिनको कुरा हो, म साँझकालागि घाँस काट्न भनी हातमा हँसिया नाम्लो लिएर घरबाट ख¥यानतिर जान हिँडेको थिएँ । त्यसैबेला मेरो घरमा राइखन्नीतिरबाट पाँच छजना मान्छे आए । सोधपुछपछि थाहा भयो ती त उनीहरूका आफन्तले विदेशबाट पठाएका चिठी पढ्ने मान्छे खोज्दै आएका रहेछन् । उनीहरू वास्तवमा मलाई नै खोज्दै आएका रहेछन् ।
ती सबै जनासित एक एकवटा चिठी थिए ।
उसबेला आजभोलिजस्ता सजिलै पढ्न सकिने अक्षर लेख्दैनथे । डिको त स्वाट्टै एउटै हुन्थ्यो । उनीहरूको कुरा सुनेपछि मैले भनेँ— म यी चिठी पढ्न लागूँ भने घाँस काट्न भ्याउन्न । यहाँहरू यहीँ बस्दै गर्नुस् । म छिटोछिटो घाँस काटेर ल्याई आउँछु । अनि चिठी बाचौँला (पढौँला) ।
ती बिचराहरूलाई चिठी पढाउने मान्छे खोज्दा हैरान भएको रहेछ । अनि उहाँहरूले भन्नुभयो— खोइ अरू हँसिया नाम्ला पनि ल्याउनोस् नानी, हामी तुरुन्तै घाँस ल्याउँछौँ । अनि ढुक्कले चिठी पढौँला ।
त्यसबखत म निकै खुसी भएको थिएँ । उहाँहरूले एकैछिनमा थुप्रै घाँस ल्याइदिनुभयो । मैले चिठी पढिदिएँ । निकै खुसी भएर उहाँहरू घर जानुभयो । पछि पनि उहाँहरू पटकपटक आउनुभयो । हाम्रो एक किसिमको इष्टेदारी सम्बन्ध भयो । तर मलाई त्यो पहिलो दिनको घटना हरदम याद आइरहन्छ । पढाइको महत्व कति रहेछ भनी मलाई याद दिलाउने ती राइखन्डीका बुबाआमाहरू सधै मेरा मन मष्तिष्कमा रहिरहेका छन् । त्योबेलामा आधारभूत पढाइको नाम “चिठी तमसुक” भनेर चिनिन्थ्यो । त्योबेला चिठी तमसुक लेख्ने र पढ्ने भयो भने एक तहको पढाइ पूरा भएको मान्ने चलन थियो । शिक्षा र सञ्चारको अन्योन्याश्रित सम्बन्ध !
अहिले त चिठीलेख्ने चलन त लगभग हराइसकेको छ । यात्रामा निस्केको व्यक्तिसित एक दुई घण्टामा सम्पर्क हुन सकेन भने अत्तालिने बानी परिसकेको छ । फोन, छोटा लिखित समाचार (म्यासेज), चलचित्र गफ “भिडियो च्याट” आजका सञ्चारका तरिका भएका छन् ।
सार्वजनिक आम सञ्चार माध्यममा “मास मिडियामा” गाउँमा कटुवालेको हाकदेखि सहरमा वेकुल बजाउने, झ्याली पिट्नेबाट विकास हुँदै सार्वजनिक सञ्चार माध्यममा छापा समाचार पत्रपत्रिका, अछापा अर्थात् अनलाइन पत्रपत्रिका वेवसाइट कति कति ! रेडियो टिभि त हुँदै भए । अहिले सम्झँदा अचम्म लाग्छ हामी कहाँबाट कहाँ आइपुग्यौँ !