© २०२३
बसन्त पोखरेल
चराहरू जुन आवाजमा कराउँछन् त्यसैअनुसार मानिसले त्यसको नाम निरूपण गर्छन् । ठाउँका नामबाट, घरका आकृतिबाट, मानिसले गर्ने खेतिपातीका बिशेषताबाट थरहरू राखिएका हुन्छन् । भण्डार हेर्ने भण्डारी, अधिकार प्राप्त गरेकाहरू अधिकारी, गोताममा बस्ने गौतम, पोखरी नजिक बसेकाहरू पोखरेल, कोइरालो खेती गरेकाहरू कोइराला, घरमा लामोखाले छानो छाएकाहरू लामिछाने बनेका हुन् । राशिकै कुरा गर्ने हो भने सबैजसो कुनै न कुनै प्राणी वा बस्तुको नामबाट राशिका नामहरू राखिएको छ । त्यसैले भन्न सकिन्छ प्रकृतिमा मानिसभन्दा अगाडि बस्तुको उपस्थिति छ । तिनै बस्तुको एउटा अंशको विकास हुँदैजाँदा मानिसको उत्पत्ति भएको छ । पानीमा उत्पन्न भएको एक कोषीय जीब अमिवा नै आजको मानिसको उद्गमस्थल हो । यहाँसम्म आइपुग्न मानिसलाई ठूलो संघर्ष गर्नुप¥यो । लामो समय लाग्यो । तर, हामीमध्ये अधिकांश मानिसहरूले हामी ईश्वरको सृष्टि हौँ, सबै बस्तुहरू ईश्वप्रदत्त छ भनेर माथितिर हात पसारेर ढोग गरिरहेका छौँ ।
ढोग्ने चलन बडो अनौठो हुन्छ । हामीले पढ्ने पुरानो एसएलसीको अंग्रेजी पुस्तकमा एकठाउँ राजा महेन्द्रलाई इन्कारनेशन अफ गड (भगवानको रूप) लेखिएको थियो । हामीलाई लाग्थ्योः हुन सक्छ । किनभने हामीले भगवानलाई मान्थ्यौँ । यत्रो देश चलाउन सामान्य मानिसको बुताभन्दा बाहिर होला भन्ने ठान्थ्यौँ । यसकारण पनि ठान्थ्यौँ कि सामान्य मानिसको रूपमा आफ्ना घरका अभिभावक, छिमेकीहरूलाई मात्र बुझेका हुन्थ्यौँ । बर्ष बर्षमा राजाको जन्मदिन मनाउँदा र सारा मानिसहरूले जयजयकार गरेको देख्दा हामी पनि जयजयकार गर्न पुग्थ्यौँ । राजाको फोटा देखेर सबैजनाले शिर झुकाउँथे । नमस्ते गर्थे । हामी पनि नतमस्तक हुन्थ्यौँ । शेरबहादुर देउवालाई अपदस्त गरी हातमा शासनभार लिएका पूर्व राजा ज्ञानेन्द्रलाई कुनै कार्यक्रममा महिलाहरूले गोडामा ढोगेको दृष्य टेलिभिजनमा देखाइएको थियो । त्यो ढोगलाई राजाले स्वीकारीरहेका थिए गोडा पसार्दै । त्यसले पुष्टि गथ्र्यो कि आजभन्दा एक दशक अगाडिसम्म शक्तिलाई मानिसले शासकको गोडामा देख्न पुग्थे । सामन्तवादले यो एकखालको परम्पराको रूपमा उभ्याइदिएको थियो ।
