© २०२३
दाङ, २१ चैत ।
दाङको बंगलाचुली गाउँपालिकाले पालिका भित्रका विपन्न नागरिकका लागि राहत पुगोस् भन्ने उद्देश्यले आवास निर्माण गरिदियो । पालिकाको २, ५,६ र ८ नम्वर वडामा घर निर्माण गरेको हो । प्रति घर १० लाखको लागतमा ३० घर निर्माण भएका हुन् ।
बंगलाचुली गाउँपालिका–२, बढीपोखरामा विपन्न तथा असहायका लागि बनाइएका ६ वटा घर अहिलेसम्म रित्तै छन् । सोही पालिकाको वडा नम्वर–८ हाँसीपुरमा रहेको जंगलको डाँडामा गरिव तथा बिपन्न परिवारका लागि ६ वटा घरहरु निर्माण गरिए । वडामा घर तथा जग्गा नभएका गरिव तथा विपन्न परिवार पहिचान गरेर राख्ने गरि दुई कोठे ६ वटा घरहरु निर्माण गरिएपनि ती घरहरुमा अझैसम्म कोही बस्न सकेका छैनन् ।
घर निर्माणपछि वडा कार्यालयले गरिब तथा असहाय परिवार पहिचान गर्यो । वडाले ६ विपन्न परिवार छान्यो । तर वडाले छानेका कोही पनि ती घरमा बस्न जान इच्छुक भएनन् । पालिकाका पूर्व वडाध्यक्ष गिरीराज बाँठाका अनुसार सुरुमा स्थानीय दुईतीन परिवार बस्न थालेका थिए तर पछि उनीहरूले पनि छाडेका हुन् । यी घर बनाइएको ठाउँमा कुनै व्यवसाय गरेर बस्न सकिने अवस्था छैन । नजिक मानव बस्ती नभएको थलोमा गएर कोही पनि बस्न राजी नभएका हुन् । ‘गरिबका लागि भनेर बनाइएका घरका झ्यालढोका फुटेर जीर्ण छन्’, पूर्ववडाध्यक्ष बाँठाले भनेर्, कोही पनि बस्न तयार नभएकाले घरहरू बेकामका बनेका छन् ।’ बढीपोखरामा बनाइएका ६ वटा घरलाई पनि कोरोनाको समयमा क्वारेन्टिनका रूपमा प्रयोग गरिएको थियो ।
पालिकाको वडा नम्बर ५ मा पनि गरिब र असहाय परिवारका लागि भनेर बनाइएका १२ घरमध्ये चारवटा घरमा मात्रै मानिस छन् । आठ वटा घर खाली छन् । “चारवटा घरमा मान्छे बसेको अवस्था छ,” वडाध्यक्ष लीले घर्तीले भने, ‘आठ घर रित्तै छन् ।” उनका अनुसार चार घर रहेको माथिल्लो भेग मानव बस्तीदेखि टाढा छ । “मानव बस्तीदेखि टाढा रहेका कारण यी चार घरमा कोही बस्न नमानेको हुन सक्छ,” उनले भने ।
त्यस्तै पालिकाको वडा नम्बर ६ मा बनेका ६ घरमध्ये तीनवटा प्रयोगमा आएका छन् । त्यहाँ पनि मान्छे नबसेका तीनवटा घर जीर्ण बन्दै गएका छन् । वडाध्यक्ष डोमबहादुर केसीले भने, ‘पालिकाले बनाएका घरहरू बस्न योग्य भएनन्, त्यसैले कोही बस्न राजी भएनन्’ घर खाली छन् ।
गरिब परिवारलाई आश्रयका लागि भनेर बनाएका ३० वटा प्रिफ्याब घरको लागत ३ करोड रूपैयाँ हो । पालिकाले प्रतिघर १० लाख रूपैयाँ लागतमा तयार भएको देखाएको छ । पालिकाका अनुसार तीन करोड लागत ३० वटा घर र १५ वटा शौचालय बनाइएको हो । बंगलाचुलीमा गरिबका लागि घर निर्माण गर्ने जिम्मा घोराहीस्थित माइन स्टोन कम्पनीले पाएको थियो । २ करोड ५८ लाख रूपैयाँमा आफूले घर बनाउने ठेक्का हात पारेको बताउने उक्त कम्पनीले पहाडी क्षेत्र भएकाले लागत केही महंगो पर्न गएको दाबी गरेको छ । कम्पनीका अनुसार घरबाहेक ४२ लाख रूपैयाँमा १५ वटा शौचालय बनाइएको हो । दुई घरका लागि एउटाका दरले शौचालय बनाइएको हो ।
यसैबीच, बंगलाचुली गाउँपालिकाको अघिल्लो नेतृत्वले बनाएका घरमा बस्नका लागि अहिलेको नेतृत्वले पनि गरिब परिवारलाई आह्वान गरिरहेको छ । ‘बेसहारा तथा विपन्नलाई पालिकाले बनाएका घरमा बस्न आउनुस् भनिरहेका छौं, पालिका अध्यक्ष तुलसीराम पुनले भने, ‘रित्ता घरमा अहिलेसम्म कोही बस्न आएको अवस्था छैन । प्रयोगमा ल्याउन सके ठूलो रकम खर्चेर बनाएको सार्वजनिक सम्पत्तिको उपयोग हुने थियो ।’घर नभएकालाई घरको व्यवस्था गरका थियौ उनीहरुले महत्व बुझ्न सकेनन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ मा नमुना बस्ती निर्माण योजना अनुसार गरिब तथा असहाय परिवारका लागि घर बनाउन संघीय सरकारले दुई करोड रुपैयाँ दिएको थियो । गाउँपालिका आफूले एक करोड रुपैयाँ छु्ट्टाएर काम गरेको थियो । तीन करोड रुपैयाँ लागतमा गाउँपालिकाले चारवटा वडामा गरी ३० वटा दुई–दुई कोठाका भूकम्प प्रतिरोधी घर बनाएको थियो ।