© २०२३
पुष माधको आँतै कठ्याङ्ग्रीने
जाडोको बेला एक रात
बासको खोजिमा भौतारिँदै
पुगेको हुँ मन्दिर संगैको धर्मशालामा
आवाज दिएँको थिएँ मैले—
मात्र रात काट्ने याचना गर्दै
भयो के भने—
बडो सोम्य, शान्त र अलौकिक आकृतिले
ढोका खोल्यो मन्दिरको र चिहायो बाहिर
ठिङ्ग उभिएको देख्यो मलाई
लामो कुरो गर्दै गरेन मसंग उसले
यो गहन अन्धकारमा
बास खोज्नुको कारण पनि सोधेन
मात्र नियाल्यो शिरदेखि पाउसम्म
र उसले मेरो जात सोध्यो ।
म मन्दिरको चौखटमा उभिएको थिएँ
जसले मानिसहरूलाई मोक्ष सुम्पिन्छ
त्यस पबित्र स्थलमा
म झुट बोल्न सकिन
मैले बडो बिनम्रताका साथ
मेरो जात बताएँ
त्यसपछि भयो के भने—
घृणा, क्रोधता र रौद्रताको भैरवीरुप धारण गर्दै
मन्दिरको ढोका बन्द गर्दै
पण्डित अन्तरध्यान हुन पुग्यो
हो, सोही दिनदेखि नै
म आफै पनि
भेरीमा बग्न शुरु गरेको हुँ ।
मान्छेको मान्छे माथिको यो घृणा
मान्छेले मान्छे माथिको यो तिरस्कार
मेरो लागि पहिलो भने होइन
दिँउसो हाफ छुट्टीको बेला
तिर्खाले ब्याकुल भएर
स्कूलको बरण्डाको छेउँमा राखेको
घैलाबाट आफ्नै हातले उभाएर
कहिल्यै पानी खाइन मैले
खाएको भाँडा आफैले माझ्नु पर्ने
अपमानको भूमरीमा रोमलिएर
असैह्य भोक लाग्दा समेत
होटेलमा गएर सितिमित खाजा खाइन मैले
हो,
तिनै बालापनदेखि
म आफै भेरीको भेलमा बग्न शुरु गरेको हुँ ।
स—साना सपनाहरू बोकेर
बलीबेदीमा रेटिन पुगेका
हजारौ वीरहरूका
मात्र ससाना सपनाहरू थिए
सयौं वर्षदेखि बन्द मन्दिरको कपाट खुलोस्
उनका सन्तानले अर्पण गरेको
पुजाको फुल चौखट भित्र छिरोस्
हजारौ वर्षदेखि राजगर्दै आएको सत्ता
सबैको साझा होस्
तर भएन, वा हुन सकेन
वा हुन दिइएन
हो, यही हुन नसक्नु नै
नवराज र उनका साथीहरूको
भेरीको जलाधार हो
जो हजारौ वर्षदेखि रगतको छाल बोकेर
बगिरहेको छ निरन्तर निरन्तर निरन्तर ।
आजपनि मेरा आफ्नाहरू
डेराको खोजीमा भौँतारिएको देख्छु
यी सभ्य मानिसहरूको सभ्य सहरमा
चियाउँछन् बार्दलीबाट
र फर्मान जारी गर्दछन्
उही सुदुर अतितको चोखो पण्डितले जस्तै
भन मुसाफिर तिम्रो जात के हो ?
हो,
यहीनिर बज्रपात हुन्छ
एटमबम भन्दा पनि कता हो कता
विनासक प्रलय सिर्जिन्छ
र मेरो आफन्त
आत्मग्लानी, पश्चातापको भारी बोकेर
खुरुखुरु अगाडि बढ्दछ ।
हरेक साँझ बिहान बज्ने
मन्दिरको घण्टा टिन टिन आवाज
मलाई कर्णभेदी र अप्रीय लाग्नुको कारण छ
हरेक साँझ शुरू हुने मन्दिरको आरति
मलाई मसानको शोला लाग्नुको कारण छ
हरेक बिहान शुभसाइतमा उद्घोषित हुने शंखध्वनी
मलाई शोकधुन लाग्नुको कारण छ ।
सुन ए सुन !
धर्मका ठेकेदारहरू सुन
अलि नजिक आएर कान खोलेर सुन
लडाईं आरपारको शुरु भएको छ
यसको शुरुवात
नवराज र उनका साथीहरूको
भेरीमा बगेको आलो रगतको
शंखघोष संगै शुरु भएको छ ।