© २०२३
उत्तरकुमार पराजुली
अर्घाखाँची
तिहार शब्द हिन्दीको त्यौहारसित मिल्दोजुल्दो छ । हिन्दीमा चाडपर्वलाई त्यौहार भन्ने गरिन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । तिहार पाँच दिनको हुने हुनाले पञ्चक भनियो । यमराज यमुनाको विशेष गाथा गाइने भएकाले यी दिनलाई यमपञ्चक पनि भनिन्छ । हाम्रो व्यवहारमा पञ्चकका कुराहरू आइरहन्छन् । धनिष्ठादेखि रेवती नक्षत्रसम्मका पाँच दिनलाई पनि पञ्चक भनिन्छ र यी दिनमा अग्नि भय हुने खालका काम ( घर आरम्भ गर्ने, छाना छाउने, काठका काम जस्ता) वर्जित गर्ने चलन छ । त्यस्तै यमपञ्चकमा पनि खेतीमा नपस्ने, निर्माणादि कामको सुरुवात नगर्ने चलन छ । तर रमाइलो गर्ने जस्ता काममा भने तिहारमा वर्जित छैन ।
कार्तिक कृष्ण त्रयोदशीलाई काग तिहार कौवा तिहारका रूपमा मनाइन्छ । तिहारको रमाइलो भित्राउने दिनको हिसाबले यो तिहारको भत्खरु जस्तै दिन हो । यस दिन कौवालाई मीठामीठा खानेकुराका साथमा फूल माला राखिदिइन्छ ।
कार्तिक कृष्ण तिरादशीलाई प्राचीन कालका पहिलो चिकित्सक धन्वन्तरी जयन्तिको रूपमा पनि मनाइन्छ । धन्वन्तरीको पूजा अर्चनाले सुस्वास्थ्य दीर्घायु हुने मान्यता छ । यस दिन विशेष गरी आयुर्वेद क्षेत्रका अस्पताल तथा चिकित्सा शिक्षा अध्ययन संस्थानमा विशेष मानमानिताका साथ धन्वन्तरी जयन्ति मनाउने गरिन्छ ।
कार्तिक कृष्ण चतुर्दशीलाई कुकुर तिहारको रूपमा चिनिन्छ । शास्त्रीय रूपमा यस चतुर्दशीलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन यमराजको पूजा आराधना गरी नदी वा जलाशयमा दीप दान गरेमा नरक देख्नुपर्दैन भन्ने मान्यता छ । सो दिन दीप दान गर्दा भन्ने मन्त्र—
दत्तादीपचतुर्दश्यां नरक प्रीतये मया ।
चतुर्वत्तिंसमायुक्ताः सर्वपापमनुत्तये ।।
यस दिन दिदी बहिनीले चोखनित गरी आफ्नो र आफ्ना दाजु भाइका नाममा पातको दियोमा तेलको बत्ती बाली उल्लिखित मन्त्र भन्दै नदी वा जलाशयमा बगाइदिने गर्छन् । त्यसरी बगाइदिँदा ‘नर्के गयो हर्के आयो’ भन्ने गरिन्छ । यसको मतलब नकारात्मक वा नराम्रा कुरा गए हर्षका कुरा आए भन्ने हो । कुकुरलाई फूल माला र मीठा खानेकुरा दिने गरेर यस दिनले तिहारलाई अझ रमाइलो थपेको अनुभूति दिलाउँछ ।
तिहारे औँसी वा कार्तिक कृष्ण औँसीलाई सुख रात्री पनि भनिन्छ । मोह रात्री ( कृष्ण जन्माष्टमी, सुख रात्री ( कार्तिक कृष्ण औंसी ) कालरात्री .( आश्विन शुक्ल अष्टमी ) र शिवरात्री ( फागुन कृष्ण चतुर्दशी ) मुख्य रात्रीमध्येको सुख रात्रीमा निशी बार्ने जस्ता कुरा नगर्दाको दोष लाग्दैन भनिन्छ ।
कार्तिक कृष्ण औँसीमा गाईको पूजा गर्ने गरिन्छ । त्यसैले यस दिनलाई गौपूजा आँैंसी पनि भनिन्छ । कतिपयले यसै दिन गोबद्र्धन पूजा पनि गर्छन् । दिनमा गाईको पूजा गर्ने र साँझमा लक्ष्मीपूजा गर्ने यस दिन विभिन्न झ्याल ढोका, चोटा कोठामा बत्ती बालेर झलामली पारिन्छ । यस दिन उज्यालो पारिएको घरमा लक्ष्मीले बस्न रुचाउँछिन् र सो घर धनधान्यले पूर्ण हुन्छ भन्ने मान्यता छ । यसै दिनदेखि गीत सङ्गीत पे्रमीहरू भैली गीत गाउँदै कात्तिके दानको महत्व गाउँदै घरघरै हिड्छन् । हे औँसी बार गाइतिहार भैलो यस दिनको बोल सबैलाई प्रिय लाग्छ ।
