© २०२३
क्यालेण्डरमा हेर्दा अझै पनि भारी बर्षा र अत्याधिक बर्षा देखाइरहेको छ । पछिल्लोपटक ढोरपाटनमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भयो । अहिले पनि कैयौँ मानिसहरु बेपत्तामै छन् । यो बर्ष वास्तवमा बाढी पहिरोको पीडा नेपाली जनताले निकै भोग्नुपर्यो । जमिनमा बसेको माटो, ढुंगा र लेदोको ठूलो भाग विचलन हुने र सामान्यतया ओरालो भागमा खस्ने प्रक्रियालाई पहिरो भनिन्छ । लगातार पर्ने वर्षाकाकारण ठाडो झुण्डिएको जमिन खस्ने, हिम पग्लिएर जमिनको भाग बगाउने, पानीको सतह बढ्ने, नदि तथा खोलाबाट हुने कटान, भूकम्प, ज्वालामुखी विस्फोट र अन्य मानवीय क्रियाकलापबाट पहिरो जाने गर्दछ । अर्थात् प्राकृतिक तथा मानवीय दुवै क्रियाकलापको नतिजाबाट पहिरो गएको हुन्छ । यसैगरी केही भूभागको बनोट र संरचनागत चरित्रकाकारण पनि पहिरो जाने गर्दछ । खासगरेर भूकम्प र घनघोर वर्षात्जस्ता प्राकृतिककारण र जङ्गल विनास र खानीजस्ता मानवीय क्रियाकलाप पहिरो जानुको मुख्य कारणहरू मानिन्छन् ।
पहिरो सामान्यतया तलतिरै खसेको हुन्छ । गुरुत्वाकर्षणको नियमअनुसार यस्तो भएको हो । वाशिंटन प्राकृतिक स्रोत विभागले गरेको सर्भेक्षण प्रतिवेदनअनुसार पहिरो जानुमा गुरुत्वाकर्षण र यसकालागि भिरालो जमिन, वर्षा र घर्षणजस्ता तत्वले निर्णायक भूमिका खेल्ने देखिएको छ । पहिरो तलतिर जानुमामात्र नभएर पहिरो जानुमै गुरुत्वाकर्षण बलको भूमिका हुने गर्दछ । माटो, ढुंगा र अन्य पदार्थ मिलेर संयुक्त आन्तरिक बल निर्माण गरेका हुन्छन् । यसैगरी जमिनको ढालमा ती पदार्थको घर्षण निर्माण भैरहेको हुन्छ । पहिरो जाने क्रममा यी पदार्थको आन्तरिक बल र घर्षणभन्दा गुरुत्व बल बढि शक्तिशाली भएको हुन्छ । भिरालो जमिनमा पहिरो जाने बढि गर्दछ किनभने बढि भिरालो जमिनमा घर्षण बढि हुन्छ र कम भिरालो जमिनमा घर्षण पनि कम हुने भएकोले पहिरो पनि कम जाने गर्दछ । यसरी ओरालो जमिनमा घर्षण बढि हुने भएकोले पृथ्वीमा आउने सामान्य परिवर्तन वा मानिसले ती पदार्थ अडिने आधार भत्काउनाले भिरालो जमिनमा बढि पहिरो जाने गरेको हो । त्यसैगरि पानीको भूमिका पनि पहिरो जानका लागि महत्वपूर्ण हुन्छ । जब लगातार पानी पर्दछ, जसले ती पदार्थको आन्तरिक बललाई कमजोर पारिदिन्छ । यसका अतिरिक्त पानीले पहिरोजन्य पदार्थलाई चिप्ल्याउने र घर्षण कम गर्ने गर्दछ । यसरी पानीले पहिरो जानकालागि महत्वपूर्ण योगदान गर्ने भएकोले नै वर्षा बढि भएपछि, आँधि, तुफानसहित वर्षा र सुनामिजस्ता घटनाबाट पहिरो बढि जाने गरेको हो ।
नेपालको ८० प्रतिशतभन्दा बढि जनसंख्या बाढि, पहिरो, आगलागी, हिमपहिरो, असीना, चट्याङ्गलगायत प्राकृतिक जोखिममा रहेको विभिन्न अनुसन्धान प्रतिवेदनमा भनिएको छ । नेपाल भौगोलिक हिसाबले उच्च हिमाल, पहाड र चुरे श्रृंखलामा पहिरो जाने उच्च सम्भावना भएका भाग र तराईका कतिपय भाग बाढिको डुवानमा पर्ने गरेको हो । पहिरो र डुवानका अतिरिक्त नदि कटानकाकारण भूक्षयीकरण र पहिरोजानाले ठूलो नोक्सानी भैरहेको छ । महाभारत पर्वत र हिमालय पर्वत श्रृंखलाहरू