© २०२३
विश्वको अग्लो शिखर सगरमाथा देखि समुन्द्री सतह देखि ५७ मिटर मात्र उचाइमा रहेको मुसहरनिया विचको दुरी छोटो भएपनि यी दुइ ठाँउ विचको भोगोलिक विविधता निकै धेरै छ । यहि भौगोलिक विविधतामा रहेका हिमाल, पहाड , तराइ अनि नदि र पहाडले बनाएका खोच, गल्छी, उपत्यका र बेसिले नेपाललाई जैविक विविधतामा समेत सम्पन्न राष्ट्र बनाएका छन् । अहिले सम्म विस्वमा १७ लाख २९ हजार सात सय प्रजातिका जीवजन्तु र वनस्पतिहरु पहिचानं भएका छन् । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विस्वमा हालसम्म पत्ता लागेका वनस्पतिहरुका प्रजातिहरू मध्ये ३.३ प्रतिशत अर्थात १२ हजार ४८० प्रजतिहरु र जीवजन्तु प्रजातिहरू मध्ये १.१ प्रतिशत ( ११,७०६ प्रजाति ) नेपालमा पाइन्छन । वन्यजन्तु विभागका अनुसार नेपालमा २०८ प्रजातिका स्तनधारी, १२३ प्रजातिका घस्रने जीव , ११८ प्रजातिका उभयचर जीव ,र २३० प्रजातिका माछा पाइन्छन । चराको लागि त नेपाल स्वर्ग नै मानिन्छ । पंक्षी संरक्षण संघ नेपालका अनुसार नेपालमा ८६७ प्रजातिका चरा पत्ता लागेका छन् र अर्का नयाँ प्रजाति भेटिने क्रम वर्षेनी बढिरहेको छ । त्यसैगरी ६५१ प्रजातिका पुतलीहरु नेपालमा भेटिएका छन् । सानो क्षेत्रफलमा यति धेरै प्रजातिहरू पाइएकोले जैविक विविधताको दृष्टिमा नेपाल विस्वमा २५ औं र एशियामा एघारौं सम्पन्न राष्ट्र मानिन्छ ।
पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन । वन्यजन्तुहरुले वनको पारिस्थितिक प्रणालीलाई संचालन गरिरहेका हुन्छन । वनको संरक्षण र विस्तारमा वन्यजन्तुहरूको भूमिका ठुलो हुन्छ । बाली विविधिकरण, बाली विकास र कृषिकार्यमा जैविक विविधताले मुख्य भूमिका खेलेको पाईन्छ । वन्य वनस्पति र वन छेउछाउका खेतबारिहरुमा लगाइने बालीहरुमा परागसेचन गरि वनस्पति उत्पादकत्व वृद्धि गर्न चरा, किराफट्यांग्रा, मौरीले सहयोग पु¥याएका हुन्छन । बाघ , गैडा, अजिंगरजस्ता जीवले वन संरक्षणमा सहयोग गर्दछन । वन्यजन्तुले वनको प्राकृतिक सौन्दर्यताको रक्षा गर्दछन र पर्यटनमा सघाउँछ । नेपाल आउने अधिकांश पर्यटकहरु जंगल सफारी, पदयात्रा गरि गैडा, बाघ, हात्ती, चरा लगायतका जीवजन्तुहरु अवलोकनमा आफुलाई केन्द्रित गर्ने भएकोले नेपालमा पर्यटन विकासमा ठुलो मद्धत पुगिरहेको छ । नेपालका आदिवासिहरुको परम्परा र जीविकोपार्जन वन्यजन्तुसंग पनि सम्बन्धित भएको देखिन्छ । जडिबुटि, जनस्पतिहरु संकलन गरेर खाने, विक्री गर्ने कार्य मानव सभ्यताको विकासक्रम संगै चलिरहेको छ ।
विस्वब्यापी रुपमै अहिले जैविक विविधता संकटमा परिरहेका छन् । यसो हुनुको मुख्य कारण चोरि शिकारी, वन विनाश , तिब्र शहरीकरण र प्रदुषणलाई जिम्मेवार मानिन्छ । स्वदेशी र विदेशी बजारमा वन्यजन्तुका विभिन्न अंगहरुको ठुलो माग भएकोले विस्वभरी वन्यजन्तुहरुको शिकार गर्ने कार्य भैरहेको छ । पछिल्लो समयमा नेपालमा कमजोर वन व्यवस्थापन, प्रदुषण, अव्यवस्थित विकास निर्माण कार्य र जलाधार क्षेत्रको विनाशले वन्यजन्तु विनाशमा मुख्य भूमिका