अहिले भैली समूहमा महिला पुरुष मिसमास भएर हिड्ने गरे पनि पुरानू जमानामा महिलाको छुट्टै समूह पुरुषको छुट्टै समूह हुने गथ्र्यो । त्यसो हुँदा ठाउँ विशेषमा कहीँ पुरुषले भैलो भन्ने महिलाले देउसरी भन्ने र कहीँं महिलाले भैली भन्ने पुरुषले द्यौसिरे भन्ने गरिन्थ्यो र कतिपय ठाउँमा अझै पनि गरिन्छ । त्रिशुली पूर्व भने औँसीका दिन भैली भन्ने र यसपछिका दिनमा द्यौसिरे भन्ने गरिन्छ । ठाउँअनुसार भैलीलाई भैलीराम, द्यौसिरेलाई द्यौसीराम पनि भनिन्छ ।
कार्तिक शुक्ल प्रतिपदालाई गोवद्र्धन पूजाको रूपमा चिनिन्छ । यसको खास अर्थ गाई बढाउनका लागि सहयोग गर्न गौचरन, वनको पूजा गर्ने हो । हामीहरूले यसको खास अर्थ बुझ्नतिर नलागी गाईका गोबरका थुप्रामा फूलहरू घुसारी सिँगारपटार गरी गोबद्र्धन पर्वतको प्रतीक बनाई पूजा गर्छौँ । गौचरनतिरको खासै वास्ता गर्दैनौँ । हामी गोवद्र्धनको अर्थतिर नलागी गोबरधन बुझ्नतिर लाग्छौँ । पशुधन प्रबद्र्धन गर्न सघाउने वन संरक्षणसम्बन्धी चिन्तन गर्ने यो दिन गोकुलवासी श्रीकृष्णका पालादेखि विशेष रूपमा मनाउँदै आएको मानिन्छ ।
कार्तिक शुक्ल प्रतिपदा नेपाल सम्वत्को नयाँवर्षको शुभ दिन पनि हो । यस दिन नेवार जातिले म्ह पूजा गर्ने गर्छन् । नेवारी भाषामा म्ह भनेको आत्मा हो । आफ्नो लोक परम्पराअनुसार प्रायः साँझमा म्ह पूजा गर्ने चलन छ । यस पूजाले आयु आरोग्य तथा आत्मबल बढाउने विश्वास गरिन्छ ।
कार्तिक शुक्ल द्वितीया भाइटीकाको नामले प्रसिद्ध छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई आफ्नो परम्पराअनुसार टीका लगाइदिई सुख समृद्धि आयु आरोग्यको कामना गर्छन् । दाजुभाइ नहुने, दिदीबहिनी नहुनेले धर्म दाइभाइ, धर्म दिदीबहिनी बनाएर टीका लगाउने गर्छन् । भाइटिकाको दिन टीका लगाउनाले त्यस वर्षको ( अर्थात् आगामी १ वर्षका) अकाल मृत्युको भय हुँदैन भन्ने मान्यता छ । यमराजसहित अष्ट चिरञ्जीवी ( मार्कण्डेय, बलि, व्यास, परशुराम, हनुमान, कृपाचार्य, अश्वस्थामा, विभिषण ) को पूजा गरी यिनैको पूजाको प्रसाद स्वरूप टीका लगाइन्छ ।
टीका लगाएपछि दिदी बहिनीले घरकोमूल ढोकाको सँघारमा शत्रु वैरीको टाउकाको प्रतीक स्वरूप ओखर फोर्छन् । ‘मेरा फलाना(नाम बोलेर) दाइ भाइका शत्रु वैरी घचाम घुजुम्’ मन्त्र फलाक्दै ओखर फोर्दै गरिन्छ । यसरी फोरिएका ओखरका घाँची ( गुदी ) नखाने चलन छ । टीकापछि कहिल्यै नवैलिने मखमलीको माला लगाइदिने चलन छ । त्यस दिन लगाएको माला नवैलिएसम्म अकाल मृत्युले दगा गर्न नसक्ने वाचा यमराजले गरेको कथाले गर्दा तिहारमा मालाका लागि मखमली फूलको निकै प्रयोग हुन्छ ।
तिहारमा मीठामीठा खानेकुरा खाने, राम्राराम्रा लुगा लगाउने र भैलो द्यौसी खेलेर रमाइलो गर्ने कुरा मुख्य मानिन्छन् । तिहारको कुरा गर्दा सत्य युगको वामन औतार र राजा बलिको कुरा आउँछ । यो सत्य युगदेखि चल्दै आएको परम्परा हो भने भैलो र द्यौसी परम्परा किन नेपालमा मात्र थिग्रिएको होला ? भारत लगायतका अन्य आदिबासी हिन्दु रहेको देशमा भैलो तथा द्यौसी परम्परा किन भएन होला भन्ने तर्क आउनु स्वाभाविकै हो । यस सम्बन्धमा जुम्लाको इतिहास खोतल्नुपर्ने देखिन्छ ।
