© २०२३
आज तीजको दर खाने दिन हो । महिलाहरुको पर्वको रुपमा तीज ख्यातिप्राप्त छ । तीज पर्ब नेपालमा बढी मनाइन्छ । यसका कतिपय कारणहरु छन् । पार्वती पर्वत राजाकी छोरी थिइन् र शिवलाई पति बनाउने अडान लिएर उनले जंगलमा शिवलाई सम्झेर आराधना गरिन् । पार्वती र शिव नेपालका थिए भन्ने भनाइ धेरै अर्थबाट पुष्टि गरिन्छ । नेपालमा बढी धुमधामसँग मनाइनुले यो कुरालाई थप पुष्टि गरेको छ । तीजको अघिल्लो दिनमा दर खाने कुरालाई निकै महत्वपूर्ण रुपमा लिने गरिएको छ । तीजको अघिल्लो दिन आज खाइने दर किन यसरी महत्वको विषय बन्यो ? किन खाइन्छ दर ? यो निश्चितै खोजीको विषय हो । हाम्रा संस्कृतिका ब्याख्याकारहरुले केही पट्यारलाग्दा कार्यक्रमहरु समाजमा अघि सारिदिएका छन् । तीज, पञ्चमी, रामनवमी, कृष्णाष्टमी, शिबरात्री आदि पर्वहरु खुसियाली पर्व हुन् । कुनै शोक पर्व होइनन् । खुसीको बेलामा मानिसले हर्षोल्लास मनाउँछन् । खानपान गर्छन् । तर, यस्ता पर्वहरुमा ब्रत बस्ने चलन लादिदिएका छन् । तीज पनि हर्षको पर्व हो । तर, महिलाहरु यो दिन सकि नसकि ब्रत बस्छन् । ब्रत बस्न वाध्य पारिएको छ । त्यसरी ब्रत बसाल्नका लागि अघिल्लो दिन दर खाने कार्यक्रम अघि सारिदिए । यो बर्ष बाहेकलाई हेर्ने हो भने दर खाने कार्यक्रम एकखालको फेशन नै बन्न गएको हो । एक महिना अघि देखि दर खाने कार्यक्रम गरियो । राज्य प्रशासनले यस्ता कार्यक्रममा रोक लगाउनु पर्छ भन्ने स्थितिमा पुराइदियो । कोभिड १९ को महामारीले गर्दा यो बर्ष दर खाने काम घरमै सिमित भएको छ ।
सामन्तवादी चलनमा चेलीबेटीहरुको जब विवाह हुन्थ्यो लामो समयसम्म पतिको घरमा बस्नुपथ्र्यो । त्यतिबेला गाडीको ब्यवस्था थिएन । बर्षायाममा बाटोघाटो पानीले बगाइदिएको हुन्थ्यो । बाटोमा खोलानाला तर्नुपथ्र्यो । पतिघरबाट माइतीघर आउन समस्या थियो । बर्षायाम भनेको खेतीपाती गर्ने याम पनि हो । काममा जोतिँदा खानपानको बेवास्ता पनि हुन्छ । अर्को कुरा साउन महिनालाई अनिकालको महिना भन्ने चलन पनि छ । हिउँदे बाली उत्पादन नहुने ठाउँमा पुरानो अनाज समाप्त हुने र नयाँ अनाज तयार नभईसकेको संक्रमणकालीन समय हो । त्यसैले पति घरमा छोरीहरुले भरपेट खान नपाएका पनि हुन सक्छन् भन्ने मान्यता राख्दै माइती पक्षले तीजको मौकामा बोलाउने चलन बसालिएको हो । ती टाढा रहेका, लामो समयसम्म भेटघाट नभएका चेलीलाई माइती घरमा बोलाउने, मिठो मसिनो पोषिलो बस्तु ख्वाउने निहुँ चाहिन्छ । त्यो निहुँ तीजले जुटाइदिएको छ । चेलीबेटी जम्मा पार्ने, रमाइलो गर्ने, खाने पिउने दिन दर खाने दिन हो । तीज उपबासको दिनचाहिँ होइन । तर, पुरुष विव्दानहरुले आफ्ना लेखनमा तीजलाई ब्रत बस्ने दिनको रुपमा उल्लेख गरिदिए । त्यो पनि पतिको सुस्वाथ्य, दीर्घायुको कामना गर्दै बस्नु पर्ने बनाइदिए ।
तीजको दर खाने कार्यक्रममा विभिन्न परिकारहरु बनाइन्छ । प्रायः यी खानाका परिकारहरु सात्वीक हुन्छन् । उतिबेलाको कृषि युगमा मसिना चामल, घिउ पर्याप्त राखेर बास्ना आउने खाजा बनाइन्थ्यो । अनेकथरी तरकारी, खिर, पुडी, अचारका परिकार बनाएर चेलीहरुलाई खुवाउने गरिन्थ्यो । नाचगान हुन्थ्यो । नाचेर थाकेपछि सुत्नेबेलामा फेरि नयाँ परिकारका खाना ख्वाइन्थ्यो । पर्याप्त खाना खाँदा भोलिपल्टसम्म उनीहरुको पेट भरिलो हुन्थ्यो । सामुहिक रुपमा नाचगान गर्ने, पिंग खेल्ने र रमाउने गरिन्थ्यो । गाउँघरमा कहिँकतै यस्ता कार्यक्रम देख्न पाइन्छ । तर, अहिलेको बढ्दो शहरीकरणले तीजको पौराणिक मर्यादालाई रछ्यानमा मिल्काइदिएको छ । तीजका गीतले जुन भाव बोकेको हुन्थ्यो त्यो देख्न पाइँदैन । कलाकारहरुले तीजलाई बेच्ने काम गरेका छन् । युट्युव, फेसबुक, टेलिभिजनका स्क्रिनमा तिजलाई खुम्चाइदिएका छन् । योपाली त संक्रामक रोग कोभिड १९ ले झनै कोठामा खुम्चाइदियो । चेलीबेटीहरु माइत जान पनि नपाउने अवस्था छ । हुनेले खाने, नहुनेले मात्र सम्झने पर्ब बन्न पुगेको छ । तीजको दर र दर खाने घर सम्झने अवस्था छ ।