© २०२३
कोरोनाको दोस्रो लहरको प्रभावले फेरि अर्थतन्त्र जोखिममा परेको छ । गत वर्षको कोरोना प्रभावले थलिएको अर्थतन्त्र माथि उठ्ने तयारी हुँदै गर्दा दोस्रो लहरको सुरुवातीले मुलुकको समग्र क्षेत्र प्रभावित भएको छ । अर्थतन्त्र जोखिममा रहेपनि एसियाली विकास बैकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले हालै सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदनले सन् २०२० को १.९ प्रतिशतको ऋणात्मक आर्थिक वृद्धिदरमा सुधार हुने उल्लेख गरेको हो । बैंकको प्रक्षेपणले नेपाललाई थोरै भएपनि आशा जगाएको छ । त्यो आशा आगामी दिनमा कोभिडको प्रभाव कुनरुपमा जाने हो त्यसले निक्र्यौल गर्ने नै छ । गतवर्ष देशव्यापी बन्दाबन्दीबाट बिस्तारै बजार खुला हुँदैगएको र आन्तरिक माग बढ्दा आर्थिक वृद्धिदरमा सुधार आउने अवस्था बनेको बैंकले जनाएको छ । कोरोना संक्रमण नियन्त्रणकालागि जारी खोप अभियानले पनि अर्थतन्त्र बलियो बनाउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर विडम्वना दोश्रो डोजको खोप लिएकाहरुमा पनि कोरोना पोजेटिभ देखिएपछि खोपको प्रभावकारीतामाथि प्रश्न उठेको छ ।
नेपालमा आएको खोप प्रभावकारी देखिएको समाचार बाहिर आईरहँदा आम मानिसमा विश्वास स्थापित भएको छ । खोप लगाएपछि सुरक्षित भइन्छ भन्ने विश्वास बढ्दा त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव जान्छ भन्ने हो । कोरोनाको जोखिम बढेमा त्यसको असर अर्थतन्त्रमा पर्ने कुरामा विवाद छैन । किनभने यो विगतले पनि सिकाएको र देखिएको पाठ हो । उता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दोस्रो लहरको कोरोना महामारीले अर्थतन्त्र थप जोखिममा पर्ने सम्भावना देखिएको बताउनु भएको छ । यद्यपि यो नयाँ कुरा होइन तर सरकारको आधिकारिक संस्थाबाट आएको कुरा आधिकारिक ठान्नुपर्दछ । राष्ट्र बैंक समग्र वित्तीय संस्थाको अनुगमन र निर्देशन गर्ने निकाय हो । महामारीले गतवर्ष विशेषगरी होटल तथा रेस्टुरेन्ट, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्रलगायतमा गम्भीर असर गरेकै थियो । यो वर्ष पनि ती क्षेत्र नै सवैभन्दा बढी प्रभावितमा पर्ने संभावना छ । विगतमा नेपाल राष्ट्र बैंकले अर्थतन्त्रबाट प्रभावित क्षेत्रलाई माथि उठाउन जारी गरिएको मौद्रिक नीतिको भारी प्रशंसा भएको थियो । अहिले पनि राष्ट्रबैंकले सोही अनुरुपको मौद्रिक नीति सार्वजनिक गर्ने संभावना छ । आम उद्यमी र व्यवसायी त्यो आशाको पर्खाइमा छन् । अहिले कोरोनाको लहर सिर्जना भैरहेकोले यसको उतारचढावको अवस्था र प्रभाव हेरी सरकारको तर्फबाट राष्ट्रबैंकले केही पुनरुत्थानका योजना सार्वजनिक गर्ने आम विश्वास छ । महामारीबाट अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्न विगतमा विभिन्न नीतिहरू अवलम्बन गरिएको थियो । अहिले पनि ती नीतिमा सुधार गरी लागू गर्न सकिएको अवस्थामा सुधारको आशा र अपेक्षा कायमै हुनेछ । गतवर्ष राष्ट्रबैंकले आर्थिक पुनरुत्थानमा सघाउ पु¥याउन कर्जाको व्याजदर कम, अनिवार्य नगद अनुपातलाई ३ प्रतिशतमा कायम राख्दै निक्षेप संकलनको दरलाई १ प्रतिशतको बिन्दुले र रिपो दरलाई ०.