© २०२३
लोभ
अति आकर्षक अदभुद आकृति
गगनचुम्नी भवन पहाड सरी ।
आ(आफ्नै श्रृङ्गार हरेक कक्षको
कहिल्यै नसकिने बर्णन गरी ।।
मालिकलाई वर्षौ पालो कुर्छ
पहिरनको जोडी कपडा पनि ।
कामना जिव्रोको पुरा गर्छन्
अनेक स्वादका परिकार बनी ।।
रहरहरू उम्रिन नपाउँदै जनको
थपिन्छन् शुखका आयामहरू जब ।
भोग कुन गर्ने भनि मनको
चल्छ बहस तर्कहरूको तब ।।
विचित्र भुगोल अदभुद मनमोहक
अनौठा आकृति सबको आफ्नै नाउँ ।
सबथोक तयार उड्ने अनि गुड्ने
गगन धर्ती पुग्न सब ठाउँ ।।
वहुमुल्य धर्तीका आभुषण जातका
सुन, चादी, हिरा र मोति ।
मान अपमान ठूलो र सानो
प्रतिस्पर्धा जगतमा कसको कति ।।
तृप्तिमा भुलिरहेको सारा नगरी
रस लिलामा रंगिएका हरेक रात ।
भक्तहरू सब शक्ति र पदका
धनले नअघाउने मनुस्य जात ।।
धज्जि उडाईरहेको सारा सुखको
ताण्डब मृत्युको सब छन् निरास ।
प्रलय संसारभरि परजिवी एक
हर कोशिस गर्दा हुदैन नास ।।
भय
सामना गर्न ठूलै युद्धको
धर्तीका टुक्राहरू अनेक थरी ।
आ(आफ्नै बन्दोवस्त रक्षा कवज
सबका अस्त्रहरू संसार भरी ।।
रकेट हवाई सबै हमला गर्ने
फाईटर विमान वक्तरबन्द गाडी ।
अणु परमाणू घातक हतियार
धर्ती, आकास कहीँ नछाडी ।।
हरक्षण तैनाथ सिपाही अटल
घातक कमाण्डो लाखौँ निडर ।
तैपनी खुल्ला लल्लाकारी रहेको
शुस्म एक परजिवी परनिर्भर ।।
दया
एउटै भरोसा जिबन सहारा
सदाको लागि छोडेर गयो ।
काखका कोमल लालाबाला कलिला
असह्य हृदय अचेत भयो ।।
बोकेर छोरीको मृत सरिर
हिडिरहेको निर्जिव पथ्थर विच ।
पिडा पोख्ने फुर्सद छैन उसको
हेरिरहेका मनुस्य निर्दयी निच ।।
लिलामी हुदैछन् भर्ति केन्द्रहरू
प्राणको मोलतोल जब त्यहाँ हुन्छ ।
विकल्प हुदैन मृत्यु कुर्नुको
धुवाँ बनि लाशको आकास छुन्छ ।।
रोई कराई छटपटाई रहेका
कोहि ढलिरहेका अचेत भई ।
दिईरहेको दुस्ख पिडा र शोक
शूस्म एक परजिवी कति निर्दयी ।।