© २०२३
घरमा पालेको भैंसी बेचेर
कहिले खसी , बाख्रा बेचेर
हाँस , कुखुरा , परेवा बेचेर
कहिले दुध बेचेर
त कहिले
थोरै थोरै गरि जम्मा गरेको घ्यू बेचेर
बुढीको नयाँ साडि फेर्ने चाहानालाई
केहि वर्ष थाति राखेर
मेरो एउटै ज्वारी कोटलाई
कैयौं वर्ष नयाँ मानेर
विस्तारै विस्तारै गरेको बचतबाट
सहरमा एक टुक्रो
घडेरी किनेथें
ताकि
छोरो ठूलो भएपछि
सहरमै बसेर
व्यापार , इलम गर्न सकोस् ।
स्कुल सक्यो
अनि पढ्न सहर पस्यो
आईए विए के जाति पढें भन्थ्यो
कता कता जागीर खोज्यो
पाउनु सायद मुस्किल थियो
केहि वर्ष भौंतारियो
कुन्नि के के लहड चल्यो
विदेश जान्छु भन्न थाल्यो ।
इलम , व्यापार केहि गरि
बरु सहर बस् भनें
साथी संगत कस्तो थियो
विदेश मोह लत बस्यो
वाउको एउटा त्यहि घडेरी
बेचीवरि विदेश पस्यो ।
विदेशमा वर्षौं वर्ष
हड्डी पिस्यो , छाला धस्यो
त्यो अमूल्य पसिनाले
विदेशीको भूमी सिंच्यो
थाक्यो विदेश हार खायो
रहर सायद पुरा भयो
वर्षौं वर्ष विदेश बसि
कमाएको आफ्नो पैसा
हेरि हेरि मख्ख थियो
भन्थ्यो अब सहरमा
घडेरी म किन्छु बाबा ।
बेचेको त्यो पहिलेको
घडेरीको ठाउँमा अब
सहर विस्तार भएको छ
मूल्य वृद्धि अचाक्लि भै
छोई नसक्नु भएको छ
त्यसैले त मेरो छोरो
अलि पर सहर छेउँमा
किनेर घडेरी एउटा
दङ्ग छ फुरुङ्ग छ
र गर्व सँग भन्दै छ
विदेशको आफ्नै कमाईले
सहरमा मेरो घडेरी छ
यो गाउँमा अब को बस्छ
सहरमा मेरो घडेरी छ ।