© २०२३
घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने कोही छैन । करिब १ महिना त उनी बहिनीको हेरचाह गर्नको लागि विद्यालय आईनन् । घरको छतबाट विद्यालयमा साथीहरूले पढेको हेर्नेबाहेक उनको विकल्प थिएन । पढाइमा तेज दिमागकी उनलाई विद्यालय नगई मनले मानेन । त्यसैले ६ महिनाकी बहिनी पिँठ्युमा बोकेर उनी विद्यालय पढ्दै आएकी छन् । यो १० वर्षीय सुनिता विकको बेदना हो । वीरेन्द्रनगर नगरपालिका–१० दिपनगर सुर्खेतमा बस्दै आएकी सुनिता वि.क मंगलगढि प्राथमिक विद्यालय दिपनगर सुर्खेतमा कक्षा ५ मा पढ्दैछिन् ।
बुवाले दोस्रो विवाह गरेर बेपत्ता भएपछि आमा सीता वि.क लेबर काममा जान्छिन् । दाई कक्षा ९ मा पढ्दै छन् । सुनिताका बुवाले दोस्रो विवाह गर्ने बेलामा उनकी आमा गर्भवती थिइन् । बुवाले घर छोडेको डेढ वर्ष भयो । उनकी बहिनी पनि अहिले करिब एक वर्षकी भइन् । सुनिताले गत जेष्ठ महिनादेखि बहिनीलाई पिँठ्युमा बोकेरै विद्यालय पढ्दै आएकी छन् । अचम्मको कुरा त यो छ कि सुनिता कक्षाको मात्रै होईन विद्यालयकै राम्रो विद्यार्थी हुन् । सुनितालाई सुरु सुरुमा त साथीहरूले जिस्काउँथें । त्यहि कारणले उनलाई पनि विद्यालय नजाउँकी जस्तो लाग्थ्यो तर सुनिताले हिम्मत हारिनन् । भन्छिन्–‘सुरुसुरुमा त मलाई बहिनी बोकेर विद्यालय आउन नरमाईलो लाग्थ्यो । साथीहरूले पनी जिस्काउँथे । तर मेरो आमाको दुःख देखेर मलाई पढाइ छोड्न मन लागेन ।’ सुनितालाई भविष्यमा शिक्षक बन्ने मन छ । आफूजस्तै दुःख पाएकाहरूका लागि सहयोग गर्ने पनि लक्ष्य बोकेकी छन् सुनिताले ।
सुनिता कक्षाकोठामा बहिनीलाई बोकेर उभिरहन्छिन् । बहिनी निदाएको बेलामा मात्रै सुनिता बेञ्चमा बस्न पाउछिन् । कहिले काहीँ सुनिताकी बहिनीको कारण कक्षाकोठाका सबै विद्यार्थीहरूलाई असर गर्छ । विद्यालयकी प्राधानाध्यापक शान्ति ढकाल भन्छिन् ‘सुनिता विद्यालयमा भर्ना भएपछि एक महिना विद्यालय आईनन् । कारण बुँदा बहिनीको धरालो गर्नुपर्ने बाध्यता रैछ ।’ उनीहरूको आर्थिक स्थिति पनि एकदमै नाजुक छ । हामीले विद्यालयबाट सुनिताका लागि पोशाकको पनि व्यवस्था गर्दै आएका छौं । सुनिता कक्षाको मात्रै होइन विद्यालयकै राम्रो विद्यार्थी हो ।’ प्राधानाध्यापक ढकालका अनुसार सुनिता बहिनीका लागि ढाई आमा नै हुन् । उनले थपिन्–‘हाम्रो विद्यालय कक्षा ५ सम्म मात्रै छ । अब सुनिता अर्को विद्यालयमा जानुपर्छ । हामीले चाहेरपनि उनलाई सहयोग गर्न सक्दैनौं । आर्थिक अभावका कारण सुनिताको पढाई अलपत्र हुन्छ कि भन्ने डर छ ।’ सहयोगी दाताहरूसँग सुनिताको परिवारलाई आर्थिक सहयोगको अपिल समेत प्राधानाध्यापक ढकालले गरेकी छन् । सुनिताकी आमा सीता विक भन्छिन् ‘म डुङेश्वर गाउँपालिका–२ लाँकुरी दैलेखमा बस्थें ।
श्रीमान सुर्खेतमै बस्नुहुन्थ्यो । अर्काको श्रीमती उठाएर हिँड्नुभएछ । मुद्दा परेपछि अहिले घरजग्गापनि अदालतले एकोहोरो फैसला गरेर लिलाम बोल्नेवाला छ । श्रीमान्को अत्तोपत्तो छैन ।’ उनले रुँदै भनिन्‘ तीनजना छोराछोरीको पेट भर्नको लागि मैले लेबर काम गर्दै आएकी छु । सानो छोरी ६ महिनाकी थिई मैले बाहिर काम गर्न जाँदा । अहिले सम्म काम गरेरै छोराछोरीको पेट भरेकी छु ।’ सीतालाई छोराछोरी कसरी पठाउने भन्ने ठूलो चिन्ता छ । पढाइमा साक्षर मात्रै सीताले लेबर काम गरेर दिनमा तीन देखि पाँच सय मात्रै कमाउने र त्यो पनि काम नपाउँदा भोकै बस्नुपर्ने बाध्यता भएको बताउँछिन् । सुनिताका लागि कुनैपनि संघसंस्थाले सहयोग नगरेको र विद्यालय कापीकलम तथा पोशाक समेत दिँदै आएको शिक्षक शिवप्रसाद उपाध्यायले बताए ।