© २०२३
१. झपेन्द्र जिसीले आफ्नो मुहार पुस्तिकामा एउटा स्टाटस लेखेः–
हाम्री आमा हामीबाट विदा भएको ५८ वर्ष/ हिउँद बिते । फोटो पनि छैन । ऊ बेला क्यामेरा पनि थिएन, फोटो हुने कुरै भएन । हाम्री आमाले जुत्ता चप्पल लाउनु भएन ।
तर काजक्रिया गर्दाखेरि भने चप्पल दान गरेको सम्झना छ । मेरी फुपू (मल्मुल) ले त्यतिबेला भनेको सुनेको हुँ, “भाउजू अर्थात मेरी आमाले जिन्दगीमा जुत्ता चप्पल लगाउनु भएन । तर जुनी बितेपछि बल्ल दान पाउनु भयो ।
दिदी २०४३ सालमा र दाइ २०४७ सालमा विदा हुनुभयो । हामी म झपेन्द्र, बहिनी यमकुमारी, भाइ खड्ग आमाको छायाँ अनुहार सम्झेर श्रद्घा शब्द टक्र्याउँछौं ।
२. बावुहरि ज्ञवालीः
एकजना ज्ञवाली बन्धु छन् । तिनको नाम बावुहरि ज्ञवाली हो । रूख एउटै भएर पनि नयाँ पुराना परेकाले उमेरमा सानो भएर पनि म तिनको काका हुँ । तिनी मेरा भतिजा हुन् । तिनी बहुमुखी प्रतिभा हुन् । नेपाली, अङ्गे्जी, संस्कृत र हिन्दी गरी चार भाषाका ज्ञाता, कुशल चित्रशिल्पी, विज्ञान तथा गणित विषयमा विशेष दखल ।
नेपाल सरकारको कृषि सेवामा लामो सेवापछि अहिले सेवानिवृत्त । श्रीमति अस्वस्थ भएकोले अहिले छोरासित अष्ट्रेलियामा उपचाररत छन् । उनको स्वास्थ्यलाभको कामना गरौं ।
तिनको स्वभाव सुरुदेखि नै अन्तर्मुखी हो । त्यसो भएर आफै प्रचारमा आएनन् । अरू कसैले उनको महत्व बुझेन । त्यही कारण उनी गुमनाम रहे । थाहा नभएर हो, थाहा भएको भए विज्ञान, संस्कृति, कला र अध्यात्मका लागि सम्बन्धित प्रतिष्ठानहरूलाई यिनी राम्रो स्रोत व्यक्ति हुन सक्थे ।
६१ वर्षअघिको कुरा हो । वनारसमा पढ्थ्यौँ । बावुहरि माथि पढ्थे, म तल । तिनले केही दिनमलाई अङ्ग्रेजीको प्रारम्भिक व्याकरण पढाएका हुन् । व्याकरण पढाउँदा टेन्स र प्रिपोजिसनलाई यति सजिलो गरी छर्लङ्ग पारेर पढाए, जसका कारण मैले अङ्ग्रेजीका ए बि सि डि सिकेकै वर्ष संस्कृत मध्यमाको अतिरिक्त अङ्ग्रेजी पेपर राम्रो अङ्क ल्याएर पास गरेँ ।
छुट्टीमा घर आएका बखत केही न केही पढाउँथे । अलिकति रघुवंश पनि पढाएका हुन् ।
शैशवेऽभ्यस्तविद्यानां
यौवने विषयैषिणाम्
वार्धक्ये मुनिवृत्तिनां
योगेनान्ते तनुत्यजाम् ।
(रघुवंश महाकवि कालीदासले रघुवंशी राजाहरूको उदात्त चरित्रको वर्णन गरी लेखिएको उत्कृष्ट संस्कृत महाकाव्य हो ।)
यस श्लोकको अर्थ ः
रघुवंशी राजाहरू शैशवकालमा विद्या अध्ययन गर्दथे । युवावस्थामा विषय अर्थात घर गृहस्थी गर्थे । बूढो भएपछि मुनिवृत्ति अर्थात ऋषिमुनिको जीवन अपनाउँथे र अन्त्यमा योग विधिबाट शरीर त्याग गर्दथे ।