खेलेको छ । सुकुम्बासीको नाममा जंगल विनाश भएर जैविक मार्ग टुक्रनु, वैज्ञानिक वन व्यवस्थापनको नाममा गैह्र काष्ठ वनस्पति, वन्य फलफूलका विरुवा र कन्दमूलहरु तथा मिश्रित प्रजातिका झाडिहरु निर्मूल पार्ने क्रम बढेकोले वन क्षेत्रमा वन्यजन्तुको लागि चरन, आहारा, आश्रय तथा क्रिडास्थलको अभाव हुदै गएको छ । रुख काटछाँटको नाममा वनमा मानिसको निरन्तर चहलपहल भैरहने र हरेक वर्ष वनमा दोहिरिने वनडढेलोको कारणले वनस्पती र वन्यजन्तु उपस्थिति पातलिदै गएको छ ।
अचेल वन छेउछाउका खेतवारीमा किटनाशक विषादीको प्रयोग निर्वाध बढिरहेको छ भने शहरी क्षेत्र नजिकका वनहरू अघोषित डम्पिंग साइट बनिरहेका छन् । वनमा फ्याँकिएको फोहर वर्सादको पानीले वनमा छरिदा चरनक्षेत्र असुरक्षित बन्दै गएको छ । बाँच्नको लागि खेतवारीमा विषादीयुक्त अन्न, विषादीले मरेका साना जिव र वनको फोहर समेत खाँदा जिवजन्तुहरु मर्ने क्रम बढिरहेको छ । पछिल्लो समयमा भूक्षयले वन क्षेत्रमा भएका पोखरी, ताल, खोल्सा र खोलाहरु पुरिदै गएका छन् । यस्ता कार्यहरुले वन क्षेत्रमा पानीको अभाव हुन् गई वन्यजन्तुको आहार विहार र वनस्पति विकासमा प्रतिकुल असर परिरहेको छ । खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जादा त्यसको प्रत्यक्ष असर छेउछाउको जैविक विविधतामा परिरहेको छ । वृक्षारोपण गर्दा आयातित विरुवाहरु रोप्ने, अधिक उत्पादनको लागि हाइब्रिड बिउ रोप्ने जस्ता कार्यले नेपालका रैथाने जीवजन्तु र वनस्पतिहरु हराउने चिन्ता बढेको छ ।
वन तथा कृषि प्रणालीको संचालन, सौन्दर्यता र पर्या—पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका जैविक विविधता मानिसका अमुल्य सम्पत्ति हुन् । मानिसको अज्ञानता, लापरवाही , बाध्यता र केहि स्वार्थले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् । अहिलेको चुनौती भनेको जैविक विविधताुमा भैरहेको निर्भरतालाई घटाउदै यिनीहरुको संख्या विस्तार गर्नु हो । वृक्षारोपण गरेर, मानिस र समुदायलाई कारवाही गरेर र वन प्रवेशमा रोक लगाएर मात्र जैविक विविधता संरक्षण गर्न सकिदैन । जैविक विविधता संरक्षणका कार्यलाई सिमसार संरक्षण, वन व्यवस्थापन र दिगो अर्गानिक कृषिसँग जोडेर एकीकृत गरेर लैजानुपर्छ । जैविक विविधता संरक्षण र प्रयोग सम्बन्धि समाजमा अनेकौ रैथाने ज्ञान र सिप छरिएर रहेका छन्, यस्ता ज्ञान र सीपको संकलन, प्रचार र व्यवहारिक रुपमा लागु गर्ने काम गर्नुपर्छ ।
रासायनिक विषादीले जैविक विविधताको संरक्षणमा ठुलो चुनौती थपेको छ, त्यसैले यसको उत्पादन, आयात, विक्री र प्रयोगमा कडाई गर्नुपर्छ । डढेलो रोकथाम, जडिबुटी र अन्य वनस्पतिको व्यवस्थित संकलन, जैविक करिडोर निर्माण, शहरी हरियाली वृद्धि जस्ता कार्यहरुलाई जैविक विविधता संरक्षणको अभिन्न अंगको रुपमा संचालन गर्नुपर्छ । तिनै तहका सरकार र संरक्षणमा संलग्न निकायहरुले यी कुराहरु समयमै बुझ्न सकेमा नेपाल जैविक विविधताको स्वर्ग रहिरहनेछ र यसबाट नेपालीले लाभ लिइरहन सक्नेछन् ।