© २०२३
नीतिशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकटमा पारेर भए पनि अर्थ आर्जनका प्रयास गर्नुपर्छ । आचार्य विष्णु शर्माले भनेका छन्– जसरी भोजनले गर्दा शरीरका सशक्त बनेका इन्द्रियहरुले शरीरका सम्पूर्ण काम आफैं गरिरहेका हुन्छन्, त्यसैगरी धन उपस्थित हुनासाथ मानिसका सबै आवश्यकता आफैं पूरा भइरहेका हुन्छन् । त्यसैले वित्तलाई समस्त साधनहरुको कारण भनिन्छ ।
पर्वहरुलाई वर्ण परम्परामा विभाजन गरी श्रावणी ब्राह्मणको, दशैं क्षत्रीयको, दीपावली वैश्यको र होली अन्त्यजहरुको पर्वको रुपमा मान्ने परम्परा भए तापनि अहिले यी सबै पर्वहरु हिन्दु मात्रको भएका छन् ।
यस महत्त्वलाई हार्दिक सम्मान दिने पर्व हो तिहार । यसका सबै पर्वले केही न केही सन्देश दिएका छन् । तर यसको नाम दीपावलीले लक्ष्मी पूजालाई जनाउँछ । गाई पूजा पनि एक प्रकारले लक्ष्मी पूजा हो भने गोवद्र्धन सहकालको कामनासाथ गरिएकोले त्यो पनि धनधान्यको सम्मान हो भन्न सकिन्छ । कागले शुभसन्देशका लागि र कुकुरले मित्रता, र सुरक्षाका लागि सम्मान पाउंछ । भाइतिहारले पारिवारिक प्रेम बिना धन अर्थहीन छ भन्ने सन्देश दिएको छ । आयुर्वेद प्रवत्र्तक धन्वन्तरी दिवस मनाएपछि मात्र लक्ष्मी पूजा गर्नुको एक प्रतीकात्मक अर्थ पनि छ, त्यो के हो भने शरीर स्वस्थ छ भनेमात्र ऐश्वर्यको भोग गरेर आनन्द लिन सकिन्छ । रोगी र निस्तेज शरीरलाई धनलेमात्र सुख प्रदान गर्न सक्ंदैन ।
कुन यस्तो काम छ जुन धनले पूरा गर्न सक्दैन ? त्यसैले भनिन्छ– देवी लक्ष्मी तिमीलाई ब्रह्मा विष्णु र महेश्वरले ध्याउन्ना गर्छन् । लक्ष्मी भनेकै ऋद्धि सिद्धि दुवै हुन् । ऋद्धिको अर्थ हो सन्तुष्टि, प्रशस्त । ऋद्धिमा प्रयुक्त शब्द ऋ शक्तिको प्रतीक हो । सिद्धि भनेको सफलता हो । जुन घरमा लक्ष्मी छन् त्यहाँका मानिस जुनसुकै काम गर्न आँट प्राप्त गर्छन् । किनभने उनकालागि सबै सम्भव छ । यज्ञ, वस्त्र, भोजन, घरको सम्पन्नता बिना लक्ष्मी कसरी प्राप्त हुन सक्छ ? लक्ष्मीको गुणगान यही कारणले सबैले गर्छन् ।
लक्ष्मीको सर्वाधिक प्रचलित प्रतीक हो मुद्रा, धन, नोट । संसारका सबै मुद्राहरुमा नोटलाई कुनै कुनै रुपमा पवित्रता, शक्ति र गौरवको रुपमा लिइन्छ । इन्डोनेशियाको मुद्रामा कुबेर र गणेशको चित्र अंकित गरिन्छ । जबकि त्यो एक इश्लामिक देश हो । अमेरिकाको डलरमा लेखिएको छ इन गड वी ट्रष्ट । अन्य देशमा त्यस देशको सबभन्दा प्रतिष्ठित र पूज्य कुरालाई मुद्रामा अंकित गरिन्छ । जसले मुद्रालाई त्यही सम्मान प्रदान गर्छ जुन हामीले देवी लक्ष्मीलाई प्रदान गर्छौं ।