(तिब्बतको खारी प्रदेशबाट आएका नागराजले ई.सं. ११५० तिर स्थापना गरेको मानिने जुम्ला राज्य खसराज्यको रूपमा प्रख्यात थियो । ‘सपाद लक्ष खस देश’ भनी लेखिएका विभिन्न अभिलेखले सवालाख कुरिया वा घरधुरी भएको देश बुझाउँछ । सो देशमा क्राचल्ल, अशोकचल्ल, जितारी मल्ल, रिपुमल्ल, आदित्यमल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल जस्ता प्रतापी राजा भए । कालक्रमले खस साम्राज्य कमजोर हुँदै गई नेतृत्वको अभाव भएका बेला चन्दननाथ बाबाले स्थानीय काली गाउँका बलिराज युवालाई राज्यको नेतृत्व गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न भने । चन्दननाथ बाबाको अर्ति उपदेशले राजा बनेका बलिराजको नेतृत्वमा थुप्रै सुधारका काम भए । देशले पुनः समृद्धि पायो । ) सन्दर्भ तिहारको हो । तिहारमा गाइने भैलो, द्यौसिरेमा बलिराजको कुरा आउँछ । भैलेले भट्याउँदा ‘हामी त्यसै आएनौँं बलिराजले पठाए’ भन्ने गर्छन् । सत्य युगीन बलिराजको सन्दर्भ आउँदा पनि भैलो र द्यौसरीको कुरा आउँछ । त्यस बेला बलि पक्षले ‘भेल, भेल’ अर्थात् मूर्ख, षड्यन्त्रकारी भन्दै कराए, वामन पक्षले देही शिर देही शिर अर्थात् टाउको ले, टाउको ले भनेर कराए । यही दोहोरो भनाभन नारा जुलुसका रूपमा भैलो र द्यौसरी खेलिने गरिएको मानिन्छ । यदि यो कुरा हो भने भैलेलाई त बलिराजले पठाए होलान् तर द्यौसेलाई त बलिराजले पठाउने कुरा आउँदैन । किनकि उनी त विपक्षवाला हुन् । यिनलाई त वामनले पो पठाउनुपर्ने । त्यसैले यो कुराले त्यति मेल खाएन ।
यसरी भैलेलाई माग्ने अधिकार दिएर पठाउने राजा प्रह्लादका नाति, विरोचनका छोरा सत्ययुगीन बलि नभएर जुम्लाका बलिराज हुन् । अब भेलै को हुन् ? त्यसरी बलिराजले किन पठाए ? भन्ने सन्दर्भ कुरातिर लागौँ ।
जुम्लका राजा बलिराज राजा हुनुभन्दा अघिदेखि नै कुनै दम्पतिलाई सन्तान भएनन् भने देव मन्दिरमा सन्तान चढाउने भाकल गर्ने चलन थियो । भाकल दुई थरीका हुने गर्थे । एउटा मेरा सन्तान होऊन् मैले एउटा सन्तान भगवान्लाई चढाउँला । अर्को कसैको सन्तान किनेर पनि मन्दिरमा चढाउने र आफूलाई सन्तान होऊन् भनी आशीर्वाद माग्ने । त्यस्ता देवतालाई चढाइएका पुरुषलाई देवदास भनिन्थ्यो भने महिलालाई देव दासी भनिन्थ्यो ।
देवदास देवदासीहरू मन्दिरमै बस्नु पथ्र्यो । मन्दिरको कम आम्दानी हुने अवस्थामा उनीहरूलाई ज्यान पाल्नको समस्या हुन्थ्यो । उनीहरूलाई ज्यान पाल्नको समस्या हुन्थ्यो । उनीहरू मागेर ज्यान पाल्न बाध्य हुन्थे । यसरी मन्दिरमा चढाइएका मान्छे गाउँगाउँ माग्न हिँड्दा कतिपयले खिसी, निन्दा गर्थे । ती देवदास देवदासीलाई जीवन निर्वाह गर्न निकै समस्या थियो । उनीहरूको यो पीडा संबोधन गर्न बलिराजले आफ्नो राज्यमा ‘देवदास देवदासी माग्न आउँदा हेला घृणा नगरी श्रद्धापूर्वक यथासक्य दान दिनू’ भन्ने उर्दी जारी गरे । यही उर्दीले ती देवदास देवदासीको माग्ने हक स्थापित भयो र भैलो गाउँदा हामी त्यसै आएनौँ, बलि राजले पठाए भन्न लागे ।