दरबारहरूमा राजाले खुट्टा ढोगाएर शक्ति प्रदर्शन गरेका हुन्थे । आफूप्रति जनताको अगाध आस्था छ भन्दै त्यो ढोग देखाएर शासन लाधेका थिए । त्यसको देखासिकी प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूले गोडामा दाम राखेर ढोग्दै आफ्नो कुर्ची जोगाएका हुन्थे । गाउँमा जमीन्दार, जिम्माल मुखियाहरूले सामान्य मानिसलाई ढोगाउँथे । यसलाई चलन चल्तीको संस्कार भनिन्थ्यो, मानिन्थ्यो । यस्तो चलन सायद कतिपय ठाउँमा अहिले पनि चलिरहेको होला । हामी अहिलेसम्म यहि ढोगको राजनीति भन्दा माथि उठ्न सकिरहेका छैनौँ ।
अहिले ढोग नाम गरेको भाषा फेरिए पनि प्रबृत्ति फेरिएको छैन । शक्तिलाई नै शासन मानिएको छ । शक्ति कसरी आर्जन गर्न सकिन्छ र राज्य, समाजमा आफ्नो हैकम कसरी बढाउन सकिन्छ भन्ने चिन्ताले शासकहरू ग्रस्त छन् । त्यसैको सेरोफेरोमा उनीहरूको दौडधूप जारी भएको देखिन्छ । पहिला माथि पुग्नको लागि देखिने गरी चाकरी प्रथा अँगालिएको थियो भने अहिले घुमाउरो बाटोबाट त्यहि प्रथा जारी छ । राम्रोको यहाँ मूल्य छैन । सबैलाई हाम्रो मानिस चाहिएको छ । आफ्नो मानिस चाहिएको छ । चुनावहरूमा गुण्डा दललाई पछि लगाएर हिँड्ने नेताहरू अहिले पनि थुप्रै छन् । कारबाही गर्नुपर्ने गुण्डाहरूलाई आशिर्वाद दिएर हप्ता अशुल्न लगाई कमिशन खाने शासकहरू छन् । बिरोधीलाई तह लगाउन सुपारी बाँड्ने चलन ब्याप्त छ । मोटो रकम दिने पार्टी छ भने त्यसले काम पटाउन सक्छ । रकम दिन आनाकानी गर्नेहरूको निकै जोर जुत्ता घिसाइन्छ । काम नहुने देखिएपछि जुत्ता कति घिसाउने भनेर उसले पनि भ्रष्टाचारलाई अँगाल्न पुग्छ । बाध्यता हुन्छ । हाम्रा राजनीतिका खेलाडी पुर्खाहरूले धर्म, ईश्वर, कर्म, पूर्बजन्म, पुनर्जन्म आदिको च्यादर ओढाइएको अज्ञात बस्तुलाई देखाएर आफ्नो हातमा लगाम अँठ्याउन जनतामा राजनीति लाध्दै आए । भगवानले पठाएको प्रतिनिधिको रूपमा आफूलाई उभ्याए । जिउँदो हुँदासम्म शासन गरे । मरेर गएपछि उनीहरूको मूर्ति र सन्ततीले शासन गर्न थाल्यो । कतै देउताको नाममा उभिए । कतै टाउकोको चरो उडेर नगएसम्म म जिउँदो हुनेछु भनेर चेतावनी दिए । कतै चौबाटोमा माला थाप्दै मूर्तिको रूपमा ठडिए । कतै घोँडामाथि लगाम खिचेर आफ्नो पुरानो चुरीफुरी देखाइरहे । यो सबै ढोग राजनीतिको परम्परागत सँस्करण थियो । अहिले त्यसलाई नयाँ संस्करण दिने काम भइरहेको छ । परम्परावादी चिन्तनका मानिसहरूले सत्ताको लगाम हातमा लिँदासम्म राजनीतिमा नयाँ मोड आउँदैन । राजनीतिमा रूपान्तरण हुन सक्तैन । समाज विकासमा आमूल परिवर्तन आउन सक्तैन ।
