ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

चुरेको अनिश्चित भविष्य

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

महाभारत पर्वत शृंखलाको दक्षिणी सिमाना देखि तराई मैदानको उत्तरी सिमाना बीचको होंचो डाँडा र पर्वत शृंखला नै चुरे हो । यो क्षेत्र पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ । समुद्री सतहको १२० मिटर देखि २००० मिटरसम्मको उचाइमा अवस्थित चुरेले नेपालको करिब १३ प्रतिशत भूभाग ओगटेको छ । तराईका २० र पहाडका १६ गरि ३६ जिल्लामा फैलिएको चुरेलाई हिमालय पर्वतीय क्षत्रको सबैभन्दा कान्छो र कमजोर भू–धरातल मानिन्छ । बालुवा, गिर्खे चट्टान, कंकड माटो र पत्रे चट्टानबाट बनेको चुरे क्षेत्रसंगै दक्षिणमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावरको समथर भूभाग छ । नेपालको प्राकृतिक वनमध्ये २३.०७ प्रतिशत र बुट्यान तथा अन्य वन क्षेत्रको ३.५ प्रतिशत चुरे क्षेत्रमै रहेको छ । चुरेको कुल क्षेत्रफल १,८९८,२६३ हेक्टरमध्ये वन क्षेत्रले १,३७३,७४३ हेक्टर (७२.३७%), अन्य काष्ठ तथा बुट्यान क्षेत्रले २२,६७२ हेक्टर (१.१(%) र अन्य क्षेत्र क्षेत्रले ५०१,८४८ हेक्टर (२६.४४%) भाग ओगटेको छ ।
चुरेको कुल वन क्षेत्रफलमध्ये संरक्षित क्षेत्रले १८% र मध्यवर्ती क्षेत्रले ६% ओगटेको छ । चुरेमा ३ प्रतिशत कोणधारी (सल्लो प्रजाति), ८३ प्रतिशत साल तथा उष्ण प्रदेशीय वन र १४ प्रतिशत मिश्रित वनस्पतियुक्त वन पाइन्छ । चुरेमा १३ किसिमका पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) छन् । चुरेलाई तराईको जीवन मानिन्छ । चुरे र भावर क्षेत्रले वर्षा र नदीको पानीलाई सोंसेर राख्दछ, जुन तराईको भूमिगत पानीका साथै तराइमा बग्ने सबैजसो खहरे र मझौला खोलाहरूको श्रोत हो । चुरेले माटो र पानी संरक्षण गरेर तराईको उर्वर भूमि जोगाउँदै खाद्यान्न उत्पादनमा योगदान दिई रहेको छ । चुरेसँग १ करोड ३३ लाख १८ हजार ५०७ जना नेपाली अर्थात् कूल जनसंख्याको ५०.२७ प्रतिशत जनसंख्याको जीवन गाँसिएको छ । नेपालका झन्डै १५ लाख परिवार प्रत्यक्ष रूपमा चुरे भावर क्षेत्रमै आश्रित रहेको बताइन्छ ।

दाउन्ने पहाड देखि कर्णाली नदीसम्म फैलिएको ५ नम्बर प्रदेशमा तराइको समानान्तर चुरे पहाड समेत तन्किएको छ । यहाँका १२ वटा जिल्लाहरूमध्ये ९ वटा जिल्लाहरूमा चुरे क्षेत्र रहेको छ । चुरेले प्रदेशको ५ लाख ४८ हजार ८८० हेक्टर भूभाग ओगटेको छ । चुरेको ठूलो भूभाग दाङ्ग जिल्लामा रहेको छ, जहाँको कूल क्षेत्रफलको ८४ प्रतिशत भूभाग चुरेमा रहेको छ । त्यसैगरी पश्चिम नवलपरासीको ४५ प्रतिशत ( अनुमानित), अर्घाखाँचीको ३९ प्रतिशत, बर्दियाको ३४.६ प्रतिशत, बाँकेको ३४ प्रतिशत, रूपन्देहीको १७ प्रतिशत भूभाग चुरेले ओगटेको छ भने प्युठानमा २.२३ प्रतिशत मात्र चुरे क्षेत्र रहेको छ । स्थानीय तह अनुसार हेर्दा दाङ्गका साबिकका राजापुर ( ३७१२६ हे.), सतबरिया (२२२०९ हे.), बेला गाविस (२०५५६ हे.) र पुरन्धारा गाविस( १६१४६ हे.), बाँकेका खासकुस्मा (३००२८ हे.), कचनापुर (१५८३९ हे.) र बैजापुर ( ९०९८.