अब भेलो र द्यौसिरेको कुरा गरौँ । जोगी माग्न आउँदा अलक वा अलोक भन्दै आफ्ना आराध्य देवको नाम लिने गर्छन्, भन्ने गर्छन् । जस्तो शिव भक्तले ‘अलोक जय शङ्कर भोले’ , विष्णु भक्तले ‘ अलोक नारायण नारायण’ । यी शब्दले जोगी गृहस्थ जीवनबाट अलग भएको, यस लोकको सामान्य जीवनभन्दा फरक जीवन यापनमा भएको भन्ने जनाउँछ । यही चिनारी शब्दसित जोगीले भिक्षा माग्छन् । त्यसैगरी भैलेहरूले दातालाई आशिष शब्द ‘भलो होस्’ अर्थात् राम्रो होस् भन्ने गर्दा भैलो भयो । ‘देउ शिव रे’ अर्थात् देउता शिव रे भनेर आफू शिवभक्त भएको वचन भन्दा देउसरे, द्योसिरे भयो । त्यसताका त्यस क्षेत्रमा शिव देवको आरधना गर्ने शिवलयमा ती बालबालिका चढाउने गर्दा उनीहरूले आफ्ना आश्रयदेवको आराधना गर्नु स्वभाविकै भयो । हुन त पैसा माग्न आएका हुनाले ‘देऊ श्री रे’ अर्थात् मलाई श्री अथवा लक्ष्मी, पैसा देऊ भनेर मागेको पनि भन्न सकिन्छ । यो पछिल्लो तर्क भन्दा अघिल्लो तर्क नै अलि बढी स्वाभाविक देखिन्छ । यसले भैलो द्यौसी एक ससम्मान याचना अनुरोध हो भन्ने कुरा स्पष्ट पा¥यो ।
यसरी भैलो गाएर माग्ने कुराले कानुनी मान्यता पाएपछि देवदास देवदासीबाहेकका मान्छेले पनि चाडवाडको मौकामा माग्ने र बनभोज जसरी भैलो खाने रमाउने संस्कृतिको विकास भयो । जुम्ला राज्यका मान्छे बसाइसराइ गरी अन्यत्र जाँदा यो भैलो द्यौसी संस्कृति लिएर गए । यसलाई तिहारसित जोडे । तिहार कार्तिकमा पर्ने र हिन्दु परम्परामा तुला दान अर्थात् तुला राशीमा सूर्य हुँदाका वखतको दान वा भनौँ कात्तिके दानको ठूलो महत्व भएको हुँदा तिहारमा भैलो मौलाउन सजिलो भयो । भैलो द्यौसीको उत्पत्ति भएको ठाउँ जुम्लामा भने तिहारमा भैलो नखेली पुसका पन्ध्र गते खेल्ने परम्परा छ ।
संस्कृतिले सधै सरल र सहअस्तित्वपूर्ण जीवन बाँच्न सिकाइरहेको हुन्छ । भैलो द्यौसीले माग्ने संस्कृतिको विकास र प्रवद्र्धन गर्न खोजेको होइन । माग्नु विवशता हो । यसलाई वृत्ति वा व्यवसायका रूपमा लिनुहुँदैन भनेर हाम्रा पूर्वजहरू हजारौँ ठाउँमा भनेका छन् । सत् आर्जनको धनलाई आफ्नो गच्छेअनुसार दान र खर्चमा लगाउनुपर्छ । नत्र धनले नाशको बाटो लिन्छ । सय हातले कमाऊ हज्जार हातले बाँड । यो हो हाम्रो दान संस्कृति । आफ्नो लागि खर्च गर्दा र दान गर्दा देशको अर्थतन्त्र चलायमान हुन्छ । दानले नागरिकबीच रहेको आर्थिक विषमता हटाउन सहयोग मिल्छ । भैलो खेलेर विद्यालयका भवन निर्माण गरेका, विभिन्न कोष खडा गरेर सामाजिक उद्धारका काम गरेका थुप्रै उदाहरणहरू छन् ।
पशुपंक्षी तथा वातावरणप्रतिको प्रेम, दिदीबहिनी दाइभाइको मिलनले आयुआरोग्यको वृद्धिको कामना जस्ता सुखद क्षण लिएर आउने तिहारमा जूवा तासको हारजितको झगडा, मादक पदार्थ सेवनले इज्जतसम्मानमा आघात पार्ने काम नगरी हाँसीखुसीसित बिताउने उत्साह सबैमा जागोस् भन्ने कामना !
à