तिनले राम्रो गरी छर्लङ्गै पारेर पढाएको यो पाठ मैले अझै बिर्सेको छैन ।
३. भारतका राष्ट्रपति डा. एपिजे अब्दुल कलामको सम्पत्ति –
६– पेन्ट, ४– सर्ट, ३– सुट, २५००० पुस्तक, १ फ्ल्याट (दान गरिएको), १ पद्म श्री, १– पद्मभूषण, १– भारतरत्न र १६ डाक्टरेटका उपाधि । गाडी, शेयर, जग्गा जमिन, बैंक ब्यालेन्स केही छैन ।
पेन्सनको रकम गाउँ पञ्चायतलाई दान गरेको ।
४. हिन्दी सायरीः
एक जना मित्रवन्धु छन् । नाम डिलाराम खरेल । मिठामिठा गफ दिन निकै खप्पिस छन् । एकदिन प्रसङ्गवस तिनले एउटा हिन्दी सायरी गाए ।
जिसे तुम भूल नही सकते
उसे माफ करदो
जिसे तुम माफ नहीं कर सकते
उसे भूल जाओ ।
सम्पूर्ण प्रश्न /सम्पूर्ण उत्तर
५. एकजना चिनिया प्राध्यापकको भनाइः
चिनिया प्राध्यापक डा. हु भन्छन्–
‘नेपाल सुनका कचौरा लिएर भिख मागिरहेछ ।’
हो त, जलस्रोत खनिज, वन जङ्गल जडीबुटी, हिमाल, नदीनाला, पहाड तराइको उर्बर भूमिजस्ता प्राकृतिक सम्पदा भएर पनि हामी गरिब छौं । भिख मागिरहेका छौँ ।
६. चटाई , सुराही र चिमनीः
सन् १९६९ को कुरा हो । म जाँच सकेर वनारसबाट घर फर्कँदै थिएँ । फर्कने दिन बिहान दाजु गोविन्द ज्ञवाली र खेमराज पण्डित मेरो विद्यालयमा आउनु भयो । भलाकुसारीपछि गोविन्द दाजुले भन्नुभयो– काका, ‐मलाई त्यतिबेला बुटवलमा धेरैले काका भन्ने हुँदा उहाँले पनि स्वाभाविक रूपमा भन्ने गरेको सम्बोधन) तपाईं आज घर जाने, यहाँ तपाईंले किनेका तर घर नलैजाने सामान हुनुपर्छ ।
हामी पार्टी अफिसका लागि ती सामान लिन आएका हौं । माइल्दाइ (पुष्पलाल) ले घर फर्कने सबै साथीहरूका डेराबाट साथीहरूले किनेका तर घर लैजान नमिल्ने सामानहरू अफिसमा प्रयोग गर्ने भन्नुभएको छ । हामी त्यसो गर्छौं यहाँ के के छ ?
हेर्दा एउटा सुराही, एउटा चटाई र एउटा बिजुलीको चिमनी देखियो । अलिकति भिजाएको चना थियो, अलिकति काँचो । खेमराजले भेली किन्न भन्नुभयो । चार आनाको भेली ल्याएँ । भेली र भिजाएको चना उहाँहरूले दिनभरिलार्ई नै आड हुने गरी थुप्रै पानी सित खानुभयो । अनि बाँकी काँचो चना र चिमनी एक जनाले सुराही एक जनाले बोकी उहाँहरू पार्टी अफिस गणेश दीक्षित गल्ली जानुभयो ।
७. नो रुल इज बेष्ट रुलः
रघु मैनाली । यिनी पत्रकार हुन् । सामाजिक रेडियोका अभियन्ता । रेडियो पाठ्यक्रम र पाठ्यपुस्तक बनाउनेमा यिनको नाम आउँछ । यिनले रेडियो वचन आदि रेडियोका उपयोगी पुस्तकहरू लेखेका छन् । यिनी प्रशिक्षक पत्रकार पनि हुन् ।
प्र्रशिक्षणको क्रममा एकदिन यिनले भनेका थिए–
फलो द रुल
सेट द रुल
ब्रेक द रुल
नो रुल इज बेष्ट रुल
प्रसङ्भित्रको यस फरक प्रसङ्गलाई मैले बिर्सेको छैन ।