© २०२३
बैशाख २३ गते धार्मिक शहीद पं. नारायण प्रसाद पोखरेलको स्मृति दिवस हो । यस क्रान्तिकारी समाज सुधारकको रहस्यमय हत्याको डेढ दशक पार भइसकेको छ । गोरखाको लुईंटेल स्कुलका तीनजना छात्रमध्ये पोखरेल एक थिए । रुपन्देहीको इतिहासमा यो दिन एक यस्तो दिनको रुपमा संझनामा रहनेछ, जसलाई संझन नपरोस् भन्ने सबैको चाहना छ ।
देशको भौतिक विकास, आध्यात्मिक जागरण र अस्पश्र्यशता निवारणमा अभूतपूर्व काम गर्ने पं. पोखरलेको हत्याको खबर विश्वभरि नै जंगलको आगो सल्केजस्तै गरी फैलियो । २०६२ बैशाख २३ गते लाखौं नेपाली आंखाले आंसु खसाले पनि राष्ट्रद्वारा उनलाई कुनै विशेष सम्मान प्रदान गरिएको छैन । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका तत्कालिन अध्यक्ष रहेका पं. पोखरेल त्यसबेला वाचन शिरोमणिको नामले विख्यात थिए । त्यसबेला पनि समाजमा भयको माहौल थियो । आज महामारीको भय जस्तै माओवादी अशान्तिको भयले त्यसबेला समाज भयग्रस्त थियो । त्यसैले पं. नारायणप्रसाद पोखरेलका लागि सामूहिक श्रद्धाञ्जलिको कुनै सार्वजनिक कार्यक्रम भएन ।
भागवतका गम्भीर भक्तिभावलाई स–साना टुक्कामा उनेर उनले सामान्य व्यक्तिले सजिलै बुझ्ने गरी नेपाली शैली र लोक भाकामा प्रस्तुत गर्दथे । आफ्नो किसिमको अनौठो त्यो संगीतमय भजन कीर्तन, भागवतको मीठो कथा, सुरीलो गला, हँसिलो अनुहार र यी सबै कार्यमा उनले जुटाएको जनसहभागिताले त्यस बेलाको भयग्रस्त वातावरणमा एउटा सञ्जीवनीको काम गरिरहको थियो समाजका लागि । उनको यस योगदानबाट समाजमा एक नया“ आत्म विश्वासको भावना उत्पन्न भएको थियो । प्रेम गुरुङ्, तोयनाथ भट्ट लागयत ६–७ जनाको उनको आफ्नो गायन, वादन र नर्तकको एक टोली थियो ।
उनका प्रशंसकहरुमा सामाजिक सुधारक, राजनैतिक नेता–कार्यकर्ताहरू, विद्यार्थी, शिक्षक, चिकित्सक, अभियन्ता, गृहिणी, सरकारी कर्मचारी, वकील, न्यायमूर्ति, प्रहरी र सेनाका व्यक्ति, व्यापारी, पत्रकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित व्यक्ति लगायत सबै क्षेत्रका व्यक्तिहरू रहेका छन् । अरुका के कुरा, राजा वीरेन्द्रले पोखरामा पोखरेलमा र लौह पुरुष गणेशमान सिंहले काठमाडौंमा कथा स्थलमा गएर नै पोखरेलका कथाको आनन्द प्राप्त गरेका थिए । देशका कुना कुनामा गएर, त्यस घोर निराशाको समयमा नेपालीहरूलाई त्यसैगरी प्रेरणा प्रदान गरेका थिए जसरी सुगौली सन्धि पछि हीन भावनाले ग्रसित नेपालीहरुलाई भानुभक्तले रामकथाद्वारा उत्साहित गरेका थिए ।
