© २०२३
बुटवल ।
बुद्धिबहादुर ताम्राकार उमेरले ६० काटे । कपाल मात्र होइन गालाको चाउरीपनले पाका उमेरका देखिन्छन् । तर जोस २० वर्षको लक्का जवानकोभन्दा कम छैन । अर्घाखाँचीको सन्धीखर्कमा जन्मिएका ताम्राकारले जान्ने हुदाँबाट नै तामासँग खेल्न शुरु गरेका हुन् । बुवा, बाजेको पुख्र्यौली पेशा हो तामाका भाडा बनाउने । उनका बुवाले सीप सार्दै बुवाबाट बुद्धिले यो सीप सिकेका हुन ।
कक्षा ३ सम्मको औपचारिक शिक्षा लिएका ताम्रकारलाई सानैबाट पेशा प्रति माया बसेको हो । उनी भन्छन्, बुवाले बनाएका राम्रा राम्रा भाडा देख्दा मलाई नि बनाउ बनाउ लागि रहन्थ्यो । त्यहि रहर र मायाले होला मलाई आज यहाँसम्म ल्याएको छ ।
नौ वर्षको उमेरबाट नै व्यवसायसँग जोडिएका ताम्राकारले पहिलो दिन पुरानो तामाको गाग्री बनाएर एक सुका कमाएको क्षण अहिलेसम्म भुलेका छैनन । उनले त्यो दिन आफुलाई अत्यन्त खुशी लागेको भन्दै त्यहाँबाट औपचारिका रुपमा आम्दानी गरेको विगत सम्झिए ।
बुवाको सहयोगीको रुपमा काम गर्दागर्दै सीप सिकेको बताउने उनले श्ुारुमा पुराना भाँडाकँुडा टाल्ने काम गरेका थिए । उनी भन्छन्, “अहिले जस्तो तालिम दिने दिने चलन कहाँ पाउनु । जे देख्यो त्यही सिके । यसलाई निरन्तरता दिदै अहिले तामाका सबै भाँडा बनाउनेसम्म भएको छु ।”
सात सन्तानका बुवा बुद्धिको यही मुख्य पेशा हो । यसैबाट छोराछोरीको लालन पालन बिहेवारी गरेका उनलाई यो पेशालाई अझै व्यावसायिक बनाउन मन छ तर उनीसँग पैसा छैन । सीप छ तर पैसा छैन । त्यसैले अहिलेसम्म पुरानालाई नयाँ बनाउने काम गरेको छु । उनी भन्छन्, “नयाँ तामा किन्न पैसा छैन । त्यसैले जहाँ पुगे पनि पुरानो तामालाई पिटेर नयाँ आकार दिने काम गरेको छु । अहिलेसम्म मैले बनाएका भाँडाकुँडा मन नपराउने कोही हुनुहुन्न । यहाँ बनाएका गाग्रीहरु विदेशसम्म पुगेका छन् ।
बुद्धि अहिले बुटवलको बेलबासमा सानो टिनको छानो लगाएर यो व्यवसाय गरिरहेका छन् । त्यहाँ बसे बापत उनले मासिक ८ हजार रुपियाँ साहुलाई बुझाउनुपर्छ । यहाँ उनी आफ्ना कान्छा छोरा सहित बसिरहेका छन् ।
यहाँ उनले विभिन्न प्रकारका बत्ती बाल्ने तामाका पाला, गाग्री रोचे (ठुलो तामाको गाग्री) बुट्टे र सादा हतार (सानो तामाको गाग्री) खड्करो, विभिन्न प्रकारका ताउला, आमखरा, लोटा लगायतका तामाबाट बन्ने विभिन्न प्रकारका भाँडालाई बुट्टा भरेर निर्माण गर्ने गर्दछन् ।
वुद्धि भन्छन्, “मेरो कला र सीपबाट धेरै मानिसहरु प्रभावित छन् । मैले बनाउने भाँडाका आकार र प्रकार धेरैलाई सुन्दर लाग्छ तर पनि यो पेशालाई व्यावसायिक बनाउन कसैले पहल गरेका छैनन् । बजारमा पाईने तामाका धेरै भाँडाहरु मेसिनले निर्माण गरेका हुन्छन् तर मैले एउटा सानो तामाको गाग्रीलाई तीनदिन लगाएर फुलबुट्टा भरेर बनाउने गर्दछु । यहाँ आउने ग्राहकहरु शुरुमा राम्रो कामका लागि धन्यवाद दिएपनि पैसा दिने बेलामा मोल घटाउन बल गर्ने गरेको उनले बताए ।