स्वाभाविक रुपमा मानिसहरुलाई चाडबाडले मनोरञ्जन र प्रसन्नता पनि दिन्छन् । तर पनि चाडबाड भित्र सन्देश लुकेका छन् । हाम्रा चाडबाड ऋतु परिवर्तन, पारिवारिक मिलन, वातावरणीय सन्तुलन, प्रकृति सम्मान, बाली भित्राउने खुशियाली इत्यादि धेरै कुरालाई संकेत गर्छन् । विगतमा जुन जुन उपलब्धिकालागि यी चाडबाड मनाइए ती सबै वर्तमान चाडमा कहिँ न कहिँं गाँसिएका छन् । जसलाई अनुभव गर्न सक्नुपर्छ ।
प्रत्येक पर्वकालागि कुनै न कुनै मन्त्र, गीत वा संगीत निर्माण गरिएका छन् । ती गीत, संगीत, कथा र मन्त्रले हामीलाई हाम्रा ती पुर्खासंग लिंक जोड्छ जसले यी चाड पर्व सुरु गरेका हुन् । निश्चित रुपमा उनीहरुले सुरु गर्दा यी चाड अर्कै रुपमा थिए होलान् । कतिपटक यी चाडको समय परिवर्तन भए होला ? चाड मनाउँदा कतिपटक राज्य व्यवस्थासंग विवाद पनि परे होला । कुनै चाड समाजले बढी मन पराएको होला । कुनै चाड राज्यले बढी मन पराएको होला । यी सबैको प्रभाव चाडबाडमा परे होला । उदाहरणका लागि राजा अकबरको समयमा रक्षा बन्धन पर्वलाई प्रतिबन्ध लगाइयो । यो कुरा जहाँगीरले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । आज कुनै अन्य कारणले भए पनि चाडबाड खुम्चिएका छन् । धेरैजना जम्मा नहुने निर्देशनको पालन गर्दै नेपालीहरुले दशैं खुम्चिएर मनाए । फेसबुक, म्यासेन्जर तथा व्हाट्स अपमा एक अर्काले हेरे चित्त बुझाए । एकजना फेसबुक मित्रले त दिक्क भएर लेख्नु भएको थियो– दशैं दुब्लायो ।
विगतमा पनि चाडबाडमा महामारी, मौसम सबै कुराको प्रभाव परेको थियो होला । तथापि अर्को वर्ष त्यो कमी पूरा हुंदै आएकोले यी चाडहरु जीवित छन् । त्यसमा पनि दीपावलीको सुन्दरता अवर्णनीय छ । प्रकृतिले चारैतिर सुन्दर मौसमी फूल फुलाएर मानौं दीपावलीलाई स्वागत गर्दछ् । मानिसहरुले घर, झ्याल, ढोका सफा गरेर, रंग लगाएर, घर लिपेर लक्ष्मीलाई स्वागतको तैयारी गर्छन् ।
लक्ष्मीको उत्पत्ति समुद्र मन्थनबाट भएको पौराणिक कथा छ । समुद्र मन्थनमा सुर र असुर दुवैको समान परिश्रम परेको कुरा पुराणहरुमा स्पष्ट गरिएको छ । यस कथाले हाम्रा पुर्खाहरुको अनौठो कल्पनाशीलता, प्रतीकात्मकता र उदार हृदयतालाई पनि स्पष्ट गर्छ । धनको उत्पादनमात्र होइन त्यसको उपभोग पनि महत्वपूर्ण कुरा हो । धनको सही उपयोगको कामना पनि लक्ष्मीपूजाको एक उद्देश्य हुनुपर्छ । असुरहरुले सही उपयोग गर्न नसक्ने भएकोले लक्ष्मी आफैंले देवतालाई रोजेर विष्णुसंग गइन् ।
उज्यालोको चाड दीपावलीसंग के मान्यता छ भने दीपावलीको अवसरमा लक्ष्मीले प्रत्येक गृहस्थको घरमा गएर आफू बस्नलायक योग्य घर कुन हो भनेर खोज्दै हिंड्नुहुन्छ । घरको स्वच्छता, सुन्दरता र शोभा यी सबै कुरालाई हृदयंगम गरी सुन्दर घरमा लक्ष्मीको वास हुन्छ । जुन गृहस्थको घरमा स्वच्छताको अभाव छ लक्ष्मीको वास त्यहाँ हुँदैन ।
