© २०२३
गुल्मी मदाने गाउँपालीका ७ अन्र्तगत भनभने नेटाखर्कका चुरामणी पन्थीले पढाईमा स्नातक उत्र्तीण गरिसकेका छन् । गाउँको जनज्योती क्याम्पस पुर्कोटदहमा अध्यन सकेपछि पन्थी आजभोली अध्यनको यात्रालाई चटक्क रोकेर कृषि पेशातिर आकर्षित भएका छन् ।
गत दुईवर्ष अघि जिल्ला कृषि विकास कार्यालय गुल्मीले तम्घासमा तीन दिन दिएको कृषि तालिमले २९ वर्षीय पन्थीलाई व्यवसायीक कृषि पेशामा लाग्न प्रेरित गरायो । कृषि कार्यालयवाट तिनदिनको तालिम लिएर घर फर्केपछि उनी पुनः दुई साताको थप तालीमका लागि कार्यालयवाट पोखरासम्म पुगे । पोखरावाट थप तालिम लिएर फर्केपछि पन्थी यतिवेला व्यवसायीक कृषि पेशासँगजोडिन पुगेका छन् ।
गाउँघरमा परम्परागत कृषि प्रणाली मार्फत खेती गर्दै आएको पन्थीले तालिममा सिकेको सिपलाई प्रयोगमा ल्याउनका लागि आफ्नै बारीमा व्यवसायीक रुपमा तरकारी खेतीे गर्ने मनस्थीतिमा पुगेको हो । शुरुवातमा जिल्ला कृषि विकास कार्यालयवाट ५० प्रतिशत अनुदानमा तीनवटा टनेल पाएपछि पन्थीमा हौसला थपियो .। त्यसै टनेलमा शुरुवातमा उनले गोलभेँडा खेतीगर्न शुरु गर्नु भयो ।
करिव ६ रोपनी क्षेत्रफलमा फैलीएको बारीमा पन्थीले आजभोली विभिन्न प्रकारका तरकारी खेतीको उत्पादन गर्दै आएका छन् । यसरी व्यवसायीक रुपमा तरकारी खेती शुरु गर्न लागेको भर्खर दुईवर्ष मात्र पुगेको छ । शुरुमा आफ्नै व्यक्तिगत लगानीमा पन्थीले ५० हजार खर्च गरेर तरकारी खेतीको लागि आवश्यक संरचनाहरु समेत निर्माण गरे । ‘शुरुमा तालिम लिएपछि सामान्य आईडिया पनि भयो, केही न केही त गर्नु पर्यो भनेर तरकारी खेती गर्ने विचार गरेको हुँ, ठूलो लगानी गर्ने पुँजी पनि थिएन,’ पन्थीले भने ।
आजभोली जो कोही पनि उनको तरकारी बारीमा पुग्दा निकै आनन्दको अनुभूति गर्ने गर्दछन् । बारीमा कुनै ठाउँमा टनेल त कुनै ठाउँमा खुल्ला आकास मुनि फर्केका सेता गोभी र लटरम्मै रातै झुण्डीएका गोलभेँडाहरुले मेहनत गरे के हुँदैन र भन्ने आभास दिलाउ छ त्यहाँ पुगेकाहरुका लागि । पन्थीको बारीमा बेमौसमी बन्दा, फुलगोभी, तिते करेला, केराऊ, खुर्सानी जस्ता विभिन्न वस्तुहरु उत्पादन हुने गर्दछन् । वेमौसमी तरकारीको लागि बजार पनि तुरुन्तै पाईने र मूल्य पनि धेरै पर्ने भएका कारण कृषकहरुले राम्रो बजार मुल्य पाउने गर्दछन् ।
वेमौसमी तरकारीका लागि बैशाख महिनापछि कात्तिक महिनासम्मको सयम निकै राम्रो हुने पन्थीले बताए । ‘सिजनमा सबैले उस्तै उस्तै प्रकारको तरकारी उत्पादन गर्ने गर्दछन्, वेमौसमी समयमा ८० रुपैयामा बिक्रि हुने गोभी पनि सिजनमा ३५ रुपैयासम्ममा पनि बिक्रि गर्न धौधौ हुन्छ,’ उहाँले आफ्नो अनुभव सुनाउँदैभने ।
पन्थीले नेपाल सरकारद्वारा जिल्ला कृषि विकास कार्यालयवाटयुवा लक्ष्छित कार्यक्रम अनुसार उपलव्ध गराईएको ४० हजार रुर्पैया अनुदान समेत प्राप्त गरिसकेका छन् । त्यसका अतिरिक्त आफ्नो एक्लै लगानी र प्रयासमा उनले वार्षिक डेढ लाख भन्दा बढी आम्दानी गर्दै आएको बताउँछन् । गाउँपालीकाले पनि व्यवसायीक कृषि पेशा अपनाउनेहरुलाई केही सहयोग गर्छरे भन्ने कुरा पन्थीले आफुले पनि सुनेको तर आफु केके सहयोग पाईन्छ भनेर पालीकाको कार्यालयसम्म नपुगेको बताए । ‘सहयोग पाउनका लागि कृषि समूह मार्फत जानुपर्छ रे, म एक्लै छु कुनै समूहमा पनि अझै आवद्धछैन’ उनले भने ।
पन्थीको अधिकांस समय बारीमा नै वित्ने गर्दछ । विहान पाँच वजेदेखि राती १० वजेसम्म उहाँ बारीमा तरकारीको स्यार्हसुसारमै खर्चिने गरेका छन् । आफुले उत्पादन गरेको तरकारी कहिले झोलामा त कहिले डोकोमा बोकेर बिक्रिका लागि उनी स्थानीय बजारमा पुराउँछन् । पन्थीले उत्पादन गरेको तरकारी पुर्कोटदह, डढुवा, टिमुरखर्क, भनभने र सौतामारे जस्ता स्थानीय बजारहरुमा पुग्ने गर्दछ । स्थानीय क्षेत्रमा ठूलो बजार नभएका कारण बजारको अभाव उत्पादन धेरै भएपनि कहिलेकाही तरकारी बिक्रिको लागि मुख्य समस्या हुने गरेको पन्थीले बताए ।