५ प्रतिशत बिन्दुले घटाएको थियो । त्यो परिवर्तनको अवस्थालाई अहिलेपनि कायमै राख्ने वा त्यसमा सुधारात्मक संशोधनको काम थालिए निश्चय नै अर्थतन्त्र बचाउन थप प्रभावकारिता हुन सक्छ ।
सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई जोखिमबाट जोगाउन उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनर्कर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनर्कर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले पुनर्कर्जा कार्यविधि जारी गरी उपलब्ध कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने सक्ने व्यवस्था गरेको छ । यो निकै राम्रो योजना हो । यसबाट बढीभन्दा बढी उद्योगी व्यवसायीले लाभ लिनसक्नु जरुरी छ । बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य उद्योग र रुग्ण उद्योगलगायतका तोकिएका क्षेत्रमा विशेष पुनर्कर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र ३ प्रतिशत ब्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनर्कर्जा प्रदान गर्ने राष्ट्रबैंकको नीति छ । त्यसको निरन्तरता आजको आवश्यकता हो ।
मौद्रिक नीतिले ऋणीहरूलाई चालु पूँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । आन्तरिक उत्पादनलाई प्रोत्साहित गरी रोजगारी अभिवृद्धिमा सघाउ पु¥याउने अभिप्रायले वाणिज्य बैंकहरूले लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा १ करोड रूपैयाँभन्दा कम रकमका कर्जा क्रमिक रूपले बढाउँदै जाने गरी २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत, ऊर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत र कृषि क्षेत्रमा २०८० असारसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । तर त्यो व्यवस्थाको कार्यान्वयनमा शंका उत्पन्न भएको छ । कतिपय अवस्थामा बैंकहरुले राष्ट्रबैंकको नीतिलाई नजरअन्दाज गरी लगानी अन्यत्रै मोड्ने प्रयास पनि गर्दै आएको तथ्यलाई विर्सन सकिदैन । पहुँच र प्रभावमा बैंकहरुको लगानी जोखिममा परिरहेको सुन्दै आएको विषय हो ।
एसियाली विकास बैंकको तथ्याँकलाई आधार मान्ने हो भने गत वर्षको उपयुक्त मनसुन र बालीहरूमा आएको सुधारकाकारण नेपालको कृषि क्षेत्रमा २.