बढि नै भिरालो र जमिन झुण्डिएको अवस्थामा रहेको धेरै ठाउँहरू छन् । तसर्थ यी भागमा ठूलो पहिरो जाने गर्दछ । यसैगरी चुरे श्रृंखलाको आन्तरिक बनोट र माटो, डुंगा र मलवाको आन्तरिक बल कमजोर रहेको, जमिन खुकुलो भएकाकारण पानी छिटो जमिनमा सोसिन जानाले पानीले समेत एकातिर गुरुत्वाकर्षण बढाउने र अर्कोतिर घर्षण कमजोर बनाई पहिरो जान मद्दत गर्ने र चुरे श्रृंखलाको चट्टान टुक्रेखालको भएकोले पनि पहिरोको उच्च सम्भावना रहेको हो । तराई भागको कमजोर सतही बनोटका कारण नदि कटान र क्षयीकरण बढेको हो भने तराईको जमिनमा पानीको मात्रा बढि हुनुका साथै बहावप्रवाह सुस्त हुनेहुनाले पनि डुवान बढि भएको हो । यसैगरी हिमाल र पहाड भागमा नदिको वहाव प्रवाह बढि हुने भएकोले आधारको कटान वा नदि क्षयीकरण बढि भै वरपरको भागमा अझ बढि पहिरो गएको पाइएको हो ।
नेपालमा जाने पहिरोलाई बोलिचालिको भाषामा पहिरो खस्ने, लेदो बग्ने र ढुंगा खस्ने गरी चिनिएको छ । मानिसहरू दोभान सिद्धबाबा खण्डमा ढुंगा खस्ने डर मान्छन् । वास्तवमा त्यस खण्डमा निकै माथिबाट अचानक ढुंगा खस्छ र अलि तलतिर आउँदा पहिरोको रुप धारण गर्दछ । अधिकांश समयमा त ढुंगाकै पहिरो गएकोजस्तो लाग्छ । कमजोर आन्तरिक बल भएको टुक्रे चट्टानले बनेको यो भागमा तिनाउ नदिले कटान गरी गहिरो गल्छी बनाएको र भिरालो भाग ठूलो बनेको छ भने सिद्धार्थ राजमार्ग यही बनेको छ । यसरी नदि कटान (प्राकृतिक कारण) र राजमार्ग निर्माण (मानवीय क्रियाकलाप) काकारण जमिनको आधार कमजोर बनेको छ । लामो भिरालो जमिन, आधार नहुनु र कमजोर भौगर्भिक बनोटकाकारण यसखण्डमा ढुंगाको पहिरो जानु स्वाभाविक हो । चुरे श्रृंखलाको अन्य अधिकांश पहिरोमा मलवा बगिरहेको देखिन्छ । खुकुलो भौगर्भिक बनोटमा पानीको मात्रा बढि भएपछि गुरुत्वाकर्षण बढि भै पहिरो जान मद्दत गर्छ । तर, तुलनात्मक रूपमा जमिन कम भिरालो हुने हुनाले घर्षण कमभै सुस्त बगिरहेको देखिन्छ र मलवा धेरै नै हुन्छ । पहाडी तथा हिमाली भागमा गएका पहिरो भने जमिनको ओरालो धारकाकारण द्रुतगतिमा धेरै लामो वहाव र अनपेक्षित ठाउँमासमेत असर देखाउने प्रकृतिको पाइन्छ ।
नेपालमा पहिरोबाट ठूलो धनजनको क्षति भैरहेको छ र अझ बढ्न सक्ने देखिन्छ । एकातिर नेपालको भौगर्भिक र धरातलीय बनोट जोखिमयुक्त छ भने यहाँ मानवीय क्रियाकलाप अत्यन्त अव्यवस्थित र अदूरदर्शिप्रकारको भैरहेको छ । सामान्य तरिकाले हेर्दा पनि वन विनाश बढिरहेको छ । तराईका चारकोसे लगायत ठूलाठूला जङ्गल विनाश गरी खेति र वस्ती विकास गर्ने गरिएको छ । चुरे श्रृंखला पनि नाङ्गो हुँदैछ । वन तथा खानीजन्य उद्योगको कच्चा पदार्थ विक्रिका नाममा चुरे क्षेत्रमा जथाभावी खानी खनाइ र बाटो निर्माणले गर्दा थप जटिलता सिर्जना हुन थालेका छन् । यसैगरी नेपालका तीनवटै तहका अधिकांश सरकारहरूको ध्यान पुर्वाधार विकास र विशेषगरी बाटो र भवन विकासमा केन्द्रित भैरहँदा पहिरो बढिरहेको र धनजनको क्षति भैरहेको छ । धैरै मानिस घरबासविहीन बनेका छन् ।
