© २०२३
सरकारले कृषकहरुको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागु गरेपनि कृषकहरु भने अझै अनविज्ञ नै छन् । कृषि बीमा कार्यक्रम लागुगरेपनि सचेतनाका कार्यक्रमहरु सञ्चालन नगर्दा कृषकहरुलाई जानकारी नभएको हो ।
सरकारले कृषि बीमा कार्यक्रम अन्र्तगत कृषी तथा पशुहरुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएतापनि यसबारे कृषकहरुलाई थाहा नै छैन । ब्यवसायीक रुपमा फर्म नै सञ्चालन गरेर पशुपालन तथा कृषि फर्म सञ्चालन गरेका कृषकहरु पनि बैङ्कबाट ऋण लिनका लागि मात्रै बीमा गर्नुपरेको बताउछन् । तर उनीहरुलाई सरकारले पशु तथा कृषि बीमा गर्दा सहुलियत दिएको बारेमा जानकारी नभएको बताएका छन् । गाँउघरमा निर्वाहका लागि पालीएका दुई चारवटा पशुहरुको बीमा गरेका किशानहरु भने सरकारको कदम प्रति सन्तुष्ट देखिएका छन् । घोराही उप महानगरपालीका क्षेत्रका तरकारी उत्पादक कृषकहरु कसैले पनि बालीको बीमा गराएका छैनन् भने घरमा पालेका पशुहरुको पनि बीमा गरेका छैनन् । उनीहरुले बीमा गर्दा धेरै रकम भुक्तानी गर्नुपर्ने डरले बीमा नगरेको बताउछन् । उनीहरुले कृषी तथा पशुबीमा गर्दा सरकारले सहयोग गरेकोबारे जानकारी नभएको बताए ।
तर पर्म नै सञ्चालन गरेर पशुपाल्दै आएका कृषकहरुले भने अहिले बीमा गराउन थालेको बताएका छन् । घोराही उप महानगरपालीका ३ मा रहेको देव पशुपन्छी फर्ममा अहिले १२ वटा गाई छन् । उनले गतवर्षको चैत्र महिनामा फर्म दर्ता गरेका हुन् । सुरुमा २÷४ वटा गाई भैसी पाल्दै आएका देवनारायण शर्माले व्यवसायीक रुपमै पशु पालन गर्ने भन्दै फर्म दर्ता गराएका हुन् । फर्म सञ्चालन गर्नुभन्दा पहिले पशुबीमा बारे सुनेपनि धेरै पैशा तिर्नुपर्ने हुन्छ होला भन्दै बीमा नगराएका उनले अहिले सवै पशुहरुको विमा गराएका छन् । पशुबीमा गर्दा सरकारले ७५ प्रतिशत रकम व्यहोर्ने र २५ प्रतिशत मात्रै किसानले तिर्नुपर्ने जानकारी पाएका शर्माले जोखीम कम गर्न बीमा गरेको बताउछन् । “पहिला थाहा थिएन र पशुको बीमा गरीन्नथ्यो तर अहिले धेरै पाल्दा धेरै नै जोखीमहुने भएकोले बीमा गरेको हो” शर्माले भने । पशुबीमा गर्दा किसानलाई धेरै फाईदा हुने तथा आफ्नो लगानी शुरक्षीत हुने भएकोले बीमा गरेको उनले बताए । जील्लामा कति पशुहरुको बीमा गरीएको छ भन्ने एकीन तथ्याङ्क नभएपनि पशुपालक कृषकहरुले भने बीमा गर्ने गरेको बीमा कम्पनीहरुले बताएका छन् ।
दाङ घोराहीमा रहेको एनएलजी ईन्स्योरेन्स कम्पनी लीमिटेडका अनुसार यो आर्थिक बर्षको पुस मसान्त सम्म तीन हजार पशुहरुको बीमा गरीएको छ । गतवर्षको तुलनामा यस आर्थिक वर्षको छ महिनामा ५ सय बढी पशुहरुको विमा गरीएको बरिष्ठ शाखा प्रवन्धक रबी गौतमले जानकारी दिए । अहिले पशुपालक कृषकहरुलाई कृषि सहकारीहरुले बीमाबारे जानकारी दिन कार्यक्रमको आयोजना गर्ने गरेकोले पनि पशुबीमा गर्ने कृषकहरु बढेको उनले बताए । “कृषि सहकारीहरुले पशु बीमाबारे जानकारी दिन कार्यक्रमको आयोजना गरेर बोलाउने गरेका छन् हामीले गएर बीमा बारे जानकारी दिदा कृषकहरु उत्साहीत हुन्छन्” गौतमले भने । पशुमा जस्तै सरकारले कृषिमा पनि सहुलिएत दिएको भएपनि कृषिबीमा भने कमै हुनेगरेको उनले बताए ।
कसरी गर्ने त कृषि तथा पशु बीमा ?
कृषि तथा पशुहरुको बीमा गर्दा कम्पनीको कार्यालयमा गई आफुले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनु पर्छ । बीमा कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आईसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली विमा गरिदिन्छन् । कृषि बीमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले तिर्नुपर्दछ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण अलिक सहज भएको विमा कम्पनीहरु बताउछन् । एक लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तुको बीमा गर्दा पाँच हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । पाँच हजार बीमाशुल्क मध्ये ३७ सय ५० रुपैयाँ सरकारले अनुदान दिन्छ भने १२ सय ५० रुपैयाँ किसान आफैंले व्यहोर्नुपर्छ । यसरी बीमा गरीसकेपछि पशुपंक्षी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्तालाई जानकारी गराउनु पर्छ । जानकारी गराएको १५ दिन पछि प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जीमिन मूचूल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिना भित्र क्षतिपुर्ती पाउने व्यवस्था रहेको छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनुपर्छ । अन्यथा क्षतिपुर्ती पाइदैन ।