४ हे.), बर्दिया राष्ट्रिय निकुन्ज(६६२४६ हे.), नवलपरासीको साविकको धुर्कोट गाविस( १५२२०.६ हे.), रूपन्देहीको सैनामैना नगरपालिका (९१४३.६ हे.) र देवदह नगरपालिका (७७०७.१ हे.) चुरेको क्षेत्रफल धेरै भएका स्थानीय निकायहरू हुन् । चुरेदेखि नजिकै चुरेको समानान्तर हुने गरि महेन्द्र राजमार्ग निर्माण भएकोले चुरेको दक्षिणतर्फ ठूला बस्तीहरू रहेका छन् । बर्दघाट, सुनवल, देवदह, बुटवल, सैनामैना, बाणगंगा, शिवराज, शितगंगा, लमही, घोराही, तुलसीपुर, कोहलपुर नगरपालिकाहरू चुरे र भावर क्षेत्रमा रहेका छन् ।
पाँच नम्बर प्रदेशमा भौगोलिक रूपमा चुरेले जति स्थान ओगटेको छ, त्यो भन्दा बढी आर्थिक, वातावरणीय महŒव यसले समेटेको छ । यहाँका भुमही खोला, तुरिया खोला, कजरार, रोहिणी, तिनाउ, कन्चन, बाणगंगा, सुराही, इन्गुरिया, सीतापुर खोला, झिमरुक खोला, कोइलाबास खोला, राप्ती, बबई, मानखोला, डुडुवा, गेरुवा खोलाको मुख्य जलाधार क्षेत्र चुरे नै हो । त्यसैगरी कर्णाली र भेरी नदीमा समेत चुरेको ठूलो भूभागको पानी मिसिने गर्दछ । चुरे जलाधार क्षेत्रले यहाँका नदीहरूलाई नियमित पानी आपूर्ति गर्ने र तराईको भूमिगत पानीको भण्डार निरन्तर रिचार्ज गरिरहने काम गरेका छन् । तराईका सबैजसो पुराना सिचाइँ प्रणाली र कुलोहरू चुरेका खोलाहरूमा आधारित रहेका छन् । तराईलाई भूमिगत र सतही पानी उपलब्ध गराएर यहाँको खेतिपातीलाई सहज बनाउने र तराईलाई हराभरा बनाउन चुरे क्षेत्रले मुख्य योगदान गरेको छ । चुरेमा रहेको वन जंगलले तराईलाई शितलता र सुन्दरता मात्र प्रदान गरेको छैन, तराईबासीको लागि घाँस दाउरा र काठपात समेत उपलब्ध गराएको छ । तराई र पहाडको साँस्कृतिक र भौगोलिक संगम चुरे क्षेत्र बनेकोले पछिल्ला दिनहरूमा यो क्षेत्र आन्तरिक पर्यटकहरूको गन्तब्य समेत बनिरहेको छ ।
राणाकालमा चुरे क्षेत्रलाई सामरिक महŒवको थलोको रूपमा हेर्दै त्यस क्षेत्रलाई बसोबास मुक्त क्षेत्र राखिएको थियो । पंचायती कालको मध्यसम्म तराईमा घना जंगल रहेको र तराईमा जनसंख्याको चाप पनि खासै नपरेको कारणले २०४० को दशकसम्म सम्पूर्ण चुरे सुरक्षित थियो । चुरेको किनारा हुदै पुर्व–पश्चिम महेन्द्र राजमार्ग बनेपछि भावर क्षेत्रमा केही बजारहरू बनेका थिए र राजमार्ग हुँदै पहाड उक्लने सडकहरू बन्न थालेपछि भावर र सँगैको चुरे क्षेत्र ब्यापारिक र रणनीतिक महत्वको क्षेत्र बनिरहेको छ र यहि क्षेत्रमा बसोबास गर्न रुचाउने मानिसको संख्या दिनानुदिन बढिरहेको छ । महेन्द्र राजमार्ग दक्षिण रहेका बस्तीहरू क्रमशः चुरेको फेँदसम्म पुगेका छन् र तराईमा झार्न नसकेकाहरूले अवसरको खोजीमा चुरे हुँदै पहाड उक्लेका सडक छेउँछाउँ बसोबास गर्दै जाँदा अहिले चुरेमा घना वस्तीहरू बन्न थालेका छन् । दाङ्ग जिल्लाको सम्पूर्ण चुरे क्षेत्र, अर्घाखाँचीको शितगंगा नगरपालिका, कपिलवस्तुको पत्थरकोट क्षेत्र, रूपन्देहीको सैनामैना र देवदह तथा नवलपरासीको सुनवल र बर्दघाटको धुर्कोट क्षेत्रमा जोखिमपूर्ण चुरे क्षेत्रमा वस्तीहरू थपिँदै गएका छन् । चुरे क्षेत्रमा बढ्दो जनसंख्यासंगै यहाँको वनजंगल र जलाधार क्षेत्र मासिने क्रम बढ्दो छ ।
