© २०२३
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वरोजगारमूलक तालिम लिएका जनशक्तिले आर्थिक आयआर्जनमा संलग्न भए नभएकोबारे नियमन गर्ने भएको छ । स्वरोजगारमूलक तालिम लिएका व्यक्तिहरू आयआर्जनमा संलग्न भएभने मात्रै तालिमको उपलब्धि हुने ठानेर नगरपालिकाले नियमनको तयारी गरेको हो ।
तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा महिला तथा युवा गरेर दुईसय जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको थियो । यसका लागि नगरपालिकाले करिव ६० लाख रूपैयाँ खर्चिएको थियो । “तालिमको उपलब्धि के भयो, कति जनशक्ति स्वरोजगारमूलक काममा संलग्न भए भन्ने बारेमा नगरपालिकाले अव छिटै नै नियमन गर्दैछ, यसका लागि हामीले प्रत्येक वडामा टोली खटाउँछौ”–नगरप्रमुख वासुदेव घिमिरेले भने । नगरपालिकाले तीन महिने आधारभूत तालिमदेखि लिएर हेयर कटिङ, पलम्बिङलगायतका विभिन्न सीपमूलक तालिम प्रदान गरेको थियो । तालिम सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरिएको थियो ।
“नगरपालिकाले गतवर्ष सञ्चालन गरेको तालिमबाट धेरैले सिपमूलक काम सुरु गरेको पाइएको छ, यद्यपि के कति जनशक्ति लाभान्वित भयो, नियमनपछि तथ्य आउने छ, महिला, युवा युवतीहरूको सशक्तिकरण र उनीहरूलाई आत्मनिर्भरतर्फ उन्मुख गराउनु हाम्रो लक्ष्य हो”–नगर प्रमुख घिमिरेले भने । उनले सीप सिक्नु भन्दा व्यवहारमा लागू गर्नु ठूलो कुरा भएको बताए । “तालिम लिने तर सिकेको सीपको उपयोग गरिएन भने तालिम निरर्थक हुन्छ, त्यसैले सीपलाई व्यावहारिक प्रयोगमा ल्याउन सकेमात्रै उपलव्धि हासिल हुन्छ”–घिमिरेले भने ।
नगरपालिकाबाट प्रदान गरिने तालिमहरूलाई सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी वर्ष न्यूनतम पाँच सय जना युवा÷युवतीलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने नगरपालिकाको लक्ष्य छ । नगरप्रमुख घिमिरेका अनुसार पुष्प खेती सम्बन्धी तालिम ३४ जनालाई प्रदान गरिने छ । त्यसैगरी प्राविधिक क्षेत्रका लागि समेत रोजगारमूलक तालिम प्रदान गरिने घिमिरेले बताए । नगरपालिकाले रोजगारमूलक तालिमका लागि आगामी वर्ष पनि ६० लाख रूपैयाँ बिनियोजन गरेको छ ।
नगरपालिकाले औद्योगिक ग्राम, नगर तालिम केन्द्र, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा उद्योग क्षेत्र शीर्षकमा एक करोड २१ लाख रकम विनियोजन गरेको छ ।
नगरपालिकाले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादन गर्न विषयगत तालिमलाई एकीकृत अवधारणा अनुसार नियमित रूपमा सञ्चालन गर्न वडा नंं. २ र १५ वडा कार्यालयलाई ‘तिलोत्तमा नगर तालिम केन्द्र’ को रूपमा विकास गर्ने नीति लिएको छ । तालिम केन्द्रले सञ्चालन गर्ने तालिमबाट धेरैजना स्वरोजगार बन्ने समेत नगरपालिकाले जनाएको छ ।à