विकास र विनाश सँगै आउँछ भनिन्छ तर विनाश न्युनिकरणकालागि योजना विना विकास अगाडि सार्नु अर्को मूर्खतापूर्ण बेइमानी हो । उदाहरणको लागि बाटो खन्ने वा चौडा गर्ने नाममा जमिन भिरालो गरी काटेर झुण्ड्याइदिएर छाडेको धेरै ठाउँहरू छन् । ती ठाउँहरू वर्षा समयमा पहिरो जाने र वरपरको वस्ती नै सर्नुपरेका धेरै उदाहरणहरू छन् । त्यसैगरी आम नेपालीहरू सडकको छेउँछाउँमा सानोतिनो व्यवसाय गरेर जीवन चलाउन चाहने देखिएका छन् । सडक निर्माण गर्दा फालिएको कमजोर माटो वा सडक बनाउँदा ढिक परेको कुनै प्रवाह नगरिकन सडक छेउँमा बस्ने चलन बढेको छ । यसैगरी अधिकांश सडकहरू नदि किनारबाट बनाइएको र नदि वा खोलोले जमिनको आधार क्षयीकरण गर्नाले कुनैपनि बेला पहिरो जाने र क्षति हुने जोखिम छ । अर्को दुर्भाग्य नेपालमा खोला वा नदि वरपर वस्ती बढिरहेको छ । बाटो तथा नदिजन्य व्यवसायबाट जिविकोपार्जनका लागि सजिलो मान्ने गरिएको छ तर नदिको क्षयीकरण र बाढिकोकारण अकल्पनीय क्षति भएको धेरै उदाहरण छन् । त्यसैगरी कतिपय स्थानमा सामान्य तरिकाले जमिन केही धसिएको वा भासिएको केही वर्षपछि त्यहीं वस्ती बसेको ठाउँहरू पनि छन् । ती ठाउँमा पानी भित्रभित्र पस्न सजिलो हुने र पानीको मात्रा बढ्न गै गुरुत्वाकर्षण बढ्ने र जुनसुकै बेला पनि पहिरो जानसक्ने खतरा रहन्छ । कतिपय सडक वा नदि किनारमा त्रिपालले जमिन ढाकेर पनि निर्वाह गरेको देखिन्छ । यस्ता तात्कालिक उपायले पछिसम्मको समाधान गर्दैनन् । तसर्थ वस्ती बस्नु वा विकास निर्माण कार्य गर्नुपूर्व सम्भावित जोखिम मूल्यांकन व्यक्ति तथा स्थानीय सरकारले गर्नु आवश्यक छ । पहाडी भागमा भिरालो जमिनको केही सानो समथर ठाउँमा वस्ती बसेको र छेउँछाउँबाट पहिरो बढ्न थालेकोले जोखिम बढेको देखिन्छ ।
प्राकृतिक विपद्सम्बन्धमा धेरै खोजअनुसन्धान भैरहेका छन् । ती अनुसन्धानलाई मान्नुपर्ने हो । उदाहरणकालागि पोखरा कुनैबेला पनि भासिन सक्छ भन्ने गरिन्छ । विगतमा तीन तलाभन्दा अग्लो घर बनाउन दिइदैनथ्यो । तर आजकल ठूलाठूला घर बनिरहेका छन् । काठमाडौमा वि.सं. २०९० सालको भूकम्पपछि जुद्ध शमशेरले गोंगबु लगायतका क्षेत्रमा बसोबास नगर्न भनेका थिए रे । तर मानिसहरूले टेरेनन् र वि. सं. २०७२ सालमा त्यस क्षेत्रमा ठूलो क्षति भयो । अहिले पुनः जमिन भासिएको ठाउँमा अग्लाअग्ला भवन ठड्याइएको छ । भविष्यमा के होला ? मानिसले प्राकृतिक विनाशबाट केही पाठ सिकेकोजस्तो लाग्दैन । अहिले केही वर्ष खोलो बढेन भने बगरमा वस्ती बसाइन्छ । जहाँ साँघुरो त्यहींबाट बाटो बढाइएको छ । निर्माण कार्यमा प्राविधिकभन्दा राजनैतिक वा स्थानीय नेताहरूको मुढेबल निर्णायक हुने गरेकोले विशेषज्ञताभन्दा लहडमा खनिएको बाटोहरूले डाँडो भत्काउने र वस्ती उजाड पार्नेमात्र भएको छ । तसर्थ विकासनिर्माण कार्यमा जोखिम मूल्यांकन र न्युनीकरणका उपाय कडाइकासाथ लागू गर्ने र व्यक्तिगत वस्ती वा घरबास निर्माण गर्दासमेत सम्भावित जोखिमको आंकलन गरी कम क्षति हुने स्थानमा गर्नु आवश्यक छ । एक दुई वर्ष ढीलो र एक दुई तला थोरै बनाउँदा केही बिग्रँदैन । बरु जोखिमबाट जोगिन सकिन्छ ।