लक्ष्मीले कस्तो ठाउँमा वास गर्छिन् भन्ने बारेमा महाभारत शान्ति पर्वमा यस्तो कुरा उल्लेख छ –
जुन पुरुष निर्भीक, सच्चरित्र, कर्तव्यपरायण, विनम्र, भगवद् स्मरण गर्ने, जितेन्द्रिय, स्वधर्म र कर्तव्य पालन गर्ने तथा सदाचरणयुक्त हुन्छ त्यसकहाँ लक्ष्मीको वास हुन्छ । यसैगरी जुन स्त्री क्षमाशील, जितेन्द्रिय, सत्यपरायण, शीलवती, पति परायण, सबको मंगल कामना गर्ने, तथा सद्गुणी छन् तिनीहरुकहाँ पनि लक्ष्मीको वास हुन्छ ।
यसका विपरीत अकर्मण्य, नास्तिक, वर्णसंकर, दुराचारी, क्रूर, गुरुजनको दोष खोज्दै हिँड्ने, कर्तव्यपरायणताको अभाव हुने पुरुष तथा आप्mनो घर गृहस्थीको बेवास्ता गर्ने, सोच विचार नगरी काम गर्ने, निर्लज्ज, अपवित्र, झगडालु, र अल्छी स्त्रीहरुकहाँ पनि लक्ष्मीको वास हुँदैन भनिएको छ ।
यसबाट स्पष्ट हुन्छ कि लक्ष्मीले वास गरुन् यसकालागि केवल लक्ष्मी पूजनमात्र पर्याप्त छैन उनको स्थायी बसोबासकालागि मानिसले प्रयासपूर्वक आफू भित्र केही विशिष्ट गुणहरुको सिर्जना गर्नु पनि उत्तिकै जरुरी हुन्छ । श्री यन्त्र बनाएर श्रीसूक्त पढेर देवी लक्ष्मीको आराधना गरिन्छ ।
देवी लक्ष्मीको स्तुतिका अनेक मन्त्र र यन्त्र छन् । श्री सूक्त, कनकधारा स्तोत्र, महालक्ष्मी स्तोत्र इत्यादि । एउटा निम्नलिखित मन्त्र जप गर्न सकिन्छ
ॐ महालक्ष्मै विद्महे, विष्णप्रियाय धीमहि तन्नो लक्ष्मीः प्रचोदयात् ।।
ॐ आद्यन्तरहिते देवी आद्यशक्ति महेश्वरी ।
योगजे योगसम्भूते महालक्ष्मि नमोऽस्तुते ।।
स्थूल सूक्ष्ममहारौद्रे, महाशक्ति महोदरे ।
महापापहरे देवि महालक्ष्मि नमोऽस्तुते ।।
पद्मासनस्थिते देवि परब्रह्म स्वरुपिणि ।
परमेशी जगन्मातm महालक्ष्मि नमोऽस्तुते ।।
श्वेताम्बरधरे देवि नालंकारभूषिते ।
जगत्स्थिते जगन्मातः महालक्ष्मि नमोऽस्तुते ।।
व्यापारिक प्रतिष्ठानहरुमा लक्ष्मीको विशेष पूजा गरिन्छ । द्रब्यका साथै मसीलाई महाकालीको स्वरुप, लेखनीलाई देवस्वरुप तथा बही खातालाई सरस्वतीको स्वरुप मानेर मसी, कलम र खाताको पूजन गर्नुपर्छ ।
धन सम्पत्तिको रेखदेख गर्ने देवता कुबेर भएकाले उनको पनि पूजन गर्नुपर्छ । रुपैयाँ राख्ने सेफलाई नै कुबेरको स्वरुप मानिन्छ ।
दीपावलीको पर्वको विशेषता के हो भने यसले सबैलाई प्रसन्नता प्रदान गर्छ । गृहिणीलाई स्वच्छ, सुन्दर र शोभायुक्त घर प्राप्त हुन्छ, किसानलाई अन्न बाली भित्रिने खुशियाली प्राप्त हुन्छ, पारिवारिक हिसाबले भेटघाटको खुशियालीको अवसर हुन्छ भने व्यापारीकालागि आफ्नो हिसाब किताब फस्र्यौटको खुशियाली प्राप्त हुन्छ ।
दीपावली उज्यालोको चाड हो जसले अन्धकारबाट उज्यालोतर्फ जाने मानवीय चाहना प्रतिबिम्बित गर्छ । त्यसैले भनिएको छः तमसोमा ज्योतिर्गमय ।