हामीले भन्छौँः नेपालको राजतन्त्र समाप्त भयो । राजतन्त्र भनेको सामन्तवादी शैलीको अधिनायकवादी शासन प्रणाली हो । हाम्रो समाजबाट त्यो चिन्तन, शैली निर्मूल भएको छ कि छैन ? खोज्नु पर्ने बिषय यो हो । राजालाई कुर्णेश गरेर दाम चढाएर ढोग गरेका, उनको अगाडि सपथग्रहण गरेका नेताहरू अहिले पनि सत्तामा फँणा फिँजाएर बसेका छन् । राजाको सामन्तवादी दर्शनलाई शिरमा बोकेर हिँडिरहेका छन् । ब्युरोक्रेशीमा कुनै फेरवदल भएको छैन । कुनै परिवर्तनको आभाष पाउन जनताले सकिरहेका छैनन् । उही ब्यबहार छ । उही चिन्तन प्रणाली छ । काम गर्ने उही शैली छ । केही मुखले गणतन्त्र गणतन्त्र भन्दैमा त्यो गणतन्त्र बन्न सक्तैन । गणतन्त्र संस्थागत गर्नका लागि नेताहरूमा गणतान्त्रिक चरित्रको विकास हुनुपर्छ । नेताहरूको चिन्तनमा छलांग लाग्नुपर्छ । साँस्कतिक रूपान्तरण हुनुपर्छ । त्यो भएको छ कि छैन ? गणतन्त्रको संस्थागत विकास त्यसमा भर पर्छ । गणतन्त्रकै कुरा गर्दा भारतीय शासकले पनि भारतलाई गणतान्त्रिक मुलुक भन्दै आएका छन् । तर, त्यहाँ कुन खालको गणतन्त्र छ कसैले भन्न सक्तैन । सिंग नभएको गोरुलाई तिखे नाम राख्नुजस्तो भएको छ यहाँको गणतन्त्र ।
परम्परावादी पुर्पुरो, पापपुण्य, पूर्वजन्म र पश्चजन्मवादले निकै लामो शासन ग¥यो । अहिले पनिहामीमाथि यसैले शासन गरिरहेको छ । किनभने हामीले त्यसको विकल्प दिन सकेनौँ । विकल्प दिनको लागि त्यहि किसिमको नेतृत्व विकास हुनुपर्दोरहेछ । नेतृत्व विकासमा जनताले निकै सहयोग गरेका छन् । टुप्पोमा पुराइदिन्छन् । तर, टुप्पोमा पुगेर जब नेतृत्वले सत्ताका कुर्चीहरू देख्न पुग्छ त्यसपछि जनतालाई, आफ्नो कार्यभारलाई भुलेर सम्झौता गर्न पुग्छ र थोरै सुविधाहरू हातमा लिएर त्यहाँ पुग्नको लागि नयाँ बहाना खोज्न थाल्छ । बिस्तारै सत्ताको चेस खेलमा कहिले सिपाही बन्छ, कहिले घोँडा बन्छ । कहिले मन्त्री बन्छ । यस्तै यस्तैमा आफू हराउँछ । आफ्नो झुण्डलाई अल्मलाउँछ । यहि गतिबाट यहाँको नेतृत्व विकास हुँदै आएकोकारण विकल्पका बाटाहरू खोज्ने काम हुन सकेन । जनतालाई बाटो देखाउने नेतृत्व नै कुबाटो हिँडेपछि त्यो सम्भव नहुँदोरहेछ । त्याग र निष्ठाको नेतृत्व नभएको कारण अहिले गणतन्त्रको कन्तविजोग भएको छ । जुन गणतन्त्रको पाठ जनताले पढेका थिए त्यो ठीक उल्टिएको अवस्थामा आइपुग्यो । हुँदाहुँदा नेतृत्वका कारणबाट फेरि हामी नेता र शक्तिकेन्द्रलाई ढोग्ने, कुर्णेश गर्ने, दाम चढाउने र आइपरेका काम पट्याउने राजनीतिमा लामबद्ध हुँदैछौँ । कहिलेसम्म यो चलन चल्छ भन्न सक्ने अवस्था छैन ।[email protected]