© २०२३
नेपालमा मात्र हैन, विश्वमै कुनै पनि कारणबाट आरोप लागेका, अपराधमा संलग्न भएका मानिसहरुलाई सरकारले पक्राउ गरी शुरुमा प्रहरी हिरासतमा र अदालतमा मुद्धा चलेपछि कारागारमा राख्ने गरिन्छ । राजनैतिक परिवर्तनका खातिर काम गरेका देखि चोरी, डकैती, हत्या, अपहरणमा संलग्न भएकाहरुलाई कारागारमा राख्ने गरिन्छ । भनिन्छः कारागार भनेको सुधार केन्द्र हो । कारागारमा मानिसलाई अदालतले तोकिदिएको निश्चित समयसम्म राखियो भने सो मानिसले भोलिबाट यस्ता कामबाट आफूलाई टाढा राखेर आफ्ना दैनिकी सञ्चालन गर्छ भन्ने मान्यता राखिन्छ । अहिले हामीले देख्ने गरेका जति पनि राजनेताहरु छन् उनीहरुमध्ये अधिकांशले जेल जीवन ब्यतीत गरेका छन् । वर्तमान प्रधानमन्त्री केपी ओलीले लामो समयसम्म जेल जीवन ब्यतीत गरेका थिए । जेलजीवन कस्तो हुन्छ उनलाई राम्रोसँग अनुभव छ । अहिले थुप्रै समाचारमा जेलका समस्याहरु सार्वजनिक भइरहेका छन् । कतिपय जेलमा कोठाको क्षमताभन्दा १० गुणा बढी कैदी बन्दीहरु राखिएका छन् । सुत्ने ठाउँको अभावमा उनीहरु पालैपालो सुत्नुपरेका समाचार आइरहेका छन् । खाना खानको लागि पालो कुर्नुपर्ने अवस्था छ । पानीको अभाव उस्तै छ । छत चुहिएर बर्षामा भिज्नुपर्ने वाध्यता छ । सूर्यको उज्यालो देख्न पाइँदैन । पाइखानाको अवस्था यस्तो छ कि राणाकालमा बनेका सिटहरु फुटेका, मुसा दौडने, सफाइ नगरिएर गन्हाउने पाइखाना प्रयोग गर्नु परेको छ । कतिपय हिरासतमा त कोठाका मानिसले देख्नेगरी दिसा पिसाव गर्नुपर्ने वाध्यता छ ।
कैदी बन्दीहरु पनि मानिस नै हुन् । संयोगले उनीहरुले कानुन विपरित काम गरेका थिए । पक्राउमा परे । बन्दी जीवन विताउनु पर्यो । तर, यसको अर्थ यो होइन कि रातीमा यथेष्ठ ठाउँ नपाएर खुट्टा पसारेर सुत्न नपाउनु, खाना पकाउने ठाउँको अभावमा पालो कुर्न पर्नु, दिसा पिसाव गर्न, नुहाउन नपाउनु, लेखपढ गर्न नपाउनु, विरामी भएको अवस्थामा उपचार गर्न नपाउनु यो कस्तो न्याय हो ? अहिले सत्तामा बसेका वा प्रतिपक्षमा रहेका अधिकांशले जेलजीवन बिताएका हुन् । उनीहरुले त्यहाँ जुन पीडा भोग्नुपर्यो जेलबाट बाहिर आएपछि सबै बिर्सिए । आफूजस्तै मानिसहरु त्यहाँ रातमा सुत्न पनि नपाएको अवस्थालाई भुले । कम्तीमा आफू सत्तामा रहेको अवस्थामा कैदी बन्दीका आवश्यकता, उनीहरुको बसाइ, सुताइ, खानपानलाई ब्यवस्थित गर्नुपर्छ, उनीहरुलाई पनि मानवअधिकार चाहिन्छ, बाँच्न पाउने अधिकार आवश्यक हुन्छ भन्ने कुरालाई लत्याइदिए । सत्तामा पुगेपछि सत्ताको मात लाग्यो । तलव, भत्ता, सुविधा कसरी खल्तीमा राख्ने भन्ने कुरामामात्र ध्यान केन्द्रित भयो । जेलमा बस्दाका ती क्षणहरु बिस्मृत भए । हिराशतमा हुने प्रहरीको कुटाइ, तथानामको गाली गलौज, बस्नेसम्मको लागि स्थानको अभाव, खुल्ला रुपमा दिसा पिसाव गर्नुपर्ने वाध्यता सबै कुरा एकादेशको कहानी बन्न पुग्यो ।
कैदी बन्दी बस्ने ठाउँलाई नेताहरुले सुधार गृह भन्ने गर्छन् । वास्तवमा सुधार गृह हैन कि सबैजसो नेपालका हिरासत र कारागार यातना गृह बनिरहेका छन् । पौराणिक कालको नर्कको भनाइमा यमराजको तातो कराही बनेका छन् । हिरासतहरुमा त बन्दीले झुण्डिएर आत्महत्या गर्छन् भन्ने मनोगत धारणाा पालेर गर्मीको समयमा पंखासमेत जडान नगरिएका थुप्रै हिराशत देख्न सकिन्छ । जेलमा पनि लगभग त्यहि अबस्था छ । मानिसलाई जिउँदै मार्ने नर्क बनाइएको छ । आफूहरुले भोगेका नर्कहरुलाई कसरी सुधार गृह बनाउने, कसरी बन्दीहरुलाई समाजको सहयोगी बनाउने भन्नेतर्फ कुनै वास्ता गरिएको छैन । क्षमताभन्दा चार गुणा मानिस कोचेर राख्ने गरिएको समाचारहरु आइरहेका छन् । कतिपय कारागारमा त गर्मी याममा सर्पको विग्बिगी रहेको छ । पानी चुहिएर कुनामा रातभर नसुतिकनै गुजार्नु पर्ने वाध्यता छ । सुधार गृहमा हैन, मृत्यु गृहमा कैदी बन्दीलाई याताना दिने काम भइरहेको छ । जेलमा बसेकालाई लोकतन्त्रात्मक गणतन्त्र हैन, राणाकालीन यातना भोग्नु परेको छ । यसमा सबै तहका सरकारको ध्यान जानु आवश्यक छ ।