पुर्खाले गरेको पेशालाई निरन्तरता दिएका उनले आफु पछि सन्तानले यसलाई निरन्तरता दिन्छन् भन्नेमा ढुक्क छैनन । उनी भन्छन्, “अहिलेका छोराछोरीले यो पेशालाई त्यति ध्यान दिदैनन् । काम गर्न कठिन छ पैसा कम छ । अनि मैले यो पेसालाई व्यावसायिक बनाउन सकेको छैन । त्यसका लागि मेरो आर्थिक अवस्था कमजोर छ मेरो यहाँबाट भएको आम्दानीले घर खर्च मात्रै चलेको हो । त्यसैले पनि आफना सन्तानले त्यति वास्ता नगरेको उनको भनाई छ ।
समयको माग जस्तै आजभोली फेरि पुराना तामाका भाँडाहरु चलन चल्तीमा आउन लागेको बताउने ताम्राकारले यो सीपलाई व्यावसायिक बनाउने धोको राखेका छन् । त्यसैले उनले आफनो बाउबाजेको थलो छाडेर बुटवल झरेका हुन्, यहाँ आएर आफुले सोचे जस्तो व्यापार भएको बताए । उनी भन्छन्, “यहाँ काम गरेपछि राम्रो आम्दानी भएको छ । तामा नभएको समयमा मैले यहाँ सामान्य हसिया कोदाला बञ्चराहरुलाई रेती लगाउने काम पनि प्रशस्तै पाएको छु । यो पनि मेरो आम्दानीको स्रोत बनेको छ । यता शहरका मान्छेहरुले काम गराए पछि खुरुक्क पैसा दिन्छन् तर उता गाँउघर तिर काम गरेर पनि पैसा नदिने कारणले पनि चल्न गाह्रो हुने गरेको तीतो यथार्थ सुनाए ।
स्थानीय देवीप्रसाद सापकोटालाई बुद्धि सीप देखेर लोभ लागेको अनुभव बताए । उनले छोटो समयमा नै बुद्धिले धेरै ग्राहकको मन जितेको भन्दै उनलाई अब कहि जान नपर्ने बताए । उनले सीप मानिसको सबै भन्दा ठुलो सम्पत्ति हो भन्दै वुद्धिबाट हाम्रो समाजमा रहेका धेरैले सीप सिकेर आत्मनिर्भर हुने बाटो रोज्नु पर्नेमा जोड दिए ।
यसरी आफनै अगाडि आफ्नो बयान सुन्दा मख्ख परेका वुद्धि आफुले जसोतसो पुख्र्यौली पेशालाई धाने पनि अब लोप हुन लागेको चिन्ता व्यतm गर्दछन् । यो सीपलाई जोगाएर पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने रहर छ उनको । त्यसका लागि स्थानीय सरकारले पहल गरोस् भन्ने छ उनलाई । आफु जतिवेलामा सरकारको सहयोग पाए सीप सिकाउन तयार रहेको पनि बताए । यदि सिकाउन सकिन भने यो मेरो कला र सीप मसँगै मरेर जानेछ बाँकी पछिल्लो पुस्तालाई हातले पनि यति सुन्दर सामान बन्छन् भन्नेसम्मको जानकारी पनि नहुने उनको भनाई छ ।
वुद्धिलाई देशमा भएका ठुला ठुला राजनीति परिर्वतनले कहिल्यै छुन सकेन चुनावका बेलामा ढोग्नेहरुले पनि जिते पनि चिनेको अनुभव कहिल्यै छैन उनीसँग । परिर्वतनका लागि धेरै पटक मतदान गरे पनि आफु भाडा पिट्ने र कोईलासँग खेल्ने काममै रमाउनुको विकल्प छैन उनीसँग । तर पनि आफनो पेशा र व्यवसायीक बनाउने उनको रहर छ ।