धार्मिक क्रियाकलापलाई केवल परलोक प्राप्तिको अमूर्त साधन मात्र नबनाएर भौतिक उन्नति तथा दलित र पिछडिएको वर्गलाई महायज्ञहरुमा सम्मानित स्थान प्रदान गर्नका लागि आफुलाई सम्पूर्ण रुपमा समर्पित गरेका थिए । भागवत कथाबाट हिन्दू धर्ममा नवजागरण गर्दै त्यसलाई आर्थिक असमानता तथा अस्पृश्यता हटाउनमा उदाहरण बनेका पं. पोखरेलले आध्यात्मिक चिन्तन तथा भौतिक विकास एकै साथ गर्ने संकल्प लिएर राज्यले गर्न नसक्ने भौतिक विकास र समाज सुधारका कार्य गरीदिएका थिए । पोखरेलले हरेक महिना सामाजिक विकासका एक दुईवटा कार्यक्रम प्रारम्भ गरीदिन्थे । प्राथमिक स्कूल, माध्यमिक स्कूल, उच्च मावि, क्याम्पस, महिला क्याम्पस, महिला विश्वविद्यालय, प्राविधिक शिक्षालय, नेत्रहीनका लागि विशेष विद्यालय, अस्पताल, खानेपानी, बाटो, पुल, बृद्धाश्रम इत्यादि अनेक नौला क्षेत्रमा समाज कल्याणका लागि उनले प्रशस्त स्रोतको मुहान प्रारम्भ गरीदिन्थे । नेपालको जनसंख्याको दृष्टिकोणले उनले त्यस बेला दुई अरब पूंजी परिचालन गराइदिएका थिए । यसका अतिरिक्त उनले हजारौं समाजसेवीलाई आफ्नो क्षेत्रमा समाजसेवा गर्न प्रोत्साहन गरेका थिए । १००० भन्दा बढी भागवत कथा सम्पन्न गराएका पं. पोखरेलको ११३६ औं भागवत कथा र धन धान्याचल संचालन हुंदै गर्दा व्यासासनमा नै बैशाख २३ गते रामापुरमा रहस्यपूर्ण हत्या भएको थियो । व्यासासनमा बसेका, यज्ञ कर्ता ऋषिहरुलाई हत्या गरेको यो विवरण रामायणको त्यस प्रसंगजस्तै छ जब सुतीक्ष्ण आदि ऋषिहरुले वनमा मानिसका खप्पर देखाएर रामलाई भनेका थिए, हे राम, यी सबै ऋषिका खप्पर हुन् जुन यज्ञ गर्न बसेका थिए । यिनीहरुको हत्या राक्षसहरुले गरिदिएका हुन् । यसबाट हामी सबै भयभीत छौं ।
पं. पोखरेलको हत्या त्यस बेला भएको थियो जब माओवादी नेता डा.बाबुराम भट्टराईको बारेमा थरी थरीका हल्ला चलेका थिए । बी बी सी नेपाली सेवाले उनी जीवित छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन भन्ने समाचार प्रसारित गरेको थियो ।
पं पोखरेलले कथाको माध्यमबाट भौतिक विकास, धार्मिक जागरणमा नवप्रवर्तन गर्दै अस्पश्र्यता निवारण कार्यलाई महायज्ञमा अभियानको रुपमा संचालित गराइ रहेका थिए । करीब ४० प्रतिशत हिन्दु रहेको दक्षिणी अमेरिकाको सानो देश ट्रिनीडाडमा सम्पन्न विश्व हिन्दु महासम्मेलन पछि उनले तत्कालीन हिन्दु राष्ट्र नेपाललाई विश्वका हिन्दुहरुको एकमात्र केन्द्रको रुपमा विकसित गर्ने र यस कामका लागि विश्व हिन्दु महासंघ सक्रिय हुनु पर्छ भन्ने कुरा तीव्र अनुभव गरेका थिए । आफ्नो समयमा यदा कदा उठ्ने गरेका धर्मनिरपेक्षताका आवाजहरुको उनले तीव्र विरोध गर्दथे । आफ्नो अभियानको समर्थनमा राजनैतिक नेताहरुकहां गएर लबी गर्ने र आफ्नो पक्षमा समर्थन जुटाउने गर्थे ।
पं. पोखरेलको हत्या भए पछि हिन्दु राष्ट्रको समर्थनमा बोल्न सक्ने उहां जस्तो बुद्धिमान र साहसिलो अर्को त्यस्तो व्यक्ति देखिएन । त्यसैले भट्टराईलाई जंगलमा जनसेनाको सुरक्षामा राख्नु, सोही समय नारायण प्रसाद पोखरेलको हत्या हुनु र त्यसको एक वर्ष नपुग्दै नेपाललाई धर्म निरपेक्ष घोषणा गर्नु यी तीन घटनामा कपट सन्धानित सम्बन्ध त थिएन भनी शंका गर्ने ठाउं रहन्छ । जसको निराकरण गर्नु लोकतान्त्रिक सरकारको जिम्मेवारी हो । किनभने सरकारले गरेको आधिकारिक छानबीनलाई जनताले विश्वास गर्दछन् ।