प्रदेश ५ को चुरेको झलक
जिल्ला चुरेले ओगटेको क्षेत्रफल( हे.) चुरेमा बसोबास गर्ने परिवार संख्या चुरेको जनसंख्या
पाल्पा २५०९८.३ ५२८० २७३६९
रूपन्देही २३५०५.४ ४४४८४ १८३२८७
नवलपरासी २९०७८.४ १११७५ ५९१७४
अर्घाखाँची ४६६१६.६ ६७६७ ३२२५४
कपिलवस्तु २२३८६.४ ४१३३ २०८४३
प्युठान ३०५१.६ १३२० ६७०७
दाङ्ग २४८१४० १०९२५५ ५१३२९२
बाँके ८०८७२ १४११८ ७४८५२
बर्दिया ७०१३१ १८८८ ८२५६
जम्मा ५४८८७९.७ १९८४२० ९२६०३४
श्रोतः राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति र संघीय मामिला मन्त्रालयका विभिन्न प्रतिवेदनहरू (तथ्याङ्कहरूको पुनर्तालिकिकरण गरिएको छ )

छोटो बाटोले तराईसँग जोडिने नाममा नवलपरासी देखि बर्दियासम्मका सबै चुरे क्षेत्रहरूमा अन्धाधुन्ध किसिमले डोजरले पहाड खन्ने काम भैरहेको छ । केही जिल्लाहरूमा त जंगलको काठ दाउरा निकासी गर्नका लागि सामुदायिक वन समुह र काठ तस्करहरूले समेत चुरेमा बाटो खनेका खबरहरू आएका छन् । अबैज्ञानिक ढंगले जथाभावी किसिमले बाटो खनिएकोले चुरे क्षेत्रमा भूक्षय र पहिरोका घटनाहरू वर्षेनी बढिरहेका छन् । विगतमा खोला नदिबाट ढुंगा गिट्टी र बालुवा जस्ता नदीजन्य पदार्थहरू निकाल्ने गरिएको भए पनि दुई दशकयता चुरे दोहन गरेर यस्ता पदार्थहरू निकाल्ने गरिएको छ । पाल्पा, अर्घाखाँची, दाङ्ग जिल्लामा अहिले अनियन्त्रित किसिमले चुरे पहाड खनेर चुनढुंगा निकाल्ने गरिएको छ । यसले चुरेलाई कमजोर बनाएको मात्र छैन,जलाधार क्षेत्र विनास गरेर चुरेलाई सुख्खा र प्रदूषित बनाएका छन् ।
प्रदेशको चुरे क्षेत्र नेपाल र भारतका संरक्षण क्षेत्रहरूलाई जोड्ने मुख्य जैविक मार्ग हो । चुरे क्षेत्रमा बढ्दो अतिक्रमण र वन विनाशले गर्दा बुटवल, पत्थरकोट, भालुवांग क्षेत्रमा वन्यजन्तुको जैविक मार्ग टुक्रिएको छ र वन्यजन्तुको आवागमन तथा बिस्तारमा अवरोध आएको छ । जथाभावी चुरे दोहनले चुरे क्षेत्रका जलाधार क्षेत्रहरू सुख्खा हँुदै गएका छन्, नदिहरू पुरिँदै गएका छन् र तराईका मलिलो मैदान बालुवाले पुरिँदै गएको छ । विगतमा बाह्रैमास पानी बग्ने तुरिया, तिनाउ, बाणगंगा जस्ता साना र मझौला खोलाहरूमा मुस्किलले ५ महिना पनि मात्र बग्न थालेको छ भने खहरे खोलाहरू बालुवा बोक्दै खेतबारीबाट बग्न थालेका छन् । वन विनाश र भुक्षयले चुरे भावरमा जल संचय गर्ने क्षमतामा ह्रास आएको छ । चुरे सुक्खा भएको र नदीहरूमा पानी सुकेकोले तराईका सिचाइँ प्रणालीहरू नराम्ररी प्रभावित भएका छन्, तराईको भूमिगत पानीको सतह पनि निरन्तर तल झरिरहेको छ ।
वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०६७÷०६८ देखि सरकारले संचालन गर्दै आएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रदेश ५ का चुरे क्षेत्रमा समेत लागु भएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा नेपाल सरकारले सन् २००१ देखि यस प्रदेशका तराईसंग सिमाना जोडिएका ८ वटा जिल्लामा तराई भू परिधि कार्यक्रम (ताल) संचालन भैरहेको छ । चुरे र तराईको भू–संरक्षण र जैविक विविधता संरक्षणमा केन्द्रित रहेर तालले खाता (बर्दिया), महादेवपुरी (बाँके), लमही (दाङ्ग) र दोभान (पाल्पा) क्षेत्रमा कार्यक्रमहरू संचालन गरिरहेको छ । चुरे व्यवस्थापन सम्बद्ध सबै पक्षहरूलाई समन्वय गरी एकिकृत रूपमा कार्यक्रम संचालन गर्न असार २, २०७१ को मन्त्रिपरिषद् निर्णयले पश्चिममा कन्चनपुरदेखि पूर्वमा झापासम्मका ३६ जिल्लाहरूको चुरे क्षेत्रलाई समेटेर वातावरण संरक्षण क्षेत्र घोषणा गरी व्यवस्थापनका लागि राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति गठन गरेको छ । यो समितिले २०७४ सालम चुरे संरक्षणको गुरुयोजना समेत तयार गरिसकेको छ । चुरे संरक्षणको लागि लामो समयदेखि औपचारिक र अनौपचारिक कार्यक्रमहरू हँुदै आएपनि चुरे ब्यबस्थापनको सवालहरूलाई वनक्षेत्रसँग मात्र जोडिनु तर यसले प्रभाव पार्ने कृषि, सिचाइँ, सडक, जलप्रकोप, उद्योग अनि स्थानीय सरोकारवाला निकायहरू ब्यबस्थापनको प्रकृयाबाट अलग्गै रहनुले सरकारी प्रयासहरूले चुरेको अवस्थामा सुधार आउन सकिरहेको छैन ।
तराइमा वनजंगल मासिँदै जाँदा चुरेको वनमा अत्यधिक चाप देखिएको छ । दाङ्गका सम्पूर्ण चुरे क्षेत्र, कपिलवस्तुको उत्तर पश्चिमी चुरे क्षेत्र रूपन्देहीको मलामला क्षेत्रका चुरेमा ठूला रुखहरू देख्न मुस्किल भएको छ । यी ठाउँहरू अहिले उजाड भएका मात्र छैनन् अत्यधिक मरुभुमिकरणको संघारमा समेत पुगेका छन् । विगतमा सुकुम्बासीको रूपमा तराई झर्ने गरिएको भएपनि अचेल भूमिहीनहरूको रोजाई चुरे पहाड परेको छ । चुरेमा वस्ती बढ्दै जाने क्रमसंगै त्यहाँ भौतिक निर्माणका कामहरू पनि बढिरहेका छन् । संघीय सरकारले चुरे पहाड हुँदै पूर्व पश्चिम मदन भण्डारी मार्ग बनाउने घोषणा गरिसकेको छ । यो राजमार्गको निर्माणले चुरेको दोहन अझै बढ्ने निश्चित छ । पाँच नम्बर प्रदेश सरकारले चुरेमा पानीका श्रोतहरूलाई जोगाउनको लागि चुरेमा पोखरी निर्माण गर्ने घोषणा गरेको छ । तर, चुरेका अन्य अवयवहरू नासिँदै जाँदा पानी पोखरीले मात्र चुरेको संरक्षण कदापि हुन सक्दैन । चुरेलाई जीवित राख्दै जलाधार संरक्षण र तराइको भूमिगत पानीको निरन्तरताको लागि चुरेमा प्रसस्त मात्रामा वन हुनु आवश्यक छ । चुरेका खानीहरूलाई व्यवस्थित गर्ने, नदिजन्य पदार्थको दोहनलाई नियन्त्रण गर्ने, चुरेमा जथाभावी सडक खन्ने काममा तत्कालै रोक लगाउने, चुरेमा रहेका वस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरि एकीकृत वस्ती निर्माण गर्ने जस्ता कार्यक्रमहरू स्थानीय र प्रदेश सरकारले ल्याउनु जरुरि छ । सम्पूर्ण चुरेलाई पर्यावरणीय क्षेत्रको रूपमा संरक्षण गरियो भने प्रदेशले त्यो क्षेत्रबाट पर्यटकीय लाभ, वातावरणीय सेवा र दिगो सुरक्षा पाइरनेछ ।   [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?