© २०२३
दाङ, २६ चैत ।
दाङको घोराही –१६ मा स्थापना भएको जेष्ठ नागरिक सरोकार केन्द्र द्रोपदा कुमारी लोहनी लक्ष्मी नारायण वृद्धाश्रमको पन्ध्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले विश्व भुमण्डलीकरण र बढ्दो भौतिक सुखका कारण ज्येष्ठ नागरिक समस्यामा परेको बताएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले समाजमा बढ्दो पारिवारिक दुरीले ज्येष्ठ नागरिकहरुलाई सहज रुपमा जीउन समस्या हुँदै गएको बताए । विश्व भुमण्डलीकरणका कारण मानिसहरुमा बढ्दो भौतिक सुख सुविधाले ज्येष्ठ नागरिकहरुको हेरचाह, रेखदेखलगायत विषय चुनौतिपूर्ण बन्दै गएको बताए ।
उनले जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने संस्थाहरु समय सापेक्ष चल्न सक्नुपर्ने बताए । देशको आर्थिक, सामाजिक परिवेश बदलिँदो क्रममा रहेकाले सामाजिक भावले खोलिएका संस्थाहरु समाजको अभिन्न अभिभावकको रुपमा उभिनु पर्ने अवस्था आएको उनको धारणा थियो । ज्येष्ठ नागरिक सरोकार केन्द्रले घरपरिवारको जस्तै अभिभावकीय भूमिका खेल्दै आएको हुँदा यसको गरिमालाई बचाउँदै आगामी दिनका दीर्घकालीन योजना बनाउन आग्रह गरे । उनले संस्थाको दिगो विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
हरेक परिवारले सामाजिक, नैतिक मुल्यमान्यता स्थापना गर्न कटिबद्ध भई लागेमा कोही पनि जीवनको उत्तराद्र्धमा वृद्धाश्रम धाउने अवस्था नआउने गरी अघि बढ्न सके राम्रो हुने उनको धारणा थियो ।
कार्यक्रममा केन्द्रको सांगठनिक प्रतिवेदन सचिव दधिराम खनाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्यामप्रकाश आचार्यले प्रस्तुत गरेका थिए । कार्यक्रममा अग्रज तथा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । केन्द्रका अध्यक्ष भुपाल गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । वृद्धाश्रममा हाल ८ जना पुरुष, ९ जना महिला गरी १७ जना जेष्ठ नागरिक बस्दै आएका छन् ।
वृद्धाश्रममा ७३ वटा अक्षयकोष स्थापना गर्दा ६० लाख ३५ हजार ५ सय ६४ रुपैयाँ रहेको छ । जसमा जेष्ठ नागरिक सरोकार केन्द्रबाट १० लाखको अक्षयकोष शुरुमा खोलिएको थियो ।
मानवसेवा र कल्याणको लागि स्वर्गीय खगराज लोहनीको अध्यक्षतामा २०६२ सालमा उनले दान गरेकोे जग्गामा जेष्ठ नागरिक सरोकार केन्द्रको स्थापना भएको थियो । सेवा धर्मले अभिप्रेरित संस्थाले ६० वर्ष उमेर पुगेका सहारा विहिन ज्येष्ठ नागरिकहरुलाई आवास, भोजन, स्वास्थ्य संरक्षण, मनोरन्जन एवम् कानुनी सहयोग र पुनस्र्थापनाको लागि परामर्श दिदै आएको छ । ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आजीवन सदस्यको संख्या ४ सय १३ जना रहेको केन्द्रले जनाएको छ ।