४ प्रतिशतको वृद्धिदर हुन सक्नेछ । बन्दाबन्दीपछि उत्पादनमूलक र सेवा उद्योग बिस्तारै खुला हुनथालेको बैङ्कले उल्लेख गरेको छ तर साना तथा घरेलु किसिमका उद्योग बन्दाबन्दीबाट अत्यधिक प्रभावित भएकाले त्यस्ता उद्योगले सहुलियतपूर्ण ऋण सुविधा प्राप्त गरेको अवस्था छ । बैंकले यो तथ्याँक प्रक्षेपण गरिरहँदा नेपालको कोरोनाको दोस्रो लहर यो अवस्थामा आउने निश्चित थिएन । त्यसकारण बैंकको यो तथ्याँकमा आकाश जमिनको परिवर्तन हुनसक्छ भन्ने कुरा विर्सिनु हुँदैन । निर्माण क्षेत्रमा आएको सुधार र केही महत्वपूर्ण आयोजनाको निर्माण सम्पन्न हुने भएकाले चालू आर्थिक वर्ष २०७७÷७८ मा अर्थतन्त्र सुधारमा व्यापक परिवर्तन आउन सक्ने अवस्था रहेको बैंकको निष्कर्ष छ, तर कोरोनोका जोखिम फेरि बढिसकेको र नेपालमा निषेधाज्ञा लागू भैसकेकोले फेरीपनि अर्थतन्त्र प्रभावित हुने छ र ३.१ को आर्थिक बृद्धि चुनौतिपूर्ण हुनेछ ।
अध्यारोपछि उज्यालो अवश्य आउँछ भनेझै नेपालको अर्थतन्त्र सुधारका धेरै गोरेटाहरु छन । अर्थतन्त्रमा अहिले देखिएको अध्यारो अवस्थाको अन्त्य अवश्य हुनेछ र उज्यालो दिन देख्न पाइनेछ । त्यसकालागि फेरिपनि सरकार र नीजि क्षेत्र एकसाथ अघि बढ्नु जरुरी छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भनेझै नीजि क्षेत्र जोखिम बहन गर्न सक्षम छ तर पछाडीबाट काँध थाम्ने काम भने सरकारले गर्नैपर्दछ । सरकार र नीजि क्षेत्र एकसाथ अघि बढे नेपालको अर्थतन्त्रमा देखिएको कालो बादल फाट्ने छ । नीजि क्षेत्रलाई अघि बढाउन होस्टेमा हैंसे गर्ने काम सरकारको काँधमा आएको छ । अहिलेको जटिल अवस्थाबाट देशलाई मुक्ति दिने हो भने सरकारले सुधारका प्रयास गर्नैपर्दछ । नीजि क्षेत्रलाई साथमा लिनैपर्दछ । एडीवीले भनेजसरी आर्थिक बृद्धिको संभावना क्षीण छ । कोरोनाको दोस्रो लहर नआएको भए आर्थिक बृद्धि ३.१ बाट अझै माथि जाने संभावना थियो । त्यो संभावनामा कृषि क्षेत्रले आशा देखाएको थियो । त्यससंगै पर्यटन क्षेत्र चलायमान बन्दै थियो । उद्योग स्थापनाको क्रम बढ्दै थियो । निकासी बढ्दै थियो । आयात तुलनात्मक रुपमा नियन्त्रणमा आउन नसकेपनि त्यसमा पनि सुधारको प्रयास भएको थियो । अफशोष कोरोनाको दोस्रो लहरले अर्थतन्त्र सुधारका संभावनामाथि प्रहार भएको छ । अझै निश्चित छैन– कोरोनाको जोखिमपूर्ण अवस्था कति कायम हुने हो । कोरोनाको आयुमा नै देशको अर्थतन्त्रको प्राणजन्य आधार निर्भर रहनेछ ।
अन्त्यमा, हामी आशाबादी वन्नैपर्दछ । यसअघि पनि महामारी आएकै थिए । सय वर्ष अगाडी प्लेगको महामारीले विश्वका पाँच लाख मानिसको मृत्यु भएको थियो । त्यसप्रकारको महामारी कोरोनाको रुपमा विश्वमा दोहोरिएको छ । विश्वकै अर्थतन्त्र प्रभावित भएको छ । अमेरिकाजस्तो विश्वकै आर्थिक स्तम्भ कोरोनाकाकारण प्रभावित भएको छ । हाम्रो जस्तो सानो मुलुक त्यो पनि परनिर्भर अर्थतन्त्रमा विश्वास राख्ने हामी नेपाली कोरोनाको दोस्रो लहरले प्रभावित भएका छौं । आर्थिक बृद्धिको संभावना हुँदाहुँदै पनि संकुचनमा परेका छौं । यो जटिल महामारीबाट हामी र हाम्रो अर्थतन्त्र जोगाउने अभिभारा सरकारको हातमा छ । नीजि क्षेत्रले भनेजस्तै महामारीमा हतास होइन संयम भएर जोखिमसंग लड्ने साहस जुटाउनु जरुरी छ ।